क्युवाको पुनः कब्जा
- जेष्ठ २९, २०८३
गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च शिक्षा हासिल गरेकाले पनि अध्यापन अनुमतिपत्र परीक्षामा सहभागी हुन पाउने व्यवस्था मिलाउन आवश्यक कानुन निर्माणको कुरा तत्कालीन अर्थमन्त्रीले गरेका थिए । यसले शिक्षा क्षेत्रमा संलग्न शिक्षक तथा शिक्षाशास्त्र अध्ययन गर्दै गरेका विद्यार्थीको भावनामा चोट पुगेको छ । गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने नाउँमा बजेटले शिक्षण सिकाइका लागि नजानेका व्यक्तिलाई पेसामा प्रवेश गराउन बाटो खोल्नु र नजिकका आसेपासे व्यक्तिलाई मार्ग प्रशस्त गर्नु देशको लागि कतिको उचित होला ? विदेशी दातृराष्ट्रले दिएको अनुदान र सहयोगको प्रतिफल पाउन नेपाली जनशक्तिलाई विदेशीको सस्तो ज्यामी वा कामदार बनाउने काम उचित होइन ।
शिक्षा क्षेत्रमा अनेकौँ समस्या रहेकोले सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि खस्कँदो अवस्थामा छ । शिक्षक सेवा आयोगको परीक्षामा विश्वविद्यालयबाट राम्रो अङ्क ल्याएका विद्यार्थी अनुत्तीर्ण भइरहेको सन्दर्भ जोडेर शिक्षा सुधारका लागि आवश्यक कदम स्वरूप जुनसुकै विषयमा उच्च शिक्षा हासिल गरेकालाई पनि अध्यापन अनुमतिपत्र दिन आयोगको परीक्षामा सामेल गराउनु कतिको न्यायोचित हो ?
एसईई तथा दस जोड दुईको परीक्षामा सबैभन्दा उच्च ग्रेड वा अङ्कको उपलब्धि हासिल गरेका विद्यार्थीको रोजाइ शिक्षाशास्त्र हुन नसक्दा र कमसल विद्यार्थीलाई शिक्षाशास्त्र अध्ययनको बाटो खुला गर्नुपर्ने व्यवस्थाको परिणाम आज विद्यालयको शैक्षिकस्तर खस्किएको हो । विश्वविद्यालय तहका शिक्षाशास्त्र सङ्कायका कार्यक्रम समयानुकूल परिमार्जित हुन नसक्दा शिक्षाशास्त्र प्राविधिक र प्रयोगात्मक विषय भएर पनि शैक्षिकस्तर खस्किएको हो ।
अध्यापनको क्रममा विषयवस्तुको ज्ञान र शिक्षण विधिलाई व्यवहारिकरूपमा प्रयोग गर्नुपर्ने कला पनि आवश्यक छ । पढाउनुपर्ने सैद्धान्तिक विषयमा स्पष्ट भएर पनि पढाउने शैली र प्रविधिका बारेमा सूचना सङ्कलन गरिएन भने फरक प्रकृतिका विद्यार्थीहरूलाई व्यवहारिकरूपमा एउटै सीप, ज्ञान तथा धारणा दिन शिक्षाशास्त्रबाहेकले पनि सक्छ भनेर शिक्षाशास्त्रको उत्पादनलाई बेवास्ता गर्ने परिपाटीको विकास भएको छ ।
शिक्षाशास्त्र सङ्कायबाट उत्पादित जनशक्ति व्यावहारिक र सीपयुक्त हुन नसक्दा असफल पनि हुनसक्छ । शिक्षाशास्त्रमा प्रवेश गर्ने विद्यार्थी उच्चस्तरको नरहेकाले सक्षम जनशक्ति उत्पादन नहुनु चिन्ताको विषय हो । शिक्षाशास्त्रलाई समयानुकूल परिमार्जन गर्नुको सट्टा जुनसुकै विषयमा उच्च शिक्षा हासिल गरेकोलाई शिक्षाक्षेत्र सुधार गर्ने नाउँमा शिक्षक बनाउँदा शिक्षा क्षेत्रमा सुधार होला कि नहोला ?
शिक्षाशास्त्रलाई एकेडेमिसँगै पेसागत सीप विकासको व्यवहारिक तालिम र शैक्षिक कार्यक्रमको रूपमा सञ्चालन गरी शिक्षा र शिक्षाशास्त्र जोगाउनुपर्दछ । विद्यालयको शैक्षिकस्तर सुधारको लागि शिक्षक समयसापेक्ष रूपमा परिवर्तन भइरहनु आवश्यक छ । परीक्षामा उत्तीर्ण हुँदैमा ऊ योग्य र सक्षम हुुन्छ भन्ने कुरा नै होइन । विश्वमा बदलिरहने सूचना प्रविधि सञ्चारले आजको समयमा नयाँ पुस्ता अगाडि बढेको हुन्छ । सिकाइ प्रभावकारी, गुणस्तरीय बनाउन तथा बढुवा र ग्रेडवृद्धि चाहने शिक्षकहरूले समयसमयमा परीक्षा दिई रहनुपर्छ ।
यसर्थ, विद्यार्थीको मनोविज्ञान बुझेर विद्यार्थीहरूलाई व्यवहारिक सीप, ज्ञान र धारणा निर्माणको लागि पाठयोजना बनाउने, विविध शिक्षण विधि तथा व्यवहारिक प्रयोग, राष्ट्रिय अन्तर्राष्ट्रिय शिक्षाको दर्शन विकास तथा अवधारणा, पाठ्यक्रम र पाठ्यवस्तु के कसरी बनाउने जस्ता शिक्षाको महत्वपूर्ण कुरा समेटिएको शिक्षाशास्त्रलाई जोगाई शिक्षाको विकास गर्नु आजको आवश्यकता हो ।
Leave a Reply