भर्खरै :

ज्येष्ठ नागरिकहरूको जीवनका अनुभव, ज्ञान र सीपलाई लिपिबद्ध गर्नुपर्ने

ज्येष्ठ नागरिकहरूको जीवनका अनुभव, ज्ञान र सीपलाई लिपिबद्ध गर्नुपर्ने

भक्तपुर, १५ असोज । भक्तपुर नगरपालिकाले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नगरभित्र सञ्चालित विभिन्न आदर निकेतन, आश्रम तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्रमा रहेका ज्येष्ठ नागरिकहरूलाई न्यानो ओढ्ने सामग्री र बिस्कुट वितरण गरेको छ ।
कार्यक्रममा प्रा. डा. सिद्धिवीर कर्माचार्यले ख्वप आदर निकेतनका लागि रु. १ लाख ४ हजार ४ सय ४४ आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
प्रा. सर्वज्ञभक्त मल्लले निकेतनको सहयोगार्थ रु. १ लाख आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप आदर निकेतन, भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. द्वारा सञ्चालित भक्तपुर आदर निकेतन, सिद्धि मेमोरियल फाउन्डेसनको सिद्धि शालिग्राम ज्येष्ठ नागरिक आश्रम र भनपा–१, सल्लाघारीस्थित सहारा केयर सेन्टरमा रहेका ज्येष्ठ नागरिकहरूलाई उक्त सामग्री वितरण गरिएको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार एक कार्यक्रमबिच भक्तपुर नगरपालिकाद्वारा सञ्चालित वडा नं. ६ स्थित ख्वप आदर निकेतनमा ज्येष्ठ नागरिकहरूलाई फूलमाला लगाई न्यानो ओढ्ने सामग्री र बिस्कुट वितरण गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले ज्येष्ठ नागरिकहरू समाजका अनुभवी, आदरणीय तथा सम्माननीय व्यक्तित्व भएको बताउनुभयो । उहाँहरूले आफ्नो जीवनकालमा शिक्षा, कृषि, सम्पदा संरक्षण, पुनर्निर्माणलगायत विभिन्न क्षेत्रमा पु¥याउनुभएको योगदान समाजका लागि सधैँ स्मरणीय र उल्लेखनीय रहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
ज्येष्ठ नागरिकहरू अनुभवका खानी भएकाले उहाँहरूका जीवनका अनुभव, ज्ञान र सीपलाई लिपिबद्ध गर्ने प्रयास गर्नुपर्नेमा प्रमुख प्रजापतिले जोड दिनुभयो ।
ज्येष्ठ नागरिकहरूलाई खुसी र सुखी राख्न सके उहाँहरूको जीवन अझ स्वस्थ र सुखमय बन्ने उल्लेख गर्दै प्रमुख प्रजापतिले ज्येष्ठ नागरिकको सम्मान, हेरचाह र संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो ।
ख्वप आदर निकेतन सञ्चालन गर्नु नगरपालिकाको महत्वपूर्ण योजना भएको उल्लेख गर्दै उहाँले यसलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गरिने बताउनुभयो ।
भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले नगरपालिकाले ज्येष्ठ नागरिकको हेरचाह, संरक्षण र सम्मान गर्ने उद्देश्यले ख्वप आदर निकेतन सञ्चालनमा ल्याएको बताउनुभयो ।
नगरपालिकाको निर्वाचन घोषणापत्रमा उल्लेख भएअनुसार आदर निकेतन सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
शिक्षाविद् प्रा. सर्वज्ञभक्त मल्लले उमेर बढ्दै जाँदा ज्येष्ठ नागरिकहरू समूहमा बसेर आपसमा कुराकानी गर्ने र अनुभव साटासाट गर्ने वातावरण आवश्यक रहेको बताउनुभयो । सामूहिक रूपमा घुलमिल भएर बस्दा ज्येष्ठ नागरिकहरूमा खुसी र उत्साह बढ्ने उल्लेख गर्दै उहाँले आफ्ना जीवनका अनुभवहरू लेखेर भावी पुस्ता, विशेष गरी नातिनातिनीलाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रा.डा. सिद्धिवीर कर्माचार्यले ज्येष्ठ नागरिकहरूले समाजमा पु¥याउनुभएको योगदानको कदर गर्दै सम्मान गर्ने कार्यक्रम आयोजना हुनु सकारात्मक भएको बताउनुभयो ।
ज्येष्ठ नागरिकहरूका लागि आवश्यक सेवा, सुविधा र सहज वातावरण उपलब्ध गराउनुपर्नेमा जोड दिँदै उहाँले ज्येष्ठ नागरिकको हितका लागि आवश्यक सहयोग गर्न आफू सधैँ प्रतिबद्ध रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जमुना मिश्रले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यपालिका सदस्य रोशनमैयाँ सुवाल र ख्वप आदर निकेतनका व्यवस्थापक गंगाराम कोजुले पनि बोल्नुभएको थियो ।
प्रभात माध्यमिक विद्यालयका विद्यार्थी संयुक्त सुवालले ज्येष्ठ नागरिकका विषयमा आफ्ना विचार व्यक्त गर्दै ज्येष्ठ नागरिकहरू अनुभव र ज्ञानका भण्डार भएको बताउनुभयो ।
प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरूले ज्येष्ठ नागरिकहरूलाई फलफूल प्रदान गर्दै गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
त्यस्तै, भक्तपुर आदर निकेतनमा नगरपालिकाका उपप्रमुख रजनी जोशी, सिद्धि शालिग्राम ज्येष्ठ नागरिक आश्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ तथा सहारा केयर सेन्टरमा भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र वडा नं. १ का श्यामकृष्ण खत्रीले ज्येष्ठ नागरिकहरूलाई सामग्री वितरण गर्नुभएको थियो ।
सोही क्रममा सिद्धि शालिग्राम ज्येष्ठ नागरिक आश्रमका सञ्चालक समितिका अध्यक्ष श्यामसुन्दर धौभडेलले नगरपालिकालाई धन्यवाद ज्ञापन गर्नुभयो ।
भक्तपुर नगरपालिकाभित्र सञ्चालित विभिन्न ज्येष्ठ नागरिक हेरचाह केन्द्रमध्ये ख्वप आदर निकेतनमा २८ जना, भक्तपुर आदर निकेतनमा ३८ जना, सिद्धि शालिग्राम ज्येष्ठ नागरिक आश्रममा ४४ जना र सहारा केयर सेन्टरमा २७ जना गरी कुल १३७ जना ज्येष्ठ नागरिक आश्रित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *