भर्खरै :

तःमुंज्या नयाँ–पुराना साहित्यकारको साहित्यमार्फत जनचेतना जगाउने विराट् मञ्च

तःमुंज्या नयाँ–पुराना साहित्यकारको साहित्यमार्फत जनचेतना जगाउने विराट् मञ्च

भक्तपुर, १४ असोज । ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या ग्वसाखल (आयोजक समिति) को आयोजनामा तःमुंज्याको उद्देश्य र हालसम्मको गतिविधिबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गरियो ।
उक्त सम्मेलनमा नेपाल मजदुर किसान पार्टी जिल्ला समिति भक्तपुरका अध्यक्ष एवं तःमुंज्याका पूर्वअध्यक्ष सुरेन्द्रराज गोसाईंले साहित्य तःमुंज्याको प्रचार प्रसारमा आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गर्दै तः मुंज्या नयाँ–पुराना साहित्यकारहरूको कथा, कविता, निबन्ध वाचन हुने, विभिन्न विज्ञहरूको आ–आफ्नो अनुभव जनतासमक्ष जानकारी दिने, ख्याल, नाटक, गीतमार्फत जनचेतना जगाउने विराट डबली भएको बताउनुभयो ।
बिहान ११ बजेदेखि राति १२ बजेसम्म दुई दिन सञ्चालन हुने उक्त साहित्य सम्मेलनमा साहित्य, संस्कृति, राजनीतिक, सामाजिक क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको औँल्याउँदै उहाँले तःमुंज्या सम्मेलनमा नेपालभाषाबाहेक अन्य भाषाभाषीहरूको साहित्य र गीतलाई पनि स्थान दिँदै साझा सन्देश प्रदान गरिरहेको बताउनुभयो ।
उहाँले प्रत्येक वर्ष विभिन्न टोलमा हुँदै आएको उक्त साहित्यिक तथा सांस्कृतिक मञ्चमा देशमा घटेका घटनालाई आधार मानेर साहित्य, ख्याल, एकाङ्की र गीतमार्फत जनतालाई सुसूचित पार्दै आएको बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबजारले तःमुंज्या स्थापनाको उद्देश्यबारे चर्चा गर्दै तःमुंज्या श्रमजीवीवर्गको साहित्यिक, सांस्कृतिक, राजनीतिक चेतनास्तर उठाउने मञ्च हो भन्नुभयो । उहाँले भन्नुभयो, “जनतालाई सचेत पारेर भाषा, कला र संस्कृतिको संरक्षण र संवद्र्धन गर्नु साहित्य तःमुंज्याको उद्देश्य हो ।”
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या ग्वसाखलका अध्यक्ष उकेश कवांले विज्ञप्ति वाचन गर्दैै भन्नुभयो, “नेपालभाषा साहित्य तःमुंज्या राजनीतिक र साहित्यिक दबु पनि हो । भक्तपुरमा नेपालभाषा, साहित्य, कला, संस्कृति तथा सामाजिक चेतनाको विकासको लागि निरन्तर आयोजना हुँदै आएको नेपालभाषा साहित्य तःमुंज्या यस वर्ष ४६ औँ संस्करणको रूपमा आयोजना हुँदै छ । नेपाल संवत् ११०० अर्थात् वि.सं. २०३७ सालदेखि निरन्तर हुँदै आएको तःमुंज्या यस वर्ष नेपाल संवत् ११४६ को अवसरमा भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुन गइरहेको छ ।”
उहाँले भन्नुभयो, “तःमुंज्याको प्रमुख उद्देश्य नेपालभाषाको संरक्षण, संवद्र्धन र विकास गर्नुका साथै नेपालभाषा साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धन गर्नु हो । यसका साथै जनजीवनसँग सम्बन्धित सामाजिक विषयलाई साहित्य, कला र सांस्कृतिक प्रस्तुतिमार्फत जनताको चेतना बढाउने उद्देश्य तःमुंज्याले राख्दै आएको छ ।”
पत्रकार सम्मेलनमा बलराम गोसाईं र पुरूषोत्तम ग्वाछाले तःमुंज्याले गर्दै आएको गतिविधिबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकारहरूले राखेका जिज्ञासाबारे अतिथि गोसाईंले प्रस्ट पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *