भर्खरै :

आर्थिक सामाजिकीकरणले छिटो प्रगति हुने

भक्तपुर, २९ पुस । भक्तपुर सिकर्मी सङ्घको आयोजनामा १२ औँ बृहत् सिकर्मी भेला सोमबार नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सूर्यविनायकमा सम्पन्न भयो ।
कार्यक्रममा सांसद सुवालले भन्नुभयो, “सङ्घमा बस्नुको अर्थ बलियो भएर बस्नु हो । विद्यार्थीहरू अलग अलग काम गर्नुभन्दा सबै मिलेर ठुलो परिमाणमा गुणस्तरीय सामान उत्पादन गर्नु उपयुक्त हुनेछ । आर्थिक सामाजिकीकरणले छिटो प्रगति हुन्छ । सन् १९१७ मा लेनिन र स्तालिनको नेतृत्वमा सम्पन्न रूसको अक्टोबर समाजवादी क्रान्तिको १८–२० वर्षमा देश संसारको दोस्रो अर्थतन्त्रमा उक्लिएको थियो ।”
“सबै पेसाका मानिसले आफ्नो पीडा सरकारसमक्ष राख्न पाउने अधिकार नै हो । सरकारले जनताको आवाज थुन्नु तानाशाही हो । सरकारले जनताको पीडा र समस्यालाई सम्बोधन गरी समाधान गर्नु जरूरी छ,” उहाँले भन्नुभयो ।
सिकर्मीहरू साना मजदुर भएको हुँदा आफ्नो पीडा उठाइरहनु जरूरी छ । सरकारले एक दिन सम्बोधन गर्नैपर्ने हुन्छ । विदेशको फर्निचर आयात रोकेर देशका सिकर्मीहरूलाई अवसर दिनुपर्छ, सांसद सुवालले थप्नुभयो ।
उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई देश र विदेशको अवस्थाबारे शिक्षित बनाउनु आवश्यक छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले क्यानडा, ग्रीनलैन्ड र पानामालाई कब्जा गर्ने बताए । सो अभिव्यक्तिलाई न्यायप्रेमी जनताले विरोध गर्दै छन् ।”
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवालले पेसाकर्मीहरू पेसागत हक हितका निम्ति सङ्गठित हुनुका साथै राजनीतिकरूपमा सचेत हुनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी डकर्मी सङ्घका अध्यक्ष विष्णुराम दुमरु, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, भक्तपुर फर्निचर तथा फर्निसिङ व्यवसाय सङ्घका अध्यक्ष राकेश श्रेष्ठ र सिकर्मी सङ्घका सल्लाहकार विष्णुभक्त कुसीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सङ्घका अध्यक्ष विक्रम ढुकुछुको सभापतित्वमा भएको कार्यक्रममा रामसुन्दर सुवाल र पुण्यराम न्हुछेले पनि बोल्नुभएको थियो ।
भेलाले विक्रम ढुकुछुकै अध्यक्षतामा सङ्घको नयाँ कार्य समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *