भर्खरै :

भक्तपुर महोत्सव उत्सवको उत्सव

भक्तपुर महोत्सव उत्सवको उत्सव हो । उत्सवलाई उत्सवमय बनाउन हरेक पक्ष या क्षेत्रले साथ दिएको छ । साथ दिएर महोत्सव सफल हुनु यसको दृष्टान्त हो । प्रदर्शनी गर्नु र प्रदर्शनीको अवलोकन गर्नुको छुट्टै महत्ता छ । हरेक प्रदर्शनीस्थलको आ–आफ्नो इतिहास, संस्कृति, कला लुकेर रहेको छ । एउटा प्रदर्शनीको एउटा एउटा इतिहास तयार गर्न सकिन्छ । यहाँका उहिलेदेखिका पुराना सामग्री, संस्कार, संस्कृति, चाडपर्वको झझल्को भक्तपुर महोत्सवमा उजागर गरिएको छ । वर्षभरिमा हुने वाद्यवादन, नाचगानको झलकमात्र होइन; नेवार समुदायमा हुने संस्कार, संस्कृति र संस्कारमा प्रयोग हुने सामग्रीको प्रदर्शन युवा–युवती र नयाँ पुस्ताको निम्ति एउटा नैतिक शिक्षा भएको छ ।
यस महोत्सवमा स–साना स्कूले बालबालिकादेखि ज्येष्ठ नागरिकहरूको सक्रिय सहभागिता छ । सर्वसाधारण नागरिकदेखि व्यापार–व्यवसायीहरूको संलग्नता छ । हरेक नाचगानका कलाकार, वाद्यवादकदेखि खेलाडी, स्काउट, सुरक्षाकर्मीको उल्लेखनीय सहभागिता महोत्सवको सकारात्मक पक्ष हो । टोल–टोलका व्यापारी, व्यवसायी, किसान, मजदुर, यवा, विद्यार्थी, महिला, शिक्षक, प्राध्यापक, लेखक, कलाकार, साहित्यकार, पत्रकार, स्काउट, सुरक्षाकर्मीहरूले सहयोग गरेर महोत्सवलाई सफल पार्नु महोत्सवको राम्रो पक्ष हो । महोत्सवको अवलोकन गर्नेहरूको उल्लेख्य सहभागिता अर्को महत्वपूर्ण पक्ष हो । महोत्सवमा भाग नलिएको कुनै पक्ष छैन कि भन्ने जस्तो अनुभूति महोत्सवले दिएको आभास हुन्छ । महोत्सवले साँच्चै देश विदेशमा राम्रो सन्देश छरेको छ ।
महोत्सवको अर्को अनुकरणीय पक्ष महोत्सवमा सबै वडा परिचालन हुनु हो । सबै वडा र क्षेत्रमा अझ चोकचोकमा प्रदर्शनी भएकोले प्रदर्शन हेर्न आउने आन्तरिक र बाह्य पर्यटकहरूको भिड नियन्त्रित हुनु अर्को महोत्सवको राम्रो पक्ष हो । हजारौँ हजार मानिसहरू सडक, गल्ली र चोकचोकमा आवतजावत भइरहे पनि कहीँ कतै फोहर नदेख्नु या विगतमा भन्दा अझ बढी सफा हुनु के राम्रो पक्ष होइन ? सबै प्रदर्शनी स्थललाई अझ आकर्षक बनाउन हरेक प्रदर्शनी स्थलमा प्रदर्शनीबाहेक अर्को आकर्षण या मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश भएको भए महोत्सव साँच्चिकै मतिअनुसार गति भएको भन्न करै लाग्छ । कता कता राखिएका प्रदर्शनीमा अवलोकनकर्ताहरूको कमी भएको गुनासोलाई पछिल्ला दिनमा हुने यस्तै खालको महोत्सवमा सुधार हुने विश्वास गर्न सकिन्छ ।
वर्षभरिमा हुने नाचगान, गतिविधि, संस्कार र संस्कृतिको प्रदर्शनीलाई पाँच दिनमा हेर्ने अवसर भक्तपुर नगरपालिकाले व्यवस्था ग¥यो । एकै दिनमा मुख्य मुख्य प्रदर्शन र आकर्षण हेर्न पाउने व्यवस्था गर्नमा भक्तपुर नगरपालिका सफल भएको देखिन्छ । यो सफलतामा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिमात्र होइनन् यहाँका किसान, मजदुर, व्यापारी, व्यवसायी, महिला, युवा, विद्यार्थी, शिक्षक, प्राध्यापक, सञ्चारकर्मी, स्काउट, सुरक्षाकर्मी, कलाकार, वाद्यवादक, नाचगान टोली, कर्मचारी तथा बाह्य पर्यटकहरूको पनि ठुलो हात छ । व्यापार मेला, पुस्तक प्रदर्शनी, घरेलु उद्योगको प्रदर्शनी, दीपङ्कर प्रदर्शनी, सबैजसो बाजाको प्रदर्शनी, टोल र चोकचोकको पाटी, डबलीमा भजन, मूर्ति, पहिलेका घरेलु व्यवसायको प्रदर्शनी, भोजमा प्रयोग हुने पातको प्रकार, बिहे, व्रतबन्ध, इही (बेलको विवाह) गुफा (सूर्य दर्शन), जंको (भीमरथारोहण) बिजुली नभएको समयमा आफ्नै स्रोत र साधन प्रयोग गरी चिउरा कुट्ने, धान कुट्ने मुसल, ओखल, ढिकी आदिको प्रदर्शनी नयाँ पुस्ताको निम्ति महत्वपूर्ण ज्ञान बनेको छ । साँच्चै यो महोत्सवले नयाँ, पुराना पुस्ता र अग्रजहरूको निम्ति पनि उपलब्धिमूलक भएको देखिन्छ ।
महोत्सव अवलोकन गर्नेहरूको निम्ति खानेपानी, स्वास्थ्य उपचार र मन लागेका अनेक खाद्यको व्यवस्थाले कुनै पनि अवलोकनकर्ता भोकै फर्कनुपर्दैन । हरेकजसो प्रदर्शनी स्थलमा खाद्य महोत्सवको पनि व्यवस्था गरिएको छ । स–साना विद्यार्थीको चित्रकला, विज्ञान प्रदर्शनी, सडक, पुलसम्बन्धी प्रदर्शनी, जन्मदेखि मर्दासम्म प्रयोग हुने माटाका भाँडाकुँडा, हरेक नाचगानमा प्रयोग हुने र भोजमा प्रयोग हुने पातको प्रदर्शनी सबैले हेर्नैपर्नेमध्येमा पर्छ । मनोरञ्जनको लागि नाटक, नाचगान, भजन पनि अर्को महोत्सवको रोचक पक्ष हो । भक्तपुरको नवदुर्गा नाच, नौथरीको बाजा, देवी, महाकाली, बाँदर, बाघ नाच, गरूड नाचले पनि अवलोकन गर्नेहरूको मन खिचेको छ । त्यस्तै खः प्याखं (नाच) मा प्रयोग हुने पहिलेका पोशाकहरूको प्रदर्शनी पनि राम्रो मानिन्छ । यस्ता उदाहरणीय र अनुकरणीय प्रदर्शनी स्थलहरू बग्रेल्ती छन् ।
प्रदर्शन स्थलमा बाहेक ठाउँ–ठाउँमा बनाइराखेको प्रवेशद्वार पनि अनुकरणीय छ । माटाका भाँडाहरू प्रयोग गरी बनाइएको द्वार र खाद्यवस्तु तथा काममा प्रयोग गरिने पुराना वस्तुहरूसमेतको प्रवेशद्वार पनि रोचक नै मान्नुपर्छ । कलात्मक मूर्ति, धातुकला, चित्रकला, फोटो प्रदर्शनी, भैरवको रथ, लिङ्गो, पुराना खेल, अन्न प्रयोग गरेर बनाइएको मन्दिर (हलीमली) आदि प्रदर्शनीले भक्तपुर महोत्सव साँच्चै पछिसम्म छाप पर्ने उत्सव भएको मान्न सकिन्छ । विदेशी पर्यटकहरूको निम्ति पनि यो महोत्सव, रोचक, आकर्षक र फेरि भक्तपुरमा भ्रमण गर्न आउनैपर्ने खालको अनुभूति दिएको आभास हुन्छ । भक्तपुर महोत्सवले यहाँको संस्कृति, संस्कार भक्तपुरवासी, देशवासी र अन्तर्राष्ट्रिय समुदायमा बाँडेको छ । भक्तपुर नपाले आयोजना गरेको भक्तपुर महोत्सव उल्लेखनीय र अनुकरणीय महोत्सव हो । यो महोत्सव देशभरिका स्थानीय तहको निम्ति सिक्नलायकको छ; अध्ययन र अनुसन्धान गर्नलायकको छ । भक्तपुरलाई ज्ञान र विज्ञानको केन्द्र बनाउने, अध्ययन र अनुसन्धानको केन्द्र बनाएर सांस्कृतिक नगर बनाउने भक्तपुर नगरपालिकाको योजना सफल हुने विश्वास गर्न सकिन्छ । पाँचदिने भक्तपुर महोत्सव गर्ने भक्तपुर नगरपालिकालाई धन्यवाद छ । आगामी दिनमा पनि यस्तै यस्तै अनुकरणीय र उदाहरणीय उत्सवमय, सिक्नलायक महोत्सव गरेर नयाँ पुस्ता, आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षण केन्द्र बनाउने महोत्सव गर्ने अवसर मिलोस् भन्ने कामना पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *