भर्खरै :

शिक्षक समाज रूपान्तरका संवाहक

शिक्षक समाज रूपान्तरका संवाहक

सन्दर्भ : विश्व शिक्षक दिवस – २०२६

विश्व शिक्षक दिवस हरेक वर्ष अक्टोबर ५ मा मनाइन्छ । यसको सुरुआत सन् १९९४ देखि भएको हो । UNESCO ले सन् १९९४ देखि अक्टोबर ५ लाई विश्व शिक्षक दिवसको रूपमा मनाउन थालेको हो । सन् १९६६ अक्टोबर ५ मा UNESCO र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) को विशेष अन्तरसरकारी सम्मेलनले शिक्षकको अवस्थासम्बन्धी ILO/UNESCOइ सिफारिस पारित गरेको थियो । उक्त सिफारिसमा शिक्षकहरूको अवस्था, अधिकार र जिम्मेवारीसम्बन्धी महत्वपूर्ण विषयहरू उल्लेख गरिएको थियो । शिक्षकका अधिकार र जिम्मेवारी, पारिश्रमिक तथा रोजगारीका अवस्था शिक्षक नियुक्ति र सेवाका सर्त, शिक्षकको तालिम तथा व्यावसायिक विकास, शिक्षण सिकाइका लागि आवश्यक वातावरण, शिक्षकको सामाजिक तथा व्यावसायिक प्रतिष्ठाजस्ता विषयमा अन्तर्राष्ट्रिय मापदण्ड र मार्गदर्शन उक्त सिफारिसले दिएको थियो । यस वर्ष सन् २०२६ मा १९६६ को शिक्षकसम्बन्धी सिफारिसको ६० औँ वार्षिकोत्सव हो । UNESCO को पहलमा विश्वभर मनाइने विश्व शिक्षक दिवस अन्तर्राष्ट्रिय दिवस हो । विश्वका धेरैजसो देशहरूमा विद्यालय, शिक्षक सङ्घ–सङ्गठन, सरकार र शैक्षिक संस्थाहरू अक्टोबर ५ मा विभिन्न कार्यक्रम गरेर विश्व शिक्षक दिवस मनाउँछन् ।
शिक्षकहरूको सम्मान गर्न, शिक्षकहरूले शिक्षा क्षेत्रमा गरेका योगदानलाई सम्झन वा स्मरण गर्न, शिक्षकहरूको अधिकार र पेसागत विकासबारे ध्यानाकर्षण गराउन, गुणस्तरीय शिक्षाका लागि योग्य र सक्षम शिक्षकको आवश्यकता बुझाउन, शिक्षक–विद्यार्थी–अभिभावक र समाजबिचको सम्बन्धलाई बलियो बनाउन, विश्वभर शिक्षाको विकासमा शिक्षकको भूमिकालाई उजागर गर्न विश्व शिक्षक दिवस मनाइन्छ ।
नेपालमा २००७ सालअघि विद्यालय सङ्ख्या अत्यन्त कम थियो । शिक्षकहरू सरकारबाट सोझै नियुक्त हुन्थे । स्वदेशी र विदेशी शिक्षकको तलबमान फरक थियो । प्रजातन्त्रको स्थापनापछि विद्यालय स्थापनाको लहर चल्यो । शिक्षकको सङ्ख्या बढ्दै गयो । २००७ सालको जनक्रान्तिलाई साथ र सहयोग दिने कलेज र स्कूलका करिब १५० जना शिक्षक २००७ साल फागुन १८ गते जुद्धोदय स्कूल क्षेत्रपाटीमा भेला भई शङ्करदेव पन्तको संयोजकत्वमा नेपाल शिक्षक सङ्घ गठन गरेको कुरा शिक्षक आन्दोलनको इतिहासमा उल्लेख गरिएको छ । वि.स. २०१३ सालमा माध्यमिक शिक्षक सङ्घको सम्मेलन काठमाडौँमा भयो । त्यसैगरी, वि.स. २०२० सालमा नेपाल माध्यमिक विद्यालय सङ्घको राष्ट्रिय सम्मेलन गरियो । वि.स. २०२३ सालमा प्राथमिक शिक्षक सङ्घ गठन भयो ।
वि.स. २०२८ सालमा शिक्षा ऐन जारी भयो । साथै देशमा राष्ट्रिय शिक्षा पद्धतिको योजना (राशिपयो) पनि सुरु भयो । यसअघि विद्यालयहरू समुदायको सक्रिय उत्तरदायित्व र सहभागितामा सञ्चालन हुन्थे । राशिपयो आरम्भ भएपछि विद्यालय शिक्षामा राज्यको प्रत्यक्ष लगानी र सहभागिता पनि आरम्भ भयो । विद्यालयहरू सरकारको नियन्त्रणतर्फ उन्मुख भए । यसबेलासम्म शिक्षकहरूका लागि सेवा सुविधाको खासै प्रबन्ध थिएन । तलब तोकिएको थिएन । उपदान र निवृत्तिभरण, सञ्चयकोष, बीमा, औषधोपचार खर्च केहीको प्रबन्ध थिएन ।
वि.स. २०३५ सालको चैत २४ गते पाकिस्तानका सैनिक शासक जियाउल हकले पूर्वप्रधानमन्त्री जुल्फीकर अलि भुट्टोलाई फासी दिए । त्यसको विरोधमा पाकिस्तानी दूतावासतर्फ बढेको विद्यार्थीको जुलुसमाथि प्रहरीले हस्तक्षेप गरी बल प्रयोग ग¥यो । यस घटनामा थुप्रै विद्यार्थी घाइते भए । घटनापछि विद्यार्थीहरू कडा आन्दोलनमा उत्रिए । विद्यार्थी आन्दोलनले व्यापकता लियो । यसले हिंसात्मक रूप लिन थाल्यो । पञ्चायती व्यवस्थामाथि राजनीतिक दबाब बढ्यो । यसले तत्कालीन राजा वीरेन्द्रलाई २०३६ जेठ १० गते जनमतसङ्ग्रहको घोषणा गर्न बाध्य पा¥यो । सुधारिएको पञ्चायती व्यवस्था वा बहुदलीय शासन व्यवस्था छनोट गर्ने अधिकार जनतालाई प्राप्त भयो । जनता आ–आफ्नो इच्छाअनुसार राजनीतिक क्रियाकलापमा सक्रिय भए । विद्यार्थी आन्दोलनमा शिक्षकहरूको समेत सक्रियता बढ्दै गयो । २०३६ साल जेठ २ गते हेटौँडाको भुटनदेवी मा.वि.मा शिक्षकहरूको भेला भयो । भेलाले एउटा राष्ट्रिय सङ्गठन बनाउनुपर्ने, शिक्षकलाई पेन्सनको सुविधा दिनुपर्ने, सञ्चयकोषको व्यवस्था हुनुपर्ने, बढुवाको व्यवस्था हुनुपर्ने, सरकारी कर्मचारीको भन्दा १ रूपैयाँ भए पनि शिक्षकको बढी तलब हुनुपर्ने गरी पाँचबुँदे माग पत्र तयार गरी राजा, प्रधानमन्त्री, शिक्षामन्त्री, मध्यमाञ्चल शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालय मकवानपुरसमक्ष हुलाकमार्फत पठायो । २०३६ साल जेठ ४ गते भुटनदेवी माविबाट ९९ जना शिक्षकले विरोध जुलुस निकाले । २०३६ असार १३ गते काठमाडौँको सुन्धाराबाट जुलुस निकाली विरोध सभा गरे र १५ बुँदे मागपत्र तयार गरे । २०३६ साल भदौ २३ गते ललितपुरमा अन्तरजिल्ला शिक्षक समन्वय समिति बन्यो । २०३६ साल असोज ८ गते हेटौँडामा २९ जिल्लाका शिक्षक प्रतिनिधिहरूको भेलाले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गठन ग¥यो । त्यस समितिमा बद्रीप्रसाद खतिवडा, श्यामकृष्ण खमु, वामदेव गौतम, गणेश पण्डितलगायतका शिक्षक नेताहरू थिए । २०३६ साल मङ्सिर २६–२८ गते हेटौँडामा ५४ जिल्लाका शिक्षक प्रतिनिधिहरूको राष्ट्रिय भेलाले नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय तदर्थ समिति गठन ग¥यो । उक्त समितिले २०३६ साल फागुन २२ गते नेराशि सङ्गठनको विधान स्वीकृत ग¥यो । २०३६ चैत १२ गते शैक्षिक आन्दोलन आरम्भ ग¥यो । २०३६ चैत २९ गते शिक्षा मन्त्रालयको तर्फबाट नेराशि सङ्गठनको विधान स्वीकृति गर्ने निर्णय ग¥यो र नेराशि सङ्गठन र श्री ५ को सरकारबिच ६ बुँदे सहमति भयो । सहमतिअनुसार शिक्षकहरूको सञ्चयकोषको व्यवस्था, एक शैक्षिक सत्र काम गरिसकेका अस्थायी शिक्षकलाई औपचारिकता पु¥याई स्थायी गर्ने, प्राथमिक विद्यालयमा पियनको व्यवस्थाबारे, उपदानको व्यवस्थालगायत उल्लेख थियो । यस दिनलाई नेराशि सङ्गठनले शिक्षक दिवसको रूपमा मनाउने गरेको हो । त्यसैले, शिक्षकहरूले उपलब्धि पाएको दिनलाई अर्थात् चैत २९ लाई नेपालको परिवेशमा शिक्षक दिवस मनाउन उपयुक्त हुन्छ ।
अहिले नेपालमा नेपाल शिक्षक महासङ्घ, नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, नेपाल संस्थागत तथा निजी शिक्षालय अध्यापक सङ्घ, नेपाल सामुदायिक विद्यालय कर्मचारी सङ्घ, विद्यालय कर्मचारी सङ्गठन नेपाल, नेपाल विद्यालय कर्मचारी युनियन र अखिल नेपाल विद्यालय कर्मचारी सङ्गठन क्रियाशील रहेका छन् । नेपाल शिक्षक महासङ्घ नेराशिसङ्गठन, नेशिसङ्घलगायत १६ वटा संस्थाहरूको छाता सङ्गठन हो ।
२०४८ सालपछि नेराशिसङ्गठनको नेतृत्वको झुकाव नेकपा एमालेतिर रहेपछि फरक आस्था भएका शिक्षकहरू नयाँ संस्थामा सङ्गठित हुँदै जाने क्रममा २०५० सालदेखि प्रगतिशील विचारका शिक्षकहरू भूमिगत रूपमा नेपाल क्रान्तिकारी शिक्षक सङ्गठनमा सङ्गठित भएका थिए । वि.स. २०५२ पुस ५ गते भक्तपुरमा भएको शिक्षक भेलाले नेक्रशिसङ्घको विधान २०५२ पारित ग¥यो । यस सङ्घलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले चैत २२ गते राष्ट्रिय निर्देशन ऐन २०१८ को दफा ३ अनुसार दर्ता गरी वैधानिक मान्यता दियो । त्यसैगरी, नेपाल शिक्षक युनियन वि.सं. २०६० साल माघ २ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा राष्ट्रिय निर्देशन ऐन २०१८ अनुसार नै दर्ता भयो र वैधानिक मान्यता प्राप्त ग¥यो । नेपाल शिक्षक महासङ्घ नेपाल शिक्षक युनियनको निरन्तरता हो । अर्थात्, नेशियुबाट नै नेपाल शिक्षक महासङ्घ गठन भएको हो । यसरी नेपालमा प्रजातन्त्रको पुनःस्थापनापछि शिक्षकहरूका पेसागत सङ्गठन कहिले जुट्ने र कहिले फुट्ने क्रम जारी रहेको छ । तापनि चैत २९ गतेलाई नेपाली शिक्षकहरूको दिवसकै रूपमा मनाउनु सबै शिक्षकहरूको लागि राम्रो र उपयुक्त मानिन्छ ।
शिक्षकले विद्यार्थीलाई किताबको ज्ञान मात्र दिँदैनन् । उनीहरू अनुशासन, नैतिकता, जिम्मेवारी, सकारात्मक सोच, नेतृत्व क्षमता र जीवनका व्यवहारिक सीपहरू सिकाउन महत्वपूर्ण भूमिका खेल्छन् । एक असल शिक्षकले विद्यार्थीको प्रतिभा पहिचान गरेर उनीहरूलाई आफ्नो लक्ष्यतर्फ अघि बढ्न प्रेरणा दिन्छन् । शिक्षकलाई समाज निर्माणको महत्वपूर्ण आधार मानिन्छ ।
नेपाली शिक्षकहरूले आफ्नो पेसागत हकहित, सेवा सुविधा, स्थायित्व, वृत्ति विकास र शिक्षासम्बन्धी उचित कानुनी व्यवस्थाका लागि विभिन्न समयमा आन्दोलन गर्दै आएका छन् ।
सङ्गठित शिक्षक आन्दोलनको सुरुआत २०३६ सालदेखि भएको देखिन्छ । २०३८ सालमा १०४ दिनको शैक्षिक हडताल, २०४१ सालमा करिब ६ महिनाको असहयोग आन्दोलन, २०४६ सालमा प्रजातन्त्रको आन्दोलनसँग जोडिएको शिक्षक आन्दोलन, २०५५ सालको शिक्षक आन्दोलन, २०६० सालको शिक्षक आन्दोलन, २०६२/०६३ मा लोकतान्त्रिक आन्दोलनमा शिक्षकहरूको सहभागितालगायत वि.स. २०७३, २०७६ र २०८१/०८२ मा पेसागत मागहरू राखी शिक्षकहरू आन्दोलित भएका छन् । शिक्षकहरूको आन्दोलनमा राजनीतिक दलहरूको प्रत्यक्ष र अप्रत्यक्ष सहयोग र साथ रहँदै आएको पाइन्छ भने राजनैतिक पार्टीहरूको आन्दोलनमा शिक्षकहरूको पनि सहभागिता रहँदै आएको पाइन्छ ।
शिक्षकहरूले विद्यार्थी आन्दोलनलाई र विद्यार्थीहरूले पनि शिक्षक आन्दोलनलाई साथ र सहयोग गर्दै आएको पाइन्छ । यस अर्थमा शिक्षक आन्दोलनलाई व्यापक राजनीतिक र सामाजिक आन्दोलनको वातावरणबाट अलग गरेर हेर्न गा¥हो हुन्छ तथा शिक्षक आन्दोलन र विद्यार्थी आन्दोलनलाई पनि जोडेर हेर्नुपर्छ ।
शिक्षक समाज परिवर्तनका प्रमुख संवाहक र मार्गदर्शक हुन् । शिक्षकले विद्यालयमा मात्र ज्ञान दिने होइन, विद्यार्थी, परिवार र समुदायमार्फत समग्र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छन् । समाजमा रहेको अन्धविश्वास, कुरीति, विभेद र अशिक्षाविरुद्ध वैज्ञानिक सोच र चेतना विकास गरी शिक्षकले शिक्षा र चेतना फैलाउनुपर्दछ । शिक्षक आफूलाई नमुना बनाई विद्यार्थीहरूमा असल संस्कार र नैतिकता विकास गर्न लागिपर्नुपर्दछ । विद्यार्थीहरूमा इमानदारी, अनुशासन, जिम्मेवारी, सहिष्णुता, सहयोग र मानवताको भावना विकास गर्न सक्रिय हुनुपर्छ । जात, वर्ग, लिङ्ग, भाषा, धर्म वा आर्थिक अवस्था, भौगोलिक क्षेत्र आदिका आधारमा हुने भेदभाव हटाउन क्रियाशील हुनुपर्दछ । शिक्षकहरू सामाजिक अभियन्ता हुन् । समानता र सामाजिक न्यायको पक्षमा शिक्षकहरू लागेका हुन्छन् । शिक्षकहरू लोकतान्त्रिक संस्कार विकास गर्ने अग्रजहरू पनि हुन् । नागरिकहरूको अधिकार, कर्तव्य, जिम्मेवारीको भावना जागृत गर्दै विचारको सम्मान, संवाद र सहकार्य गर्ने पेसाकर्मी हुन् । तथ्यको आधारमा सोच्ने, प्रश्न गर्ने, गलत सूचना छुट्याउने र समस्याको तार्किक समाधान खोज्ने वैज्ञानिक र आलोचनात्मक सोच भएका शिक्षित व्यक्तित्वहरू हुन् । यसर्थ, विद्यार्थीहरूलाई वैज्ञानिक, आलोचनात्मक सोच विकास गर्न शिक्षकहरूले निरन्तर प्रयत्न गर्छन् र गर्नुपर्दछ ।
शिक्षकहरू समुदायसँग सहकार्य गर्ने सामाजिक कार्यकर्ता पनि हुन् । शिक्षकले विद्यालयलाई समुदायसँग जोडेर सरसफाइ, स्वास्थ्य, वातावरण संरक्षण, साक्षरता तथा सामाजिक अभियानमा नेतृत्व गर्दै आएका छन् । ज्ञान, सीप, चरित्र र सामाजिक जिम्मेवारी भएका नागरिक उत्पादन गरेर देशलाई दीर्घकालीन रूपमा विकास गर्ने दायित्व शिक्षकहरूको हो । शिक्षकले बोली, व्यवहार, निष्पक्षता, सामाजिक जिम्मेवारी, कर्तव्यनिष्ठताजस्ता मानवीय गुणहरू आफ्नै व्यवहारबाट उदाहरणको रूपमा प्रस्तुत गर्छन् । यसलाई विद्यार्थी र समुदायका नागरिकहरूले अनुसरण गर्छन् ।
शिक्षकमा विद्यार्थीमैत्री व्यवहार हुनुपर्दछ । विद्याथीलाई डर वा दबाबमा होइन, माया, सम्मान र प्रोत्साहनका साथ सिकाउनुपर्छ । वैज्ञानिक सोच राखी निष्पक्ष व्यवहार गर्नुपर्छ । नयाँ ज्ञान, प्रविधि, शिक्षण विधि र समयानुकूल सीपहरू सिकिरहनुपर्दछ । समय पालन, कर्तव्यनिष्ठ, पारदर्शिता र इमानदारीलाई व्यवहारमा उतार्नुपर्दछ । व्यक्तिगत स्वार्थभन्दा विद्यालय र शिक्षक समुदायको सामूहिक हितलाई महत्व दिई सहकर्मीसँग सहकार्य गर्नुपर्दछ ।
शिक्षकले शिक्षा र समाजमा रहेका असमानता, अन्याय, शोषण, कुरीति, पछौटेपन आदिलाई हटाई वैज्ञानिक, समानतामूलक र न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान गर्नुपर्दछ । शिक्षालाई देश र समाजसँग जोड्नुपर्छ । विद्यार्थी र समाजमा श्रम र उत्पादनको सम्मान गर्ने संस्कार आवश्यक पर्दछ । विदेशी हस्तक्षेप र थिचोमिचोको विरोधमा लाग्नुपर्दछ । यसको लागि शिक्षकहरूले विद्यार्थी र समुदायमा निरन्तर काम गर्नुपर्दछ । शिक्षकको दायित्व विद्यमान व्यवस्थाको विरोध गर्नु मात्र होइन, ज्ञान, चेतना, समानता, न्याय र मानवीय मूल्यका आधारमा सकारात्मक सामाजिक रूपान्तरणको बाटो देखाउनु हो ।
सन्दर्भ सामग्री :
– शिक्षक आन्दोलनको इतिहास लक्ष्मीकिशोर सुवेदी
– नेक्राशि सङ्घ र नेशियूको विधान

Leave a Reply

Your email address will not be published. Required fields are marked *