भर्खरै :

निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्न नेमकिपा

निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्न नेमकिपा

भक्तपुर, ९ माघ । नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तपुर नगरपालिका समिति र नेपाल कर्मचारी समाज केन्द्रीय समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
पार्टीका सचिव प्रेम सुवालले नेपाल मजदुर किसान पार्टी स्थापनाको मुख्य उद्देश्य निःस्वार्थरूपले देश र जनताको सेवा गर्नु भएको बताउनुभयो ।
निःस्वार्थरूपले राजनीतिमा लाग्नेहरू सामाजिकीकरणको पक्षमा हुनुपर्नेमा जोड दिँदै सांसद सुवालले सामाजिकीकरण भएको व्यवस्थामा मात्र असमानता, शोषण, हिंसा, युद्ध नहुने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा स्पष्ट दृष्टिकोण राख्दै आएको उल्लेख गर्दै सांसद सुवालले महँगी, भ्रष्टाचार, पक्षपात, भेदभावको विरोध र देशको सार्वभौमिकता रक्षाको पक्षमा पार्टी सुरुदेखि सङ्घर्षमा लागिरहेको बताउनुभयो ।
“प्यालेस्टिनीहरूले यहुदीहरूलाई शरण दिएका हुन् । शरणमा आएका यहुदीहरूले प्यालेस्टिनी जनतामाथि नरसंहार र भूमि कब्जा गर्न बमबारी गरेका हुन् । यसको विरोधमा पार्टीले आवाज उठाएको छ”, सांसद सुवालले थप्नुभयो ।
अमेरिकी साम्राज्यवादले रुसविरूद्ध युक्रेनलाई लडाएको उल्लेख गर्दै सांसद सुवालले हतियार उत्पादन र बिक्री गर्ने, सार्वभौम देशमाथि आक्रमण गराउने, बजार कब्जा वा सरकार उल्टाउने काम गरिरहेको बताउनुभयो ।
अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेका ट्रम्पले ‘स्वर्ण युग’ को लागि आफू दोस्रो पल्ट निर्वाचित भएको बताए पनि विश्व स्वास्थ्य सङ्गठन र पेरिस सम्झौताबाट बाहिरिने उनको घोषणा, क्युवालाई राज्य प्रायोजित आतङ्कवादी देशको आरोप, ‘अमेरिका पहिलो’ र ‘अमेरिकालाई पुनः महान् बनाउने’ नारा विश्वलाई एकसाथ उठाउने नीतिविपरीत छ, सांसद सुवालले बताउनुभयो ।
पार्टीको निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्ने भावनाअनुसार कर्मचारीहरूले काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै सांसद सुवालले युवालाई वैदेशिक रोजगारीमा पठाएर समृद्ध नेपाल र सुखी नेपाली नहुने स्पष्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल मजदुर किसान पार्टीले प्रत्येक वर्ष माघ १० लाई आफ्नो स्थापना दिवसको रूपमा मनाउँदै आएको उल्लेख गर्दै देशमा आमूल परिवर्तन गर्ने उद्देश्यले पार्टीको स्थापना भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले जनप्रतिनिधि र कर्मचारीहरूको संयुक्त प्रयासले भक्तपुरलाई उत्कृष्ट नगर बनाउन सम्भव भएको उल्लेख गर्दै नेमकिपाले न्यायप्रेमी जनताको लागि सधैँ ऐक्यबद्धता जनाउँदै आएको बताउनुभयो । कर्मचारी पनि देशको सचेत वर्ग भएको स्पष्ट पार्दै उहाँले राजनीति देश र जनताको पक्षमा हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले पार्टीको मार्गनिर्देशनअनुसार देश र जनताको सेवा गर्दै भक्तपुरलाई उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्यमा अगाडि बढिरहेको बताउनुभयो ।
नेपाल कर्मचारी समाज भक्तपुरका अध्यक्ष गौतमप्रसाद लासिवाले पार्टी स्थापनाका आधारहरूबारे प्रस्ट पार्दै नेमकिपाले संसद्लाई राजनैतिक, वैचारिक र वर्गसङ्घर्षको थलोको रूपमा उपयोग गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले कर्मचारीहरूको काम, कर्तव्यबारे प्रस्ट पार्नुभयो भने समाजका सदस्यद्वय विद्यालक्ष्मी प्रजापति र रामकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *