भर्खरै :

असल समाज स्थापना गर्न असल राजनीति आवश्यक

असल समाज स्थापना गर्न असल राजनीति गर्नुपर्छ । असल राजनीति गर्न असल नेता र राजनीतिक दलको खाँचो पर्छ । देशमा एक दुई वटा राजनीतिक दल असल भएर समाज समृद्ध हुँदैन । असल स्थिति बसाल्ने काम राजनीतिक दलले गर्ने हो । विशेषतः यसमा सत्तासीन दलका नेता र मन्त्रीहरूको ठुलो हात हुन्छ । असल राजनीतिक संस्कार, संस्कृति नभएसम्म असल समाज बन्दैन । असल नागरिकहरूको समाजमा चोरी चकारी हुँदैन । असुरक्षित हुँदैन । आपत्विपत्मा एकले अर्कोलाई सघाएको हुन्छ । असल राजनीतिक संस्कृतिले राजनीतिलाई स्वच्छ बनाउँछ । नागरिक भावनाको विकास हुन्छ; जनताको सांस्कृतिक स्तर उठ्छ । जहाँतही फोहर हुँदैन, फोहर गर्दैन । असल समाजका नागरिकहरूमा सामुदायिक भावना हुन्छ । समाजमा व्याप्त अन्धविश्वास, कुरीति, विसङ्गति, विकृति तुलनात्मकरूपमा कम हुन्छ । नागरिकहरू सभ्य र सुसंस्कृत हुन्छन् ।
सरकारले असल समाज, असल संस्कार अगाडि बढाउन असल नागरिक तयार गर्नुपर्ने हो; तयार गर्न आवश्यक पूर्वाधार अघि बढाउनुपर्ने हो । असल संस्कार बसाल्ने काम सरकारको दायित्व हो । पथभ्रष्ट बाटोमा लागेर इज्जत, आस्था, चरित्रमा दाग लाग्ने काम गरेर असल नेता र कार्यकर्ता बन्दैन । असल समाज निर्माण ठुलो दल बन्दैमा, दुई ठुला दल सरकारमा जाँदैमा हुने होइन । असल राजनीति गर्ने असल दल र असल नेता, मन्त्री, सांसद र कार्यकर्ताहरूको कमीले देशमा बेथिति बढेको हो; भ्रष्टाचार र अनियमितता भएको हो । ठुला ठुला दलका नेता, मन्त्रीहरूले स्वच्छ राजनीति गरेनन्; असल नेता र कार्यकर्ता तयार गरेनन् । यसैले यहाँ पैसाको राजनीति हुन्छ; षड्यन्त्रको चलखेल हुन्छ; धाक धम्की हुन्छ; लोभलालच देखाइन्छ । यसले उल्टो खराब नागरिक तयार गर्छ । यहाँ मानव तस्करी हुन्छ; लुटपाट, हत्या–हिंसा हुन्छ । मानव बेचबिखन हुन्छ, यौन शोषण हुन्छ । कालोबजारी हुन्छ । पक्षपात हुन्छ, भेदभाव हुन्छ । के सरकारको चाहना यस्तो विश्रृङ्खलित समाज स्थापना गर्नु हो ?
पटक पटक सरकारमा जाने दलहरूको ध्यान असल समाज निर्माण गर्नेतर्फ गएको देखिँदैन । ठुला दलको अहङ्कार गर्ने, दुई ठुला दलले देश हाँकेर समृद्ध बनाउँछ भन्ने, निर्वाचनमा ठुला दलकै बर्चस्व भन्ने तर बहुमत जनताको हितमा सानो काम पनि नगर्ने सत्तासीन दलका नेताहरू सत्तामुखी राजनीतिमा केन्द्रित भए । ठुला दलको नाउँमा उनीहरूले सत्तामा गएर राजनीतिक संस्कार र संस्कृति बिर्से । उनीहरू स–साना स्वार्थमा भुले । सिद्धान्त , विचार र विवेक बन्धक राखेर अवसरवादी बने । सत्तामा जानको निम्ति एकले अर्कोलाई घात, प्रतिघात गरे† नैतिकता र चरित्र बिर्से । शोषणरहित समाज स्थापना गर्नेतर्फ शासक दलहरूको ध्यान कहिल्यै गएन । यसकारण, यहाँ वर्ग भइरह्यो । वर्ग रहेसम्म वर्ग वर्गबिच द्वन्द्व भइरहनु स्वाभाविक हो । वर्ग वर्गबिच हुने द्वन्द्व नै वर्गसङ्घर्ष हो । सच्चा कम्युनिस्ट पार्टी, माक्र्सवाद–लेनिनवादलाई मार्गनिर्देशक मान्ने दलले वर्गसङ्घर्ष छोड्दैन । सायद एमाले र माओवादी केन्द्रमा माक्र्सवाद र लेनिनवादको गन्ध पनि बाँकी छैन । के दलको सिद्धान्त र विचार भनेको देखाउने दाँत हो ?
सरकार देश बनाउन र जोगाउन लाग्नुपर्छ । देशमा सीमा अतिक्रमित गर्न दिनु हुँदैन । अतिक्रमित भूमि फिर्ता लिन पहल गर्नुपर्छ । अपराधीहरू कारबाहीमा पर्नुपर्छ । अपराध घटाउने अभियान छेड्नुपर्छ । जसले जतिसुकै अपराध गरे पनि, सामाजिक मूल्य र मान्यता उल्लङ्घन गरे पनि मौन रहने या टुलुटुलु हेरेर आपराधिक गतिविधिलाई प्रोत्साहन दिने काम कदापि सही होइन । अपराध घटाउने या बढाउने, असल शासन ल्याउने या नल्याउने सत्तासीन दलहरूकै नीति, निर्णय र सक्रियतामा भर पर्छ । हरेक सरकारको काम राम्रो गर्ने हो† असल बनाउने हो । तर, सत्तामा पुगेर मन्त्री र सांसद भएका जनप्रतिनिधिहरू पद र पैसामा भुले; संस्कार, संस्कृति उल्लङ्घन गरे; दलगत र व्यक्तिगत स्वार्थमा पल्के । यसैले प्रजातन्त्र प्राप्त भएको लामो दशकपछि पनि असल नागरिकहरूको असल समाज बनेन ।
शासक र ठुला दलका नेताहरूमा जसरी भए पनि जित्ने र पदमा पुगेर रजाइँ गर्ने ध्याउन्नामात्र छ । पद र पैसामा भुलेर, बिकेर नै असल समाज नबनेको हो; सरकारले असल नागरिक तयार गर्न नसकेको हो । प्रजातन्त्रको लामो अभ्यास भएको भनिएको नेका, बहुदलीय जनवादको शङ्खघोष गर्ने एमाले र समाज परिवर्तनको निम्ति ‘जनयुद्ध’ गर्न पछि नपर्ने माओवादी केन्द्र बहुमत जनताको सेवामा अघि सरेनन् । समाज बनाउनेभन्दा जसरी भए पनि कमाउनेतर्फ लागे । एवंरितले सरकार दलगत र व्यक्तिगत स्वार्थमा लागे कतै भोलिको समाज स्वार्थीहरूको त बन्ने होइन ? चिन्ताको विषय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *