रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
सिरिया ढल्यो ।
सम्भवतः अब सिरिया टुक्राटुक्रा हुनेछ । गिद्धले सिनो लुछेझैँ भित्री र बाहिरी शक्तिले देशका विभिन्न हिस्सामा भ्याएसम्म नियन्त्रण जमाउने छन् ।
त्यसपछि वर्षौँ वर्ष भद्रगोल चलिरहनेछ ।
इजरायलले सिरियाको एउटा ठुलो भूभाग कब्जा गर्दै छ । उसले सिरियाली महानगर कुनेत्रा र सोही क्षेत्रका दुई नगर अल–कातानिया र अल–हमिदियामाथि नियन्त्रण जमायो । इजरायल सिरियाको हेर्मोन पर्वततर्फ अघि बढिसकेको छ । अहिले इजरायली सेना सिरियाको राजधानी दमास्कसबाट केकल ३० किलोमिटरको दूरीमा छ ।
सिरियाको सैन्य सामग्री राख्ने गठ्ठाघरहरूमाथि हमला गर्दै इजरायलले सिरियाको सैन्य क्षमता निमिट्यान्न पार्दै छ । खासगरी हवाइ हमला छल्ने सामरिक स्थान र भारी अस्त्र राख्ने शस्त्रागारलाई इजरायलले निसाना बनाइरहेको छ । आउँदो वर्ष सिरिया बाह्य आक्रमण थेग्नै नसक्ने स्थितिमा पुग्नेछ ।
सिरियामा इजरायल एउटा विजयी खेलाडी बनेको छ । तर, अब इजरायलको नाकैमुनि एउटा अस्थिर जिहादी समूह कतिञ्जेल टिक्छ ? हेर्न बाँकी छ ।
संरा अमेरिकाले सिरियाको बिच भागमा पर्ने मरुभूमिमाथि बमबारी गर्दै छ । आतङ्कवादी समूह इजइजमाथि हमला गरिरहेको उसले दाबी गर्दै आएको छ । तर, अमेरिकाको मुख्य तारो त्यहाँ बसोबास गर्ने स्थानीय अरबी प्रतिरोध समूहहरू हुन् । हाल सिरियाको पूर्वी इलाकामा अमेरिकी नियन्त्रण छ भने दक्षिण–पश्चिम इलाकामा इजरायली नियन्त्रण छ । मध्य सिरियाका अरबी प्रतिरोध समूहहरूले यी दुई इलाकाबिच तगारोको काम गरिरहेकोमा अमेरिका त्यो तगारो हटाउन उद्यत देखिन्छ । त्यसकारण, पनि मध्य सिरियाका देशभक्त लडाकुहरू अमेरिकाको तारो बन्दै आएका हुन् । अर्को कारण इजरायली नीति हो । इजरायल यी दुई इलाकालाई जोडेर ‘बृहत् इजरायल’ को योजना साकार पार्न चाहन्छ । यसरी देशलाई ‘नदीदेखि सागरसम्म’ विस्तार गर्ने यहुदीवादीहरूको पुरानो सपना साकार पार्ने इजरायल सरकारको नीति छ ।
सिरियामाथि हमला गर्न टर्कीको ठुलो भूमिका थियो र छ । उसले (पहिले सिरियाली मुक्ति सेना भनिने) सिरियाली राष्ट्रिय सेनालाई पैसा दिँदै आएको छ । यो सेनाको नियन्त्रण पनि टर्कीकै हातमा छ । यो सेनाका लडाकुहरू खासगरी सिरियालाई टुक्राउन चाहने कुर्द पृथकतावादीहरू हुन् ।
टर्कीमा ३० लाख देखि ५० लाखसम्म सिरियाली शरणार्थी छन् । टर्कीका राष्ट्रपति (व्यवहारमा बादशाह) इर्दोगान घरेलु राजनीतिमा पैठ जमाउन ती शरणार्थीलाई सिरिया फर्काउन चाहन्छन् । बसर अल–असदको बहिर्गमनले गर्दा सिरियामा मच्चिने भद्रगोलबिच इर्दोगानको इच्छा पूरा हुने देखिन्न ।
अलकायदाबाट छुट्टिएको लडाकु समूह हयात तहरिर अल–शाम (हतशा) ले सिरियाली सहर अलेप्पो कब्जा गरोस् भन्ने टर्कीको चाहना छ । तर, ‘हतशा’ समूह त्यहाँबाट एक पाइला पनि अघि बढेको टर्कीलाई पच्ने छैन । सिरियाको पराजय अब टर्कीको टाउको दुखाइ बन्दै छ किनभने अब त्यहाँ अमेरिकाको रजाइँ चल्नेछ । वासिङ्टनले ‘हतशा’ लाई प्रयोग गरी आफ्नो दूनो सोझ्याउन चाहने पक्कापक्की छ । ‘हतशा’ समूह सधै टर्कीको इशारामा चलेको देखिन्न ।
टर्कीमा घुसपैठ गरी बसेका कुर्द लडाकुहरूलाई टर्कीले तारो बनाउँदै आएको छ । यी लडाकुलाई सिरियामा बसोबास गर्ने कुर्दहरूको पनि समर्थन छ । ‘सिरियाली प्रजातान्त्रिक बल’ (सिप्रब) नाउँको यिनीहरूको सङ्गठन छ । आर्थिक सहयोग दिँदै अमेरिकाले यस सङ्गठनमाथि नियन्त्रण जमाउँदै आएको छ । टर्कीमा ‘सिप्रब’ ले इर्दोगानलाई टक्कर दिँदै छ । सिरियाभित्र जति घुस्दै गयो टर्कीले यी कुर्दहरूबाट त्यति नै बढी अवरोध झेल्नुपर्नेछ ।
पूर्वी सिरियामा पैठ जमाएको अमेरिकाले ‘सिप्रब’ लाई सहयोग गर्छ भने ‘सिप्रब’ ले पूर्वी सिरियाका मुख्यमुख्य तेल, ग्यास र गहुँबाली लाग्ने ठुलठुला चक्लामाथि नियन्त्रण जमाउँछ । दमास्कसमा सत्तासीन हुन चाहने जोकोहीले यी स्रोतसाधनमाथि पहुँच कायम गर्नैपर्छ । नत्र, राज्यको खर्च धान्न असम्भव हुन्छ ।
‘हतशा’ का नेता अबु मुहम्मद अल–जोलानीको टाउकोमाथि १ करोड डलर बराबरको इनाम छ । तैपनि पश्चिमा मिडियाले उनलाई सिरियाका नयाँ एकताका सूत्रधार र संयमी नेता भनेर प्रचार गर्दै छ । तर, उनी नेतृत्वको ‘हतशा’ आफैमा विभिन्न अरबी देशका कट्टरपन्थी जिहादीहरूको गठबन्धन मात्र हो । सिरियामा लुट्नका लागि अब धेरैथोक बाँकी छैन । यी स्रोतसाधन सक्किँदाबित्तिकै ‘हतशा’ भित्र काटमार सुरु हुने निश्चित छ । यिनीहरूले राजधानी दमास्कसका शिया र क्रिस्तान मठमन्दिरमा लुटपाट मच्चाउन थाले अल–जोलानीले के गर्लान् ? के उनी आफ्ना फुटपारुवा साथीहरूलाई रोक्न सफल होलान् ?
पछिल्ला वर्षहरूमा रुसले असद सरकारलाई बाहिर देखिएजस्तो उति सहयोगी बन्न सकेन । असद काम नलाग्ने साझेदार हुन् भन्ने उसलाई थाहा थियो । लाताकिया प्रान्तमा पर्ने खमेमिममा रुसको भूमध्यसागरीय अखडा छ । यो अखडा अफ्रिका पुग्ने रुसको फड्के पुल हो । अब अमेरिकाले सिरियाको नयाँ नेतृत्वलाई खमेमिमबाट रुसलाई धपाउन दबाब दिनेछ । सिरियामा आउने नयाँ नेतृत्व चलाख हुन्छ भने उसले रुसीहरूलाई आफ्नो भूमिमै राख्न चाहनेछ । वैकल्पिक गोटीलाई जोगाउनु त्यति खराब होइन । यस्तो स्थितिमा रुस सिरियाको लाताकिया प्रान्तमा पछिसम्मै रहनेछ ।
सिरियाको पराजयसँगै इरानले इजरायलविरोधी प्रतिकार गठबन्धनको एउटा प्रमुख कडी गुमाएको छ । लेबननमा रहेको उसको प्रतिरोधी अग्रदस्ता हिजबुल्लाहको स्थिति अहिले खस्किरहेको छ ।
पेन्टागनमा भएको एउटा छलफलबारे चर्चा गर्दै पूर्वजर्नेल विज्ले क्लार्कले भनेका थिए, “एउटा समझदारी नै बनेको छ, जसअनुसार हामीले आउँदो पाँच वर्षमा सात देशलाई पल्टाउने छौँ; इराकबाट सुरु गरेर सिरिया, लेबनन, लिबिया, सोमालिया, सुडान हुँदै इरानलाई ध्वस्त पार्नेछौँ ।”
माथि उल्लेख ७ देशमध्ये हाल ६ देशमा भाँडभैलो चलिसकेको छ । यीमध्ये अब इरानमात्र बचेको छ । इरानले आफ्नो स्थानीय प्रतिरक्षा प्रणालीलाई थप सबल पार्नुपर्ने देखिन्छ । अब उसले आणविक हतियार नबनाई धरै छैन । ऊसँग धेरै समय छैन ।
अमेरिकामा सत्तारुढ हुँदै गरेको ट्रम्प सरकार चीनलाई प्रमुख शत्रु ठान्छ । सिरिया (र युक्रेन) मा भद्रगोल मच्चाएर बाहिरिँदै गरेको बाइडेन सरकारले ट्रम्पलाई मध्यपूर्व (र पूर्वी युरोप) मा थप अल्झाउने विरासत छोडेको छ ।
‘धुरी एसियातिर’ नामक अमेरिकाको बृहत् योजनाले थप समय कुर्नुपर्ने भएको छ । यसले गर्दा चीनले आफ्नो प्रभावको दायरा बढाउने समय पाएको छ । पछिल्लो घटनाक्रममा विजयी भएको एकमात्र शक्ति चीन नै होला ।
– एमआर अनलाइनबाट
अनुवाद : सम्यक
Leave a Reply