भर्खरै :

कोरियाको समाजवादका रक्षक नेता किम जोङ इल

डिसेम्बर १७ को दिन कोरियाली जनताले आफ्नो प्रिय नेता किम जोङ इललाई सम्झे, देशभरि नै दिवङ्गत नेताप्रति श्रद्धासुमन अर्पण गरे । डिसेम्बर १७, २०११ को दिन उहाँको निधन भएको थियो । कोरियाभरि मात्र होइन धेरै देशमा किम जोङ उनको नेतृत्व कुशलता र योगदानबारे चर्चा परिचर्चामूलक कार्यक्रम भए ।
किम जोङ इल (फेब्रुअरी १६, १९४२ डिसेम्बर १७, २०११) प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राष्ट्रिय मामिला आयोगका एक अध्यक्ष मात्र हुनुहुन्नथ्यो बरु उहाँ कोरियाली राष्ट्रका सच्चा अभिभावक हुनुहुन्थ्यो । उहाँले देश र जनताको भाग्य बचाउनुभएको थियो र विश्वभर नै समाजवादी व्यवस्थाको विघटन र पुँजीवाद पुनःस्थापनाको लहर चलिरहेको १९९० को दशकको कठिन अवधिमा एक शक्तिशाली समाजवादी देश निर्माणको लागि व्यापक मार्ग खोल्नुभएको थियो ।
सुरुदेखि जस्तै कोरियाली क्रान्तिले १९९० को दशकको मध्यमा पनि गम्भीर चुनौतीहरूको सामना गर्यो, स्थिति खराबभन्दा खराब हुँदै गएको थियो । अमेरिकी साम्राज्यवादी र तिनका पिच्छलग्गुहरूले आधा शताब्दीभन्दा लामो समयदेखि प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियालाई एसिया र बाँकी विश्वमा आफ्नो प्रभुत्व जमाउनको लागि एउटा पुलको टुक्रामा परिणत गर्ने षड्यन्त्रमा लागेका थिए । पूर्वी युरोपेली देशहरूमा समाजवादको पतनबाट लाभ उठाउँदै, उनीहरूले ‘समाजवादको अन्त्य’ को बारेमा हर्षोल्लास गर्दै प्रजग कोरियामाथि आफ्नो राजनीतिक र सैन्य दबाब र आर्थिक प्रतिबन्धहरू तीव्र पार्न थालेका थिए । विश्वको नजर प्रजग कोरियामाथि थियो ।
अति कठिन परिस्थितिमा नेता किम जोङ इलले कोरियाली मजदुर पार्टीको नेतृत्व गरेर कोरियाली जनतासँग मिलेर, कोरियाली जनसेनालाई अनसनमा राखेर पनि समाजवादी क्रान्तिको नेतृत्व गर्ने आफ्नो निर्णयको व्याख्या गर्दै पार्टीलाई बलियो बनाउन, सेना र पार्टीलाई बलियो बनाउन नितान्त आवश्यक रहेको विश्वास दिलाउन सफल हुनुभयो । सहज र असहज माध्यमबाट समाजवादी उद्देश्यको रक्षा र अगाडि बढाउनुभयो र कोरियाली जनसेनालाई सुदृढ नगरी पहिले नै प्राप्त भएका क्रान्तिकारी उपलब्धिलाई जोगाउन र समाजवादी निर्माणलाई तीव्रता दिन सम्भव नहुनेमा सारा देशवासीलाई सहमत गराउनुभयो ।
जनता स्वतन्त्र जनता, स्वाधीनताका रक्षक बन्ने वा साम्राज्यवादीहरूको औपनिवेशिक दासत्वमा फर्किने भन्ने दोधारमा रहेका बेला देश र क्रान्तिको दृढताका साथ रक्षा गर्ने र विजयतर्फ डो¥याउने यो एक मात्र सही विकल्प थियो । एकपटक समाजवादको रक्षा गरिसकेपछि आर्थिक निर्माणमा समस्या हुँदैन । साम्राज्यवादको दास बनेर पेट भर्नुको सट्टा थोरै भोक लागे पनि हामी स्वतन्त्र जनताको हैसियत र प्रतिष्ठाका साथ बाँच्न सक्छौं । जतिसुकै कठिन भए पनि हामीले साम्राज्यवादविरोधी सैन्य मोर्चामा जीत हासिल गरेर समाजवादको रक्षा गर्नुपर्छ भन्ने उहाँको विचार, इच्छा र दृढता थियो । यस उद्देश्यका लागि नेता किम जोङ इलले जनसेनालाई प्राथमिकता दिने सोङ्गुन राजनीति र रणनीतिको प्रतिपादन र व्यवस्थापन गर्नुभयो र साम्राज्यवादीहरूलाई परास्त गर्नुभयो ।
क्रान्तिकारी भावना, लडाइँ क्षमता, सङ्गठन र अनुशासनका हिसाबले कोरियाली जनसेना अन्य सामाजिक समूहहरूभन्दा अतुलनीय रूपमा बलियो भएकाले उहाँले यसलाई समाजवादी देशको रक्षामा मानक वाहकको रूपमा अगाडि बढाउनुभयो र यसलाई समाजवादको सेनाको रूपमा तालिम दिन आफ्नो सम्पूर्ण प्रयासहरू समर्पित गर्नुभयो । विचारधारा र विश्वासमा बलियो पार्न र आधुनिक रूपमा सुसज्जित बनाउन तथा कोजसेका एक सदस्यलाई एक–सय लडाकुहरूको सामना गर्न सक्ने बनाउने तालिम दिइएको थियो र त्यो अझै पनि जारी छ ।
ती दिनहरूमा उहाँले शक्तिशाली रक्षा उद्योगबाहेक समृद्ध राष्ट्र निर्माण तथा देश र जनताको सुरक्षाको रक्षा गर्न असम्भव छ भन्ने दृष्टिकोण राखेर देशको रक्षा उद्योगको विकासमा सक्दो प्रयास गर्न निर्देशन दिनुभयो । उहाँले यति धेरै मेहनतका साथ उपलब्ध गराएको शक्तिशाली हतियारका कारण प्रजातान्त्रिक जनगणतन्त्र युद्धमुक्त शान्तिको किल्ला बन्यो, जुन जनताको खुसी हाँसो र समाजवादी निर्माणका सबै क्षेत्रमा उन्नति र प्रगतिको स्वरले सम्पन्न छ । आजपर्यन्त कोरियाली शैलीको समाजवादको झन्डा फहरिरहेको छ ।
यसैकारण पराजित भएका साम्राज्यवादीहरूले र उनीहरूका भरौतेहरूले किम जोङ इलको देहावसान भएको डेढ दसक नाघिसक्दा पनि उहाँको व्यक्तित्वबारे बदख्वाइँ गर्न र बदनाम गर्न छोडेका छैनन् । इन्टरनेटमा आधारित नयाँ मिडिया आएपछि साम्राज्यवादी र प्रतिक्रियावादीहरूले देशभक्त, साम्राज्यवादविरोधी र समाजवादी नेताहरूको बारेमा झन् बढी दुष्प्रचार गर्न थालेका छन् । साम्राज्यवादी र प्रतिक्रियावादीहरूका दुष्प्रचारबाट सजग भई सत्यतथ्य र सही इतिहास र वर्तमानबारे जानकारी प्राप्त गर्न अत्यावश्यक भइसकेको छ । साम्राज्यवादविरोधी र समाजवादी नेता किम जोङ इलप्रति हार्दिक श्रद्धासुमन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *