भर्खरै :

नगरवासीहरूको उत्साहजनक सहभागिताबाट भक्तपुर महोत्सव अरूको लागि उदाहरणीय

नगरवासीहरूको उत्साहजनक सहभागिताबाट भक्तपुर महोत्सव अरूको लागि उदाहरणीय

भक्तपुर, २ माघ । भक्तपुर नगरपालिकाको आयोजनामा गत मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म भएको भक्तपुर महोत्सवमा सहयोग गर्ने वागीश्वरी मा.वि., वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टका शिक्षक, कर्मचारी, विद्यार्थी र सांस्कृतिक गुरुहरूलाई धन्यवाद ज्ञापन गरिएको छ ।
नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले सहयोगी सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै नगरवासीहरूको उत्साहजनक सहभागिता र सहयोगबाट भक्तपुर महोत्सव अरूको लागि उदाहरणीय बन्न पुगेको बताउनुभयो ।
महोत्सव अवलोकन गर्न आएका विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरूले भक्तपुर शिक्षा र स्वास्थ्यमा जस्तै महोत्सव आयोजनामा पनि उदाहरणीय रहेको प्रतिक्रिया आफूलाई दिएको बताउँदै उहाँले महोत्सवलाई सारा नगरवासीको साझा महोत्सव बनाउन नगरपालिकाले आह्वान गरेपछि नगरवासीहरूले स्वतःस्फूर्त विभिन्न स्टलहरू राख्न थालेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले केवल पच्चीस ठाउँमा प्रदर्शनीको व्यवस्था गरेकोमा नगरवासीको सहभागितामा एक सय बत्तीस स्थानमा प्रदर्शन भयो । यो सफलताको उदाहरण हो ।”
वागीश्वरीले महोत्सवको पूर्वसन्ध्यामा ‘वागीश्वरी उत्सव’ को आयोजना गरी महोत्सवको पूर्वअभ्यास गरेको चर्चा गर्दै उहाँले वागीश्वरी मावि, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको तर्फबाट शैक्षिक, सांस्कृतिक, व्यापारिकलगायत स्काउट, स्वयम्सेवक क्षेत्रमा पु¥याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।
आन्तरिक पर्यटकहरूलाई विशेष जोड दिइएको उक्त महोत्सवमा करिब आठ लाख जनाले अवलोकन गरेको अनुमान गरिएको बताउँदै उहाँले महोत्सव नगरको प्रतिभा र एकता प्रदर्शन गर्ने अवसर पनि भएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष एवं वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले नयाँ पुस्ताको लागि महोत्सव नयाँ अनुभव भएको उल्लेख गर्दै महोत्सवको पाँच दिन भक्तपुर सिङ्गै एउटा खुला विश्वविद्यालयजस्तो भएको बताउनुभयो । महोत्सवको पाँच दिनमा सिक्नेहरूका लागि धेरै सिक्ने अवसर मिलेको बताउँदै उहाँले महोत्सव अवधिभर नगरवासीले खानेपानी, शौचालय स्वतः स्फूर्त रूपमा व्यवस्था गरिदिँदा अवलोकनकर्ता कसैलाई त्यसबारे गुनासो गर्ने ठाउँ नभएको जानकारी दिनुभयो ।
वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापति, प्राचार्य धनकुमार श्रेष्ठ र वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले पनि बोल्नुभएको थियो । कार्यक्रममा वागीश्वरी तीनओटै संस्थाबाट भक्तपुर महोत्सवमा सक्रिय सहभागिता जनाएका २२५ जनालाई धन्यवादपत्र वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *