भर्खरै :

भक्तपुर महोत्सव एक खुला विश्वविद्यालय

भक्तपुर महोत्सव एक खुला विश्वविद्यालय

भक्तपुर नगरपालिकाद्वारा जनताको साथ र सहयोगमा सम्पन्न भएको जनताकेन्द्रित भक्तपुर महोत्सव देश विदेशमा चर्चाको विषय बनेको छ । मङ्सिर २८–पुस २ गतेसम्म भएको उक्त महोत्सव अवलोकन गर्न देश विदेशबाट लाखौँ दर्शक आएका थिए । उक्त महोत्सवमा काठमाडौँ उपत्यका र उपत्यका बाहिरका मेयर, उपमेयर र वडाध्यक्षहरूले पनि अवलोकन गरेका थिए । महोत्सवमा शिक्षक, पत्रकार, प्राध्यापक, न्याय क्षेत्रका अग्रजहरू, विज्ञ, बुद्धिजीवीहरू, संस्कृतिकर्मीहरू आदिले अवलोकन गरेका थिए । कसैले यो देशभरका स्थानीय सरकार वा पालिकाहरूको निम्ति अनुकरणीय कार्यक्रम भएको बताए । कसैले एक खुला विश्वविद्यालयको रूपमा लिएका छन् । पुर्खाले नासोको रूपमा छोडेर गएका मूर्त अमूर्त कला–संस्कृति, सम्पदा र विज्ञान, प्रविधिलगायत अन्य शैक्षिक प्रदर्शनी स्टलहरू अवलोकन गरेर दर्शक पाहुनाहरूले प्रशंसा गरेका थिए । जर्मन सम्पदाविद् निल्सगुसोले भक्तपुरलाई सुन्दर जीवित सङग्रहालय, विश्व सम्पदा स्थल घुमेका अमेरिकी पत्रकार अलेक्जेन्डर पावेलले भक्तपुर अवलोकन गरे आधा विश्व घुम्नुभन्दा बढी घुमेको बराबर हुने भनेका होइनन् ।
यो महोत्सवले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छँेले भक्तपुर सहर ‘बिहान प्राचीन सहरजस्तो, दिउँसो खुला विश्वविद्यालय जस्तो र राति प्राचीन लुगा लगाएकी सुन्दरीजस्तो सुन्दर आकर्षक’ हुने परिकल्पना गरी ‘सय वर्षपछिको भक्तपुर’ लेख्नुभएको थियो । उक्त पुस्तकको भावनाअनुसार परम्परागत शैलीको घर, भवन, चोक, मठ, मन्दिर, पाटी, पोखरी, ढुङ्गेधाराले शोभायमान सहरमा बिहान परम्परागत पहिरनमा यहाँका महिला र ज्येष्ठ नागरिकहरू मन्दिरमा गइरहेको, दिउँसो विदेशी भाषा जानेका विद्यार्थीहरू विद्यालय, कलेज अनि विश्वविद्यालयमा पढन गइरहेको र अपराह्न विभिन्न टोल, चोकको सजिएको डबुलीमा विभिन्न परम्परागत नाचहरू देखाइरहेको झझल्को यो महोत्सवले दिएको छ ।
यो महोत्सवमा कला, संस्कृति, विज्ञान, प्रविधि, टोलका अग्रज सांस्कृतिक गुरूहरू, विद्यालय र कलेजका गुरूहरूले सिकाउनुभएको, सिकेको शिक्षा, ज्ञानको प्रयोग गरेर साना विद्यार्थी भाइबहिनीहरूदेखि ज्येष्ठ नागरिकहरू परम्परागत पोसाकमा सजिएर सबैले सक्रिय र उत्साहका साथ आफ्ना प्रतिभा देखाएका छन् । चित्रकला, नृत्य, बाजागाजा, परम्परागत पहिरनमा नेवार जीवन शैलीका अनेक रूपहरू, छ्वालीकला, मूर्तिकला, काष्ठकला, धातुकला, हस्तकला, माटोका भाँडाकुँडाहरू, विभिन्न शैक्षिक सामग्रीहरू बनाउँदै गरेका, बनाएका सामग्रीहरू उत्पादन गरिएका छन् । यसले सबै दर्शकहरूको मन जित्न सफल भएको छ । महोत्सव हेर्न आउने दर्शक पाहुनाहरूको सुरक्षा र सहजताको लागि सुरक्षाकर्मी, ठाउँ–ठाउँमा खानेपानी, शौचालय, खाजाका स्थलहरू, सूचना केन्द्र, ख्वप अस्पतालका स्वास्थ्यकर्मीका टोलीहरू र सवारी पार्किङस्थल आदि व्यवस्थितरूपमा राखिएको छ ।
भक्तपुरको भेलुखेलमा साना साना विद्यार्थी भाइबहिनीहरू लक्षित गरी बालमैत्री मनोरञ्जन स्थलमा राखिएको मञ्चमा विभिन्न विद्यालयका विद्यार्थी भाइबहिनीहरूले विभिन्न गीत, भेषभूषा र नृत्यमा आफ्ना प्रतिभाहरू देखाएर मनोरञ्जन गरिरहेका थिए । कुनै स्टलमा भाइबहिनीहरूले चित्र लेख्ने, रङ्ग भर्ने, कुनै स्टलमा अनुहारमा नेपालका राष्ट्रिय झण्डा, पुतलीलगायतका अन्य पेन्टिङहरू गरिरहेका थिए भने कुनै स्टलमा गणित र विज्ञानका खेलहरू खेलेर रमाइ्ररहेका थिए । केही स्टलमा नेवार जीवनशैली, कृषि सामग्री, बाल शैक्षिक सामग्रीहरू पनि प्रदर्शनमा राखिएका थिए । यी बाल प्रतिभाहरू हेर्न विद्यार्थी, अभिभावक र अन्य दर्शक पाहुनाहरूको भिड नै लागेको थियो ।
भक्तपुरको टौमढी, गः हिटी, तालाक्व, नासमना, दरबारक्षेत्र, दत्तात्रय, सूर्यमढी आदि क्षेत्रमा ऐतिहासिक, सांस्कृतिक, कलाकारितासँग सम्बन्धित माटोका भाँडाकुँडाहरू, कृषि सामग्री र उत्पादनहरू, छ्वालीकला, चित्रकला, मूर्तिकला, सांस्कृतिक नाचहरू हेर्ने, सिक्ने र त्यसलाई अवलोकन गरेर मन चङ्गा बनाउने दर्शक पाहुनाहरूको भिड नै लागेको देखिन्छ । दरबार क्षेत्रको चित्रकार, मूर्तिकारहरूको प्रतिभाका नमुनाहरू, दीपङ्कर बुद्ध, कालभैरव, मृग आदिको मूर्ति हेरेर मन चङ्गा भएका फोटो खिचाउने दर्शकहरूको भिड लागेको देखिन्छ । भिडले गर्दा दर्शकहरूले चित्त बुझाएर र फोटो खिच्न नै पाएनन् । यसलाई दर्शक पाहुनाहरूले ललितकला कलेज वा विश्वविद्यालयको बेजोड कक्षको रूपमा लिएका छन् ।
यता दरबार क्षेत्र, टौमढी, तचपाल, क्वाठण्डौलगायत अन्य टोल टोलका मञ्चमा परम्परागत नृत्य र भजन गायनहरूको प्रदर्शनी भइरहेको देखिन्छ । यी दबुहरूमा भैरव, कुमारी, कुकुर, कवाँचा, बाँदर, हनुमान, भालु, मयुर, गरूड, सिंह, जङ्गली देवी, राधाकृष्ण, फाकन्दली आदि नाचहरू देखाइएको थियो । नेता बिजुक्छँेको ‘सय वर्षपछिको भक्तपुर’ को पुस्तकमा परिकल्पना गरिएजस्तो भविष्यमा यी नाचहरू राति क्रमशः देखाउने वातावरण बनाउँदै जाने विश्वास गर्न सकिन्छ । सोही मञ्चमा विभिन्न बाजा र गीत पनि कलाकारहरूले प्रस्तुत गरेको र खुला बाँसुरी बाजाको प्रतियोगिता गरेको सबै दर्शकले देखेकै थिए । ती प्रतियोगी बाँसुरी बाजाको टोली र अन्य बाजा टोलीहरूले बाजा बजाएर नगर परिक्रमा गरेको प्रस्तुतिको रौनक छुट्टै छ । यता भक्तपुरको लाँम्हुगमा पुस्तक प्रदर्शनीको आफ्नै महिमा र महत्व छ ।
यता ख्वप कलेज देकोचा र ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थीलगायत अन्य विद्यालयका विद्यार्थी भाइबहिनीहरूको शैक्षिक प्रदर्शनी छ । ख्वप कलेजको विज्ञान र प्रविधिका विद्यार्थीहरूको प्रदर्शनी बेजोड देखिन्छ । त्यहाँ रसायन, बायो र फिजिक्ससँग सम्बन्धित प्रदर्शनी स्टलहरू थुप्रै थिए । त्यस्तै विद्यार्थीहरूले रचना गरेका चित्रकलाहरू पनि प्रदर्शनमा थिए । कलेजकी एक विद्यार्थी बहिनीले अटोमेटिक स्ट्रिट लाइट सिस्टमबारे दिएको जानकारी राम्रो लाग्यो ।
ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थी भाइबहिनीहरूको सिभिल, इलेक्ट्रोनिक, इलोक्ट्रिकल, आर्किटेक्चर आदिसँग सम्बधित शैक्षिक प्रदर्शनीले विद्यालय, कलेजका विद्यार्थीहरू र दर्शक पाहुनाहरूको मन मस्तिष्कलाई आकर्षित गरेका छन् । यो प्रदर्शनीले इन्जिनियरिङ विज्ञान र प्रविधिको, कलाको ज्ञान र अनुभव विद्यार्थी, शिक्षक, प्राध्यापक, अन्य पाहुनाहरूलाई दिएको देखिन्छ । ज्येष्ठ नागरिकहरूले समयमा औषधि खान र खुवाउन विभिन्न समस्या भइरहेको वर्तमान समयमा एउटा स्टलको प्रदर्शनीले धेरै सहयोग र सहज बनाएको देखिन्छ । उक्त इलेक्ट्रोनिक प्रविधिका इन्जिनियरिङका विद्यार्थी भाइहरूले दिएको जानकारीअनुसार त्यो प्रविधिमा २–३ ठाउँमा फरक फरक समयमा खानुपर्ने फरक फरक औषधि राखिएको छ । ती औषधि खाने ठीक समय आएपछि जुन औषधि खानुपर्ने हो त्यसमा व्यवस्था गरिएको साउन्डसिस्टमले ‘तपाईँले औषधि खाने बेला भयो’ भनेर सूचना प्रवाह गर्न र आफसेआफ एउटा औषधि चक्की निक्लिन्छ । त्यो सूचना सुनेर बिरामी ज्येष्ठ नागरिकले आफै समयमा औषधिको सेवन गर्नेछन् ।
त्यस्तै, अर्को स्टलको विद्यार्थी बहिनीले Accident प्रविधिबारे बताइन् । त्यसमा एउटा त्यस्तो Device जडान गरिएको हुन्छ जसले केही सवारी साधन दुर्घटनामा पर्नासाथ त्यो सामग्रीले जसको मोबाइल नम्बर राखिएको हुन्छ त्यसमा तुरून्त दुर्घटना भएको खबर लिखित, मौखिकरूपमा तत्काल दिन्छ । त्यसले दुर्घटनामा परेका घाइतेलाई तुरून्त उद्धार गर्न मद्दत गर्दछ । यो प्रविधि ट्राफिक प्रहरी, सुरक्षाकर्मी र सम्बन्धित घाइते र सवारी साधनका परिवारलाई बरदान साबित हुनेछ । यो प्रविधिको प्रयोग पनि हामीले भविष्यमा हुने विश्वास गर्न सक्छौँ । त्यस्तै हाम्रोजस्तो पहाडी मुलुकमा वरदान साबित हुने विद्युत्बाट चल्ने रोपवे, केबुलकारजस्तो एउटा बढी तौल भएको साधनले कम तौल भएका सामान बोकेको साधनलाई माथि लाने प्रविधि पनि राम्रो लाग्यो । सरकारले ख्वप विश्वविद्यालयको स्वीकृति दिएमा धेरै डाक्टर, स्वास्थ्यकर्मीहरूको उत्पादन गरेर भक्तपुर नगरपालिकाले यस्तै स्वास्थ्य र मेडिकल क्षेत्रको महोत्सव गरेर विद्यार्थी र जनतालाई दीक्षित गर्न र रोगबाट बचाउन धेरै मद्दत गर्नेछ । यसले देश र जनताको सेवा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *