भर्खरै :

राजनीतिक, सामाजिक र वैज्ञानिकहरूको जीवनी अध्ययन गरेर विज्ञता हासिल गर्नु जरूरी

राजनीतिक, सामाजिक र वैज्ञानिकहरूको जीवनी अध्ययन गरेर विज्ञता हासिल गर्नु जरूरी

भक्तपुर, ३ मङ्सिर । “घर बलियो बनाउन जग बलियो बनाउनु पर्छ भनेझैँ एसईईमा राम्रो नतिजा ल्याउन विद्यालय तहको आधारभूत कक्षादेखि नै विद्यार्थीहरूको अध्ययन राम्रो हुनुपर्छ ।” उक्त विचार नेपाल मजदुर किसान पार्टीका सचिव, प्रभात इङ्गलिश सेकेन्डरी स्कूलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं सांसद प्रेम सुवालले सोमबार विद्यालयद्वारा आयोजित ‘भक्तपुर महोत्सव–२०८१’ को अभिमुखीकरण कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
भक्तपुर आउने नेपाल र विदेशका पाहुनाहरूलाई यहाँको सम्पदा अवलोकन गराउन र पर्यटन उद्योग विकास गर्न भक्तपुर महोत्सव–२०८१ यही मङ्सिर २८ देखि पुस २ गतेसम्म भक्तपुर नगरपालिकाबाट आयोजना हुन गइरहेको उहाँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवालले भन्नुभयो, “प्रभात इङ्गलिस सेकेन्डरी स्कूलका विद्यार्थीहरू पनि भक्तपुर महोत्सवमा सहभागी हुनु जरूरी छ । कुन कुन गतिविधिमा सहभागी हुने हो विद्यालयले आवश्यक निर्देशन गर्नेछ ।”
विद्यार्थीहरूले शैक्षिक जग बलियो बनाउनु जरूरी भएकोले यसको लागि विद्यालय शिक्षा राम्रोसँग अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “कक्षाको पाठ्यपुस्तकसँग सम्बन्धित सन्दर्भ पुस्तकहरू पनि अध्ययन गर्नुपर्दछ । सन्दर्भ पुस्तक अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक पढ्न सजिलो हुनेछ ।”
अध्यक्ष सुवालले भन्नुभयो, “विद्यार्थीहरूले समाजका उदाहरणीय राजनीतिक, सामाजिक, वैज्ञानिक क्षेत्रका जीवनी अध्ययन गरेर राम्रो विज्ञता हासिल गर्नु जरूरी छ ।”
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा भक्तपुर महोत्सव सचिवालयका प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुर नगरपालिकाले भक्तपुरको कला–संस्कृतिको प्रवद्र्धन गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूसमक्ष भक्तपुरलाई चिरपरिचित गराउने मूल उद्देश्यका साथ दोस्रो भक्तपुर महोत्सव मङ्सिर २८ देखि पुस २ गतेसम्म हुने जानकारी गराउनुभयो ।
महोत्सवले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउनमा थप टेवा पुग्ने, स्थानीय सीप, कला–संस्कृतिको प्रवद्र्धन हुने, भक्तपुरका जनताको आय वृद्धि भई जीवनस्तर माथि उठ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
उहाँले भक्तपुर महोत्सवमा प्रदर्शनी हुने विविध विधाहरूको बारेमा प्रस्ट्याउँदै भक्तपुर महोत्सवलाई सभ्य र भव्यरूपमा सफल बनाउन सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिकालगायत सम्पूर्णमा अनुरोध गर्नुभयो ।
विद्यालयका प्राचार्य बदनकेशरी प्रजापतिले भक्तपुर नगरपालिकाबाट आयोजित भक्तपुर सडक महोत्सव–२०६९, सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा–२०७६, सम्पदा पदयात्रा तथा स्थानीय उत्पादन तथा घरेलु मेला–२०७९, भक्तपुर पोखरीहरूको पदयात्रा मेला–२०८०, बहाबही पदयात्राका साथ योमरी उत्सव २०८० लगायतका विभिन्न कार्यक्रमहरूमा प्रभात स्कूलले निरन्तर सहभागिता जनाउँदै आएको बताउनुभयो ।
उहाँले दोस्रो भक्तपुर महोत्सव–२०८१ मा पनि भक्तपुरको नेवारी संस्कृतिको जीवन्त प्रदर्शनी, जन्मदेखि जंकोसम्मका संस्कार प्रदर्शनी गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भई भक्तपुर महोत्सवलाई सभ्य तरिकाबाट भव्यरूपमा सम्पन्न गर्न विद्यालय परिवारबाट यथासम्भव सहयोग गर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिक्षक बलराम गोसाईले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *