(इतिहासकार ग्रोभर फरले सोभियत इतिहासकारितामा क्रान्ति ल्याइदिनुभएको छ । उहाँका सबैजसो रचना स्तालिन र उहाँको युगसँग सम्बन्धित छन् । स्तालिनले भन्नुभएको थियो, मलाई थाहा छ, मेरो मृत्युपछि ममाथि धुलोमैलो छ्यापिनेछ, तर इतिहासले त्यसलाई सफा गर्दै जानेछ । सत्यको खोजी गर्दै ग्रोभर फर स्तालिनले औँल्याउनुभएको इतिहासको त्यही मोडमा पुग्नुभएको छ र धुलोमैलो सफा गर्दै हुनुहुन्छ । उहाँ एक अमेरिकी विश्वविद्यालयका प्रोफेसर हुनुका साथै सादा, मनकारी र सत्यान्वेषी हुनुहुन्छ । उहाँका सबैजसो रचना हाल इन्टरनेटमा उपलब्ध छन् । यो आलेख पहिलोपल्ट सन् २००५ मा प्रकाशित भएको थियो । सोभियत शासनमा कर्मचारीतन्त्रको राइँदाइँबारे विश्लेषण गरिएको यस आलेखले दिशासूचकको काम गर्नेछ । मूल रचनाको अन्त्यमा दिइएको लामो सन्दर्भ सूचीलाई हटाएर यो आलेख लेखककै अनुमतिले यहाँ प्रस्तुत गरिन्छ । रचनाको स्रोत लेखक स्वयम्को निजी वेबसाइट हो । – सुरेश)
- ६१. सोभियत सङ्घको इतिहासमा यो केन्द्रीय समितिको सबैभन्दा लामो बैठक थियो । बैठक लम्बिँदै दुई हप्तासम्म चलेको थियो । तर, यस विषयमा सन् १९९२ सम्म केही थाहा थिएन । त्यो वर्ष ‘भोप्रोसी इस्तोरी’ मा यस बैठकको लामो न लामो लिखित प्रतिलिपि प्रकाशित भयो । त्यस दस्ताबेजको पूर्ण पाठ प्रकाशित गर्न त्यस जर्नललाई करिब चार वर्ष लाग्यो ।
- ६२. देशभित्र भएका षड्यन्त्रहरूको छानबिन जारी राख्ने सम्बन्धका यजोभले बुझाएको प्रतिवेदनलाई निकोलाइ बुखारिनको प्रकरणले छायामा पारिदियो । उनले अति वाचाल शैलीमा पुराना नकामहरू स्वीकार्ने, आफ्ना नजिकका मित्रहरूलाई जोगाउने, पछिल्लो समय आफू पूर्ण बफादार रहेकोमा आश्वस्त पार्ने र अपराधको दोषजति केबल आफूले लिने ठुलो प्रयास गरे । (थोर्सटन, पेज ४०–४२; गेट्टी नाउमोभको सहमति, पेज ५६३)
- ६३. तीन दिनसम्म लगातार बुखारिनको बयान चल्यो । त्यसपछि जदानोभले देश र पार्टी दुवैमा बढी प्रजातन्त्रको खाँचो औँल्याउनुभयो । उहाँले कर्मचारीतन्त्रविरुद्ध सङ्घर्ष चलाउनुपर्ने तथा पार्टीमा आबद्ध भएका र नभएका गरी दुवैथरी जनतासँग घनिष्टता बढाउनुपर्ने बताउनुभयो ।
“नयाँ निर्वाचन प्रणालीले सोभियत निकायहरूको काममा सुधार ल्याउन, कर्मचारी मनोदशा अन्त्य गर्न, कर्मचारीतन्त्रका कमीकमजोरी एवम् हाम्रा सोभियत सङ्गठनहरूको काममा देखापरेका विकृतिलाई छिमल्न सशक्त धक्का दिनेछ । यहाँहरूलाई थाहै छ हामीकहाँ यी कमजोरी धेरै झाँगिसकेका छन् । हाम्रा पार्टी समितिहरू चुनावी सङ्घर्षका लागि तयार हुनैपर्छ । चुनावमा हामीले आन्दोलन र उम्मेदवारहरूको जोडदार टक्करको सामना गर्नेछौँ ।” (झकोभ, इनोय, पेज ३४३) - ६४. जदानोभले स्तालिनको अगुवा टोलीको तर्फबाट बोलिरहेकोमा कुनै शङ्का गर्नुपर्दैन । उहाँको भनाइबाट सो टोलीले निर्वाचनमा सोभियत सङ्घको विकासमा गम्भीर बाधा हालेका गैरपार्टी उम्मेदवारहरूसँग चोटिलो चुनावी प्रतिस्पर्धा हुने पूर्वानुमान गरिसकेको प्रस्ट हुन्छ । यो एउटै तथ्य पनि शीतयुद्धकालीन तथा ख्रुश्चेभपन्थीहरूले प्रचारबाजीको खण्डन गर्न पर्याप्त छ ।
- ६५. जदानोभले बोल्शेभिक पार्टीभित्र प्रजातान्त्रिक मूल्यको विकास गर्नुपर्ने आवश्यकतामाथि यथेष्ट जोड दिनुभयो ।
“हाम्रा पार्टी कार्यकर्ताले हाम्रा नियम–कानुनलाई र जनताले सोभियत संविधानलाई सम्मान गरून् भनी चाहन्छौँ भने हामीले पार्टी कार्यको पुनःसंरचना गर्नैपर्छ । हाम्रो पार्टीको विधि–विधानमा प्रतिबिम्बित अन्तर–पार्टी प्रजातन्त्रको असंदिग्ध र पूर्ण कार्यान्वयनका आधारमा यस्तो पुनःसंरचना गर्नुपर्छ ।”
उहाँले आफूले बुझाएको प्रतिवेदनको मस्यौदामै उल्लिखित अपरिहार्य उपायबारे बोल्नुभयो । आफ्नो मान्छेलाई तोक लाउने, समिति नै छनोट गर्नुपर्ने र ‘नियमपूर्वक नियुक्त गरिएका उम्मेदवारलाई पाखा लगाउने र तिनलाई आलोचना गर्ने पार्टी सदस्यहरूको असीमित अधिकार’ जस्ता चलन हटाउनुपर्ने सुझाव दिनुभयो । (झुकोभ, इनोय, पेज ३४५) - ६६. तर, जदानोभको प्रतिवेदनमा उल्लेख अन्य मुद्दालाई छलफलको विषय बनाइयो । मूलतः ‘शत्रुहरू’ बारे छलफल भयो । धेरै पार्टी अध्यक्षहरूले चनाखो प्रतिक्रिया जनाए । सोभियत निर्वाचनहरूको तयारीमा कम्मर कसेर लाग्नेहरूमा सोभियत सत्ताका विरोधी अर्थात् सामाजिक जनवादी, पुजारी एवम् अन्य ‘शत्रुहरू’ हुने वा हुनसक्ने बताए ।
(टिपोट १३ : पार्टीका केन्द्रीय सदस्यहरूले जदानोभको मन्तव्यबारे प्रतिक्रिया दिन अस्वीकार गरेको आर्क गेट्टी उल्लेख गर्छन् । त्यो देखेर बैठकका अध्यक्ष आन्द्रिभ नै अलमलिएका थिए । (‘एक्सेसेस’ पेज १२४) ऋाइख लगायत केही पार्टी अध्यक्षले अर्को सत्रमा जवाफ दिएको हुनाले झुकोभ यसमा कम जोड दिन्छन् । तर, उनीहरूको जोड ‘शत्रुहरू’ विरुद्धको सङ्घर्षमा बढी थियो । (इनोय, पेज ३४५)) - ६७. प्रतिवेदन बुझाउँदै मोलोतोभले ‘आत्मालोचनाको विकास र सबलीकरण’ माथि पुनः जोड दिनुभयो र ‘शत्रुहरू’ को खोज्ने प्रवित्तिको ठाडो विरोध गर्नुभयो ।
“कसलाई दोष थोपर्ने होला भन्दै मान्छे खोज्नुको कुनै अर्थ छैन कामरेडहरू । साँच्चै सङ्गठन हो भने दोष हामी सबैलाई जान्छ । पार्टीका केन्द्रीय असङ्गठनहरूदेखि तल्ला समितिहरूसम्म सबैलाई दोष जान्छ ।” (झुकोभ, इनोय, पेज ३४९) - ६८. तर, मोलोतोभपछि मञ्चमा उक्लेका सबैले उहाँको प्रतिवेदनलाई बेवास्ता गरे र ‘शत्रुको खोजी’ गर्नुपर्ने, ‘तोडफोडकर्ताहरू’ लाई उदाङ्ग्याउनुपर्ने र तिनीहरूविरुद्ध सङ्घर्ष गर्नुपर्ने खाँचोबारे फलाक्न थाले । (पेज ३५२) आफ्नो पालोमा मोलोतोभले आफूले राखेको विषयवस्तुमा कसैले ध्यान नदिएकोमा आश्चर्य प्रकट गर्नुभयो । देशका भित्री शत्रुहरूविरुद्ध चालु सङ्घर्षबारे छोटकरीमा बताएपछि उहाँले पुनः आफ्नो आश्चर्य दोहो¥याउनुभयो ।
- ६९. मार्च ३ मा स्तालिनले दिनुभएको मन्तव्य पनि विभाजित रह्यो । मन्तव्यको बिट मार्दै उहाँले पुनः पार्टीको कामकारबाही सुधार्नुपर्ने, अयोग्य पार्टी सदस्यलाई गोडमेल गर्दै तिनको ठाउँमा नयाँ कार्यकर्ता ल्याउनुपर्ने खाँचो औँल्याउनुभयो । मोलोतोभको जस्तै स्तालिनको प्रतिवेदनलाई पनि बेवास्ता गरियो ।
छलफलको थालनीदेखि नै स्तालिनको भय बुझ्न सकिन्थ्यो । केन्द्रीय सदस्यहरूको अबुझीपन र अनिक्षामा स्तालिनको भनाइ कतै हरायो । उनीहरूले स्तालिनको प्रतिवेदनबाट आफूले चाहेको अंशमात्र सुने । स्तालिनले छलफल गराउन चाहेको विषयमा उनीहरूले आफूखुसी छलफल गरे । छलफलमा भाग लिएका २४ व्यक्तिमध्ये १५ जनाले मूलतः ‘जनताका शत्रु’ अर्थात् त्रोत्स्कीपन्थीहरूबारे बोले । जदानोभ र मोलोतोभले प्रतिवेदन सुनाएपछि जसरी उनीहरूले प्रतिबद्धतासाथ जोडतोडले बोलेका थिए यसपालि पनि त्यसरी नै बोले । उनीहरूले सबै समस्यालाई ‘शत्रु’ खोज्ने आवश्यकता वरिपरि घुमाए । कसैले पनि पार्टी सङ्गठनको कामकारबाहीका कमजोरी तथा सर्वोच्च सोभियतको निर्वाचनको तयारीबारे स्तालिनले उठाउनुभएको मूल विषयलाई सम्झेन । (झुकोभ, इनोय, पेज ३५७) - ७०. स्तालिनको अगुवा टोली पार्टी अध्यक्षहरूलाई आलोचना गर्नमा केन्द्रित भयो । पार्टी सदस्यहरूलाई अन्यायपूर्वक विभिन्न समितिबाट निकाला गरेको हुनाले याकोभ्लेभले अरूसँगै मस्कोका पार्टी अध्यक्ष ख्रुश्चेभको आलोचना गरे । पार्टीका भुइँ तहका कार्यकर्ताहरूप्रति उदासिनता देखाएको हुनाले मालेन्कोभले पार्टी अध्यक्षहरूको आलोचना गरे । यसले गर्दा केन्द्रीय सदस्यहरूले अल्पकाललाई भए पनि शत्रुहरूबारे बोल्न बन्द गरेको देखिन्छ । तर, उनीहरूले आफूलाई जोगाउन मौनता साँधेका थिए । यद्यपि, स्तालिनको प्रतिवेदनमा कसैले प्रतिक्रिया जनाएन । (झुकोभ, इनोय, पेज ३५८–६०)
- ७१. मार्च ५ को दिन बैठकको अन्तिम दिन स्तालिनले मन्तव्य राख्नुभयो । त्यस मन्तव्यमा उहाँले शत्रु खोज्ने खाँचोलाई कम महत्व दिनुभयो । धेरैजसो त्रोत्स्कीवादीसमेत पार्टीमुखी भइसकेको उहाँले बताउनुभयो । उहाँको मुख्य जोड अर्थतन्त्रका सबै पक्ष सञ्चालन गर्ने पार्टी अधिकारीहरूलाई हटाउनुपर्ने, कर्मचारीतन्त्रविरुद्ध लड्नुपर्ने र पार्टी अधिकारीहरूको राजनीतिक स्तर उकास्नुपर्नेमा थियो । अर्को शब्दमा स्तालिनले विभिन्न पार्टी अध्यक्षहरूको आलोचनामाथि नै जोड दिनुभयो ।
“हामीबिच रहेका केही कामरेडहरू आफू नरकोम (जनकमिसार, मन्त्री) हुँ भन्दैमा सबैथोक थाहा पाएजस्तो गर्छन् । तिनीहरू पदले नै महान् र अनन्त ज्ञान बर्साउने ठान्छन् । अथवा, म यत्तिकै केन्द्रीय सदस्य बनेको होइन, सबथोक थाहा पाएरै बनेको हुँला भन्ठान्छन् । सत्य त्यो होइन ।” (स्तालिन, जाक्लिउचितेलनोए; इनोय, पेज ३६०–१) - ७२. स्तालिनको एउटा घोषणा पार्टी अध्यक्षहरूलगायत सबै पार्टी अधिकारीहरूका लागि ठुलो बज्रपात बन्न पुग्यो । उहाँले चाँडै सुरु हुने ६ महिने राजनीतिक कक्षामा आउँदा प्रत्येकले आफ्नो पदीय जिम्मेवारी सम्हाल्ने दुईजना कार्यकर्ता छनोट गर्नुपर्ने बताउनुभयो । नयाँ अधिकारी छनोट गरे त्यो ६ महिने अवधिमा आफ्ना ‘परिवारहरू’ को ढाड भाँच्ने गरी तिनले आफ्नो पद खाइदिन सक्ने सोचेर पार्टी अध्यक्षहरू डराएको हुनुपर्छ । आफूप्रति बफादार रहने अधिकारीहरूको ‘परिवार’ बनाउने यही प्रवृत्ति नै एक समस्याको रूपमा कर्मचारीतन्त्रको मूल कारण थियो । (झुकोभ, इनोय, पेज ३६२)
- ७३. थर्सटन स्तालिनले ‘जनताबाट सिक्नुपर्ने र भुइँ तहबाट आउने आलोचनामा ध्यान दिनुपर्ने’ आवश्यकतामा जोड दिनुभएकोले उहाँको मन्तव्यलाई ‘धेरै नरम’ भन्छन् । स्तालिनको प्रतिवेदनका आधारमा तयार पारिएको प्रस्तावमा पनि ‘शत्रुहरू’ लाई छोइएको मात्र थियो भने पार्टी सङ्गठन तथा तिनको नेतृत्वको विफलतालाई बढी जोड दिइएको थियो । झुकोभले त्यो अप्रकाशित प्रस्तावबाट उद्धरणहरू दिएका छन् । प्रस्तावका २५ बुँदामध्ये एउटामा पनि ‘शत्रुहरू’ लाई मुख्य विषय बनाइएको थिएन । (थर्सटन, पेज ४८–९; झुकोभ, इनोय पेज ३६२–४)
(टिपोट १४ : प्रस्ताव पढ्न झुकोभको इनोय पेज ३६२–३ (स्तालिन, जाक्लिउचितेलनोए) पढौँ । स्तालिनको मन्तव्यमा ‘शत्रुहरू’ को विषय थोरै मात्र छोइएको छ । त्यो पनि एकचोटि भए पनि त्रोत्स्कीपन्थी भएका प्रत्येकलाई ‘थप्पड हान्ने’ केन्द्रीय सदस्यहरूलाई चेतावनी दिन मात्र स्तालिनले त्यो विषय उप्काउनुभएको थियो । पूर्व त्रोत्स्कीपन्थीहरूमा फेलिक्स जेर्जिन्स्की जस्ता ‘नाम चलेका व्यक्तिहरू’ समेत पर्ने स्तालिनको तर्क थियो ।) - ७४. बैठकपछि पार्टी अध्यक्षहरूले देखिने विद्रोह नै मञ्चन गरे । गोप्य पार्टी निर्वाचन गरिनुपर्ने आवश्यकतामाथि जोड दिँदै सुरुमा स्तालिनले सन्देश पठाउनुभयो । पछि पोलिटब्युरोले पनि सोही व्यहोराको परिपत्र पठायो । दुवै सन्देशमा आफ्नो मान्छेलाई तोक लाउने चलनको विरोध गर्दै चुनाव गर्न भनिएको थियो; अन्तर–पार्टी प्रजातन्त्रलाई बढावा दिनुपर्ने खाँचो औँल्याइएको थियो । बैठकमा जेसुकै प्रस्ताव पारित भए पनि पार्टी अध्यक्षहरूले पुरानै ढर्रामा काम गर्दै थिए ।
- ७५. त्यसपछिका केही महिना स्तालिन र उहाँका निकट सहयोगीहरूले केन्द्रीय सदस्यहरूको ध्यान आन्तरिक शत्रुको सिकारबाट हटाइदिन खोज्नुभयो । उहाँहरूले पार्टीभित्रको कर्मचारीतन्त्रविरुद्धको लडाइँ तथा सोभियत निर्वाचनहरूको तयारीमा सबैको ध्यान तान्न खोज्नुभयो । यसबिच, ‘स्थानीय पार्टी नेताहरूले पार्टी अनुशासनको दायराभित्र रही (कहिलेकाही बाहिर गएर पनि) चुनावको निर्णय रोक्न वा बदल्न सबथोक गरे ।’ (गेट्टी, ‘एक्सेसेस’ पेज १२६; झुकोभ, इनोय, पेज ३६७–७१)
- ७६. सन् १९३७ को अप्रिल, मे र जूनको आरम्भमा अचानक ठुल्ठुला षड्यन्त्रहरूबाट पर्दा हट्यो । ठुलो आकारमा सैनिक र प्रहरी षड्यन्त्र भएको देखियो । स्तालिनको सरकार आत्तिन बाध्य भयो । सन् १९३७ को मार्च महिना सक्किँदै गर्दा प्रहरी प्रमुख तथा गृहमन्त्री गेनरिख यगोडा पक्राउ परे । अप्रिलबाट उनले षड्यन्त्रमा आफ्नो संंलग्नताबारे बयान दिन थाले । त्यही वर्षको मे र जूनको सुरुतिर उच्चपदस्थ सैन्य कमान्डरहरूले जर्मनी र उसका सहयोगी देशले रूसमाथि आक्रमण गरेको खण्डमा लालसेनालाई हराउन जर्मन सेनाको जनरल स्टाफसँग मिलेर षड्यन्त्र गरेको बयान दिए । सोभियत सङ्घका उच्च पदहरूमा रहेका राजनीतिक व्यक्तिहरूसमेत ती षड्यन्त्रमा जोडिएको ती बयानबाट खुल्दै गयो । (गेट्टी, ‘एक्सेसेस’, पेज ११५, १३५; थर्सटन, पेज ७०, ९०, १०१–२; गेनरिख यगोडा)
(टिपोट १५ : ‘गेनरिख यगोडा’ नामक ग्रन्थमा यगोडा र उनका केही सहयोगीसँग अनुसन्धानकर्मीले गरेको सोधपुछको लिखित उतार छ । पुस्तकमा सोभियत सरकारविरुद्ध विद्रोह गर्न बुनिएको षड्यन्त्रमा आफू संलग्न भएको र षड्यन्त्र त्रोत्स्कीको नेतृत्वमा भएको यगोडाको स्वीकारोक्ति छ । समग्रमा सन् १९३८ को इजलासमा यगोडाले दिएका सबै बयान सङ्ग्रहित छ । यी बयान सत्य थिए; यिनलाई झूटो प्रमाणित गर्ने कुनै सुराक भेटिन्न । तर, पुस्तकका सम्पादकले सोधपुछको सटिकता अस्वीकार गरेका छन् र सोधपुछ आफैमा ‘फर्जी’ थिए भनेका छन् । तर, आफ्नो दाबी प्रमाणित गर्न उनीहरूले कुनै प्रमाण पेस गर्न सकेका छैनन् । यद्यपि, स्तालिनविरोधी लेखक जेन्सन र पेत्रोभ (पेज २२६) ले आफ्नो दाबी पुष्टि गर्न यसै पुस्तकका उद्धरणलाई बिनाटिप्पणी प्रमाणको रूपमा पेस गरेका छन् । सोभियत सरकारविरुद्ध यी षड्यन्त्रहरू भएका थिए भनी साबित गर्ने यथेष्ट प्रमाण भेटिन्छन् । सार्वजनिक इजलासमै सबैका सामुन्ने अभियुक्तहरूले बिनादबाब आफूमाथि लगाइएका मुख्य आरोपहरू स्वीकारेका थिए । सन् २००४ मा यस विषयमा प्राथमिक दस्ताबेजहरूको अर्को सङ्ग्रह प्रकाशित भयो । त्यसमा ती षड्यन्त्रहरूबारे ‘एनकेभिडी’ का थुप्रै गोप्य प्रतिवेदन तथा सोधपुछका उतारहरू थिए । (हेर्नुस् लुबियान्का बी) यी यावत प्रमाणहरू हुनु नै यीमध्ये केही त सत्य थिए भनी प्रमाणित गर्न पर्याप्त छन् ।)
Leave a Reply