भर्खरै :

गुणस्तरीय शिक्षाको नेतृत्व कक्षाकोठाबाट सुरु गरौँ !

गुणस्तरीय शिक्षाको नेतृत्व कक्षाकोठाबाट सुरु गरौँ !

गुणस्तरीय शिक्षाको बारेमा कुरा गर्दा हामी कक्षाकोठाभन्दा बाहिरका कुरा धेरै गर्दछौँ । हामी राष्ट्रिय शिक्षा नीतिका कुरा गर्छौँ, शिक्षा मन्त्रालयले गर्न सकेका एवम् नसकेका कामका कुरा गर्छौँ, शिक्षा तथा मानव स्रोत विकास केन्द्रलगायत पाठ्यक्रम विकास केन्द्रले यस्तो गर्नुपथ्र्यो भन्ने कुरा गर्छौँ, राष्ट्रिय परीक्षा बोर्डले गर्नुपर्ने कामका कुरा गर्छौँ, शैक्षिक गुणस्तर परीक्षण केन्द्रले यसो गरिदिए हुन्थ्यो भन्छौँ, प्रदेश मन्त्रालयका कुरा गर्छौँ, सँगसँगै जिल्ला तथा पालिका तहबाट अपेक्षित काम नभएको गुनासो गर्छौँ, कतिपय सन्दर्भमा देशको शिक्षा नीति नै ठीक छैन पनि भन्छौँ । अभिभावकसमेत दोषी भएका कुरा पनि यदाकदा सुनिन्छ आदि । पक्कै पनि उल्लिखित जिम्मेवार सबैले निष्ठापूर्वक काम गर्नुपर्छ नै । यसमा कुनै सन्देह छैन । तर, गुणस्तरीय शिक्षाको लागि सबैभन्दा महत्वपूर्ण र जिम्मेवार व्यक्ति एउटा सचेत एवम् सक्षम शिक्षक नै हो ।
गुणस्तरीय शिक्षाको सबैभन्दा ठुलो प्रयोगशाला कक्षाकोठा नै हो । त्यसैले कक्षाकोठाको सही नेतृत्व नै गुणस्तरीय शिक्षाको आधार हो ।
हामीले अनुभव गरेका छौँ एउटा चिकित्सकले गल्ती गर्दा एक बिरामीको मृत्यु हुनसक्छ, एक इन्जिनियरको गल्तीले एउटा घर कमजोर हुनसक्छ, एक कानुन व्यवसायीको गल्तीले एउटा निर्दोष व्यक्तिले सजाय पाउन सक्छ । तर, एउटा शिक्षकले गल्ती गर्दा एउटा सिङ्गो पुस्ता नै अन्धकारमा धकेलिन सक्छ । त्यसैले शिक्षण पेसा अत्यन्त संवेदनशील पेसा हो । शिक्षकहरूले हजारौँ सक्षम एवम् इमानदार चिकित्सक, इन्जिनियर, कलाकार, कानुन व्यवसायी, वैज्ञानिक, दार्शनिकलगायत समालोचनात्मक क्षमता भएका जिम्मेवार नागरिक उत्पादनमा सहजीकरण गर्दछन् । यस कार्यका लागि काँधमा जिम्मेवारी, हृदयमा इमानदारी एवम् मस्तिष्कमा समझदारी भएको जनशक्तिको खाँचो हुन्छ ।
वास्तवमा शिक्षक एउटा व्यक्ति नभई सिङ्गो संस्था नै हो । शिक्षकले गरेको राम्रो कामले सिङ्गो समाजलाई नै आदर्श बनाउन सहयोग पु¥याउँछ भने एउटा शिक्षकले गल्ती गर्दा सिङ्गै समाज गलत बाटोतर्फ उन्मुख हुन पुग्दछ । त्यसैले विद्यालयमा अर्थपूर्ण नेतृत्व प्रदान गर्न शिक्षकमा केही विशिष्ट गुण हुनु जरुरी छ । मैले मेरो अनुभव एवम् अनुसन्धानको आधारमा केही गुणहरूको चर्चा गर्ने प्रयत्न गरेको छु । व्यक्तिगतरूपमा भन्नुपर्दा मैले मेरो शिक्षण जीवनमा यी गुणहरूलाई आत्मसात् गर्ने प्रयत्न गरेको छु । तपाईँलाई पनि यी गुणहरू आफूसँग कतिका छन् लेखाजोखा गर्नुहुन अनुरोध गर्दछु । सफल शिक्षकमा हुनुपर्ने पहिलो गुण सक्षमता हो । शिक्षकले विद्यार्थीहरूमा सीप, संस्कार, जीवन एवम् जीविका नै हस्तान्तरण गर्नुपर्ने भएकाले यस कार्यमा शिक्षक निपुण हुन जरुरी छ । विशेषगरी कुनै पनि विषय वा निश्चित पाठ किन पढाउने, कसरी पढाउने, पढाइ र सिकाइमा के फरक छ, विद्यार्थीको विविधतालाई कसरी बुझ्ने, तिनलाई कसरी सहयोग पु¥याउने, यसका लागि प्रभावकारी शिक्षण योजना कसरी बनाउने, अन्य विषय शिक्षकहरूसँग कसरी सहकार्य गरी एकीकृत शिक्षण योजना बनाउने, २१ औँ शताब्दीका सीपहरू जस्तैः समालोचनात्मक सोचाइ सीप, सिर्जनशीलता, सहकार्य, सञ्चार, सूचना तथा प्रविधिको प्रयोग आदिमा आफू अब्बल भई सिकारुहरूलाई कसरी ज्ञान तथा सीपको हस्तान्तरण गर्ने भन्नेजस्ता सक्षमताहरू शिक्षकमा हुनु अपरिहार्य छ । यसैगरी, शिक्षकमा हुनुपर्ने दोस्रो महत्वपूर्ण गुण आदरभाव हो । शिक्षक फलेको हाँगो भएकाले सधैँ झुकेको हुनुपर्दछ भन्ने मान्यता रहेको छ । शिक्षकले कक्षाका सबै प्रकृतिका विद्यार्थीहरूलाई उत्तिकै आदर–सत्कार गर्नु जरुरी हुन्छ । वास्तवमा आदर–सत्कार एउटा संस्कार हो । विद्यार्थीहरूमा यो संस्कारको विकास गर्न जरुरी भएकाले शिक्षक आफैले यसको राम्रो अभ्यास गर्नुपर्दछ । आफ्ना साथी समूहलगायत विद्यालयको सबै सरोकारवालाहरू समक्ष उत्तिकै आदर–सत्कार गर्नु जरुरी हुन्छ । यो एक महत्वपूर्ण जीवनोपयोगी सीप हो ।
यसैगरी, शिक्षकले प्रदर्शन गर्नुपर्ने तेस्रो महत्वपूर्ण गुण विनम्रता हो । यो पेसा विनम्रताबिना परिकल्पना पनि गर्न सकिंँदैन । हाम्रो काम नै विद्यार्थीहरूलाई विनम्र हुन सिकाउने भएकाले आफू विनम्र हुनु न्यूनतम सर्त नै हो । बत्तीस दाँतका बिचमा जिब्रो जोगिनुको रहस्य नरम भएर नै हो । हामी शिक्षकहरूमा पनि विविध समयमा विभिन्न विषम परिस्थितिहरू आउन सक्छ र तिनलाई जित्ने सबैभन्दा ठुलो हतियार नै विनम्रता हो । त्यसैले भन्ने गरिन्छ विनम्रता कमजोरी हैन महानता हो । शिक्षकमा हुनुपर्ने चौथो महत्वपूर्ण गुण निष्ठा हो । भनिन्छ, निष्ठावान् व्यक्तिलाई कसैलै अनुगमन गर्न जरुरी हुँदैन । अरू कसैले देखे देखेनन् भन्नुभन्दा पनि आफ्नो अनुगमनकर्ता आफै हुन सक्नु नै निष्ठावान् हुनु हो । हामी आफू निष्ठावान् भएर विद्यार्थीहरूमा यो गुण विकास गर्न जरुरी हुन्छ । दयालुभाव शिक्षकमा हुनुपर्ने पाँचौँ महत्वपूर्ण गुण हो । मस्तिष्कको तार्किकतासँगै हृदयको कोमलतासमेत शिक्षकमा हुनुपर्दछ । बौद्धिक तीक्ष्णतासँगै आजका शिक्षकमा संवेगात्मक तीक्ष्णतासमेत हुनुपर्दछ भन्ने मान्यता छ । संवेगात्मक तीक्ष्णताले एकातिर आफ्नै संवेगहरू जस्तैः दया, माया, घृणा, रिस आदिलाई पहिचान गर्न र व्यवस्थापन गर्न सक्षम बनाउँछ भने अर्कातर्फ विद्यार्थीहरूमा यी गुणहरू विकासमा सहयोग गर्दछ । छैटौँ गुणको रूपमा निष्पक्षतालाई लिइन्छ । समानता तथा समताको सिद्धान्तका आधारमा भेदभावरहित व्यवहार प्रदर्शन गर्न सक्नु नै निष्पक्षता हो । उल्लिखित गुणहरूको पृष्ठभूमिमा पेसागत एवम् व्यक्तिगत गुणहरू विकास गरेका शिक्षक नै सही शिक्षक हुन् ।
शिक्षक बालबालिकाहरूको समग्र पक्षमा जानकार हुनुपर्दछ । बैङ्कहरूले आफ्ना ग्राहकहरूको पहिचान फारम (KYC) भरे जस्तै हाम्रा सबै विद्यार्थीहरूको पहिचान सम्बन्धित शिक्षकलाई हुनुपर्दछ । कक्षाकोठाको नेतृत्व गर्ने क्रममा पहिलो कुरा कक्षाका सबै विद्यार्थीहरूको पृष्ठभूमि, स्वभाव, रुची, सम्भाव्यता एवम् सक्षमताका बारेमा शिक्षक घामजस्तै छर्लङ्ग हुन जरुरी छ । कक्षाका विद्यार्थीहरूमा विविधता हुन्छ । कोही विद्यार्थीमा भाषिक तीक्ष्णता बढी हुन्छ । उनीहरू कुनै विषयमा बोल्न, लेख्न वा पढ्नमा बढी रुचि राख्छन् र त्यस क्षेत्रमा आफ्नो तीक्ष्णताको प्रदर्शन पनि गर्दछन् । शिक्षकले अध्यापनका सिलसिलामा त्यस्ता विद्यार्थीहरूको पहिचान गरी उनीहरूको रुचि एवम् सक्षमताका आधारमा वर्गीकरण गरी सहजीकरण गर्नुपर्ने हुन्छ । कतिपय विद्यार्थीहरूमा तर्क गर्न सक्ने क्षमता एवम् विकल्प खोज्न सक्ने क्षमता बढी हुन सक्छ । कतिपय विद्यार्थीहरू सुनेर सिक्ने प्रकृतिका हुन्छन् भने कोही दृश्य सामग्रीहरूबाट छिटो सिक्ने हुन्छन् । कोही समूहमा काम गर्न रुचाउँछन् त कोही एक्लै खुसी हुन्छन् । कसैलाई खेलका माध्यमबाट सिक्न रमाइलो लाग्नुका साथ सजिलो पनि लाग्छ । कक्षाकोठामा शारीरिक अपाङ्गता भएकाहरू, भव्य तथा दृश्य क्षमता कमजोर भएकाहरू, बोलीमा समस्या भएकाहरू, बौद्धिक उपलब्धि बढी वा कमजोर भएकाहरूलगायत अटिजमजस्ता समस्या भएका विद्यार्थीहरूसमेत हुन सक्छन् । यसरी विभिन्न रुचि एवम् सक्षमता भएका विद्यार्थीहरू पहिचान गरी उनीहरूका लागि उपयुक्त शैक्षणिक योजना निर्माण गरी प्रयोगमा ल्याउन सक्नु कक्षाकोठाको सही नेतृत्व गर्नु हो ।
कक्षाकोठा नेतृत्वको अर्को महत्वपूर्ण पक्ष शिक्षण विधिमा आधारित नेतृत्व (Pedagogical Leadership) पनि हो । आफ्नो समुदाय, संस्कार एवम् संस्कृतिमा आधारित शिक्षण विधिदेखि लिएर विश्व शैक्षिक बजारमा प्रयोगमा आइरहेका नवीनतम शिक्षण विधिको प्रयोग गर्न सक्ने सक्षमता आजका शिक्षकमा हुनु जरुरी छ । यस लेखमा मुख्य पाँचओटा शिक्षण विधिको नेतृत्वसम्बन्धी चर्चा गर्ने प्रयास गरिएको छ । पहिलो महत्वपूर्ण शिक्षण विधि प्रगतिशील कक्षाकोठा (Progressive Classroom) हो । यसअन्तर्गत मुख्य चारओटा पक्षहरूको शिक्षकले नेतृत्व गर्नुपर्दछ । यस विधिले कक्षाकार्यको सुरुवात विद्यार्थीहरूको अनुभवहरूबाट गर्नुपर्ने कुरामा जोड दिन्छ । यसपश्चात् विद्यार्थीहरूलाई सिकाइ प्रक्रियामा अभ्यासको माध्यमबाट संलग्न गराउन आवश्यक हुन्छ । सबै प्रकृतिका विद्यार्थीहरूलाई शिक्षण सिकाइ प्रक्रियामा सहभागी गराउँदै उनीहरूले सिकेका कुराहरूमा प्रतिबिम्बन गर्न लगाएर अर्थपूर्ण एवम् दिगो सिकाइमा उनीहरूको संलग्नता सुनिश्चित गरिनु पर्दछ । यसैगरी, रचनात्मक वा निर्माणात्मक कक्षाकोठा (Constructivist Classroom) अर्को महत्वपूर्ण विधि हो । यस विधिअनुसार शिक्षकले सर्वप्रथम सिकाउनुपर्ने विषयवस्तुलाई अति साना टुक्राहरूमा विभाजन गर्नुपर्दछ ।
उदाहरणका लागि राम्रो हस्तलेखन सीप विकास गराउने हो भने पहिले राम्रो हस्तलेखनका मापदण्डहरू तय गरिनु पर्दछ । हस्तलेखन अरूले पढ्न सक्ने हुनु, भाषागतरूपमा शुद्ध हुनु, सुन्दर हुनु र केरमेट नहुनु राम्रो हस्तलेखनका प्रमुख विशेषताहरू हुन् । यी चारओटा मापदण्ड पूरा गरेको हस्तलेखन नै राम्रो हस्तलेखन हो भन्ने कुरा विद्यार्थीले राम्रोसँग बुझेको हुनुपर्दछ । यसपश्चात् विद्यार्थीहरूलाई टुक्रा पारिएका विषयवस्तुहरूमाथि प्रश्न गर्न उत्प्रेरित गरिनुपर्दछ । शिक्षकले कक्षाकोठामा मृत उत्तरहरू बाँड्नुभन्दा ज्वलन्त प्रश्न गर्ने बालबालिकाहरू तयार गर्नुपर्दछ । निर्माणात्मक कक्षाकोठाको तेस्रो पक्ष भनेको सिकारुहरूलाई उनीहरूले आफ्नो परिप्रेक्ष्यमा अनुभव गरेका प्राथमिक सूचनाका आधारमा कक्षा अघि बढाउनु हो । यस प्रक्रियामा शिक्षकले केबल मध्यस्थकर्ता (Meditator) को रूपमा काम गर्नुपर्दछ भने विद्यार्थीले सोचकर्ता (Thinker) को भूमिका निर्वाह गर्नुपर्दछ ।
यसैगरी, समालोचनात्क कक्षाकोठा (Critical Classroom) अर्को महत्वपूर्ण विधि हो । यस विधिअनुसार विद्यार्थीको काम केबल सुन्ने र बुझ्नेमात्र नभई तर्क गर्ने, प्रश्न गर्ने, विकल्प प्रस्तुत गर्ने र केबल समस्याका सैद्धान्तिक समाधान प्रस्तुत गर्नेमात्र नभई समाधानका लागि समेत प्रयास गर्ने हुनुपर्दछ । यस्तो कक्षामा शिक्षकले विद्यार्थीहरूलाई बढीभन्दा बढी समालोचनात्मक तर्क एवम् संवादमा संलग्न गराउनुपर्दछ । हिजोआज फ्लिप्ड कक्षाकोठा (Flipped Classroom) को अभ्यास उत्तिकै प्रभावकारी भएको पाइन्छ । कुनै पाठ पढाइसकेपछि गृहकार्य दिनुको विकल्पमा कुनै नयाँ पाठ पढाउनु अघि नै नयाँ पाठसँग सम्बन्धित निश्चित क्रियाकलापहरू जस्तै केही विषयवस्तु घरमै पढेर आउने, कुनै भिडियो हेरेर आउने, नपढाइएको पाठ पढेर अप्ठेरा शब्दहरू खोजी गरेर कक्षामा आउने र कक्षामा प्रस्तुति, छलफल, प्रश्नोत्तरजस्ता क्रियाकलापहरूका माध्यमबाट प्रभावकारीरूपमा शिक्षण सिकाइको नेतृत्व गर्न सकिन्छ । यसका साथै हिजोआज स्थानीय सन्दर्भ, संस्कृति, ज्ञान, सीप एवम् तरिकाहरूलाई प्रोत्साहन गर्ने अभ्यासहरूलाई प्राथमिकता दिन थालिएको छ । यसका लागि सांस्कृतिकरूपमा उत्तरदायी शिक्षण विधि (Culturally Responsive Pedagogy) को पनि उत्तिकै प्रयोग गर्नुपर्ने देखिएको छ । यसरी विभिन्न तरिकाहरूको माध्यमबाट सिकाइमा रुचि एवम् क्षमताअनुसार सक्रियरूपमा सिकारूहरूको सहभागिता बढाउँदै समालोचनात्मक एवम् समावेशी वातावरण तयार गर्ने गरी कक्षाकोठाको नेतृत्व गर्न जरुरी देखिन्छ ।
कक्षाकोठाको नेतृत्व गर्ने क्रममा शिक्षण विधिहरूको प्रभावकारी प्रयोगको साथसाथै आधिकारिक मूल्याङ्कन प्रणालीको प्रयोग पनि उत्तिकै जरुरी छ । विशेषगरी शिक्षकले बालबालिकाहरूको निरन्तर मूल्याङ्कन गरी थप सिकाइका लागि पृष्ठपोषण प्रदान गर्ने, सिकारु आफैलाई आफ्नो मूल्याङ्कन आफै गर्न सक्षम बनाउने, सिकारुको क्षमताअनुसारका मूल्याङ्कन प्रणालीमा विविधता ल्याउने, वास्तविक जीवनको सन्दर्भसँग जोडिएका सिर्जनात्मक तथा लचिला प्रश्नहरू तयार गरी समाधान गर्न लगाउने, निश्चित घेराभन्दा बाहिर पुगेर सोच्ने अवसर प्रदान गर्ने, उत्तरहरू सही वा गलत के भएभन्दा पनि बढी प्रक्रिया, तर्क, मौलिकता तथा सिर्जनात्मकतामा बढी जोड दिनेजस्ता परियोजना तथा प्रयोगात्मक कार्यहरूको माध्यमबाट आधिकारिक मूल्याङ्कनको नेतृत्व गर्न जरुरी हुन्छ ।
यसरी कक्षाका सिकारुहरूको सही वर्गीकरण गरी उनीहरूका लागि उपयोगी हुने शिक्षण योजना निर्माण गर्दै प्रभावकारी शिक्षण विधिहरूको प्रयोगका माध्यमबाट शिक्षण सिकाइ प्रक्रिया अघि बढाउँदै आधिकारिक मूल्याङ्कन प्रणालीको प्रयोगमा ध्यान दिने हो भने स्वाभाविकरूपमा कक्षाकोठाको नेतृत्व हुन गई गुणस्तरीय शिक्षाको सुनिश्चतता गर्न सकिन्छ । यसमा कुनै सन्देह नरहला !
(लेखक काठमाडौँ विश्वविद्यालय, स्कूल अफ एजुकेसनका उपप्राध्यापक हुनुहुन्छ ।)

साभार : ‘दि डन’, अङ्क ३९ (बाल विकास स्कूलको प्रकाशन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *