भर्खरै :

समाजवादी गणतन्त्र क्युवाकी नायिका भिल्मा एस्पिन गुइलोइस

समाजवादी गणतन्त्र क्युवाकी नायिका भिल्मा एस्पिन गुइलोइस

कम्पोनेरा भिल्मा एस्पिन गुइलोइस क्युवाली क्रान्तिताका क्लान्डेस्टाइन सङ्घर्ष (Clandestine Struggle) मा युद्धमोर्चाको अग्रीम पङ्क्तिमा रहेर वीरतापूर्वक लड्ने वीराङ्गना हुनुहुन्थ्यो । उहाँले महिला मुक्ति तथा बालबालिकाको अधिकार रक्षाको लागि भएका आन्दोलनमा पनि महत्वपूर्ण भूमिका खेल्नुभयो । भिल्माको जन्म सन् १९३० को अप्रिल ७ को दिन क्युवाको सान्टियागो (Santiago de Cuba) मा भएको थियो । सानै उमेरदेखि उहाँले परिवारबाट राष्ट्रियता र वर्गीय भावना सिकेर क्रान्तिकारी आन्दोलनमा लाग्ने प्रेरणा पाउनुभयो । सन् १९५२ मा तत्कालीन संरा अमेरिकी कठपुतली बाटिस्टा (Batista) ले सैनिक विद्रोह गरेर शासनसत्ता आफ्नो हातमा लिएलगत्तै निरङ्कुश सरकारविरुद्ध भएका विद्यार्थी आन्दोलनहरूमा उहाँ सक्रिय हुनुभयो । पछि उहाँ बिस्तारै क्रान्तिकारी पितृभूमि मुक्ति आन्दोलनमा सहभागी हुनुभयो ।
विद्यार्थीकालमा नै भिल्मा क्युवाली क्रान्तिकारी नेता फ्रान्क पेइस (Frank pais) सँग नजिक रहेर काम गरिरहनुभएको थियो । फ्रान्क पेइसले बाटिस्टाको क्रूर शासनको विरोधमा आन्दोलन गरिरहनु भएको थियो । उहाँले राष्ट्रिय क्रान्तिकारी आन्दोलन (National Revolutionary Action) सँग संयुक्त भएर ‘२६ जुलाईको आन्दोलन’ (26th July Movement) गर्नुभएको थियो ।
त्यसबेला फिडेल क्यास्ट्रोको नेतृत्वमा लुकीछिपी लड्ने गुरिल्ला युद्ध भइरहेको थियो । यसै क्रममा क्रान्तिकारी गुरिल्लाहरूले मोन्काडा छाउनी (Monkada Garrison) मा हमला गरे तर आक्रमण असफल भयो । रक्तपिपासु बाटिस्टाका सेनाले लखेटेका क्रान्तिकारी सिपाहीलाई भिल्माले आफ्नो घरमा सुरक्षा दिनुभएको थियो ।
पछि उहाँ संरा अमेरिकामा स्नातकोत्तर तहको पढाइ सकाएर मेक्सिको जानुभयो र त्यहाँ उहाँले फिडेल क्यास्ट्रोसँग भेट गर्नुभयो । लामो समयसम्म उहाँहरूबिच आगामी युद्ध रणनीतिसम्बन्धी गहन छलफल भयो । फ्रान्क पेइसको प्रत्यक्ष निर्देशन पाएर उहाँ फिडेलको सशस्त्र क्रान्तिकारी दल ग्रान्मा गुरिल्ला (Granma guerrillas) मा संलग्न हुनुभयो । सन् १९५६ को नोभेम्बर ३० मा ग्रान्मा गुरिल्लाले सान्टियागोमा आक्रमण गरी आफ्नो अधीनमा लियो । त्यसपश्चात् गुरिल्ला सेनाले भिल्माको घरलाई नै आफ्नो मुख्य कार्यालय (Headquarter) बनायो ।
बाटिस्टाको सेनाले फ्रान्क पेइसको हत्या गर्यो । उनको हत्या हुनुभन्दा केही समय अगाडि मात्र भिल्माले ओरियन्ट सहरको क्लान्डेस्टाइन सङ्गठन (Clandestine Organisation) को प्रान्तीय संयोजकको जिम्मेवारी पाउनुभएको थियो । फ्रान्कको हत्याले उहाँमा बाटिस्टा सरकारविरोधी बदलाको भाव झन् चर्को भयो । त्यसपछि उहाँ सन् १९५८ को जूनमा क्रान्तिकारी सेनामा भर्ना हुनुभयो । युद्धमा उहाँले वीरतापूर्वक लड्नुभयो । त्यसबेला उहाँ फ्रान्क पेइस दोस्रो पश्चिमी मोर्चा (Frank Pais Second Western Front) मा आबद्ध हुनुहुन्थ्यो तथा क्लान्डेस्टाइन आन्दोलनकी संयोजक पनि हुनुहुन्थ्यो ।
सन् १९५९ मा क्युवाली क्रान्तिले विजय हासिल गरिसकेपछि फिडेल क्यास्ट्रोलाई धेरै क्षेत्रमा काम गर्नुपर्ने भार बढ्यो । त्यतिबेला भिल्माले महिलाहरूको सङ्गठनहरूलाई एकीकृत गर्ने जिम्मेवारी लिनुभयो । त्यस्तै, क्युवाली संविधान बनाउने क्रममा महिलाहरूको अधिकार सुनिश्चित गर्ने कार्यमा पनि उहाँले महत्वपूर्ण सहयोग गर्नुभयो । उहाँले आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि महिला सङ्गठनलाई उच्च नेतृत्व प्रदान गरी महिला हकहितकै पक्षमा काम गरिरहनुभयो ।
सन् १९६५ मा क्युवाली कम्युनिस्ट पार्टी स्थापना भएदेखि नै भिल्मा केन्द्रीय समितिको सदस्य हुनुहुन्थ्यो । सन् १९८० मा पार्टीको दोस्रो महाधिवेशन सम्पन्न भयो । त्यसबाट उहाँ राजनैतिक विभागको वैकल्पिक सदस्यमा चुनिनुभयो । पार्टीको तेस्रो महाधिवेशनबाट भने उहाँ उक्त विभागको पूर्ण सदस्य पदमा निर्वाचित हुनुभयो र सन् १९९१ सम्म उहाँले उक्त पदमा रही आफ्नो जिम्मेवारीलाई प्रभावकारी ढङ्गबाट निर्वाह गर्नुभयो ।
क्युवामा पहिलो विधानसभापश्चात् नै भिल्मा संसद् अर्थात् राष्ट्रियसभाका उपाध्यक्ष हुनुभयो । राज्यपरिषद्मा पनि उहाँ सुरुदेखि नै सदस्य बन्नुभयो । त्यस्तै विविध सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गर्ने उच्च आयोग, बालबालिका तथा युवा उच्च आयोग, संसद् वा जनताको सत्ताको राष्ट्रियसभा (National Assembly of People’s Power) अन्तर्गतका महिलाहरूलाई समान अधिकार दिनेसम्बन्धी उच्च आयोगलाई पनि उहाँले नेतृत्व प्रदान गर्नुभयो ।
क्युवाली क्रान्तिको स्मरण गर्ने क्रममा क्युवाली महिलाहरू अत्यन्त सम्मानपूर्वक भिल्माको नाम उच्चारण गर्छन् । त्यस्तै महिला सशक्तीकरण अभियानमा महत्वपूर्ण योगदान दिनुभएकोमा उहाँलाई देशभरि र अझ भनौँ विश्वभरिकै जनताले सम्झिरहनेछन् । उहाँले गर्नुभएको योगदानका कारण उहाँ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट विभूषित हुनुभयो । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण सम्मान भनेको ‘समाजवादी गणतन्त्र क्युवाकी नायिका’ (Heroine of the Republic of Cuba) हो ।
सन् २००७ जून १८ का दिन ७७ वर्षको उमेरमा उहाँको देहावसान भयो । उहाँ लामो समयदेखि अस्वस्थाका कारण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।
कम्पोनेरा भिल्माको इच्छाअनुसार उहाँको पार्थिव शरीरलाई जलाइयो र अस्तुलाई सैनिक सम्मानका साथ उहाँको परिवारको हातबाट फ्रान्क पेइस दोस्रो मोर्चा समाधि स्थलमा गाडियो, जहाँ अन्य वीरहरूको पनि अस्तु गाडिएको छ ।

साभार : विश्वका क्रान्तिकारी महिलाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *