भर्खरै :

सन् १९१७ को मजदुर क्रान्ति – ८

सन् १९१७ को मजदुर क्रान्ति – ८

३१ अक्टोबर (१३ नोभेम्बर)
फिनल्यान्ड पुग नपुग १०० वर्षदेखि रुसको प्रभावमा थियो । त्यहाँको संसद्मा समाजवादीहरूको बहुमत थियो । करेन्स्कीले त्यस संसद्लाई भङ्ग गरेको थियो । त्यसको विरोधमा फिनल्यान्डका रेलका मजदुरहरूले देशव्यापी हडताल गरेका थिए । पेट्रोग्रादमा बोल्शेभिकहरूको विजयले राजधानी हेलसिङ्गीको सोभियत र बाल्टिक सागरको जहाजी सेनाको केन्द्रीय समिति (त्सेन्त्रोबोल्ट) दुवैले सोभियत गतिविधिलाई दबाउने आदेश दिए । त्यहाँ बोल्शेभिकहरूको राम्रो प्रभाव पर्न थाल्यो ।
मस्कोमा पनि सोभियत सैनिकहरूले टेलिफोन र रेडियो केन्द्र कब्जा गरेका थिए । त्यसबेला सोभियतहरूको पक्षमा १० हजार छाउनीका सिपाही र केही लालरक्षकमात्र थिए । उता अस्थायी सरकारको पक्षमा ६ हजार युङ्कर, २–३ हजार कज्जाक र दुई हजार श्वेत रक्षक थिए । मस्कोको केन्द्र र क्रेमलिन दरबार युङ्करहरूको हातमा थियो । त्यसको चारैतिर सोभियत सिपाहीहरू एक हुन कोसिस गर्दै थिए । तर, युङ्करहरूले बोल्शेभिकहरूमाथि अचानक हमला गरेर टेलिफोन अड्डा र रेडियो केन्द्र फेरि आफ्नो हातमा लिए र सोभियत सिपाहीहरूलाई गोली हान्दै थिए । पछि सोभियत सिपाहीहरूले पनि मस्को ड्युमा भवन, मेजिस्ट्रेट अफिस, पाँचतारे होटल (मेट्रोपोल होटल), ठुलठुला बैङ्क र ठुलठुला व्यापारीका पसल एवम् गोदाममा गोलाबारी गर्न थाले । मस्कोको स्थितिमा पेट्रोग्रादको घटनाले तय गथ्र्याे । पेट्रोग्रादको विजयले मस्कोमा राम्रो प्रभाव पर्नु स्वाभाविक थियो । पेट्रोग्रादको विजयको खबरले दक्षिणी रुसको क्रिमियाको सेभास्तोपोल (Sevastopol) बन्दरगाहमा जहाजी सेना र माझीहरू मिलेर सैनिक सोभियतले शासन आफ्नो हातमा लियो ।
पेट्रोग्रादको दक्षिणमा रहेको नोभ्गोरोद (Novgorod), मस्कोको दक्षिणपूर्वमा भोल्गा नदीको किनारमा रहेको सरातोभ (Saratov) भन्ने नगरमा पनि सोभियतको पक्षमा सङ्घर्ष चर्कदै थियो । मस्कोको पूर्वको एक सहर कजान (Kazan) र भिनित्सामा पनि स्थिति त्यस्तै थियो । बुल्गेरिया र अरु ६० वटा मोर्चाबाट सिपाहीहरूका प्रतिनिधि पेट्रोग्राद आएर सोभियतलाई समर्थन र शुभकामना दिए ।
अड्डा र बैङ्कहरू, छाउनी र मुख्यमुख्य ठाउँ कब्जा गरेर पनि बोल्शेभिकहरूले राम्रो काम गर्न सकिरहेका थिएनन् । बुद्धिजीवी, कर्मचारी र प्रतिक्रियावादी पार्टीहरूको प्रभावमा परेका मजदुरले क्रान्तिलाई असहयोग गरेको हुँदा विजयको खुसीको समयमा पनि बोल्शेभिकहरूलाई पिर परिरहेको थियो । माझी, सिपाही, सेना, लालरक्षक, मजदुर र किसानहरूले ती ठाउँहरू कब्जा गरे । तर, तिनीहरूलाई टाइप गर्न आउँदैनथ्यो र एकै औलाले एकएक अक्षर खोजीखोजी टाइप गर्नुपर्दथ्यो । लिथो (गेस्नर) बाट छाप्न आउँदैनथ्यो । यसकारण, तिनीहरू सिक्न कोसिस गर्दै थिए । टेलिफोनको काम आउँदैनथ्यो† सिक्दै थिए । त्यस्तै, बैङ्कका ठुलठुला खाता हेरेर तिनीहरू जिल्ल परेका थिए । विदेशसँगको सम्पर्कको निम्ति तिनीहरूलाई अनुवाद गर्न आउँदैनथ्यो । तर, पनि बोल्शेभिकहरू स्थितिलाई सम्हाल्न खोज्दै थिए ।
१४ नोभेम्बर
अरू ठाउँमा जस्तै मस्कोमा पनि व्यापारी, कालोबजारी, पुँजीपति, जमिनदार, सैनिक अफिसर, राजनीतिज्ञ, शिक्षक, विद्यार्थी, साधारण पेसाका मानिस, पसले, कर्मचारी, कम्पनीहरूका दलालजस्ता मानिसहरू क्रान्तिको विरोधमा थिए । साधारण, मजदुर, माझी, निराश नभएका सिपाहीहरू, खेताला मजदुर तथा सा¥है थोरै बुद्धिजीवीहरू बोल्शेभिक र क्रान्तिको पक्षमा थिए ।
मस्कोको नगर ड्युमा युङ्कर र प्रतिक्रियावादी विचारका विश्वविद्यालयका छात्र स्वयंसेवकहरू (श्वेत रक्षक) को कब्जामा थयो । नगर ड्युमाको मेयर र सभापतिले नै नागरिक सुरक्षा समिति र सैनिक गतिविधिको काम सम्हालेका थिए । नगरको सेनाको कमान्डर रियाब्त्सेब थिए । उनी प्रजातान्त्रिक स्वभावका थिए । उनी सैनिक क्रान्तिकारी समितिको विरोध नगरी तटस्थ रहन चाहन्थे । तर, नगर ड्युमाले उनलाई क्रेमलिन कब्जा गर्न भन्यो । तिनीहरूले उनलाई त्यहाँ बोल्शेभिकहरूले गोली वर्षाउने आवश्यकता देख्दैनन् भनेर मनाएका थिए । बोल्शेभिकहरूले क्रेमलिनमाथि आक्रमण गरे ।
१३ र १४ नोभेम्बर दुई दिन मस्को बोल्शेभिकहरूको कब्जामा रह्यो । युङ्कर र श्वेत रक्षकहरूले शान्ति सम्झौता गरेपछि तिनीहरूलाई जान दिइयो । यसप्रकार रुसको पुँजीवादको अन्तिम गढ क्रेमलिनमाथि बोल्शेभिकहरूले विजयको झन्डा फहराइदिए ।
१५ नोभेम्बर
१५ नोभेम्बरको दिन पेट्रोग्रादमा अस्थायी सरकारको अस्तित्व समाप्त भयो । लेनिनले एक बैठकमा भन्नुभयो, “हुकुमको काम भर्खर सुरु भयो ।” देशको विभिन्न ठाउँबाट विजय र समर्थनको समाचार पुग्दै थियो । तर, पार्टीभित्र वैचारिक सङ्घर्ष चर्कँदै गयो । अखिल रुसी रेल मजदुर युनियनको कार्यकारिणी समिति क्रान्तिविरोधी एक केन्द्र बनेको थियो । तिनीहरू ‘सबै क्रान्तिकारी पार्टीहरूको संयुक्त सरकार’ बनाउन चाहन्थे । त्यसमा क्रान्तिमा हारेका मेन्शेभिक र समाजवादी क्रान्तिकारी पार्टीका प्रतिनिधिहरू पनि सामेल गराउन चाहन्थे । लेनिन र पार्टीको केन्द्रीय समिति अखिल रुसी रेल मजदुर युनियनको कार्यकारिणी समिति (भिक्जेल) सँगको वार्तालाई ‘युद्धको निम्ति एक कूटनीतिक पर्दा’ को रूपमा मात्रै लिन्थे । त्यसको अर्थ हो, वार्ता चलाउने तर नझुक्ने† वार्ता चालु राख्ने† विरोधमा जान नदिने† वार्ता चलाउने र युद्धमा विजय पाउने । तर, पार्टी केन्द्रीय समितिका दुई जना सदस्य कामेनेभ र सोकोलनिकोभले वार्तामा लेनिन र केन्द्रीय समितिको निर्णय विपरीत रेलवे युनियन (भिक्जेल) को मागहरूलाई स्वीकार गरे ।
१५ नोभेम्बरको दिन त्यही विषयलाई लिएर पार्टीको केन्द्रीय समितिको बैठक बस्यो । बैठकले लेनिनको प्रस्तावअनुसार त्यस सम्झौतालाई अस्वीकार ग¥यो । प्रस्तावमा भनिएको थियो, “सोभियत हुकुमको सिद्धान्तलाई नछोडेसम्म बोल्शेभिक सरकारको नीति फेर्ने कुरै आउँदैन ।” ‘संयुक्त समाजवादी सरकार’ गठन गर्ने प्रस्तावहरूलाई बैठकले ‘क्रान्तिको हडताल भाड्ने’ अर्थात् ‘क्रान्तिविरोधी’ घोषणा गर्दै प्रस्तावलाई अस्वीकार ग¥यो ।
बोल्शेभिकहरू राजधानीमा आफ्नो नियन्त्रण कायम गर्न सफल भए तर सरकार स–साना प्रशासनिक कार्य पनि चलाउन सकिरहेको थिएन । तिनीहरूले पुरानो प्रशासन यन्त्रलाई चलाउन सकेनन् । तिनीहरूसँग राम्राराम्रा लेखक र भाषण दिने कार्यकर्ताहरू थिए तर प्रशासकहरू थिएनन् ।
विदेश मन्त्रालयका कर्मचारीहरूले मन्त्रालयको ढोका भित्रैबाट बन्द गरेका थिए । जबरजस्ती ढोका खोलियो तर सबै कर्मचारीले राजीनामा दिए । परराष्ट्रमन्त्री त्रोत्स्कीले कागतपत्र राख्ने ठाउँको साँचो माग्दा साँचो दिएनन्† ताला फोर्न कालिगड बोलाइँदा बल्ल साँचो दिए । तर, पहिलेको सहायक परराष्ट्रमन्त्री नेरातोक गुप्त कागतपत्र लिएर भागिसकेका थिए ।
श्रममन्त्री उल्यात्रिकोभ मन्त्रालय पुग्दा कर्मचारीहरूले उनलाई मन्त्री बस्ने कोठा पनि देखाएनन् । जाडो थियो तर आगो बाल्ने कर्मचारीसमेत थिएन । जनकल्याणमन्त्री अलेक्सान्द्रा कोल्कोन्ताई मन्त्रालय जाँदा कर्मचारीहरू हडतालमा थिए । सहरका सबै लुला–लङ्गडा, बिरामी र भोकाहरूको भिड लाग्यो । हडताली कर्मचारीहरूलाई पक्राउ गरेर साँचो लिइयो । तर, खोलेर हेर्दा सबै पैसा पूर्वमन्त्री कुमारी पानिनाले लिएर हिँडेको थाहा पाइयो । उनी पक्राउ पर्दा संविधानसभाले नभनेसम्म पैसा दिन अस्वीकार गरिन् । बुद्धिजीवी समेत बोल्शेभिकविरोधी थिए । यसकारण, कृषि, खाद्य, अर्थ र अन्य मन्त्रालयहरू पनि हडतालमा थिए । तिनीहरू खाली भड्काउने र बिगार्ने काम गर्दै थिए ।
बैङ्कका कर्मचारीहरूले सोभियत सरकारलाई पैसा दिन अस्वीकार गरे । तर, प्रतिक्रियावादीहरूको ‘रक्षा समिति’ लाई पैसा दिइरहेको थियो । बैङ्क कब्जा गर्दा बहीखाता लुकाए काम गरे र हडतालमा बसे । अर्थ मन्त्रालयका कर्मचारीहरूले विदेश व्यापारको बहीखातामै आगो लगाए । खाद्य संस्थान र नगरपालिकाका कर्मचारीहरूले पनि हडताल गरे र सबै ठाउँमा बोल्शेभिकहरूको ‘स्वायत्तताको अधिकार हनन ग¥यो’ भनेर तार पठाए । राजधानीमै रसद–पानी समाप्त हुँदै थियो तर ‘अखिल रेलवे मजदुर युनियन’ को कार्यकारिणी समिति (भिक्जेल) ले अन्न, कोइला, दाउरा र अन्य आवश्यक सामान बाहिर लैजान अस्वीकार गर्दै थियो । विरोधी पत्रिकाहरूले बन्दोवस्त गर्न नसक्ने सरकार भनेर हेला गरी जथाभावी लेख्दै थिए ।
एकातिर यस्तो नियन्त्रणको कमी थियो भने पार्टी र सरकारभित्रै चर्काचर्की थियो । अरु समाजवादीहरूलाई पनि सरकारमा सामेल नगराएकोमा केही नेताहरू पार्टी केन्द्रीय समितिबाट राजीनामा गर्ने धम्की दिँदै थिए । विरोधी पार्टीहरू आपसमा मिलेर एक अर्कै सरकार बनाउने षड्यन्त्र गर्दै थिए ।
१६ नोभेम्बरको दिन मजदुर र सैनिक प्रतिनिधिहरूको सोभियतहरूको केन्द्रीय कार्यकारिणी (त्से–इ–काह) को बैठक बस्यो । बोल्शेभिक क्रान्तिलाई पहिले समर्थन गर्ने वामपन्थी समाजवादी क्रान्तिकारी पार्टीको एक सदस्य मालकिनले भन्यो, “यदि बोल्शेभिकहरूले सम्झौता गरेनन् भने पार्टीभित्रै चर्को सङ्घर्ष गरेपछि बाध्य भएर बाहिर आई लडाइँ गर्नुपर्नेछ… ।”
बैठकमा अनेक दाउपेच र प्रस्ताव देखापरे । बोल्शेभिक नीतिलाई हेरफेर गर्न विरोधीहरू लागेका थिए ।
१७ नोभेम्बरको राति स्मोल्नीमा त्से–इ–काहको बैठक भयो । बैठकमा मानिसहरू खचाखच भरिएका थिए । बोल्शेभिक पार्टीकै एक सदस्य लारिनले संविधानसभाको चुनाव नजिक आएकोले ‘राजनीतिक नियन्त्रण’ लाई समाप्त गर्नुपर्छ भने । उनी प्रेस स्वतन्त्रताको पक्षमा थिए । पार्टीभित्रकै मानिसहरूले उनलाई हाहाहुहु गरे ।
त्यसबारे लेनिन र अरुले उत्पादनका साधनहरूमा भएको व्यक्तिगत मालिकत्व समाप्त गरे जस्तै प्रेसमा भएको व्यक्तिगत मालिकत्व समाप्त गर्ने सैद्धान्तिक प्रश्न अगाडि बढाए । लेनिनले प्रस्ट शब्दमा भन्नुभयो, “गृहयुद्ध अहिले समाप्त भएको छैन; शत्रु अहिले हामीसँग जुझ्दै छ । यसकारण, प्रेसको विरोधमाथि नियन्त्रण खुकुलो गर्नु असम्भव छ ।”
प्रेसलाई नियन्त्रण गर्ने वा स्वतन्त्र गर्ने भन्ने विषयमा मतदान गरियो । लेनिनको पक्षमा २५ मत र विपक्षमा २० मत खस्यो । मतबाट हार्नासाथै वामपन्थी समाजवादी क्रान्तिकारीहरूले सैनिक क्रान्तिकारी समितिको पदबाट राजीनामा दिए ।
अरु पार्टीलाई पनि सरकारमा समावेश नगरेकोमा जनकमिसार परिषद् (मन्त्रिमण्डल) बाट नोगिन (वाणिज्य तथा उद्योगमन्त्री), रिकोभ (गृहमन्त्री), मिल्युतिन (कृषिमन्त्री), तओदोरोभिच (खाद्यमन्त्री), उल्यात्रिकोभ (श्रममन्त्री) ले राजीनामा दिए ।
पहिलेका उद्योग वाणिज्यमन्त्री रियाजानोभ, प्रेस विभागको देरविशेभ, सरकारी छापाखानाको अर्बुजोभ, लालरक्षकको युरेन्योभ, श्रम मन्त्रालयको पन्योदोरोभ र सूचनामन्त्री लारिनले मन्त्री पद नत्यागेरै तिनको घोषणामा हस्ताक्षर गरे । कामेनेभ, रिकोभ, मिल्युतिन, जिनोभिएभ र नोगिनले बोल्शेभिक नेतृत्वले गरेको दमन नीतिलाई सहन नसकेकोमा केन्द्रीय समितिकै सदस्यताबाट राजीनामा दिए । पार्टी र सरकारभित्रको यस गोलमालले विरोधीहरू खुसी भए ।
बोल्शेभिकहरूले पनि पार्टी केन्द्रीय समितिको बैठकअनुसार नै पार्टी विरोधीहरूसँग जस्तालाई तस्तैको सङ्घर्ष गरे । कामेनेभ मजदुर र सिपाहीहरूको प्रतिनिधिहरूको सोभियतहरूको केन्द्रीय कार्यकारिणी (त्से–इ–काह) को अध्यक्ष थियो । उसलाई झिकेर त्यसको पदमा स्वेर्दलोभ राखिए । पेट्रोग्रादको सोभियतको अध्यक्ष जिनोव्येभलाई पनि त्यस पदबाट हटाइयो । श्रममन्त्री उल्यात्रिकोभ र खाद्यमन्त्री तेओदोरोबिचलाई पार्टी अनुशासनलाई मान्न लगाएर फेरि आफ्नो पदमा राखियो ।
पार्टी र सरकारको स्थितिलाई सारा जनताको अगाडि राख्न लेनिनले पार्टीको नामबाट एक अपिल लेख्नुभयो । १८–१९ नोभेम्बरको त्यस अपिलमा भनिएको छ, “… बोल्शेभिक पार्टीको केन्द्रीय समितिले वामपन्थी समाजवादी क्रान्तिकारी पार्टीका मुख्य तीन सदस्य साथी कम्कोभ, साथी स्भीरो र साथी करेलिनलाई आफ्नो बैठकमा आमन्त्रित ग¥यो र उहाँहरूलाई नयाँ सरकारमा भाग लिन अपिल ग¥यो । आमन्त्रित साथीहरूले इन्कार गरेकोमा हामीलाई दुःख छ । क्रान्तिकारी र मजदुरवर्गका पक्षपातीहरूको यो इन्कारी अस्वीकार्य छ ।”
…कामेनेभ, जिनोभिएभ, नोगिन, रोकोभ, मिल्युतिन र अरु केही व्यक्तिले हिजो १७ नोभेम्बरको दिन हाम्रो पार्टीको केन्द्रीय समिति छोडे र अन्तिम तीन जनाले जनकमिसार परिषद्लाई पनि छाडे ।
हाम्रो साथ छोड्ने ती साथीहरूले भगुवाहरूले जस्तै काम गरे किनभने तिनीहरूले सुम्पेको पद मात्रै छोडेनन् । बरm तिनीहरूले हाम्रो पार्टीको केन्द्रीय समितिको यस प्रत्यक्ष निर्देशनलाई उल्लङ्घन गरे ।… हामी ती भगुवापनलाई पूर्णतः निन्दा गछौँ ।
…कामेनेभ र जिनोभिएभले २३ अक्टोबर १९१७ मा पनि पार्टी निर्णयको बैठकमा विद्रोहको विरोधमा मत दिएर भगुवा र हडताल खतम गर्ने रूपमा देखापरेका थिए ।
त्यस अपिलमा भनिएको छ, “…हामी बुद्धिजीवीहरूको ती स–साना पार्टीहरूको दबाबको अगाडि झुक्ने छैनौँ… ।”
सैनिक क्रान्तिकारी समितिका पाइलाहरू
‘रक्षा समिति’, नगर ड्युमा, रेल बाटोको केन्द्रीय समिति र अन्य विरोधीहरूले जनता भोकै मार्ने† मोर्चाहरूमा सिपाहीहरूलाई रसद–पानी रोक्ने; मजदुर र कर्मचारीहरूले ज्याला र तलबै नपाउने षड्यन्त्रहरूलाई अपराधको रूपमा लिने र त्यसलाई कठोर सजाय दिने निर्णय लिएर सैनिक क्रान्तिकारी समितिले २२ नोभेम्बरको दिन एक ‘असाधारण सूचना’ प्रकाशित ग¥यो ।
२३ नोभेम्बरको दिन एक विज्ञप्ति प्रकाशित गरेर ‘रक्षा समिति’ लाई भङ्ग गरेको घोषणा ग¥यो । २९ नोभेम्बरको जनकमिसार परिषद् (मन्त्रिपरिषद्) ले पेट्रोग्राद नगर ड्युमा भङ्ग गरी अर्को चुनाव गर्ने आदेश दियो ।
पेट्रोग्रादका जनताको इच्छा र आकाङ्क्षाअनुसारको काम नगर ड्युमाले गर्न सकेन । त्यहाँका जनताको प्रतिनिधित्व गर्ने अधिकार त्यसले गुमायो । मजदुर, सिपाहीहरू र किसानहरूको इच्छाको विरोधमा क्रान्तिविरोधी गतिविधि गरेकोमा ३० नोभेम्बरको दिन नगर ड्युमालाई भङ्ग ग¥यो । ७ डिसेम्बरको दिन पेट्रोग्राद ड्युमाको नयाँ चुनाव गर्ने घोषणा ग¥यो । ११ डिसेम्बरको दिन नगर ड्युमा बस्ने घोषणा गरियो ।
ड्युमामा विरोधी प्रतिनिधिहरूले विज्ञप्तिलाई वास्तै नगरी दुई दिन ड्युमाको बैठक राखे । तिनीहरूले ‘रगतको अन्तिम थोपा’ सम्म त्यसको विरोध गर्दै जाने निर्णय गरे । १२ डिसेम्बरको दिन बोल्शेभिकहरू ड्युमाको सभा कक्षामा गएर तिनीहरूलाई बाहिर धपाए । आखिरमा त्यसको विरोध गर्दै तिनीहरू ‘हिंसाको अगाडि झुक्दै’ सभा भवनबाट बाहिर निस्के ।

साभार : अक्टोबर क्रान्ति र यसको महत्व

Leave a Reply

Your email address will not be published. Required fields are marked *