भर्खरै :

सम्पदा पुननिर्माण र सभ्यता पुनर्जागरणको अनुपम उदाहरण

सम्पदा पुननिर्माण र सभ्यता पुनर्जागरणको अनुपम उदाहरण

भक्तपुर महोत्सव २०८१ भव्य सफलताको शुभकामना !
भक्तपुर सभ्यताको सहर, प्राचीन कला, संस्कृतिको धरोहर !
परम्परागत शिल्प र शिल्पकर्मीहरूको नगर, इतिहास जीवन्त बाँचेको सहर ।
यो सहर आज देशविदेशका पाहुना आमन्त्रण गर्दै उत्सव मनाउँदै छ । सहरको प्राचीनतालाई आधुनिक जीवनसँग जोड्ने आधार निर्माण गर्दै छ । मूर्त एवम् अमूर्त सम्पदालाई पर्यटन अर्थसँग जोड्ने बलियो आधारको तयारी गर्दै छ । यो क्रमशः उज्यालोतर्पm लम्कँदै छ ।
पर्यटन अर्थतन्त्रको एउटा हिस्सा हो । भक्तपुरको हकमा पुरानो र नयाँबिच सन्तुलनको बाटो पर्यटन उद्योग हुनसक्दछ, स्थानीय एवम् मौलिक उत्पादनको उद्योग । हामीलाई थाहा छ, उत्पादनसँग नजोडिएको पर्यटन दिगो हुनसक्दैन । यो महोत्सवले विशिष्ट स्थानीय उत्पादन, स–साना उद्योगको आधार तयार गरोस् । शुभेच्छा छ ।
कला, संस्कृति सम्पदासँगै यहाँ पर्यटनका थुप्रै आयाम छन् । भक्तपुरको राजनीतिक इतिहास, किसान आन्दोलन, सरसफाइ अभियान, भ्रष्टाचारविरोधी आन्दोलन, शैक्षिक आन्दोलन लगायतका पक्ष अध्ययन भ्रमणको सम्भावना विराट छ । भक्तपुर एकै रातमा बनेको सहर होइन । यहाँका दक्ष शिल्पकर्मी, मेहनती कालिगड, किसान–मजदुर एवम् कामगरी खाने जनताले नै वैभवशाली भक्तपुरको निर्माण गरेका हुन्, पुननिर्माण गरेका हुन् । महोत्सव तिनै शिल्पकर्मी र किसान मजदुरको जीवनसँग जोड्ने व्यावहारिक पाइला साबित हुने विश्वास छ । जनताको जीवनस्तर उठाउने एउटा अर्को पाइला बनोस् भक्तपुर महोत्सव । शुभकामना छ ।
यतिबेला विश्वमा सभ्यता पुनर्जागरणको आवाज सशक्त सुनिन्छ । मानव समाज विकासको इतिहास उत्खनन तीव्र अघि बढ्दैछ । छिमेकी देश चीनले ५ हजारदेखि ८ हजार ५ सत्न्दा पुराना सहर र सभ्यताका आधार फेला पारेको खबर छ । हामीजस्ता सम्पदाप्रेमीहरूका निम्ति त्यो सुखद् खबर हो ।
सम्पदा पुननिर्माण र सभ्यता पुनर्जागरणको एउटा अनुपम उदाहरण बनेको छ भक्तपुर । यद्यपि, थुप्रै चोक, गल्ली, पोखरी, मन्दिर, चैत्यलगायतका ऐतिहासिक वैभवहरू अझै उत्खनन र निर्माणको पर्खाइमा छन् । वरिष्ष्ठ राजनीतिज्ञ एवम् नेमकिपाका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँले परिकल्पना गर्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ यो सहर निर्माणको मार्गदर्शन हो । यहाँको मौलिक जीवनशैली, अनुपम सङ्गीत, सम्पदा र सुन्दरता जोगाउने दूरदर्शीता उहाँकै हो । विकास र निर्माणमा जनसहभागिता एवम् निःस्वार्थ सेवाको संस्कृतिको विकास उहाँको उद्देश्य हो । उहाँले पुरानो पुस्ता अर्थात् कलाकार, शिल्पकारहरूलाई अभिनन्दन गर्ने सभ्य–सुसंस्कृत सहर निर्माणसँगै नयाँ पुस्ताले खोजेको आधुनिक र गुणस्तरीय जीवनशैलीको पनि परिकल्पना गर्नुभएको छ । भक्तपुर महोत्सव ‘सय वर्षपछिको भक्तपुर’ निर्माणलाई नजिक ल्याउने एउटा माध्यम बनोस् ।
भक्तपुर महोत्सवको यो ५ दिन संसारले साँचैको जीवन्त सङ्ग्रहालय भक्तपुरमा देख्न पाउनेछ । महोत्सवले नयाँ पुस्तालाई यो सहरको गरिमावोध गराउने तथा नयाँ अवसरको ढोका खोल्ने विश्वास छ ।

(नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य सृजना सैंजूले गत मङ्सिर २८ गते भक्तपुर महोत्सवको उद्घाटन समारोहमा व्यक्त गर्नुभएको विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *