भर्खरै :

भक्तपुर महोत्सवबारे पत्रकार भेटघाट : सांस्कृतिक नगर भक्तपुर उत्सवमय हुने

भक्तपुर महोत्सवबारे पत्रकार भेटघाट : सांस्कृतिक नगर भक्तपुर उत्सवमय हुने

भक्तपुर, २६ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर महोत्सव २०८१ बारे पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भक्तपुर महोत्सव मूल समारोह समितिका संयोजक एवम् नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सवको हालसम्मको तयारीबारे प्रस्ट पार्नुभयो ।
प्रमुख प्रजापतिले मौलिक कला र संस्कृतिको केन्द्रको रूपमा विकास भइरहेको नाचगानको राजधानी सांस्कृतिक नगरलाई भक्तपुर महोत्सवभर उत्सवमय बनाइरहने उल्लेख गर्दै भक्तपुर पर्यटकहरूको गन्तव्य स्थल बन्ने विश्वास व्यक्त गर्नुभयो ।
जीवित सङ्ग्रहालयको रूपमा परिचित सहर भक्तपुरमा जान्नैपर्ने वातावरण तयार गरिरहेको चर्चा गर्दै उहाँले नेपाल पस्ने पर्यटकहरू सगरमाथा र लुम्बिनी हेर्नमात्र होइन भक्तपुर अवलोकन गर्नैपर्ने छाप पर्ने गरी काम भइरहेको बताउनुभयो ।
उहाँले भक्तपुरको मौलिकता, यहाँका कला, संस्कृति, सम्पदा, हस्तकला र घरेलु उद्योगमा आधारित मौलिक उत्पादन र मौलिक जीवनशैलीको विकास र प्रवद्र्धन गरी आन्तरिक र बाह्य पर्यटनमा आधारित पर्यटन उद्योगमार्फत नगर र नगरवासीहरूको आर्थिक गतिविधि बढाउने उद्देश्यका साथ भक्तपुर महोत्सव २०८१ आयोजना गरेको बताउनुभयो ।
प्रमुख प्रजापतिले मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सवसम्बन्धी सम्पूर्ण तयारी भइसकेको स्पष्ट पार्दै सांस्कृतिक कार्यक्रमअन्तर्गत २३ विभिन्न विधाका नाचमा ६३ समूहले भाग लिने जानकारी गराउनुभयो ।
उहाँले नगरका विभिन्न १८ स्थानमा सूचना केन्द्र, १४ स्थानमा प्राथमिक उपचार केन्द्र, ३० भन्दा बढी स्थानमा खानेपानी, ३० भन्दा बढी स्थानमा शौचालय सुविधा, २२ वटा पार्किङ स्थलको व्यवस्था मिलाएको बताउँदै महोत्सव सञ्चालन हुने नगरको पुरानो क्षेत्रमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म आकस्मिक सेवाबाहेकका सवारी साधन प्रवेश निषेध गर्न नगरका विभिन्न १९ स्थानमा प्रवेश निषेधको व्यवस्था मिलाएको बताउनुभयो ।
महोत्सव अवधिभर शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुर, जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुर, सशस्त्र प्रहरी बल भक्तपुरलगायतका सुरक्षा निकायहरूसँग समन्वय र सहकार्य भइरहेको जानकारी गराउँदै प्रमुख प्रजापतिले महोत्सवलाई भव्य र सभ्यरूपमा सञ्चालन गर्न स्थानीय स्काउटका ५०० र स्काउट मास्टर ७५ गरी कुल ५७५ जना स्काउटरहरू परिचालन हुने बताउनुभयो ।
पत्रकार भेटघाटमा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पत्रकार भेटघाटको आवश्यकताबारे उल्लेख गर्दै भक्तपुर महोत्सव व्यापक जनताको अपनत्वसहितको साझा महोत्सव बनाउन लागिरहेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूले महोत्सव सञ्चालन र व्यवस्थापनबारे राखेका जिज्ञासाको जवाफ प्रमुख प्रजापतिले दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *