शिक्षक समाज रूपान्तरका संवाहक
- आश्विन १८, २०८३
सत्य र वास्तविकता
‘म त्यस्तो मान्छे हुँ, जसका लागि प्रत्यक्ष जगत्को अस्तित्व छ’; कलाकारका रूपमा आफ्नो सारतत्व उल्लेख गर्दा फ्रान्सेली कवि, उपन्यासकार र साहित्यालोचक थियोफिल गोतिए (१८११–१८७२) ले गन्कोर्ट बन्धुहरूसँग भनेका थिए । यसको सट्टा उनले ‘मेरा लागि जगत्को अस्तित्व छ’ भनेका भए लेखकका रूपमा आफ्ना निजी गुण तथा सीमाहरूलाई उनले यति राम्ररी कदापि प्रकट गर्न सक्तैनथे । तर, यसबाट लेखक र वास्तविकताका बिच रहेको सम्बन्धलाई परीक्षण गर्ने, सत्यप्रतिको लेखकको प्रवृत्तिलाई जाँच्ने एउटा अति राम्रो मौका हामीले अवश्य पाउने थियौँ ।
आधुनिक समाजमा श्रमको उत्तरोत्तर बढ्दो विभाजन तथा त्यसको खास क्षेत्र विशेषमा अधिकाधिक विशेषज्ञता प्राप्त गर्ने प्रवृत्तिले लेखकको आवाजको घाँटी निमोठिदिए जस्तो, लेखकलाई वास्तविक संसारको समग्र रूपमा नदेख्ने गरी अन्धो बनाइदिएको जस्तो लाग्दछ । ‘लेख्नु मेरो पेसा हो’, यो यसको सङ्कीर्णतम अभिव्यक्ति हो† यस पेसामा अन्य पेसाको कुनै जानकारी राख्नु आवश्यक नै छैन । मि. बाल्डविन दार्शनिक र मनोवैज्ञानिक कोश (दुई भाग) का लेखक हामीलाई के विश्वास गराउन चाहन्छन् भने कविता एउटा निर्दोष पेसा हो, तर त्यतिखेरसम्म मात्र, जतिखेरसम्म कवि उसको कृतिको ‘निर्दोष’ स्वरूपमाथि प्रभाव पार्न सक्ने जीवनको समग्र भागबाट आँखा चिम्लन्छ । कलाकारको दायित्वको यो सङ्कीर्ण दृष्टिकोण अति आधुनिक छ । उन्नाइसौँ शताब्दीका मध्यकालभन्दा अघिसम्म विश्वका अधिकांश लेखक यसलाई कति पनि मान्यता प्रदान गर्दैनथे । मार्लाेदेखि फिल्डिङसम्म अङ्ग्रेजी साहित्यका वीरतापूर्ण कलामा यो सर्वथा अज्ञात थियो ।
आज साहित्यको क्रान्तिकारी कार्य उसले आफ्नो महान् परम्परालाई पुनस्र्थापित गर्नु, मनोगतवाद र सङ्कीर्ण विशेषज्ञता हासिल गर्ने प्रवृत्तिका साङलाहरूलाई चुँडाएर फ्याँक्नु, रचनात्मक कलाकारको एक मात्र महत्वपूर्ण कार्यसित–सत्यको, वास्तविकताको, ज्ञान आर्जित गर्ने कार्यसित – साक्षात्कार गराउनु हो । कला एक साधन हो, यसद्वारा मानवले वास्तविकतासित सङ्घर्ष गर्दछ र त्यसलाई आत्मसात गर्दछ । आफ्नो भित्री चेतनाको तहमा लेखकले वास्तविकताको भरभराउँदो धातुलाई राख्तछ, हथौडाको प्रहारले ठोकठाक पारेर आफ्नो उद्देश्यअनुकूल त्यसलाई नयाँ रूपमा ढाल्दछ र अरू केही कुरामा ध्यान नदिई नाओमी मिचिसन (अङ्ग्रेज लेखिका) का शब्दमा – विचारहरूको हिंस्र हथौडा त्यसमाथि निरन्तर प्रहार गर्दछ । सृजनको समग्र प्रक्रिया, कलाकारको सम्पूर्ण वेदना, वास्तविकतासितको यही हिंस्र द्वन्द्वमा र संसारको एउटा सत्यपूर्ण चित्र निर्माण गर्ने यही प्रयासमा निहित छ ।
ज्ञानले अपार पु¥याउने थियो देवताहरूको समकक्ष मलाई
ठुलठुला नाम, कार्य, पुराना कथाहरू, भयङ्कर घटनाहरू र विद्रोह
राजामहाराजा, कोकिल कण्ठ र चित्कारहरू
सृजन र विनाश, सब एकसाथ–
भरिने थिए मेरो मस्तिष्कका व्यापक शून्य कोठाहरूमा
जाग्ने थियो अनि देवत्व, मानो कुनै छलछलाउँदो मदिरा
अथवा पिएर उज्यालो अनुपम सञ्जीवनी सुरा
बन्ने थिएँ अमर म ।
कीट्स – उनलाई त्यतिखेरका प्रतिक्रियावादी आलोचकहरूले आफ्नो घृणाको सिकार बनाए र शान्तिसित बस्न दिएनन्† बाइरन र प्रत्यक्षतः बढी क्रान्तिकारी शेलीमाथि पनि उनीहरूको घृणाको कुत्सित बाढी त्यति भङ्करतासित फुटेको थिएन – ले पूरा गर्न नपाएको आफ्नो सबैभन्दा महान् कवितामा, प्रत्येक महान् रचनात्मक कलाकारको क्रान्तिकारी सङ्घर्षको मूल तत्वलाई प्रस्तुत गर्ने प्रयास गरेका छन् । किनभने, वास्तवमै जो महान् लेखक छ, उसको राजनीतिक विचार जे–जस्तो भए तापनि ऊ वास्तविकतासित भयानक तथा क्रान्तिकारी युद्धमा नजुधी टिक्नै सक्तैन । हो, क्रान्तिकारी युद्धमा, किनभने ऊ वास्तविकतालाई परिवर्तन गर्न चाहन्छ । उसका लागि जीवन एक युद्धक्षेत्रजस्तै हो, जहाँ सधैँ नै स्वर्ग र नरकका बिच, सिंहासनच्युत र सिंहासनारूढ देवताहरूका बिच, मानवको आत्माका लागि सङ्घर्ष चलिरहन्छ ।
के माक्र्सवादले युद्धका लागि यस लेखकलाई सुसज्जित गर्न सक्तछ ? भर्खरै मात्र टाइम्स समाचारपत्रको साहित्यिक सप्लिमेन्टमा प्रकाशित एउटा अग्रलेखमा यस प्रश्नको उत्तर दिने प्रयत्न भएको थियो । अमेरिकाको क्रान्तिकारी साहित्यको उल्लेख गर्दै टाइम्सका आलोचकले के प्रश्न उठाएका थिए भने “के यो नयाँ साहित्य मानव अनुभवको समग्र विस्तारलाई आत्मसात् गर्ने र त्यसलाई समाल्ने क्षमता राख्तछ ? निश्चय नै त्यतिखेरसम्म कहिल्यै पनि त्यस्तो हुनेछैन जहिलेसम्म जडसूत्रवादीहरूको पीठो बिक्ने गर्दछ । मूल कलाको लक्ष्य र कुनै न कुनै मात्रामा अन्ततः सबै कलाको लक्ष्य सबै रूप र मतहरूलाई हृदयङ्गम गर्न सक्ने समझ उत्पन्न गर्नु हो । फलतः यसको प्रकृति नै उदारभन्दा उदार समाजदर्शनका सीमाहरूमा समेत बाँधिएर रहन नसक्ने खालको छ, जसले व्यवहारमा आमरूपमा धेरै कट्टरताको परिचय दिने गर्दछ, त्योभन्दा माक्र्सवाद त अझ धेरै टाढाको कुरो हो । कला र जडसूत्रतामा आकासपातालको फरक छ .. त्यसो त एक कलाकार माक्र्सवादी हुँदाहुँदै पनि एक इमानदार कलाकार बन्न नसक्ने कुनै कारण छैन । तर, यस्तो त्यतिखेर मात्र हुन सक्तछ जतिखेर उसको माक्र्सवादको रूप उसको गहनतम ज्ञानसित बाझ्न नपाओस् । हरेक मानिसले आफ्नो अज्ञानताका कारणले गर्दा व्यर्थमा नै दुःख झेल्नुपर्दछ, आँखा हुँदाहुँदै पनि उसले अन्धो बन्नुपर्दछ । बढीभन्दा बढी उसले नयाँ दृष्टि प्राप्त गर्नका लागि निरन्तर सङ्घर्ष गरिरहन सक्तछ । यसका लागि कुनै एक रूप–खालि मानसिक ढाँचाको नै किन नहोस् – हुनु अनिवार्य छ र तटस्थ दृष्टिबाट हेर्दा यो गौण भूमिकामा जहिलेसम्म यसलाई गौण बनाइन्छ– माक्र्सवादले उसका अन्य सहयात्री विचारधाराहरूले गरेजत्तिकै सन्तोषप्रद काम गर्न नसक्ने कुनै कारण छैन ।”
माक्र्सवादप्रति टाइम्सका यी आलोचकको प्रवृत्ति सहानुभूतिपूर्ण त छ तर उनी माक्र्सवादको वास्तविक महत्वलाई पक्रन असक्षम देखिन्छन् । माक्र्सवाद यदि लेखकको कुनै एक ‘धर्म’ हुनै पर्दछ भने– ब्रह्मवाद वा फ्रायडवाद अथवा अन्य कुनै वादजत्तिकै उपयुक्त छ कि छैन भन्ने प्रश्न होइन । यी आलोचकका अनुसार रूप एउटा मानसिक यन्त्र हो र माक्र्सवादले यस गौण भूमिकालाई राम्ररी नै निर्वाह गर्दछ । उनको यो तर्कले मलाई आफ्नो पाठशालाका हेडमास्टरको स्मरण गराउँछ । उनी प्रत्येक वार्षिकोत्सवमा क्लासिक्सको अध्ययनलाई ‘मानसिक व्यायाम’ का लागि त्यो अनुपम छ भनेर उचित ठह¥याउँथे (हाम्रा व्यापारिक समुदायमा यसको पनि औचित्य सिद्ध गर्नु आवश्यक छ) । जसरी हामीलाई क्लासिक्सको अध्ययन गराइन्थ्यो त्यो रूपमा साँच्चै नै त्यो मानसिक व्यायाम नै थियो, त्यो अनुपम थियो कि थिएन अर्कै कुरो हो । तर, एरासमस (१४६६–१५३६ : पुनर्जागरणकालका महान् मानवतावादी) क्लासिक्स–शिक्षाको उपयोगिताको यस धारणालाई मन पराउँथे भन्ने कुरामा सन्देह नै छ ।
जे होस्, सार कुरो के हो भने एरासमस क्लासिक्सको ज्ञान जीवनको सत्यका लागि रचनात्मक कलाकारको सङ्घर्षको एउटा आवश्यक अस्त्र मानिने युगमा हुर्केका थिए । मध्यकालीन रूढान्धता र पुरानोपनमाथि विजय प्राप्त गर्न ग्रीस र रोमका काव्य तथा चिन्तनको आवश्यकता थियो । मानसिक व्यायामको होइन, मानिसको आत्मामाथि नियन्त्रण पाउने सवाल त्यतिखेर अघि थियो । यो कुरो हाम्रो समयमा माक्र्सवादका लागि पनि सत्य हो । माक्र्सवाद हाम्रो युगमा मानव प्रगतिको दर्शन तथा एक मात्र त्यस्तो विश्व दृष्टिकोण हो, जुन हाम्रो आधुनिक युगमा मानव आत्मालाई गाँज्ने गएगुज्रेका रूढिहरू र अति प्राचीनताका विरुद्ध हामीलाई सफलतापूर्वक सङ्घर्ष गर्ने क्षमता प्रदान गर्दछ । प्रत्येक लेखकको मुख्य काम मूल सत्यको खोजी हो र त्योसम्म माक्र्सवादबिना पुग्नै सकिन्न ।
यहाँ प्रश्न कलाकारका लागि मानसिक यन्त्रको गौण भूमिकालाई पूरा गर्न विभिन्न प्रकारका आकर्षक दर्शनहरूबाट कुनै एउटालाई चुन्ने सवाल छैन । एरासमसको संसारलाई एउटा ऐतिहासिक सङ्घर्षले जसरी खण्डित गरेको थियो, ठीक त्यसरी नै हाम्रो विश्वलाई एक ऐतिहासिक सङ्घर्षले विदीर्ण बनाएको छ र हाम्रो आजको यस सङ्घर्षमा माक्र्सवाद – त्यस वर्गको दृष्टिकोण जसलाई पुरातन खण्डहरहरूमाथि एउटा नयाँ संसार बसाउनका लागि इतिहासले युद्ध क्षेत्रमा उभ्याएको छ – ले त्यही भूमिका निर्वाह गर्दछ जुन सामन्तवादको स्थान लिने संसारको निर्माणमा मानवतावादले निर्वाह गरेको थियो ।

टाइम्सका आलोचकको के भनाइ छ भने रूप, मानसिक यन्त्रको भूमिकामा अनिवार्यतया आवश्यक छ । तर, माक्र्सवाद के कुरामा जोड दिन्छ भने रूप र सार एकअर्काबाट पृथक र निष्क्रिय एकाइ होइनन् । सारले रूपलाई जन्म दिन्छ, त्यो रूपसित सम्बद्ध र अविच्छिन्न छ । यद्यपि सारलाई प्राथमिकता प्राप्त छ तापनि रूपले विषयवस्तुमाथि आफ्नो प्रभाव पार्दछ र कहिल्यै निष्क्रिय हुँदैन । माक्र्सवाद आधुनिक लेखकका लागि कुनै देखावटी पोसाक मात्र होइन, यो उसको जीवनदर्शन हो† वास्तविकतालाई परीक्षण गर्ने लेखकको कसी हो† यसको मद्दतले लेखकले ठीक त्यही ‘गहनतम ज्ञान’ लाई अधीन बनाउँछ र आकार प्रदान गर्दछ, जसले अभिव्यक्ति पाउनुपर्ने हुन्छ । निस्सन्देह, माक्र्सवाद नै लेखकको वस्तुजगत्लाई हेर्ने र बुझ्ने तरिका हुनुपर्दछ ।
के भनिरहनु आवश्यक छैन भने ‘मूल कलाको लक्ष्य.. एउटा त्यस्तो समझ हासिल गर्नु हो जसले सबै रूप र मतलाई हृदयङ्गम गर्न सकोस्’ भन्ने कुरो साँचो हो । तर, समझ प्राप्त गर्ने तरिका आँखा चिम्लेर वर्तमान रूप र मतहरूका बिचबाट केही वा सबैलाई अँगालो हाल्नु होइन, न त कुनै पनि प्रकारको साहित्यिक वा दार्शनिक सङ्कलनबाट नै त्यसलाई हासिल गर्न सकिन्छ ।
वास्तविकतालाई बुझ्नका लागि, जान्नका लागि ज्ञानको एउटा त्यस्तो सिद्धान्तको आवश्यकता पर्दछ, जुन सत्यको अनुरूप होस् । तर, सत्य कुनै हवाई वा गतिहीन वस्तु होइन† उपरि किसिमको तर्कसङ्गत प्रक्रियाद्वारा एउटा पन्थविशेषले दावा गरेजस्तो दैववाणी वा सहज चेतनाबाट प्राप्त गर्न सकिँदैन ।
सत्यसम्म क्रियाशीलताबाट मात्र पुग्न सकिन्छ, कारण सत्य कुनै वस्तुबारेको मानवको गहिरो खोजबिनको अभिव्यक्ति हो । यो अनुसन्धान मुख्यतः एउटा मानवीय क्रिया हो, विशेष रूपले एक सामाजिक र उत्पादक क्रिया हो ।
पक्का पनि, कलाकारको चासो केवल सत्यसित हुनुपर्दछ । लेनिनले लेखेका थिए, “सत्य कुनै वास्तविक घटनाका सबै पक्षहरूको समग्रताबाट र तिनको पारस्परिक सम्बन्धबाट निर्माण हुन्छ ।” यसअघि उनले भनेको यो कुरो सबै कलाकारका लागि अति महत्वपूर्ण छ :
“ज्ञान विचारद्वारा वस्तुलाई जान्ने एउटा चिरन्तन र अन्तहीन क्रिया हो । मानवको चिन्तनमा प्रकृतिको अभिव्यक्तिलाई कुनै ‘ज्यानहीन’, ‘हवाई’ ढङ्गले–विनागतिको, बिनाअन्तर्विरोधको – बुझ्नु हुँदैन । बरु यसलाई गतिको एक चिरन्तन प्रक्रियाको रूपमा अन्तर्विरोधहरू अघि आउने र तिनको समाधान हुने प्रक्रियाका रूपमा हेर्नुपर्दछ ।”
जुन कलाले यस्तो दर्शनलाई अँगाल्दछ त्यो साँचो अर्थमा सबै रूप र मतहरूलाई हृदयङ्गम गर्ने समझलाई प्राप्त गर्ने स्थितिमा हुन्छ । यो वास्तवमा एक मानवीय कला हो, यही कारणले माक्र्सवादी लेखकहरू के दाबी गर्दछन् भने केवल समाजवादी कलामा, एक नयाँ यथार्थवादमा नै आज वस्तुगत सत्यलाई पूर्ण रूपमा हेर्ने क्षमता हुन्छ । यो क्षमताबिना रचनात्मक कलाकर्मीले वास्तविकतासित आफ्नो जुधारु सङ्घर्षमा विजय प्राप्त गर्न सक्तैन ।
टिप्पणीहरू
१. माक्र्स–एङ्गेल्स, सङ्गृहीत रचनावली, खण्ड १२, पृ. ६–७
२. माक्र्स–एङ्गेल्स, सङ्गृहीत पत्र, १९५३, पृ. ४२३–२४
३. माक्र्स–एङ्गेल्स, पूर्ववत्
४. कीट्स– हाइपीरियन, भाग ३
५. लेनिन–दार्शनिक नोटबुक
६. पूर्ववत्
– ‘उपन्यास और लोकजीवन’ बाट
(स्पेनिस गृहयुद्धमा प्राणाहुति दिने साहित्यकारमध्येका एक राल्फ फक्स (१९००–१९३६) ब्रिटिस उपन्यासकार, जीवनी लेखक, सामाजिक इतिहासकार, पत्रकार, अनुवादक र राजनीतिकर्मी थिए ।)
समाप्त
साभार : माक्र्सवादी साहित्य चिन्तन
Leave a Reply