भर्खरै :

नेमकिपाको ५१ औँ स्थापना दिवसका अवसरमा अध्ययन गोष्ठी

नेमकिपाको ५१ औँ स्थापना दिवसका अवसरमा अध्ययन गोष्ठी

कैलाली, ५ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा पार्टी पुस्तक अध्ययन गोष्ठी तथा प्रशिक्षण कार्यक्रम शनिबार भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी कैलालीका अध्यक्ष रमेशकुमार रावलले स्थापना दिवसको शुभ अवसरमा शुभकामना दिँदै किसान र मजदुरलाई साथमा लिएर सर्वहारावर्गको पक्षमा आवाज उठाउँदै आएको ५१ औँ वर्ष भएको र पार्टीको स्थापना हुनुको बारेमा प्रस्ट पार्नुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन २०८१ फागुन १६ गतेदेखि १९ गतेसम्म भक्तपुरमा हुने जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घ कैलालीको अध्यक्ष लक्ष्मी पुनले नेपाली शासक दलले जनताको स्वास्थ्य, शिक्षा, रोजगारलगायतका आधारभूत आवश्यकता पूरा नगरेको हुँदा यसको विरोधमा आवाज उठाउँदै गर्दा नेपाल मजदुर किसान पार्टीको स्थापना भएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा गुप्तबहादुर शाहीले कम्युनिस्ट पार्टीको स्थापना भएको लामो समय भइसक्दा पनि हालसम्म जनताको राज्य व्यवस्था स्थापना हुन नसक्नु अन्य कम्युनिस्टको खोल ओडेका नक्कली कम्युनिस्टले कामदार जनताको हितविपरीत नीतिनियम बनाई सामन्त, भ्रष्टाचारी, अपराधी, तस्करी, ठग र विभिन्न एनजीओ र आईएनजीओको मालिकको हितमा काम गरेकोले स्थापना नभएको बारेमा प्रस्ट पार्नुभयो ।
उहाँले कामदार जनताको हितमा काम गर्ने नेमकिपा मात्र भएकोबारे प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेपालको परिवेक्षमा अक्टोबर क्रान्ति र यसको महत्व भन्ने पुस्तकको अध्ययन गोष्ठी पनि गरियो । अध्ययन गोष्ठी कार्यक्रममा कलम बडुवाल, ज्योति बडुवाल, जानकी सिजापति, प्रेम बडुवाल, तारा तिरुवा, सूर्यबहादुर शाही, तिलक सिजापति, बसन्ती पुन, जानकी शाही, हरिकला बिस्ट, गगन गिरी र गगन थापालगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *