भर्खरै :

ट्रम्पले जानेको र ह्यारिसले नजानेको कुरा

ट्रम्पले जानेको र ह्यारिसले नजानेको कुरा

डोनाल्ड ट्रम्प फर्केका छन् । संरा अमेरिकाका ४५ औँ राष्ट्रपति ४७ औँ राष्ट्रपति बन्ने भएका छन् । संसारका विभिन्न नेताहरू, नेटो प्रमुख, युरोपेली सङ्घ, बेलायती प्रधानमन्त्री कियर स्टार्मर र खासगरी नेदरल्यान्डका ग्रीट वाइल्डरजस्ता चरम दक्षिणपन्थी नेताहरू ट्रम्पलाई बधाई दिन तँछाडमछाड गर्दै छन् ।
ट्रम्पले सन् २०२० को निर्वाचन हार्दा जति मत ल्याएका थिए, अहिले त्योभन्दा बढी मत ल्याएका होइनन् । तर, कमला ह्यारिसको नेतृत्वमा डेमोक्र्याटिक पार्टीका नेताहरूले प्रशस्त मत गुमाएका हुन् ।
राष्ट्रपति निर्वाचनको पछिल्लो साता बोलक्कड र अस्थिर देखिएका डोनाल्ड ट्रम्पलाई देख्नेमध्ये धेरैको मनमा एउटै प्रश्न बारम्बार उठ्दै छ – अमेरिकाले ट्रम्पजस्ता व्यक्तिलाई कसरी निर्वाचित गर्न सक्छ ? त्यो पनि दुई दुई पल्ट !
सम्भवतः यसको जवाफ मिशिगनको डियरबर्नमा भेटाउन सकिन्छ ।
डियरबर्नमा विश्वकै सबैभन्दा ठुलो फोर्ड कार र ट्रक उद्योग छ । त्यहाँको ‘रिभर रग’ उद्योगमा ३० हजार मजदुरले काम गर्छन् । डियरबर्न अरबी मूलका अमेरिकीहरूको सबैभन्दा बाक्लो आवादी भएको क्षेत्र पनि हो । प्रसिद्ध ‘न्युजविक’ पत्रिकाले गरेको डियरबर्नको चुनावी प्रक्षेपण यस्तो थियो ः डोनाल्ड ट्रम्प ४७ प्रतिशत, कमला ह्यारिस २९ प्रतिशत, ग्रीन पार्टीका युद्धविरोधी उम्मेदवार जिल स्टेन २२ प्रतिशत ।
अब जिल स्टेनलाई अर्थतन्त्रमा ¥हास र गाजा युद्धलाई लिएर जहाँ पायो त्यहाँ असन्तोष व्यक्त गर्ने सहुलियत छैन । तर, असन्तोष सर्वत्र व्याप्त छ ।
ओहायो राज्यमा अमेरिकाकै सबैभन्दा ठुलो ट्रक बिसौनी छ । ‘च्यानल ४’ नामक समाचार संस्थासँग एक ट्रक चालकले भने, “म सुपर मार्केट जान्छु तर २०० डलर तिर्दासमेत सामानले मुस्किलले तीन झोला मात्र भरिन्छन् ।” ट्रम्पले चुनावी अभियानको समयमा एउटा अभियान चलाए । उनले मतदातालाई प्रश्न गर्न भने, “चार वर्षअघिको तुलनामा तपाईँको जीवनस्तर उकासियो त ?” धेरै अमेरिकीहरूको जवाफ एउटै थियो – उकासिएन ।
डेमोक्र्याटिक पार्टीको गढ मानिने निर्वाचन क्षेत्रमा समेत ह्यारिसको मतसङ्ख्या स्वात्तै घट्यो । न्युयोर्कमा मतप्रतिशत २३ बाट १२ प्रतिशतमा झ¥यो । मध्यमवर्गको वर्चस्व रहेको न्युजर्सीमा त ग्रहण नै लाग्यो । त्यहाँ मत प्रतिशत १६ बाट ४ प्रतिशतमा झ¥यो । कन्नेक्टिकटमा २० बाट ८ प्रतिशतमा झ¥यो । म्यासाच्युसेट्स, रोड टापु, भर्मोन्ट, मेरिल्यान्ड र डेलावेरको स्थिति पनि यस्तै रह्यो ।
ह्यारिसको कार्यकाल बाइडेनको भन्दा गतिलो हुने कुनै लक्षण थिएन । अर्थनीति र विदेशनीतिको सन्दर्भमा उनी अति सरकारी, अति कुलीन र अति धनाढ्य देखापरिन् । मानौँ, उनलाई यसमा चासै छैन ।
हुन त ट्रम्प पनि धनपति नै हुन् । खासमा उनी कुलिन खर्बपति हुन् । तर, उनी आफूलाई सत्ताबाहिरको अलग्गै व्यक्ति देखाउन सबथोक गर्छन् । अमेरिकाजस्तो देशमा घिटीघिटी बाँचिरहेका दिग्भ्रमित कामदार जनतालाई ट्रम्पको यो पक्षले धेरै आकर्षित गर्छ ।
निश्चय पनि ट्रम्पसित चरम जातिवादी, दक्षिणपन्थी र प्रतिक्रियावादीहरूको प्रतिबद्ध कार्यकर्ताको जमात छ । तर, तिनको सङ्ख्या निर्वाचनमा ५१ प्रतिशत मत ल्याउन पुग्ने पनि छैन ।
यसको लागि दिग्भ्रमित डेमोक्र्याट समर्थक चाहिन्थ्यो । बाइडेन र ह्यारिसको सरकारले यसखाले धेरै मान्छे पैदा गरेको थियो ।
मतदानको यो ढर्रा खालि अमेरिकी राजनीतिमा देखिएको होइन । विश्वभरि यसरी नै उदारवादीहरूप्रतिको जनअसन्तोषका कारण लोकरिझ्याइँमा तल्लीन दक्षिणपन्थीहरू मौलाइरहेका छन् । स्वदेशमा सरकारी खर्च कटौती गर्ने र विदेशमा युद्ध मच्चाउने व्यवस्थामै आमूल परिवर्तन नआएसम्म ओबामा–ट्रम्प–बाइडेन–ट्रम्पको चक्र चलिरहनेछ । फेरि यो चक्र यहाँमात्र होइन संसारभरि नै घुमिरहेको छ ।

स्रोत : ‘एमआर अनलाइन’ बाट
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *