भर्खरै :

विद्यार्थी निकेतनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

विद्यार्थी निकेतनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर, २६ मङ्सिर । हरेक विद्यालयले शैक्षिक सत्रको सुरूवातका साथै अन्य समय गरी वर्षको दुईपटक अनिवार्य स्वास्थ्य शिविर गर्नुपर्दछ । शैक्षिक सत्रको सुरूमै गरिने स्वास्थ्य शिविरले विद्यार्थीहरूको शारीरिक अवस्था तथा कमजोरी थाहा पाउन सकिने भएकोले पढाइसँग सम्बन्धित समस्याको निराकरण गर्न सकिन्छ ।
उक्त विचार विद्यार्थी निकेतन माध्यमिक विद्यालयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा भक्तपुर नपा–५ वडाका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले व्यक्त गर्नुभएको हो ।
उहाँले भक्तपुर नगरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी काम गरिरहेको स्पष्ट पार्दै खानपिन, स्वस्थ आनीबानी अपनाई निरोगी हुने प्रयत्न गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा कलेजका प्रबन्धक डा. नारायणप्रसाद दाहालले आजभोलि कम उमेरमा नै डाक्टर हुने भएकोले अबदेखि डाक्टर हुन बुढा हुनु नपर्ने विचार राख्नुभयो ।
डीएम न्युरोलोजीका चिकित्सक डा.सन्तोषकुमार मिश्रले केएमसीको समुदाय साझेदारी कार्यक्रमअन्तर्गत विद्यार्थी निकेतनमा प्रथम प्रयास गरेको जानकारी दिँदै लुकेका रोगको निराकरण गर्नु नै विद्यालय स्वास्थ्य शिविरको उद्देश्य रहेको जानकारी दिनुभयो ।
कार्यक्रमका व्यवस्थापक प्रेम सुवालले विद्यालय निःशुल्क स्वास्थ्य शिविरले स्वस्थ जीवन बाँच्ने पाउने मौलिक हकको सुनिश्चितता भएको बताउनुभयो ।
विद्यालयका प्रअ न्हुछेबहादुर खाताखोले सभापतिको आसनबाट बोल्दै विद्यार्थी स्वस्थ भएमात्र पढाइमा एकाग्रता कायम गर्न सकिने हुँदा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
शिविरमा विद्यालयका शिक्षक उद्धवप्रसाद दाहालले पनि बोल्नुभएको थियो ।
विद्यालयमा प्रि नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूको नाक, कान, घाँटी, आँखा, दन्त, जनरललगायतका स्वास्थ्य परीक्षण गरिएको थियो ।
विद्यार्थी, अभिभावक र शिक्षक गरी १२ जना स्वास्थ्यकर्मीले ४२० जनाको स्वास्थ्य परीक्षण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *