आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
भक्तपुर, ५ माघ । “नेवाः जाति नभई सभ्यता र संस्कृति हो भने ख्वप नेवा सभ्यताको केन्द्र हो । कथंकदाचित ख्वप भएन भने नेवाः सभ्यता र संस्कृतिको तीनचौथाइ अंश समाप्त हुन्छ ।”
भक्तपुरको ऐतिहासिक वानेलाय्कुको सांस्कृतिक महत्वबारे शुक्रबार विज्ञहरूबिच भएको अन्तरसंवाद कार्यक्रममा उक्त भावना अभिव्यक्त भएको हो । भनपा ९ दत्तात्रय मन्दिर परिसरको दक्षिण पश्चिममा पर्ने वाने लाय्कु चोकमा नगरपालिकाले पुरातत्वविद्, प्राज्ञ तथा संस्कृतिविद्हरूको उपस्थितिमा स्थानीय जनतासँग शुक्रबार अन्तरसंवाद गरिएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सम्पदाले संस्कृति र सभ्यताको प्रतिबिम्बित गर्ने हुँदा मूर्त र अमूर्त सम्पदाको संरक्षण र प्रवद्र्धनमा नगरपालिका लागिरहेको बताउनुभयो । उहाँले आप्mनो अध्ययनकालमा वाने लाय्कुको कार्यपत्र तयार गरेको स्मरण गर्दै यसबारे आधिकारिक लेख र सन्दर्भ सामग्रीको अभावले सही सूचना सम्प्रेषण हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । नयाँ पुस्तालाई इतिहास र संस्कृतिबारे सूचित गराउँदा सम्पदा संरक्षणमा अपनत्व कायम हुनेमा जोड दिँदै कार्यक्रमले वाने लाय्कुबारे सही सूचना प्रवाह गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
इतिहासविद् प्रा. डा. पुरुषोत्तम लोचन श्रेष्ठले भक्तपुरमा ख्वप लाय्कु, बलम्पु लाय्कु र वाने लाय्कु गरी तीनवटा लाय्कु रहेको चर्चा गर्दै तत्कालीन त्रिपुर दरबारबाट पूर्वतिरको राजकुल वा राजदरवार भएकोले वाने लाय्कु भनिएको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “लाय्कुको अर्थ राजदरबार त हो नै, त्यसका साथै सत्ता, शक्ति, संस्कृति र सुरक्षाको पनि केन्द्र हो ।”
त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागका प्रमुख राजनलाल जोशीले वाने लाय्कुको इतिहास र यससँग सम्बन्धित संस्कृतिबारे अध्ययन अनुसन्धान नभएकै कारण उपेक्षा भइरहेको भएको उल्लेख गर्दै ऐतिहासिक कालखण्डमा वानेलाय्कुमाथि पटक पटक आक्रमण भएकोले यहींको भग्नावशेष इँटाबाट ख्वप लाय्कुमा तलेजु मन्दिर निर्माण गरिएको तथ्य उजागर गर्नुभयो । उहाँले राजकुलको पहिलो विकास भएको थलो नै वाने लाय्कु हो भन्नुभयो ।
सहप्राध्यापक विश्वमोहन जोशीले शासकवर्गले कुनै पनि समाजलाई ध्वस्त पार्न त्यहाँको शिक्षा र संस्कृतिमाथि आक्रमण गर्ने गरेका ऐतिहासिक तथ्यहरू प्रकाश पार्दै भक्तपुर नगरपालिकाले नेवाः संस्कृति र जीवनशैलीको पुनः जागरण अभियान थालेको बताउनुभयो ।
दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरका प्रमुख अरुणा नकर्मीले तथ्यले प्रमाणित गरेको किंवदन्तीले इतिहास बोल्ने चर्चा गर्दै चाँगुबाट कलश यात्रा भक्तपुरमा नल्याई मल्ल कालमा हनुमानढोका, शाह कालको पछिल्लो समयमा नारायणहिटी र गणतन्त्रपछि हाल शीतल निवास लग्नु सत्ता र शक्तिकै खेल हुनसक्ने र इतिहासलाई यसरी बङ्ग्याउन नहुनेमा जोड दिनुभयो ।
संस्कृतिका अध्येता विनोदराज शर्माले वाने लाय्कुको जलद्रोणीमा ने.सं ७७६ मा पद्मराज राजोपाध्याय उल्लेख गरिएको चर्चा गर्दै वाने लाय्कुबाट बर्सेनि हुने पूजाविधिबारे जानकारी गराउनुभयो ।
भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले वाने लाय्कुको इतिहास र यसको सांस्कृतिक महत्व थाहा पाउन सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष रवीन्द्र ज्याख्वले कार्यक्रमको औचित्यबारे प्रस्ट पार्दै सम्पदाको महत्व नबुझ्दा एउटा पुस्ताले पुरातात्विक महत्वका थुप्रै सम्पदाहरूलाई खेलौना बनाई नष्ट गरेको बताउनुभयो । उहाँले वाने लाय्कुको ऐतिहासिक महत्वबारे सर्वसाधारण जनतालाई समेत सरल भाषामा अवगत गराउन सके यसको संरक्षणमा स्थानीयको अपनत्व बढ्ने बताउनुभयो ।
अन्तरसंवाद कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरू, पूर्वजनप्रतिनिधिहरू, इतिहास र संस्कृतिका अध्येताहरू, स्थानीय पाठ्यक्रम अध्यापन गर्ने शिक्षक तथा विद्यार्थीहरू, पर्यटन व्यवसायी तथा स्थानीय जनताको सहभागिता रहेको आयोजकले जनाएको छ ।
Leave a Reply