भर्खरै :

पार्टी कार्यकर्ताहरूले देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्नु जरुरी

पार्टी कार्यकर्ताहरूले देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्नु जरुरी

काठमाडौँ, २७ पुस । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति काठमाडौँको साताँै जिल्ला सम्मेलनको बन्द सत्रमा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले नेपाल मजदुर किसान पार्टी देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्न स्थापना भएको पार्टी हो, यो यथार्थ सबै नेपाली जनतालाई बुझाउनु आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाको देश र जनताप्रतिको भक्ति र निःस्वार्थपूर्वकको सेवालाई पुरानो पुस्ताले नयाँ पुस्तालाई सम्झाउनु बुझाउनु जरुरी छ । पार्टी कार्यकर्ताहरू जनताको बिचमा पुग्नु आवश्यक छ । वनभोज, सांस्कृतिक पर्व, पारिवारिक भेटघाटमा पनि देश र विदेशको राजनीतिक स्थितिबारे छलफल गर्नु उपयुक्त हुनेछ ।”
उहाँले भन्नुभयो, “रामायण र महाभारतको कथा पढेर, सुनेर तिनका पात्रहरूबारे हामीले जानकारी पाएका हौँ । हरेक वर्ष माघ महिनाभरि स्वस्थानीको कथा अधिकांशको घरमा वाचन गरिन्छ । ठीक यसरी नै नेमकिपाको प्रकाशनहरूको अध्ययन र छलफल गर्नु गराउनु जरुरी छ ।”
नयाँ पुस्तालाई राजनीतिक र सांस्कृतिकरूपले सचेत र सङ्गठित गर्नु आवश्यक भएको उल्लेख गर्दै उहाँले सरकारले यो चिन्ता नलिएको हुँदा नयाँ पुस्ताका युवाहरू मदिरा सेवन, धूमपान, लागूपदार्थ दुव्र्यसनी, जुवा तासमा फसेका छन्; यसको दोषी सरकारमा गएका नेताहरू नै हुन् भन्नुभयो ।
“सम्पत्ति हुँदैमा कोही पनि ठुलो हुने होइन । देशको सन्तुलित विकास नगरिएको हुँदा काठमाडौँ उपत्यका बस्न नालायक हुँदै छ । रैथानेहरू विस्थापित भइरहेका छन्”, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “पुस २५ गतेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा नेपाल वायु सेवा निगमलाई सुधार गर्नुपर्ने विषय हामीले राख्न खोजेका थियौँ । तर, सभापति राजकिशोर यादवले ‘चुप लाग्नू’ जस्ता शब्द प्रयोग गरी हाम्रो मतलाई थुन्न खोजे । यसको हामीले प्रतिवाद ग¥यौँ । कसैको निरङ्कुशता नटिक्ने स्पष्टसँग राख्यौँ ।”
सरकारले बीआरआईबाट ऋण नलिने तर अनुदान लिने बताएको चर्चा गर्दै उहाँले एक चिनियाँ विज्ञले चीन सरकारको रकम हावाबाट नआएको र चिनियाँ जनताको कडा परिश्रम भएको स्पष्ट गरे; यथार्थमा बीआरआईलाई मानव जातिको साझा हितसँग सम्बन्धित हो; बीआरआईमा १५० भन्दा बढी देश जोडिएका छन्; एमसीसीमा अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने सर्त राखिएको छ र बीआरआईमा त्यस्तो कुनै सर्त छैन भन्नुभयो ।
“विकासमा पछाडि परेका संसारका देशहरूको हितमा ब्रिक्सले पनि काम गर्दै छ । ब्रिक्सले संसारका ४६ प्रतिशत जनताको प्रतिनिधित्व गर्दै छ । साम्राज्यवादीहरूको हातखुट्टाको रूपमा रहेका विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैङ्क, विश्व व्यापार सङ्गठनलगायतले बीआरआई र ब्रिक्सको खेदो खन्दै छन् । तर, साम्राज्यवादीहरू सफल हुने छैनन् ।” उहाँले भन्नुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरू सुसंस्कृत समाज निर्माण गर्न सरसफाइ र सामाजिक काममा पनि सहभागी हुनु जरुरी छ भन्नुभयो ।
बैठकमा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले राजनीतिक कार्यकर्ताहरूमा हुनुपर्ने गुणबारे प्रस्ट पार्दै जबसम्म हामीले अध्ययन गर्दैनौँ तबसम्म गुणलाई व्यवहारमा रुपान्तरण गर्न सक्दैनौँ भन्नुभयो ।
उहाँले माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओ त्सेतुङले समाज रुपान्तरण गर्न नसोचेका भए संसारको अवस्था कस्तो हुन्थ्यो होला, सारा कामदारको मुक्तिको बाटो अगाडि बढ्ला कि नबढ्ला भन्दै नेमकिपाले पनि समाजवाद प्रचार नगर्ने हो भने देशमा समाजवादको कुरा गर्ने पार्टी नहुने बताउनुभयो ।
बन्द सत्रले नारायण महर्जनको अध्यक्षतामा १९ सदस्यीय नयाँ जिल्ला समिति सर्वसम्मत निर्वाचित ग¥यो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जन, राजवीर डंगोल चण्डेश्वरी महर्जनले नवनिर्वाचित जिल्ला समितिलाई बधाई दिनुभयो ।
कार्यक्रममा काठमाडौँ जिल्ला समितिको प्रतिवेदन सुझावसहित पारित गरियो भने कोषाध्यक्षबाट पेस गरिएको आर्थिक प्रतिवेदन पारित गरियो ।
सम्मेलनमा विभिन्न नगर समिति, पेसागत र जनवर्गीय सङ्गठनको प्रतिवेदन पेस गरिएको थियो ।
निर्वाचित सदस्यहरूलाई केन्द्रीय सदस्य उकेश कवांले शपथग्रहण गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *