भर्खरै :

नगर प्रमुख प्रजापतिसहितको टोलीलाई धनुषाको नगराइन नपा प्रमुख विनयकुमार यादवद्वारा स्वागत

नगर प्रमुख प्रजापतिसहितको टोलीलाई धनुषाको नगराइन नपा प्रमुख विनयकुमार यादवद्वारा स्वागत

धनुषा, १८ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको प्रतिनिधिमण्डलाई धनुषाको नगराइन नपा प्रमुख विनयकुमार यादवले खादा ओढाइ स्वागत गर्नुभयो । दुई नगर प्रमुखबिच भएको भेटघाट कार्यक्रममा नगरको शिक्षा, स्वास्थ्य, कृषि, सरसफाइ, विकास निर्माण, कर सङ्कलन, हस्तकला, विकास निर्माणलगायतका विषयमा अनुभव आदानप्रदान भयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले स्थानीय तहहरूले उपलब्ध स्रोतसाधन र विशेषताअनुसार नगरको सन्तुलित विकासमा जोड दिनुपर्ने बताउँदै भक्तपुर नपाले स्वायत्तताको अभ्यास गर्दै नगरलाई आत्मनिर्भर ढङ्गले अगाडि बढाइरहेको बताउनुभयो ।
उहाँले भक्तपुर ऐतिहासिक र सांस्कृतिक हिसाबले अत्यन्त महत्वपूर्ण नगर भएको बताउँदै नगरमा आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो ।
शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर अगाडि बढिरहेको भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालन गरी सस्तोमा गुणस्तरीय मेडिकल शिक्षा प्रदान गर्ने लक्ष्य लिएको बताउनुभयो । ढिलो चाँडो ख्वप विश्वविद्यालय सञ्चालनको स्वीकृति पाउनेमा आशा व्यक्त गर्दै उहाँले नपाबाट सञ्चालित १०० शय्याको ख्वप अस्पतालले ३६५ दिन नै बिरामीको सेवा गर्दै आएको बताउनुभयो ।
सम्पदा पुनःनिर्माणमा जनताको सहभागिता र जनश्रमदान, आर्थिक पारदर्शितालाई जोड, उपभोक्ता मोडल, कृषकलाई निःशुल्क बीउ वितरण तथा सुलभ रूपमा मलको व्यवस्था गर्दै आएको बताउँदै उहाँले नपाका जनप्रतिनिधिहरू जनताको सेवामा समर्पित भएर लागिरहेको बताउनुभयो ।
नगराइन नगरपालिकाका नगर प्रमुख विनयकुमार यादवले नगराइन नगरपालिकाको ऐतिहासिक पृष्ठभूमिबारे प्रस्ट पार्दै धनुषा जिल्लामा पर्ने यस नगरपालिकाको स्थापना वि.सं. २०७३ सालमा भएको जानकारी दिनुभयो ।
९ वटा वडा मिलेर नगरपालिका बनेको, क्षेत्रफल ३९ वर्ग किमि र जनसङ्ख्या ४० हजारको हाराहारीमा रहेको बताउँदै उहाँले नगरपालिकामा विविध जातजाति र भाषाभाषीहरूको बसोबास रहेको स्पष्ट पार्नुभयो ।
प्रमुख यादवले जनप्रतिनिधिहरूको पहलमा हाल १५ शय्याको अस्पताल निर्माणाधीन अवस्थामा रहेको बताउँदै नगरको ९ वटै वडामा स्वास्थ्य संस्थाहरू सञ्चालन गर्दै जनतालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको प्रस्ट पार्नुभयो ।
उहाँले नगरपालिकाको आफ्नै प्रशासनिक भवन पनि हाल निर्माणाधीन अवस्थामा रहेको अवगत गराउँदै नगरवासीहरूलाई सरसफाइबारे सचेतना जगाउने काम नपाले गर्दै आएको बताउनुभयो ।
जनतालाई करको दायरामा ल्याउन नपा प्रयासरत रहेको बताउँदै उहाँले किसानलाई सिँचाइको लागि निःशुल्क विद्युत् उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँले युवा र शिक्षित वर्गहरू पलायनको स्थितिमा रहेको जानकारी गराउनुभयो ।
भेटपश्चात् उहाँहरूबिच मायाको चिनो र उपहार आदानप्रदान भयो ।
भेटमा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, कार्यपालिका सदस्य रोशनमैंया सुवाल, नगराइन नपा उपप्रमुख राधादेवी यादव, प्रमुख प्रशासकीय अधिकृत सुधिरकुमार यादव, स्वास्थ्य शाखा प्रमुख रामकुमार कर्ण र प्राविधिक शाखा प्रमुख विपिन साहलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *