भर्खरै :

छारे रोगले निम्त्याउने स्वास्थ्य सङ्कट

छारे रोगले निम्त्याउने स्वास्थ्य सङ्कट

हाम्रो मस्तिष्कमा करोडौँ स–साना नसाका न्यूरोनहरूको प्रवाह भएको हुन्छ । तिनै नसाले हाम्रो शरीरका जति पनि अङ्गहरू छन्, तिनको सञ्चालन गरेका हुन्छन् । मस्तिष्कलगायत स्नायु प्रणालीका अङ्ग विद्युतीय तरङ्गजस्तो प्रतिक्रियाबाट चलेको हुन्छ । शरीरका विभिन्न अङ्ग चल्दा पनि फरकफरक विद्युतीय तरङ्गले काम गरेको हुन्छ । शरीर सञ्चालन गर्ने वा रोक्ने तिनै विद्युतीय तरङ्गमा सन्तुलन नभएमा मानिस बेहोस हुने, कुनै अङ्ग नचल्ने वा अन्य असामान्य अवस्था सिर्जना हुने हुन्छ । कतिपय अङ्गका कामहरू हामीले देख्न, अनुभव गर्न सक्छौँ भने कतिपय देख्न र अनुभव पनि गर्न सकेका हुँदैनौँ । केही कारणले त्यो प्रवाहमा अवरुद्ध भयो भने त्यहाँ असामान्य अवस्था हुन्छ र त्यसले अस्वाभाविक तरङ्ग पैदा गर्छ । त्यसले शरीरको कुनै भागमा झड्का हुने वा पूर्णरूपमा बेहोस हुने गर्दछ, त्यसलाई नै हामी छारे रोग भन्ने गर्छौँ । मस्तिष्कको जुन भागको नसामा छारे रोगको असर पर्छ त्यही भागमा लक्षण देखिने गर्दछ ।
छारे रोग भनेको मस्तिष्कबाट उत्पन्न हुने एक प्रकारको रोग हो । यस रोगमा मस्तिष्कमा क्षणिक खराबी उत्पन्न हुँदा होस हराउने, लड्ने, बेहोस हुने, कम्पन हुने, चोटपटक लाग्नसक्ने हुन्छ । छारे रोगमा बेहोसै हुनुपर्छ भन्ने छैन । यस्ता बिरामीको कुनै अङ्ग अस्वाभाविकरूपमा चल्ने, आँखा फर्फराउने, कोही बेहोस नै हुने हुन्छन् । कतिपयले जिब्रो टोक्ने, आँखा बाङ्गिने, मुखमा फिज आउने, ¥याल आउने, ओठ टोक्ने, घाँटी बटार्ने, शरीर काठजस्तै कडा बनाउने गर्छन् । कतिपय क्षणमा दिसा पिसाबसमेत नियन्त्रणमा हुँदैन । सामान्यतयाः यस्तो अवस्था २०–३० सेकेण्ड रहन्छ र बिस्तारै पहिलेकै अवस्थामा आउँछन् ।
नेपालमा कति मानिस यस रोगबाट ग्रसित छन् भन्ने यकिन तथ्याङ्क छैन । विश्व स्वास्थ्य सङ्गठनले कुल जनसङ्ख्याको एक प्रतिशतलाई छारे रोग हुन्छ भनेको छ । त्यस आधारमा नेपालमा साढे तीन लाखभन्दा बढी छारे रोगका बिरामी रहेको अनुमान गर्न सकिन्छ । विश्वभरि ५० मिलियन मानिसलाई छारे रोग छ । त्यसको ८० प्रतिशत समस्या हाम्रोजस्तो देशहरूमा छ । छारे रोग विश्वमा नसासम्बन्धी रोगहरूमध्ये पहिलो स्थानमा रहेको छ । नेपालमा छारे रोग ठुलो जनस्वास्थ्य समस्याको रूपमा रहेको पाइन्छ । छारे रोगकै कारण कतिपय बालबालिकाले बिचमै विद्यालय छाडेका छन् भने कतिपयले रोजगारी गुमाएका छन् । अझ महिलाहरूमा यो जटिलता अझ बढी रहेको पाइन्छ । विवाह नै नहुने, भइहाले पनि पारिवारिक विचलन आउने गरेको देखिन्छ ।
नेपालमा छारे रोग भएकामध्ये ७० प्रतिशत मानिसले उपचारबाट वञ्चित छन् । जबकि, उपचार गरियो भने छारे रोग लागेकामध्ये ७० प्रतिशतको रोग निको हुनसक्छ भने बाँकी ३० प्रतिशत बिरामीले आफूलाई छारे रोग भएको पत्तो नै पाएका छैनन् । उनीहरूलाई औषधिको सेवनबाट रोगलाई नियन्त्रणमा राख्न सकिन्छ । कतिपय बिरामी चिकित्सकको सम्पर्कमा आउन नचाहने हुन्छन् । अझै पनि गाउँघरमा यसलाई लुकाउने, झारफुक गर्नेजस्ता प्रवृत्ति रहेको छ । कति बिरामीले आफूखुसी औषधि छोड्ने गर्दा पनि रोग निको हुन गा¥हो हुन्छ । यसबारे जनचेतना, विज्ञ र उपचारको सहज पहुँच नहुँदा यो गम्भीर समस्याको रूपमा रहेको छ ।
कस्ता व्यक्तिमा लाग्दछ ?
यो रोग यति नै उमेर समूहको मानिसमा लाग्छ भन्ने छैन, मान्छेको जन्मदेखि अन्तिम अवस्थासम्म पनि छारे रोग हुनसक्छ । किनकि यो रोग मस्तिष्कको विकारका कारण हुने गर्दछ । खासगरी १२ वर्षदेखि ४० वर्षसम्मको उमेर समूहलाई यसले बढी देखिएको छ । कतिपय व्यक्तिमा जन्मजात नै मस्तिष्कमा अनेक दागहरू हुन्छ । बच्चाको दिमागमा अक्सिजन नपुग्ने, दिमागमा जुकाको कारण हुने सङ्क्रमण, क्षयरोग वा प्यारासाइटस भएमा, मस्तिष्क रक्तश्राव वा मस्तिष्कघात हुँदा पानी जमेमा, ट्युमर भएमा, चोट लागेमा छारे रोग हुने उच्च सम्भावना रहन्छ । यस्ता बिरामीलाई शल्यक्रियाबाट निको पार्न सकिन्छ ।
रोगको उपचार विधि के के छन् ?
यस्ता लक्षणहरूको आधारमा बिरामीको परीक्षण हुन्छ र त्यसकै आधारमा उपचार गरिन्छ । नियमितरूपमा औषधि प्रयोग गरेमा ७० देखि ८० प्रतिशत निको हुन्छ । छारे रोगलाई लापरबाही भने गर्नुहुँदैन । यसले अन्य जटिल अवस्था ल्याउन सक्छ । सामान्यतः छारे रोगले मानिसको ज्यानै लिने नभए पनि यसले बिरामीको व्यक्तिगत, पारिवारिक र सामाजिकरूपमा निकै ठुलो असर पारेको हुन्छ र उनीहरूको व्यक्तित्व विकासमा अवरोध सिर्जना गर्दछ । यस्ता बिरामीलाई एक्लै बाहिर जान नदिने, अन्य व्यक्तिसरह जोखिमपूर्ण काममा नलगाउनेजस्ता कारणले उनीहरू थुप्रै अवसरहरूबाट वञ्चित हुनुपर्दछ ।
सबैभन्दा पहिले त औषधिबाटै छारे रोगको उपचार गरिन्छ । औषधिको सेवनले पनि निको भएन भने शल्यक्रियामार्फत पनि उपचार गरिन्छ । यसमा दुईवटा परीक्षणबाट रोगको पहिचान गरीशल्यक्रिया गर्न मिल्छ कि मिल्दैन भनेर थाहा पाउन सकिन्छ । पहिलो मस्तिष्कको एमआरआई हो । यसका लागि एमआरआईको प्रोटोकलअनुसारको परीक्षण गरिनुपर्छ । दोस्रो इइजी अर्थात् मस्तिष्कको चाल हेर्ने । यी दुवै परीक्षणबाट ७५ देखि ८० प्रतिशत मात्र कारण पत्ता लाग्न सक्छ । अझै २५–३० प्रतिशतमा के कारणले छारे रोग लागेको हो भन्ने थाहा हुन सकेको छैन । यस्ता खालका बिरामीलाई लामो समयसम्म छारे रोगको औषधि खुवाउनुपर्छ । उनीहरूलाई दुई वर्षसम्म औषधि दिएर त्यसको प्रभाव हेरेपछि विस्तारै बन्द गर्ने गरिन्छ । कतिपयमा दोहोरिएको पनि छ । त्यसरी दोहोरिएको अवस्थामा उनीहरूले जीवनभर नै औषधि खानुपर्ने हुन्छ ।
औषधिले पनि निको नभए भिएनएस (भेगर्स नर्भ स्टिमुलेसन) प्रविधिबाट उपचार गरिन्छ । भिएनएस भन्नाले एक किसिमको उपकरण हो, जसलाई सामान्य शल्यक्रिया गरी शरीरमा जडान गरिन्छ । यो प्रविधि निकै महँगो छ । नेपालमा सामान्यतः यसको मूल्य १३/१४ लाख रूपैयाँ पर्न आउँछ । विश्वमा यस प्रविधिको विकास भएको दुई÷तीन वर्षमात्रै भएको छ भने नेपालमा भित्रिएको छ/सात महिनामात्रै भएको छ । हाल यो सुविधा बीर अस्पताल, अन्नपूर्ण न्यूरो अस्पताल र नर्भिक अस्पतालमा मात्रै उपलब्ध छ । छारे रोगका बिरामीले नियमित औषधि खानुपर्ने भएकाले सरकारले सकेसम्म निःशुल्क उपलब्ध गराउन पहल गर्नुपर्ने, त्यसो नभए पनि केही अनुदान दिन सके विपन्नवर्गका जनतालाई निकै सहज हुने देखिन्छ ।
छारे रोगबाट बच्ने कसरी ?
कुनै पनि रोग लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिनु नै सबैभन्दा उपयुक्त बाटो हो । तर, यसो भन्दैमा सबै मानिस निरोगी हुन्छन् भन्ने पनि होइन । अन्य रोगजस्तै छारे रोगबाट पनि मानिस ग्रसित हुने गर्दछ । छारे रोगबाटबच्नका लागि केही उपायहरूमा ध्यान दिन सकिन्छ ।
– गर्भावस्थामा र बच्चा जन्मिने बेला विशेष ध्यान दिनुपर्छ । यस्तो बेला बच्चाको मस्तिष्कमा चोट लाग्नसक्छ र त्यसले पछि बच्चा छारे रोगी हुन पुग्छ ।
– रक्सीको सेवन गर्ने व्यक्तिमा यो रोग लाग्ने सम्भावना उच्च हुन्छ । रक्सीसेवन गरेपछि जहाँसुकै लड्ने हुँदा मस्तिष्कमा चोट लाग्नसक्छ र त्यसले छारे रोग हुन सक्छ ।
– सवारीसाधन चलाउँदा सावधानीपूर्वक चलाउनुपर्छ । कुनै दुर्घटना हुँदा टाउकोमा चोट लाग्न गएमा रक्तश्राव वा रगत जम्न गई छारे रोग हुने सम्भावना रहन्छ ।
– छारे रोगबाट बच्ने अर्को उपाय भनेको पक्षघातबाट बच्नु भनेको पनि हो । त्यसैले पक्षघातबाट बच्न राम्रो खानपान, व्यायाम गर्ने, मोटोपन घटाउनुपर्छ ।
– मधुमेह तथा उच्च रक्तचाप हुनबाट बच्न सके पनि छारे रोगको जोखिम धेरै हदसम्म कम हुन्छ ।
अरुको भूमिका कस्तो हुनुपर्छ ?
छारे रोग जोकोहीलाई पनि हुनसक्ने हुँदा उनीहरूलाई नकारात्मक व्यवहार नगरी मित्रवत् व्यवहारको खाँचो पर्दछ । उनीहरूमा उच्च मनोबल ल्याउनुपर्छ । छारे रोगको समस्या भएको मान्छेले त्यसलाई नियन्त्रण गर्न सक्दैनन् । केहीजानी बिरामी ढलेको छ भने उसको वरपर भएको चोट लाग्ने वस्तुलाई हटाइदिनुपर्छ, ताकी टाउकोमा चोट लाग्न नपाओस् । त्यस्तो अवस्थामा वरपरको व्यक्तिले उसलाई सम्हाल्नुपर्ने हुन्छ । ढलेको व्यक्तिको वरिपरि भीडभाड गरिदिनुहुँदैन । बरु यसलाई सजिलोसँग बस्न वा सुत्न सहज वातावरण मिलाइदिनुपर्छ ।
परिवार वा समाजमा कसैलाई छारे रोगको लक्षण देखिएमा चिकित्सककोमा लैजाने वा जाने सल्लाह दिनुपर्छ । जुनसुकै समयमा पनि छारे रोगका बिरामीलाई छोप्ने हुँदा उनीहरूको साथमा परिचयपत्र भएमा आफन्तलाई सम्पर्क गर्न सजिलो हुन्छ । यस रोगका बिरामीलाई सही परामर्शले निको गर्न मद्दत पुग्दछ । मस्तिष्कका कतिपय भाग शल्यक्रिया गर्न नमिल्ने किसिमका हुन्छन् । त्यस्तो ठाउँमा शल्यक्रिया गर्दा रोग निको भए पनि मान्छेको बोली बन्द हुने, कान नसुन्ने, सोच्न नसक्नेजस्ता अनेक समस्या आउन सक्ने भएकाले चिकित्सकले विशेष ध्यान दिनुपर्छ । त्यसैले औषधि, परामर्श र शल्यक्रियाबाट छारे रोगको उपचार हुन्छ ।
(वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरो सर्जरी विभाग प्रमुख प्राडा झासँग गरिएको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *