भर्खरै :

नेमकिपाको महाधिवेशन भक्तपुरमा हुने

माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा नेपाल मजदुर किसान पार्टीको मार्गनिर्देशक सिद्धान्त हो । जनताको प्रजातन्त्र र समाजवाद हुँदै साम्यवादको लागि जनताको सङ्गठन विस्तार गर्ने त्यस पार्टीको लक्ष्य हो । सामन्तवाद, पुँजीवाद, संशोधनवाद, अराजकतावाद, विस्तारवाद र साम्राज्यवादजस्ता स्वदेशी–विदेशी प्रतिक्रियावादीहरूविरुद्ध अन्तर्राष्ट्रवादी भावनासहित सङ्घर्षमा विभिन्न माध्यमबाट जनताको प्रजातन्त्र स्थापना गर्नु पार्टीको तत्कालको उद्देश्य हो । जनतालाई सचेत र सङ्गठित गरी उत्पादनका मुख्य मुख्य साधन, स्रोत र सेवा सामाजिकीकरणमार्फत समाजवाद हुँदै साम्यवादमा पुग्ने पार्टीको दीर्घकालीन लक्ष्य हो । यो लक्ष्य प्राप्त गर्न मजदुर, किसान, विद्यार्थी, युवा, महिला, शिक्षक, प्राध्यापक, कर्मचारी, बुद्धिजीवी, उद्योगी, व्यापारी, पत्रकार तथा श्रमजीवीवर्गको हक हितको निम्ति नेमकिपा लागिपरेको छ । देशको सार्वभौमिकता, भू–अखण्डता र स्वाधीनताको निम्ति सङ्घर्षरत नेमकिपाले देशका विभिन्न जनजाति, भाषाभाषी, दुर्गम र शोषितपीडित कामदारवर्गका जनतालाई सचेत र सङ्गठित गर्ने काम गरिरहेको छ । देशमा परिवर्तनको निम्ति या कम्युनिस्ट पार्टीको उद्देश्य पूरा गर्न राजनीतिक चेतना जगाउनु अनिवार्य छ । तर, त्यो काम देशका सबै कम्युनिस्ट पार्टीले गर्नु आवश्यक छ ।
हरेक राजनीतिक दल एक न एक वर्ग, आधार, राजनीतिक दर्शन, विचार र सैद्धान्तिक आधारमा चलेको हुन्छ । दलको कुनै दर्शन, विचार र सिद्धान्त भएन भने त्यो दलले मार्ग निर्देश गर्न सक्दैन । त्यो राजनीतिक दलको उद्देश्य कुन वर्गको सेवा गर्न हो, स्पष्ट हुनुपर्छ । भ्रष्टाचारको मात्र विरोध गरेर, भ्रष्टाचारीमाथि कारबाहीको माग गरेर मात्रै देशमा परिवर्तन हुने होइन । सतही राजनीति गरेर देशलाई निश्चित ठाउँमा पु¥याउन सक्दैन । त्यस्तो दल सुरुमा प्रचारमा आए पनि दलले खासै केही काम नगरेपछि त्यो विस्तारै खुम्चिँदै जानेछ । दलको सिद्धान्त, विचार र आदर्श छोडेर अवसरवादी, सत्तामुखी, भ्रष्टाचारी, अपराधीहरूको पक्षपोषण गर्ने दलले शोषणरहित समाज स्थापना गर्दैन; आदर्शाेन्मुख समाज स्थापना गर्न सक्दैन । नेमकिपा शोषणरहित समाज स्थापना गर्नको निम्ति लागिपरेको छ । नेमकिपाका नेता तथा कार्यकर्ता, सांसद र जनप्रतिनिधिहरू जहिले पनि नेमकिपाको उद्देश्य देश र जनताको सेवा गर्नुबाहेक अर्काे कुनै नभएको बताउँछन् । नेमकिपाले इमानदारीपूर्वक, निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्न प्रशिक्षित गरिरहेको हुन्छ । यो आवश्यक पनि छ । तर, अरु दलले त्यस्तो प्रशिक्षण दिइएको पाइँदैन ।
नेमकिपाले अन्तर्राष्ट्रवादी भावनाका साथ काम गरिरहेको छ । नेमकिपा साम्राज्यवाद र विस्तारवादको विरोध गर्छ । विदेशी हस्तक्षेप, आक्रमण र दबाबको विरोधमा नेमकिपा सङ्घर्षरत छ । २०२५ सालमा भारतले नेपालको सुस्ता मिच्दा सबभन्दा पहिले विरोध गर्ने दल नेमकिपा हो । नेपाली भूमि मिचेको विरुद्ध नेमकिपाले थालेको त्यो अभियान अहिले पनि चालु छ । भारतीय एकाधिकार र भारतीय विस्तारवादको विरोध गर्नुको अर्थ भारतीय जनताको विरोध होइन । नेमकिपा सिद्धान्त र विचारको राजनीति गर्ने दृढ इच्छाशक्ति भएको कम्युनिस्ट पार्टी हो । भागबन्डाको राजनीति र सत्तामुखी राजनीति नगर्ने दल नेमकिपा हो । कम्युनिस्ट पार्टीको बखान गरेर कम्युनिस्ट पार्टीकै बदनाम गर्ने, कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार भुल्ने, सिद्धान्त र विचार छोडी सत्ताको निम्ति पुँजीपतिवर्गसँग साँठगाँठ गर्ने दलको विरोधमा सैद्धान्तिक सङ्घर्ष गर्ने काम नेमकिपाले गरिरहेको छ । नेपाली भूमि मिच्ने, विदेशी सेना भित्याउने कामको विरोधमा सङ्घर्षरत दल नेमकिपा शोषितपीडित जनताको पक्षमा छ ।
पुँजीवादी संसदीय निर्वाचनबाट समाजवाद स्थापना नहुने नेमकिपाको धारणा रहेको छ । यसरी पार्टी स्थापना भएदेखि देश र जनताप्रति समर्पित भएर आन्दोलनरत दल नेमकिपाको फागुन १६ देखि १९ गतेसम्म भक्तपुरमा आठौँ महाधिवेशन हुँदै छ । उक्त महाधिवेशन सफल पार्न नेमकिपाले पार्टी स्थापना दिवसकै अवसरमा प्रचारप्रसार गरिरहेको छ । अधिवेशनको स्वर जिल्ला–जिल्लाको गाउँ नगर र वडा–वडामा पु¥याउने काम भइरहेको छ । महाधिवेशनको खबर घर–घरमा पु¥याउन र कार्यकर्ता र जनता लाग्नुपर्छ । अब पार्टीका नेता तथा कार्यकर्ताहरूले हरेक दिन कार्यक्रम राखेर प्रचारप्रसार गर्नुपर्छ । देशको वस्तुस्थितिबारे जनतालाई बुझाएर जागरुक बनाउने, अन्धविश्वास हटाउने, देश र जनताप्रति समर्पित बनाउने एउटा बलियो आधार महाधिवेशन पनि हो । उक्त महाधिवेशन सफल पार्न देशका किसान, मजदुर, युवा, विद्यार्थी, शिक्षक, प्राध्यापक, महिला, कर्मचारी, सञ्चारकर्मी, व्यापारी, व्यवसायी, बुद्धिजीवी, साहित्यकार, कलाकार, विभिन्न पेसामा आबद्ध व्यक्तिहरूलाई सहभागी गराउने काममा सबै लागेर अधिवेशन सफल पार्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *