भर्खरै :

लैङ्गिक हिंसा अन्त्य गर्न नयाँ पुस्तालाई सुसंस्कृत बनाउनुपर्ने

लैङ्गिक हिंसा अन्त्य गर्न नयाँ पुस्तालाई सुसंस्कृत बनाउनुपर्ने

भक्तपुर, २२ मङ्सिर । भक्तपुर नगरपालिका वडा नं. ६ कार्यालयको आयोजनामा लैङ्गिक हिंसाविरुद्ध अभियान कार्यक्रम गरियो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले व्यक्तिगत सम्पत्तिसँगै मानिसबिच समाजमा वर्ग विभाजन भएको बताउँदै सरकारहरूले शोषकवर्गको पक्ष लिएपछि कामदारवर्ग थप पीडित भएको बताउनुभयो ।
उहाँले मानिसको सीपअनुसार श्रम विभाजन गरिएको हो भन्दै श्रमकै आधारमा कतिपय पेसालाई छुवाछुत र भेदभाव गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकामा समेत केही वर्षअगाडि काला जातिका जर्ज फ्लोयडलाई गोरा जातिका प्रहरीले घुँडाले थिचेर मारे । यसको विरुद्ध संसारभरि आन्दोलन उठ्यो तर निर्णायक आकार लिन सकेन ।”
सांसद सुवालले भन्नुभयो, “नयाँ पुस्तालाई सुसंस्कृत बनाउनु जरुरी छ । यो काम घर परिवारबाट सुरु गर्नुपर्दछ । नयाँ पुस्ताका कतिपय युवाहरूलाई धूमपान, मद्यपान र लागूपदार्थ दुव्र्यसनीमा पारिएका छन् ।”
“सरकार राम्रो नभएसम्म समाजमा देखापरेका विकृति हट्ने छैन । निर्वाचनमा पैसा र सामान बाँड्ने, भोज खुवाउने, उम्मेदवार र ती दलहरूको सरकार जनतालाई भरोसायोग्य हुने छैन,” सांसद सुवालले भन्नुभयो ।
कार्यपालिका सदस्य रोशनमैँया सुवालले महिलाहरलाई ३२ प्रकारभन्दा बढी रोगहरू लाग्ने चर्चा गर्दै स्वास्थ्य, सफाइ क्षेत्रमा बढी संवेदनशील हुनुपर्ने बताउनुभयो । उहाँले महिलाहरू अध्ययनशील, सचेत र सङ्गठित हुन सकेमात्र समाजमा हुने विकृति तथा विसङ्गति, विभेद, अत्याचार हटाउन सहज हुने चर्चा गर्दै महिलाहरू राजनैतिक क्षेत्रमा अग्रसर हुन प्रेरणा दिनुभयो ।
वडा सदस्य गोविन्द दुवालले बुहारीलाई छोरीसरह व्यवहार गर्न सकेमा परिवारमा झैझगडा, मुद्दा मामिलाबाट मुक्त हुनसकिने विचार व्यक्त गर्दै भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सफाइ अभियानमा विशेष ध्यान दिइरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले अशिक्षा नै विभेद, हिंसाको कारक तत्व रहेको जनाउँदै भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सीपमूलक तालिमहरू दिइरहेको चर्चा गर्नुभयो ।
उहाँले भक्तपुर महोत्सव २०८१ सभ्य एवम् भव्यरूपमा सम्पन्न गर्न चोक, गल्ली, सडकलगायत सरसफाइमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा स्थानीय गोपीकृष्ण चाँगुभारी, गणेशराम थुसा र मञ्जु कुम्पाखले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *