भर्खरै :

नेपाली आँगनभरि छरिएर रहेको औषधि ?

नेपाली आँगनभरि छरिएर रहेको औषधि ?

प्रायः हामी आफू नजिक र वरिपरि छरिएका राम्रा वस्तु÷औषधि देख्दैनौँ । तर, जब त्यहीँ वस्तु/औषधि विदेशबाट प्याकेटमा आउँछन्, तब हामी धेरै रकम खर्चेर किन्छौँ ।
हो, त्यस्तै एउटा प्राकृतिक औषधि हो, सूर्यको किरण, जुन दिनको करिब १२ घण्टा हामीसँगै हुन्छ । तर, त्यो औषधि हो भन्ने हामीलाई ज्ञान नै छैन । त्यसैले तुलनात्मकरूपमा अन्यत्रभन्दा बढी घाम लाग्ने गरे पनि हामीलाई भिटामिन ‘डी’ को कमी भइरहेको हुन्छ । जबकि, भिटामिन ‘डी’ सूर्यको किरणबाटै पाइन्छ ।
भिटामिन ‘डी’ दाँत र हाडका लागि अति जरुरी हुन्छ । यसको कमीले शरीरमा क्याल्सियमको शोषण कम हुन्छ र विभिन्न शारीरिक समस्या निम्तिन सक्छ । भिटामिन ‘डी’ को कमीले बालबालिकाको हातखुट्टा बाँगिने समस्या ‘रिकेट्स’ हुन्छ । यसको कमीले विभिन्न किसिमका सङ्क्रामक रोग पनि लाग्न सक्छ । गर्भवती महिलाको शरीरमा भिटामिन ‘डी’ को कमी हुँदा गर्भको बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ ।
भिटामिन ‘डी’ प्रकृतिमा सजिलैसँग पाइने भए पनि यसबाट निम्तिने समस्या उल्लेख्य छ । भारतको दिल्ली, मुम्बई, चेन्नई र हैदरावादमा २ हजार ५ सय स्त्रीरोग विशेषज्ञमाथि गरिएको एक अनुसन्धानमा ९५ प्रतिशतमा भिटामिन ‘डी’ को कमी पाइएको थियो । पेसाले चिकित्सक भएकाले उनीहरूको व्यस्त जीवन नै यसको कारक थियो । उनीहरू बिहानदेखि बेलुकीसम्मै घर, अफिस र मोटरमा मात्रै बस्ने र घामको सम्पर्कमा आउनै नपाउने भएकाले यस्तो समस्या आएको अनुसन्धानले देखाएको छ ।
यस्ता समस्या रोक्न घर–आँगनमा प्राप्त हुने सूर्यको किरणमा बस्न सिकाउनुपर्ने भएको छ । खासगरी किशोर–किशोरी र युवा छाला कालो हुन्छ भनेर घाममा बस्न हिच्किचाउँछन् । तर, उनीहरूलाई सिकाउनुपर्छ कि १५ देखि २० मिनेट सूर्यको किरणमा बस्नाले हाड बलियो हुनुका साथै उनीहरूको स्वास्थ्यलाई धेरै फाइदा हुन्छ ।
भिटामिन ‘डी’ पनि भिटामिन ‘ए’ र ‘के’ जस्तै बोसोमा घुल्छ । भिटामिन ‘ए’ जस्तै शरीरमा जम्मा भएर रहिरहन सक्छ । त्यसैले, दिनदिनै घाममा बस्न सकिएन भने पनि चिन्ता गर्नुपर्दैन । हप्तामा तीन–चारपटक घाममा बस्न सके पनि पुग्छ । बोसोमा घुलनशील भएकाले बर्साद्का दिनमा घाम नलागेमा घाममा बस्न पाइएन भनेर चिन्ता गर्नुपर्दैन, शरीरमा जम्मा भएको भिटामिन ‘डी’ ले नै काम गरिरहेको हुन्छ ।
गर्भवती महिला र शिशुलाई घाममा राखेर तेल लगाउनाले मालिसबाट हुने फाइदाका साथै सुत्केरी आमा र नवजात शिशु दुवैले पर्याप्त मात्रामा भिटामिन ‘डी’ पाउँछन् भन्ने तथ्यको ज्ञान सायद हामीमा परापूर्वकालदेखि नै थियो । त्यहीँ भएर यो विधि हामीकहाँ परम्परा नै भइसकेको छ ।
विभिन्न अध्ययनले देखाएका छन्, शारीरिक स्वास्थ्यमात्र होइन मानसिक स्वास्थ्यका लागि पनि भिटामिन ‘डी’ महत्वपूर्ण छ । घाम नलागेको दिनमा हामी नरमाइलो महसुस गर्छौँ, ‘मुड अफ’ भएको मान्छौँ । यसको अर्थ सूर्यको किरणमा हुने भिटामिन ‘डी’ ले नै हामीलाई जीवन्त पारिरहेको हुन्छ ।
हुन त घाममा बस्नेहरूको शरीरमा समेत भिटामिन ‘डी’ नपुगेका उदाहरण छन् । किन त ? घाममा लुगा लगाएर बसेपछि सूर्यको किरणले छालामा छुनै पाउँदैन । दिनरात कोठामा बढी बस्ने, बाहिर हिँड्दा पनि सूर्यको किरणले नछोओस् भनेर क्रिम लगाउनेहरूलाई भिटामिन ‘डी’ को कमी हुन सक्छ ।
ढाड दुखिरहने समस्या हुने युवक–युवतीहरूले आफूमा कतै भिटामिन ‘डी’ को कमी त भएको छैन भनेर विचार गर्नुपर्छ ।
भारतको मुम्बईमा ३३ हजार ४ सय ४४ बासिन्दाको जाँच गर्दा २७ हजार ६ सय ६ जनामा भिटामिन ‘डी’ को कमी पाइएको थियो । तीमध्ये ६६ प्रतिशत महिला थिए ।
आधुनिक जीवन र खानपानसहित घर र अफिसमा व्यस्त वयस्क महिलामा पनि यो समस्या बढी देखिन थालेको छ । मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईको अनुभवले पनि यहीँ तथ्यलाई पुष्टि गर्छ । डा. भट्टराई कहाँ पुग्ने धेरै महिलाको रगत जाँच गर्दा भिटामिन ‘डी’ को कमी पाइएको छ । जसका कारण बढी थकाइ लाग्ने, ढाड र हातखुट्टा दुख्ने आदि समस्या देखापर्छन् ।
विशेषगरी वृद्ध उमेरका व्यक्तिलाई भिटामिन ‘डी’ को झनै खाँचो हुन्छ । बिरामी भएर उठेका र कोठाभित्र बसिरहेका वृद्धवृद्धालाई बाहिर घाममा घुमाउने र ढाड, हातलगायत शरीरमा तेलको मालिस गरिदिन सके उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ ।
भिटामिन ‘डी’ हर्मोन हो । जब सूर्यको किरणले छालामा छुन्छ, तब यसले भिटामिन ‘डी’ लाई हर्मोन ‘डी थ्री’ मा बदल्छ र शरीरलाई स्वस्थ बनाइराख्न सकारात्मक भूमिका निर्वाह गर्छ ।
एकदिन सूर्यको किरणमा रमाइलोसँग बस्दा नै औषधिबाट प्राप्त हुनेभन्दा बढी भिटामिन ‘डी’ पाइन्छ भने किन औषधिमा पैसा खर्चिनु ?
घरआँगनभरि सित्तैको औषधि छरिएको किन नलिने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *