भर्खरै :

सांस्कृतिक स्तर उठाउने काम पनि संस्कृति हो

आदर्शोमुख समाज आजको आवश्यकता हो । त्यो समाज स्थापना गर्न समाजमा योग्य व्यक्तिको खाँचो हुन्छ । योग्य व्यक्ति सादा जीवन उच्च विचारको हुनुपर्छ । स्कूल, कलेज, सहकारी र हरेक सरकारी संस्थामा काम गर्ने पियनदेखि प्रधानाध्यापक र स्थानीय तहका जनप्रतिनिधिदेखि प्रधानमन्त्री तथा कुनै तल्लो एकाइमा काम गर्ने कर्मचारीदेखि उच्च तहका सचिवसम्मका व्यक्तिले आ–आफ्नो पदअनुसार काम गर्नुपर्ने हुन्छ । हरेक समुदायको क्षेत्रमा आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । घर परिवार, समाज या कुनै निकायको तहमा रहेका नागरिकहरू सुशील, मृदुभाषी, मिलनसार, लगनशील, सबैप्रति सहयोग गर्ने भावना भएका व्यक्ति हुनुपर्छ । कर्तव्यनिष्ठ, सादगी, शालीन, शिक्षासेवी र समाजसेवी हुनुपर्छ ।
देश र जनताको निम्ति सेवा गर्नुपर्छ भन्ने भावना हामीमा हुनुपर्छ । इमानदार सच्चरित्र, मेहनती, लगनशील, उत्प्रेरक र हृदयदेखि आदर सम्मान र सक्दो सहयोग गर्ने व्यक्ति समाजका प्रिय हुन्छ । विशुद्ध मन, पवित्र विचार, गरिब दीनदुखी, निमुखा, अपाङ्ग तथा अस्वस्थ व्यक्तिलाई सेवा गर्ने व्यक्ति पनि समाजको लागि खाँचो छ । नम्र बोल्ने, अनावश्यक कुरा नगर्ने र जस्तोसुकै अप्ठेरो र कठिन परिस्थितिमा पनि समाज सेवा नछोड्ने या प्रतिकूल अवस्थामा पनि निरन्तर सेवा गर्ने गुण हामीमा हुनुपर्छ । सत्यको पक्षमा लाग्ने, असत्य, अन्याय, अत्याचारको विरोधमा बोल्ने व्यक्ति समाजमा भएन भने समाज अघि बढ्दैन । आफूलाई ठुला ठान्ने, आफ्नो कुरामात्र ठीक ठान्ने, आफूभन्दा तलको भनी हेलाहोचो गर्ने, अपमान गर्ने, दोस्रो दर्जाको नागरिक ठान्ने, सद्भावभन्दा पीडा दिने व्यक्तिहरू समाजका असल नागरिक गन्दैनन् ।
कुनै व्यक्ति पदमा पुग्नु नराम्रो होइन । तर, त्यसले आफ्नो पदअनुसारको काम गर्नुपर्छ । कुनै कार्यालय, सङ्घ संस्थामा काम गर्ने दिदी या सहयोगीहरूलाई सरसफाइ रचियापान गर्दा गर्नुपर्ने व्यवहार र कार्यशैलीबारे सुसूचित पार्नुपर्ने देखिन्छ । अतिथिहरूलाई सत्कार गर्नेबारे पनि दिदीहरूलाई सिकाइनुपर्ने हुन्छ । कार्यालय समयमा नपुग्ने, आफ्नो जिम्मेवारी पूरा नगर्ने पियन, कर्मचारी, शिक्षक या अन्य व्यक्ति असल, इमानदार र कर्तव्यनिष्ठ छैन भन्ने कुरा थाहा पाउनुपर्छ । गर्नुपर्ने काम समयमा गरिएन भने काममा बाधा पर्छ । यसले गर्नुपर्ने सेवा समयमा गर्नसक्दैन । यसको असर सम्बन्धित निकाय या कार्यालयसित सम्बन्धित व्यक्तिहरूमा पर्छ । यसले असन्तोष बढाउँछ । असन्तुष्टिले विवाद निम्त्याउँछ । अन्तद्र्वन्द्व समयमै समाधान भएन भने गन्तव्यमा पुग्दैन ।
विभिन्न जनजातिहरूको आ–आफ्नो चलन हुन्छ । एउटा जनजातिको चलन अर्को जनजातिसँग नमिल्न सक्छ । घर व्यवहारमा आफ्नो सामाजिक रीतिथिति हुने भएकोले सबैलाई सबै कुरा थाहा हँुदैन । त्यसबारे सँगै बसेर छलफल गर्नुपर्ने हुन्छ । समयमा कार्यशैलीबारे बोध या जानकारी नहुँदा मतभेद हुन्छ, कहिलेकाहीँ सहन नसकेर गाली गलौज गरिएको हुन्छ । त्यही गालीगलौज र अन्तरभेदले मतभेद चर्कँदै गयो भने परिवारमा विच्छेद हुन्छ या बाध्य भएर छोड्ने स्थिति आउन सक्छ । विद्यालय, सामाजिक सङ्घ संस्था, सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरूमा पनि समन्वय नहुँदा, भन्नुपर्ने कुरा समयमा नभन्दा काम बिग्रिएको हुन्छ । यसको असर व्यक्तिलाई भन्दा संस्थालाई पर्न सक्छ । कतिले त असन्तोष व्यक्त गरेर काम छोड्छ त कतिले कारण नदेखाई छोडेको हुन्छ । अतः कर्तव्यपालना गर्नु, अरूलाई शिक्षित पार्नु, जनताको सांस्कृतिक स्तर उठाउने आदि काम गर्नु पनि संस्कृति नै हो । सभ्य र समुन्नत समाज बनाउन समाजका हरेक नागरिक सुसूचित हुनु आवश्यक छ ।
कुनै पनि सङ्घ संस्था, विद्यालय, सहकारी या सामाजिक संस्थाहरू टिकाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न तत्तत् संस्थामा कार्यरत जिम्मेवार व्यक्तिहरू योग्य, सक्षम, दूरदर्शी, कर्तव्यनिष्ठ हुनुपर्छ† कसको कुन काम ठीक या गलत थाहा पाउनुपर्छ । राम्रो कामको सराहना गर्नुपर्छ, फेरि त्यस्तै काम गर्न उत्साहित गर्नुपर्छ, खराब कामको खबरदारी गर्नुपर्छ र सच्चिएर अघि बढ्नुपर्छ । चरित्रहीन, जीवनमा दाग लाग्ने व्यक्तिहरूबारे ख्याल गर्नुपर्छ । व्यक्तिगत स्वार्थमात्र हेर्ने, आफ्नो पेसा या जागिरबाहेक समाजको ख्याल नगर्ने, जागिर पाउञ्जेल समुदायप्रति चासो राखेजस्तो गर्ने र नपाएपछि कुनै मतलब नराख्ने व्यक्तिहरू पनि समाजमा नभएका होइनन् । स्वार्थ पूरा गर्ने नाउँमा गलत काम गर्ने, स्वार्थ पूरा नहुँदा जो कसैलाई गाली गर्ने, विरोध गर्ने, विरोधमा लेख्ने काम चरित्रवान् नागरिकले गर्दैन । गल्ती सुधार नगर्ने, एउटा गल्ती छोप्न अर्को गल्ती गर्ने व्यक्ति कसरी असल नागरिक हुन्छ ? उसले जतिसुकै पढेको होस्† जनतालाई उसले हासिल गरेको शिक्षाभन्दा उसले गर्ने व्यवहार नै मुख्य हुन्छ । व्यवहारकै आधारमा समाजले मान्छेलाई चिन्ने हो । अतः हामी जागरूक हुनुपर्छ† सत्मार्गमा हिँड्नुपर्छ । हाम्रो मन, विचार पवित्र हुनुपर्छ । सङ्कीर्ण विचार छोड्नुपर्छ । विशाल हृदय हुनुपर्छ । दूरदर्शी हुनुपर्छ । समुदायप्रति समर्पित हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *