भर्खरै :

सिद्धि गणेश साकोसको ३१ औँ स्थापना दिवस सम्पन्न

सिद्धि गणेश साकोसको ३१ औँ स्थापना दिवस सम्पन्न

भक्तपुर, २९ पुस । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को ३१ औँ स्थापना दिवस समारोह सञ्चालक समितिको आयोजनामा सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सांसद सृजना सैंजुले संसारमा सहकारी आन्दोलनको माध्यमबाटै थुप्रै राष्ट्रहरूमा किसानहरूको प्रगति भएको बताउनुभयो ।
उहाँले सिद्धि गणेश साकोसले झण्डै एक पुस्ताको निम्ति सेवा प्रदान गरेर समाजमा परिर्वतन ल्याउन अहम् भूमिका खेलेको बताउँदै सहकारी आन्दोलनको एक प्रारम्भिक सहकारी संस्था रहेको छ भन्नुभयो ।
उहाँले संस्थाको विकासको लागि २५ वर्षदेखि अनवरत सेवा प्रदान गर्ने संस्थाका निमित्त व्यवस्थापक चन्द्रप्रसाद दुमरु र बचत प्रमुख सुमित्रा खाइजुलाई पदक र कदरपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।
भ.न.पा.७ का वडाध्यक्ष उकेश कवांले सिद्धि गणेश साकोसजस्ता समुदायमा आधारित सहकारी संस्थाले समाजलाई रुपान्तरण गर्न टेवा पु¥याउने बताउनुभयो । उहाँले सहकारीका सञ्चालक सदस्य र कर्मचारीबिच राम्रो समन्वय कायम नगरे सहकारी संस्था समस्यामा पर्ने भन्दै संस्था विकासका लागि निरन्तर अनुसन्धानहरू गर्दै जानुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको लागि आदर निकेतन र शिशुहरूका लागि शिशुस्याहारको स्थापना गर्दै जान सुझाव दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रतिनिधि हरिप्रसाद बासुकलाले हाल सहकारी क्षेत्रमा देखिएको समस्याको समाधान गर्न राष्ट्र स्तरमा नै विभिन्न अनुगमन समिति बनाई सहकारी क्षेत्र विकास गर्ने कार्य भइरहेको जानकारी दिनुभयो । उहाँले भक्तपुर नगरका सम्पूर्ण सहकारी संस्था समुदायमा आधारित रहेको हुनाले भक्तपुरका कमै सहकारी संस्थामात्र समस्यामा परेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले समुदायमा आधारित भई कार्य गर्दै आएको यस संस्था सदस्यहरूको विश्वास र सहयोगले जिल्लामा मात्र नभई राष्ट्रमै सफल बनेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले समुदायमा आधारित सहकारी संस्थाहरूले सामाजिक कार्य गर्दै गर्दा नाफामुखी सहकारी संस्थाले आर्थिक अपचलन गर्दा सम्पूर्ण सहकारी क्षेत्रको बदनाम भइरहेको बताउनुभयो ।
संस्थाको ३१ औँ स्थापना दिवसको कार्यक्रममा संस्थाका सचिव विष्णुप्रसाद दुमरु र संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष एवं संस्थाका सञ्चालक सदस्य कृष्णगोविन्द लाखाजुले जिल्लाभरका सहकारी संस्था सफल र समुदायमा आधारित बनाउनुपर्ने आवश्यकता पूरा गर्न संस्थाको अगुवाइमा जिल्ला सहकारी सङ्घको स्थापना गरिएको स्मरण गराउनुभयो ।
डा. रत्नसुन्दर लासिवाले निजी स्वास्थ्य क्लिनिकमा महँगोमा स्वास्थ्य सेवा उपभोग गर्नुपर्ने अवस्थामा सिद्धि गणेश स्वास्थ्य क्लिनिकबाट सुलभ मूल्यमा विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
उहाँले यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म नेपाल अधिराज्त्र महिलाहरूको पाठेघरमा हुने क्यान्सर रोगको रोकथामका लागि १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई भ्याक्सिन लगाइने जानकारी दिनुभयो ।
समारोहमा संस्थाका पूर्वअध्यक्ष एवं सञ्चालक सदस्य हरिरत्न गोर्खालीले अनावश्यक खर्च कटौती गरी बचत गर्ने बानीको विकास गर्ने उद्देश्यका साथ संस्था अघि बढिरहेको बताउनुभयो । उहाँले किसानहरू र न्यून आय भएका सदस्यहरूको आर्थिक विकासको निम्ति समाजमा सहकारी संस्था आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष एवं सञ्चालक सदस्य राजन लाखाजुले केही समस्यामा परेका सहकारी संस्थाका कारण भइरहेको विकृतिका कारण राम्रा समुदायमा आधारित सहकारी संस्थाको बदनाम भइरहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका निमित्त व्यवस्थापक चन्द्रप्रसाद दुमरुले संस्थाको स्थापना दिवसको अवसरमा संस्थाका सबै उपसमितिको आयोजनामा विभिन्न तालिम, अन्तरक्रिया कार्यक्रम, स्वास्थ्य शिविर तथा खेलकुद प्रतियोगिताहरू सम्पन्न भएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *