भर्खरै :

सन् १९१७ को मजदुर क्रान्ति – ७

सन् १९१७ को मजदुर क्रान्ति – ७

२७ अक्टोबर (९ नोभेम्बर)
कज्जाक सेनाले ७ नोभेम्बरदेखि नै दोन प्रदेश आफ्नो हुकुममा भएको घोषणा ग¥यो । संयुक्त सरकारलाई समर्थन गर्दै जाने र स्थिति ठाउँमा नआएसम्म हुकुम आफ्नो हातमा लिने विज्ञप्ति ८ नोभेम्बरको दिन प्रसारित ग¥यो । त्यस विज्ञप्तिमा आतायान कलेदिनले ‘कज्जाक सेनाको सरकारको अध्यक्ष’ को रूपमा हस्ताक्षर गरेका थिए ।
पेट्रोग्रादभन्दा झन्डै ३० किलोमिटर दक्षिण पश्चिममा गातथिना भन्ने एक सहर छ । अस्थायी सरकारको अध्यक्ष र प्रमुख सेनापतिको रूपमा करेन्स्कीले त्यहीबाट सबै सेनालाई आ– आफ्नो कर्तव्य पूरा गरिरहन आदेश दिइरहेका थिए । स्थिति सा¥है अस्पष्ट थियो । कहीँ सरकारी सेना बोल्शेभिकहरूसँगै मिल्दै थियो भने कहीँ बोल्शेभिक पक्षका सेना अलमलमा थियो । तर, सबैतिर एक कुरामा समानता थियो; त्यो हो ठुलठुला अफिसरहरू पुरानै सरकारको पक्षमा हुन्थे, केही तटस्थ हुन चाहन्थे र स्थितिअनुसार पक्षमा लाग्न चाहन्थे । तर, तल्लो तहका सबैजसो सिपाही, सोभियत र बोल्शेभिकहरूको पक्षमा थिए । यसप्रकार सबै छाउनी र ब्यारेकहरूको स्थिति पिङजस्तो हल्लिरहेको थियो । साधारण जनताको बिचमा पनि त्यही कुरा थियो । मजदुर, किसान, सिपाही र साधारण जनता सोभियतको समर्थनमा थिए भने पुँजीपतिवर्ग, अफिसर र खानदानीवर्ग पुरानो सरकारको पक्षमा थिए ।
रेल, रेडियोका मजदुर र कर्मचारीले बोल्शेभिकहरूको सूचना र आदेश बाहिर पठाउन अस्वीकार गरिरहे । हुलाकका कर्मचारीहरू चिठी–पत्र छुन पनि अस्वीकार गरिरहेका थिए । ३६ घण्टा बोल्शेभिकहरूको अरू प्रान्तहरूसँग सम्पर्क नै थिएन । यद्यपि, विद्रोह र क्रान्तिको सूचना सारा रुसमा आँधीबेहरी र बिजुलीजस्तै फैलिरहेको थियो । तर, अझै पनि राजधानीका १६ वटा मन्त्रालयका कर्मचारीले हडताल गरिरहेका थिए ।
त्सारस्कोले सेलो भन्ने सरकारी रेडियो स्टेसनले समय–समयमा सरकारी समाचार बुलेटिन प्रचार गर्दै थियो । सोभियत सरकारको विरोधमा पेट्रोग्राद नगर ड्युमाले प्रान्तहरूमा आफ्नो प्रचार चर्काउँदै थियो । प्रचारका कागज पर्चाहरू लिएर दुई वटा हवाईजहाज दुई मोर्चाको निम्ति उड्यो ।
हेन्सिगफोर्सको सोभियतले बोल्शेभिकहरूलाई समर्थन ग¥यो । किभका बोल्शेभिकहरूले बारुदखाना र रेडियो केन्द्र कब्जा गरे । कज्जाकमा भद्रगोल भयो । साइबेरियाको टाढा क्रास्नोयास्र्कको नगरपालिकाले सोभियतहरूको समर्थन गर्यो । मास्को सोभियतले बोल्शेभिकहरूलाई समर्थन गरे । तर, सार्कीहरू हडतालमा थिए भने कारखानाका मालिकहरू कारखाना बन्द गर्ने तरखरमा थिए ।
पेट्रोग्राद नगर ड्युमाको मुखपत्र ‘वेस्तनिक गोरोद्स्कोबो सामोद्उ प्राब्लेनिया’ (नगरपालिका स्वशासन बुलेटिन), ‘गोलोस सोल्दात’ (सैनिक वाणी), ‘सोल्दात्स्की गोलोस’ (सैनिक आवाज) को नामका अखबरले बोल्शेभिक लालरक्षकलाई जथाभावी गाली गरे । लालरक्षक र माझीहरूले ती अखरबार जफत गर्दै थिए । अखबार जफत गरेकोमा विरोधीहरू चिच्याइचिच्याइ गाली गर्थे । अलेक्सान्द्र भवनमा सबै विरोधी पार्टी र विभिन्न समितिको बैठक हुँदै थियो । त्यसलाई रक्षा समितिको नाउँ दिइएको थियो । त्यस सभामा बोल्शेभिकहरूलाई चिच्याइचिच्याइ गाली गरिंदै थियो । केहीले सोभियतहरूले स्वीकार गरेको भूमिसम्बन्धी ऐनलाई समाजवादी क्रान्तिकारीहरूको चोरी र नक्कल भने । तर, त्यस बैठकले ‘रक्षा समिति’ को समर्थन र बोल्शेभिकहरूको विरोधमा लोकमत तयार गरेपछि केही गर्ने निर्णय गर्यो ।
निकोलाई भवनमा पनि नगर ड्युमाका प्रतिनिधिहरूको भेला थियो । सभा भवन मानिसहरूले खचाखच भरिएको थियो । ड्युमा भङ्ग गर्ने हल्ला फैलिरहेकोले बोल्शेभिकहरूसँग ड्युमाका सदस्यहरू सा¥है रिसाएका थिए । तिनीहरूले बोल्शेभिकहरूलाई जर्मनहरूका दलाल, उत्तेजना फैलाउनेहरू, जबरजस्ती सत्ता हत्याउने, धोकेबाज र ज्यानमाराहरू आदि नाउँले गाली गर्दै थिए । तिनीहरूले नगर ड्युमाको स्वतन्त्रता र गौरवका कुरा बढार्दै गए र बोल्शेभिकहरूको विरोधमा प्रस्ताव ल्याउँदै गए ।
मिखाइलोभ्स्की घोडचढी सेनाको शिक्षालयमा पुग नपुग दुई हजार सिपाहीको बैठक भइरहेको थियो । सभा भवन सा¥है ठुलो थियो । सिपाहीहरू आपसमा चर्को वादविवाद गर्दै थिए । तोपगाडी सैनिक दलको ‘अखिल रुसी काङ्ग्रेस’ को अध्यक्ष खानजोनोभ सभामा बोल्दै थियो, “रुसीहरूले रुसी दाजु–भाइ मार्नु डरलाग्दो कुरा हो ।…. हामी सिपाहीहरू राजनीतिक पार्टीहरूको झै–झगडामा किन फस्ने ?” उसले गृहयुद्धको विरोध गर्यो । ऊ वास्तवमा तटस्थ रहन चाहन्थ्यो ।
अर्को एक सिपाही उठेर सब प्रकारको लडाइँको विरोध ग¥यो । एक मेन्शेभिक उठेर जित नभएसम्म लडिरहने कुरा उठायो । भिडमा एक तीखो स्वर सुनियो, “तपाईँ त करेन्स्कीले जस्तै कुरा गर्दै हुनुहुन्छ ।” ड्युमाको एक प्रतिनिधिले तटस्थताको पक्ष लियो । एक बोल्शेभिकले समाजवाद र क्रान्तिको बारेमा बोल्यो । त्यस्तै, फेरि खानजोनोम र एक मजदुरले तटस्थताकै पक्ष लिए । एक बोल्शेभिक बोल्न लाग्यो । तुरुन्तै भिडबाट सिटी बज्यो, हाहाहुहु भयो । अनि, ‘हामी खानजोनोभ चाहन्छौँ’, ‘क्रिलेन्को मुर्दावाद’ भनेर नारा लाग्यो । बैठकमा गन्जागोल भयो । सभामा गोलमाल गर्न खोज्नेहरू पछि हटे ।
बोल्शेभिक मन्त्रिपरिषद्को सेनासम्बन्धी एक कमिसार क्रिलेन्कोले बोले, “सिपाही साथीहरू, म चार रातदेखि सुतेको छुइनँ, यसकारण बडो दुःखको कुरा त म तपाईँहरूसँग राम्रो कुरा गर्न सक्दिनँ ।”
“म एक सिपाही हुँ भन्ने कुरो मैले तपाईँहरूलाई भनिरहनु आवश्यक छैन । तपाईँहरू र अन्य बहादुर साथीहरूको सहायताले बोल्शेभिक पार्टीले रगत पिउन चाहने पुँजीपतिवर्गको हुकुमलाई सदाको निम्ति पल्टाइदियो; मजदुर र सिपाहीहरूको क्रान्तिलाई सफलतापूर्वक सम्पन्न ग¥यो, सबैसँग शान्ति प्रस्तावको वचन दिएको थियो; त्यो वचन पूरा भयो; त्यो आजै पूरा भयो ।”
त्यसपछि उनले तटस्थ बस्न चाहने युङ्कर र अरू प्रतिक्रियावादी सेना कहिल्यै तटस्थ नभएको र तिनीहरूले सदा जनतालाई गोली हानेर मारेको कुरा सम्झना गराए । उनले भने, “एकातिर करेन्स्की, कलेदिन र कोर्निलोभ छन्, मेन्शेभिक, समाजवादी क्रान्तिकारी, क्याडेट, ड्युमा र अफिसरहरू छन् । अर्कोतिर मजदुर, सिपाही र माझीहरू छन्, गरिबभन्दा गरिब किसान छन् । सरकार तपाईँको हातमा छ । के तपाईँ आफ्नो अधिकार फर्काउन चाहनुहुन्छ ?”
उनी थाकेर चूर थिए । ठुलो तालीबाट उनको भाषणको स्वागत गरियो । खानजोनोभले फेरि बोल्न खोज्दा सबैले मत लिन चिच्याए । जाखिर उनले भने, “तोपगाडीको सैनिक दलले सैनिक क्रान्तिकारी समितिबाट आफ्नो प्रतिनिधि फिर्ता बोलाउँछ र यस गृहयुद्धमा आफ्नो तटस्थताको घोषणा गर्छ ।” यस प्रस्तावको समर्थन गर्ने दायाँपट्टि र विरोध गर्ने बायाँपट्टि लाग्न भने ।
एकछिनपछि बायाँ अर्थात् तटस्थताको विरोध गर्नेहरू अत्यन्त बहुमत देखिए । पुग नपुग दुई हजार सिपाहीहरूमा झन्डै ५० जनामात्रै दायाँपट्टि लागे वा तटस्थताको समर्थनमा थिए । बोल्शेभिक पक्षको विजय भयो । विरोधीहरू बाहिर गए । यसप्रकारको छलफल र मत लिने प्रजातान्त्रिक परिपाटी रुसी अक्टोबर क्रान्तिको विशेषता थियो । यहीँ कुरो हर कारखानाको मजदुर सङ्घहरूमा, गाउँ, छाउनी, जहाजी सेना, माझी र व्यापक जनतामा लागु हुन्थ्यो । क्रिलेन्कोजस्ता नेताहरू कारखाना, गाउँ, छाउनी र अनेक बैठकहरूको छलफलमा भाग लिन्थे; भाषण दिन्थे; एकपछि अर्कोलाई सम्झाउँथे र सङ्घर्ष गर्थे । आखिरमा जनताबाट निर्णय गराउँथे ।
जनकमिसार परिषद्को अध्यक्षको रूपमा लेनिनले १२ नोभेम्बरको दिन संविधानसभाको चुनाव गराउन देशभरि आदेश पठाउनुभयो ।
नगर ड्युमामा चर्काचर्की सभा चलिरहेको थियो । सभामा पालैपालो मन्त्रालय, तेल–मजदुर युनियन, हुलाक अड्डाका प्रतिनिधिले लेनिन र बोल्शेभिकहरूलाई लुटपाट गर्ने अन्यायी र अत्याचारी भन्दै जथाभावी गाली गर्दै थिए । तिनीहरूले जनतालाई बोल्शेभिकहरूको विरोधमा उत्तेजित पार्दै थिए ।
यसप्रकार स्थिति बडो गन्जागोल थियो र बोल्शेभिकविरोधी अनेक झूटा कुरा प्रचार गरिँंदै थियो । एकातिर फोन्तान्का नं. ६ मा किसानहरूको सोभियत, नेभ्स्की सडकको ठुलो भवनको इजिनेर्ती जाभोक (इन्जिनियरिङ स्कुल) र ड्युमा भवनमा भित्रभित्र गतिविधि गर्दै थियो । अर्कोतिर स्मोल्नीमा सैनिक क्रान्तिकारी समिति निरन्तर काम गर्दै थियो† सिपाहीहरूको लाम करेन्स्कीसँग लड्न रातभरि जाँदै थियो ।
२८ अक्टोबर (१० नोभेम्बर)
‘देलो नरोदा’ (जनकार्य) र ‘नरोदनोये स्लोबो’ (जनवाणी) जस्ता विरोधी पत्रपत्रिकाले जनतालाई लेनिन र त्रोत्स्कीबाट ठगिएका, मूर्खहरू भने अनि क्रान्ति र मजदुर किसानहरूको सरकारलाई ‘अफिमचीको पागलपन’ भनेर गाली गरे ।
बोल्शेभिक सरकारले नयाँनयाँ ऐन स्वीकृत गर्दै गयो† नगर ड्युमालाई लोक कल्याणका नयाँनयाँ अधिकार दिँदै गयो, हल्लाको ठीक उल्टो । तर, सेनालाई आत्मसमर्पण गराउन करेन्स्कीको भाषण उतारिएको पर्चा हवाईजहाजबाट सहरमा खसालिँदै थियो । नगर ड्युमा र रक्षा समिति छलफलमा थियो ।
राष्ट्र बैङ्कका कर्मचारीहरूले बोल्शेभिक मन्त्रीहरूको मातहतमा काम गर्न अस्वीकार गरिरहेका थिए । तिनीहरूले सोभियत सरकारलाई पैसा दिन अस्वीकार गरे । निजी बैङ्कहरू सबै बन्द थिए । मन्त्रालयहरू हडतालमा थिए । ड्युमाको एक समिति भने हडतालीहरूलाई सहयोग गर्न पुँजीपतिहरूसँग चन्दा लिएर एक कोष जम्मा गर्दै थियो ।
बोल्शेभिक सरकारको शान्तिसम्बन्धी विज्ञप्ति विभिन्न विदेशी भाषामा उल्था गर्नु आवश्यक थियो । त्रोत्स्कीको त्यस आदेशलाई अस्वीकार गरेर ६४० कर्मचारीले राजीनामा दिए । श्रममन्त्रीले २४ घण्टाभित्र आफ्नो काममा नफर्केमा सबैको जागीर खोस्ने र पेन्सनको अधिकार पनि खोस्ने आदेश दिए । पिउनबाहेक अरू फर्केनन् ।
विशेष खाद्य संस्थान र टेलिफोनमा काम गर्ने कर्मचारीहरूले धेरै तलब दिए पनि सोभियत सरकारको तल बसेर काम नगर्ने जिद्दी लिए । सोभियतहरूमा भाग लिने समाजवादी क्रान्तिकारीहरू पार्टीबाट निकालिए । किभ, लुगा, दोन प्रदेश र अन्य ठाउँहरूमा पनि सोभियतहरूको हार, तीसौँ हजार सेना अस्थायी सरकारको पक्षमा गएको र मजदुर सङ्गठनहरू भङ्ग हुँदै गएको समाचार आइरहेको थियो । ‘भोल्या नरोदा’ भन्ने पत्रिकाको एक पत्रकार गुप्ती पुलिस भनेर गर्दन समातेर निकालेकोमा बोल्शेभिकहरूलाई गाली गर्दै थियो । तर, बोल्शेभिकहरूले सारा प्रान्तको निम्ति मेन्शेभिक र समाजवादी क्रान्तिकारीहरूले मजदुरवर्गलाई विश्वासघात गरेको र तिनीहरूको जितको कुरा झूटो हो भन्ने लेखिएका पर्चा र आदेशहरू पठाइरहेका थिए ।
ठाउँठाउँमा सैनिक रेजिमेन्ट, मजदुर सङ्गठन, नयाँ छानिएका सैनिकहरूका क्रान्तिकारी समिति र विभिन्न सैनिक डिभिजनबाट बोल्शेभिकहरूलाई समर्थन र बधाई पुग्दै थियो । तर, करेन्स्कीको सेनाले राजधानीमा हमला गर्ने कुराको हल्ला चलिरह्यो । त्यसको विरोध गर्न बोल्शेभिकहरू तयार भए । सोभियत हुकुमलाई उल्टाउन १० नोभेम्बरकै दिन करेन्स्कीले उत्तरी मोर्चाबाट पेट्रोग्रादमाथि हमला गर्न जनरल क्रासनोभको कमानमा कज्जाक दस्ता पठाए ।
सम्भावित आक्रमणसँग जुझ्न जिल्ला सोभियतहरू र कारखाना समितिहरूलाई सोभियत सरकारले खाडल खन्न, बाटाहरूमा छेकबार र काँडेतार लगाउन, उपलब्ध हतियारले आफूलाई सुसज्जित गर्न, अनुशासित ढङ्गले क्रान्तिकारी सेनालाई सघाउन, आवश्यक भएमा कारखाना बन्द गर्न आदेश दियो ।
त्यस आह्वानअनुसार गोलीको पेटी लगाएका, बन्दुक र अन्य हातहतियार भिरेका केटाकेटी, महिला र लोग्नेमान्छेहरू लाम लागेर पेट्रोग्रादको दक्षिण–पश्चिमतिर लागे । कारखानाहरूले खतराको तीखो सिटी बजाए । एकै दिनमा दसौँ हजार जनताले पेट्रोग्रादबाट १० कोस पर क्रान्तिका विरोधीहरूसँग लड्ने ठाउँ बनाउन थाले । लडाइँ भयो । अँध्यारो रातमा पनि तिनीहरू निर्दयी कज्जाक सेनासँग कम्मर कसेर लडे† तिनीहरू घोडाबाट कति जना पछारिन्थे† आगो ओकलिरहेको बन्दुक र तोपको अगाडि जमिनमा सुत्थे† तितरवितर हुन्थे तर फेरि सङ्गठित भएर लड्थे ।
घाइतेहरूलाई मलमपट्टी लगाउँथे; मर्न लागेका साथीहरूलाई कानमा बिस्तारै भन्थे, “क्रान्ति ! जनता !” मर्नुभन्दा अगाडि तिनीहरू ठुलो स्वरले भन्थे, “सोभियत जिन्दावाद ! शान्ति छिट्टै हुनेछ !” नयाँ विश्वास र उत्साह लिएर आएका मजदुरहरू नयाँ उद्देश्य र नयाँ सिद्धान्तको निम्ति लडिरहेका महिला र लोग्नेमान्छेहरू देखेर कज्जाक सेनाले मजदुर सिपाहीहरूमाथि गोली चलाउन अस्वीकार गर्यो । बोल्शेभिकहरूलाई दबाउन प्रधानसेनापति भएर आएका करेन्स्की भेष बदलेर एक्लै भागे ।
तर, पेट्रोग्रादमा अनेक हल्ला चल्दै थियो । विद्यार्थी र बुद्धिजीवी एकातिर मजदुर, किसान र सिपाहीहरू अर्कातिर थिए । बुद्धिजीवीहरू समाजवादका किताबी कुरा गर्थे र मजदुर, किसान तथा सिपाहीहरू मजदुरवर्गमा होइन भने पुँजीपतिवर्गमा छन् भनेर प्रस्टै भन्थे । चारैतिर गोली चलेको, कारखानाको सिटी, मोटरको हर्न र मानिसहरूको चिच्याहटले वातावरणलाई थर्काइरहेको थियो ।

साभार : अक्टोबर क्रान्ति र यसको महत्व

Leave a Reply

Your email address will not be published. Required fields are marked *