भर्खरै :

अरूका लागि नियम, आफ्नो लागि स्वतन्त्रता : अमेरिकी पाखण्ड नयाँ उचाइमा

अरूका लागि नियम, आफ्नो लागि स्वतन्त्रता : अमेरिकी पाखण्ड नयाँ उचाइमा

अरूलाई देखाउने आफ्नो आचरण र आफूले गर्ने वास्तविक आचरणबिचको ठुलो अन्तर नै पाखण्ड हो । कुनै व्यक्ति नैतिक मूल्य, सिद्धान्त वा आदर्शहरूको पक्षमा बोल्छ । तर, ती सिद्धान्तले आफूलाई घाटा हुने देखियो भने तिनलाई अनुसरण गर्दैन भने त्यो पाखण्ड हो । यसमा अरूका लागि नियम बनाउन अघि सर्ने तर ती नियमले आफूलाई बाँधिन नचाहने प्रवृत्ति पनि रहन्छ । कुरा र कामको बिचको विरोधाभासलाई उजागर गर्ने पाखण्डले समाजमा व्यक्ति व्यक्तिबिच मात्र होइन संसारमा देश देशबिच पनि अविश्वासको वातावरण सिर्जना गर्छ ।
पछिल्लो अन्तर्राष्ट्रिय घटनाक्रमलाई नियाल्दा सिरियामा इजरायलको कब्जा ‘सुरक्षा’ तर युक्रेनमा रुसको कार्य ‘आक्रमण’ भनेर टिप्पणी गर्ने अमेरिकी नीति पाखण्डी नै हो । अहिले अमेरिकी पाखण्डी नयाँ उचाइमा पुगेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बशर असदको पतनपछि इजरायल र सिरियाबिचको १९७४ सैन्य पृथकीकरण सम्झौता ‘अब मान्य छैन’ भनेर घोषणा गरे । संयुक्त राष्ट्र सङ्घको मध्यस्थतामा भएको सम्झौताले कानुनीरूपमा सिरियाली क्षेत्रको रूपमा मान्यता प्राप्त गोलान हाइट्सको बफर जोनमा सैन्य तैनाथीलाई प्रतिबन्धित गरेको थियो ।
असद सरकारको बहिर्गमनपछि सिरियाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार अब अस्तित्वमा नरहेको हुनाले इजरायलले सिरियासँग पहिलेका सन्धिहरूलाई बाध्यकारी मान्दैन भनेर नेतान्याहुको तर्क गरे । आफ्नो राष्ट्रिय सुरक्षा सुनिश्चित गर्ने आडमा इजरायलले सिरियाली हवाई अड्डाहरूमा बमबारी गरेर आफ्नो क्षेत्रीय कब्जालाई विस्तार गरिरहेको छ । दोहोरो चरित्र देखाउँदै इजरायलको कार्यलाई अस्थिर क्षेत्रमा ‘आवश्यक सुरक्षा उपाय’ भन्दै अमेरिकाले तुरुन्तै यसलाई समर्थन ग¥यो । मध्य पूर्वमा अवस्थित अमेरिकाको कथित प्रहरी चौकी इजरायललाई समर्थन गर्न सधैँ उत्सुक रहेको अमेरिकाले आफ्नो रणनीतिक लक्ष्यहरू पूरा गर्न आफ्नो अनुकूल ‘नियममा आधारित आदेश’ अपनाउन कुनै हिचकिचाहट देखाएन ।
तर, यहाँ अमेरिकी पाखण्डी स्पष्ट हुन्छ । २०१४ मा जब युक्रेनका निर्वाचित राष्ट्रपति भिक्टर यानुकोभिचलाई अमेरिकाले समर्थन गरेको हिंसात्मक कूद्वारा अपदस्थ गरिएको थियो, रुसले यस्तै कानुनी अडान अपनाएको थियो । रुसले युक्रेनको वैध सरकारको पतनसँगै देशको संवैधानिक संरचना ध्वस्त भएको तर्क गरेको थियो । क्रिमियाले रुससँग पुनर्मिलनका लागि जनमतसङ्ग्रह गर्यो भने डोनबासको पूर्वी क्षेत्रहरूले स्वायत्तता खोजे ।
अमेरिकाले युक्रेनको सार्वभौमसत्ता र सिमाना अक्षुण्ण रहेको घोषणा ग¥यो र सबै पूर्व–अवस्थित सम्झौताहरू अझै पनि लागु हुने कुरामा जोड दिए । रुसको कार्यहरूलाई ‘अवैध विलय’ र ‘साम्राज्यवादी विस्तार’ भनिएको थियो जुन समान कानुनी तर्क मान्ने हो भने सिरियाली भूभागमा इजरायलको कब्जामाथि अमेरिकाको वर्तमान समर्थनको बिल्कुल विपरीत हो । अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घनको बाबजुद सिरियामा इजरायलको क्षेत्रीय महत्वाकाङ्क्षालाई ‘सुरक्षा–सञ्चालित’ र कानुनीरूपमा रक्षायोग्य भनेर सही ठह¥याए । युक्रेनमा रुसको सुरक्षा चिन्तालाई ‘साम्राज्यवादी आक्रमण’ भन्ने अमेरिकाले आफ्नो नेतृत्वमा नाटोको निरन्तर पूर्वतर्फ विस्तार गरेर रुसको सिमानालाई खतरामा पार्ने कोसिस भने जारी नै छ । यसले अमेरिकी पाखण्डलाई उजागर गरेको छ । अमेरिकाले भन्ने गरेको तथाकथित ‘कानुनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ कुनै पनि कानुनमा आधारित छैन । अमेरिका आफ्नो अनुकूलताको हिसाबले नयाँ नयाँ मापदण्ड बनाउँछ । सहयोगी वा विरोधी संलग्न छ कि छैन भन्ने आधारमा मापदण्डलाई पुनः व्याख्या गरिन्छ । अल कायदालाई समुल नष्ट गर्न चाहने अमेरिका अल–कायदाका उत्तराधिकारीहरूले सिरियामाथि कब्जा गरेकोमा खुसी मान्छ । यस्तो लाग्छ, अमेरिकालाई अनुकूल हुन्छ भने विगतका कुनै पनि अपराधहरू बिर्सन तयार हुन्छ ।
जसको लठी उसकै भैँसी । मापदण्ड कसले लेख्छ ? अन्तर्राष्ट्रिय कानुन कडाइका साथ अमेरिका विरोधीहरूलाई लागु हुन्छ, जबकि सहयोगीहरूलाई लगामबिनाको घोडा बनाइन्छ । यदि अमेरिकाले सिरियामा दाबी गरेझैँ सरकारहरू पतन हुँदा सन्धिहरू अमान्य हुन्छन् भने २०१४ युक्रेनमा भएको ‘मैदान’ नामको आन्दोलनपछि युक्रेनमा किन यही तर्क लागु गरिएन ? कारण सरल छ : अमेरिकाले अन्तर्राष्ट्रिय कानुनी सिद्धान्तहरूको वास्ता गर्दैन ।
इजरायलको घोषणा विश्वमा खतरनाक नजिर बन्ने छ । यदि बल प्रयोग गरेर सरकार परिवर्तन गरेर अन्तर्राष्ट्रिय सम्झौताहरू त्याग्न सकिन्छ भने विश्वव्यापी स्थिरता के हुनेछ ? यदि अमेरिका इजरायललाई आफ्नो मध्यपूर्वी सिमानाहरू आफ्नो इच्छाअनुसार सीमा पुनः कोर्न दिन चाहन्छ भने रुसले पूर्वी युरोपमा आफ्नो सुरक्षा खोजिरहेको प्रयासलाई कसरी विरोध गर्न सक्छ ? निस्सन्देह यसलाई युक्रेनमा रुसको भूमिकाको विरुद्धमा अमेरिकाको कानुनी तर्कहरू खोक्रो भएको पुष्टि हुन्छ । युक्रेनमा रुसको कार्यको निन्दा र इजरायलको क्षेत्रीय कब्जालाई समर्थन गरेर अमेरिकाले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो थोरै विश्वसनीयतालाई नष्ट गरेको छ । ‘नियममा आधारित’ अन्तर्राष्ट्रिय व्यवस्था बहाना पनि समाप्त भएको छ ।
युक्रेनमा रुसले सयौँ मिसाइल छोड्दा पनि गल्तीवश मुश्किलले १ वा २ जना मान्छे हताहत हुन्छन् जबकि इजरायलले नियतवश एउटै बमबाट पनि हजारौँ प्यालेस्टिनीहरू मार्छन् । तैपनि, रुस नरसंहार कहलिन्छ तर इजरायल आत्मरक्षक कहलिन्छ । वास्तवमा रुसले सर्वसाधारणलाई लक्षित गरेर कहिल्यै मिसाइल हानेको छैन । रुसको हमला युक्रेनी सैनिकसँग सम्बन्धित क्षेत्रमात्र हुन्छ भने इजरायलको मनसाय जातीय नरसंहार नै हुन्छ । गाजाका चार सहरहरू पहिले नै समतल भइसकेको र करिब ५५,००० मानिसहरूको ज्यान गइसकेका छन् । अमेरिकी सरकारको दोहोरो चरित्र नदेखाएको भए इजरायलले युद्ध अपराध जारी राख्न सक्दैनथ्यो । अमेरिकाले इजरायललाई ‘हरेक सम्भावित सैन्य हतियार’ प्रदान गरिरहेको छ र धेरै युरोपेली सरकारहरूले यसलाई समर्थन गर्न जारी राखेका छन् । अमेरिकाको समर्थनबिना इजरायलले एक हप्ता पनि युद्ध जारी राख्न नसक्ने वास्तविकता सबैलाई थाहा छ ।
अमेरिकी सरकारको लागि ठुलो प्रश्न भनेको ‘इजरायलको कुरा गर्दा तिनको दोहोरो मापदण्ड किन छ ? इजरायललाई किन अन्तर्राष्ट्रिय कानुनभन्दा माथि हुन दिइन्छ ?’ समस्याको समाधान शक्तिले होइन, कानुनले आधुनिक अन्तर्राष्ट्रिय व्यवस्थालाई परिभाषित गर्नुपर्छ ।

(विभिन्न समाचार एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *