भर्खरै :

च्याउ फलाउने शिक्षक

–हिना सुवाल
भक्तपुर, १७ माघ । लिवालीका बासिन्दालाई च्याउ किन्न बजारसम्म पुग्नु पर्दैन । लिवालीका कृष्ण गोसाईले च्याउ खेती गर्न थालेदेखि उनीहरु आफ्नै टोलमा च्याउ किन्न सक्छन् । लिवालीका बासिन्दाहरू च्याउ किन्न उनको घरसम्मै पुग्छन् । लिवालीमात्र होइन, कमलविनायक, च्यामासिंह, जेंलाका बासिन्दा पनि फ्रेस च्याउ किन्न गोसाईको बारीमै पुग्छन् ।  गोसाई भन्छन्, ‘ग्राहकहरू घरको घण्टी बजाउँछन् । म तल (घर बाहिर) पुगेर उनीहरूलाई बारीमै लगेर सिधैं बारीको च्याउ टिपेर दिन्छु । कहिलेकाहीं भने कमलविनायक, च्यामासिंहतिर लगेर पनि बेच्न गरेको छु ।’
उनले ७ आनाको जग्गा बाहालमा लिएर च्याउ खेती गरिरहेको छ । उनी मात्र होइनन्, उनका भाइहरूले पनि त्यही पेसा अपनाएका छन् । तर गोसाई पेसाले भने एक शिक्षक हुन् । आफूसँग च्याउ खेतीसम्बन्धी ज्ञान भएकोले च्याउ खेती पनि रोजेको उनको भनाई छ । ‘ममात्र जागिरे भएर के गर्ने ? घरमा अरु सदस्यहरु पनि छन् । अरु सदस्य बेकाम नहोस् भन्ने हेतुले च्याउको व्यवसाय रोजेको हुँ ।’, गोसाईले भने । उनी भन्छन्, ‘सबै काम श्रीमती र छोराछोरीहरू गर्छन् । म त विद्यालय जानुअघि र विद्यालयपछि मात्र हो । यसैबाट घर खर्च चलिरहेको छ ।’
भक्तपुरमा च्याउ खेती गर्ने कमैमात्र छन् । गोसाईका अनुसार च्याउ खेतीको लागि २७ डिग्री तापक्रम उपयुक्त हुन्छ । तर गर्मीमा भने तापक्रम बढी हुने गरेकोले चाँडै नै च्याउ फल्ने र उत्पादन गर्न पनि गा¥हो हुन्छ ।

‘ममात्र जागिरे भएर के गर्ने ? घरमा अरु सदस्यहरु पनि छन् । अरु सदस्य बेकाम नहोस् भन्ने हेतुले च्याउको व्यवसाय रोजेको हुँ ।’

 
‘गोसाईले उत्पादन गरेका च्याउहरू फ्रेसमात्र होइन, विषादीमुक्त पनि छ ।’ उनका ग्राहकहरु बताउँछन् । गोसाई भन्छन्, ‘म किरा भयो, उत्पादन भएन भनेर अरुले जस्तै विभिन्न किटनाशक औषधीहरूको प्रयोग गर्दिन, म केवल नीमको तेलमात्र प्रयोग गर्छु । यो स्वाथ्यको लागि पनि एकदमै लाभदायक छ ।’  उनकाअनुसार च्याउ खेतीको लागि धेरै मात्रामा परालको प्रयोग हुन्छ ।
पराल पाउन भने गा¥ह्रो र महङ्गो पनि छ । उनी भन्छन् , ‘त्यसैले म पराल तराईबाट मगाउँछु ।’ च्याउ खेतीको लागि ल्याइएको पराललाई उमाल्ने गरिन्छ । त्यसो गर्दा परालमा भएका किटाणु नष्ट हुने गर्दछ । त्यसपछि त्यही पराल काटेर तहगत रुपमा बीउ राख्दै, पराल राख्ने गरिन्छ । सामान्यतः ५० दिनपछि च्याउ फल्छ । एकवटामा ४–५ तहसम्मको बीउहरू राख्ने गरिन्छ । त्यसबाट २ देखि ५ केजीसम्मको च्याउ उत्पादन हुने गर्दछ ।
जाडो महिनामा च्याउको लागि ५० दिनमा लाग्दछ भने गर्मीमा १७ दिनमै फल्ने गर्दछ । च्याउको मूल्य रु. १५० देखि २ सयसम्म विक्री हुने गरेको छ  । तर जाडोमा धेरै उत्पादन र अरु विभिन्न ठाउँहरूबाट पनि ल्याउने हुनाले यसको मूल्य घट्ने गरेको हुन्छ । च्याउ खेतीलाई नै व्यवसायिक रुपमा अगाडि लाने हो भने मनग्गे आम्दानी हुन्छ । यसको सेवनबाट मानिसको स्वास्थ्यलाई आवश्यक पर्ने प्रोटिन प्राप्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *