भर्खरै :

स्तालिन : प्रजातान्त्रिक सुधारको प्रयास – १०

स्तालिन : प्रजातान्त्रिक सुधारको प्रयास – १०

१२. पाइजिकोभले अक्षरशः उद्धृत गरेका अंश यस्ता छन् :
वर्गविहीन समाजवादी समाजको निर्माण पूरा गरेर त्यसको जगमा विकसित हुने समाजवादी प्रजातन्त्रले सर्वहारावर्गको हुकुमलाई लगातार सोभियत जनताको हुकुममा फेर्दै लग्नेछ । समाजका प्रत्येक सदस्य बिस्तारै राज्यका दैनिक व्यवस्थापनको काममा तानिँदै जानेछन्; जनताको कम्युनिस्ट चेतना र संस्कृति माझिँदै जानेछ; समाजवादी प्रजातन्त्र फस्टाउँदै जानेछ । यसले अर्को प्रगतिशील परिवर्तन ल्याउनेछ । सोभियत जनताको हुकुममा विभिन्न बाध्यकारी तौरतारिका सेलाउँदै जानेछन्; बाध्यकारी नीतिहरूलाई जनधारणाको प्रभावले विस्थापित गर्नेछ† राज्यका राजनीतिक कामकारबाही खुम्चिँदै जानेछन्; राज्य मूलतः समाजको आर्थिक जीवन व्यवस्थापन गर्ने निकाय बन्नेछ ।
यो अप्रकाशित दस्ताबेजका अन्य अंशलाई पाइजाकोभले छोटकरीमा यसरी लेखेका छन् :
विशेषगरी (यो मस्यौदा) सोभियत व्यवस्थाको प्रजातान्त्रिक विकाससँग सम्बन्धित छ । यस योजनाले कामदार जनतालाई राज्य सञ्चालनमा ल्याउने व्यापक प्रक्रियालाई अपरिहार्य मान्यो । जनताको सांस्कृतिक स्तरको क्रमिक विकास र राज्य व्यवस्थापनका कामकारबाहीको अधिकतम सरलीकरणका आधारमा श्रमजीवीहरूलाई दैनिक चालु रहने राजकीय तथा सामाजिक गतिविधिमा ल्याउने प्रक्रियालाई नगरी नहुने काम मान्यो । यस (मस्यौदा) ले सम्पूर्ण कामदार जनताले नै क्रमशः राज्य व्यवस्थापनको काम गर्ने स्तरमा पदार्पण गरी व्यवहारिकरूपमै उत्पादनको कामलाई राजकाज व्यवस्थापनको भागिदारीसँग जोड्ने बाटोमा अघि बढ्ने प्रस्ताव राख्यो । यसले कानुन निर्माणको कार्यमा जनतालाई प्रत्यक्ष सहभागी गराउने विचार पनि अघि सा¥यो । यसबारे निम्न प्रबन्धलाई अपरिहार्य मानियो :
क. सरकारी जीवनका दुवै सामाजिक र आर्थिक क्षेत्रका साथै जीवनयापन एवम् सांस्कृतिक विकाससम्बन्धी अधिकांश अहम् मुद्दामा सबै जनताले मतदान गर्ने वा मिलेर निर्णय लिने बन्दोबस्त मिलाउने ।
ख. भुइँ तहदेखि नै कानुन निर्माणको अगुवाइ लिने क्षमताको व्यापक विकास गर्न सामाजिक सङ्घ–संस्थालाई सर्वोच्च सोभियतसामु नयाँ कानुनका प्रस्तावहरू पेस गर्ने अधिकार दिने ।
ग. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिसम्बन्धी अति अहम् सवालमा सिधै आफ्ना प्रस्ताव बुझाउने नागरिक तथा सामाजिक सङ्गठनहरूको अधिकार सुनिश्चित गर्ने ।
व्यवस्थापकहरूको निर्वाचनको सिद्धान्तलाई पनि बेवास्ता गरिएको थिएन । पार्टी कार्यक्रमको योजनामा साम्यवादतर्फको विकासको स्तरअनुसार राज्य संयन्त्रका सम्पूर्ण जिम्मेवार सदस्यको छनोट निर्वाचनबाट गरिनुपर्ने र राज्यका सबै निकायको कामकारबाही परिमार्जन गर्नुपर्ने विषय उठान गरिएको थियो । यसबाट ती निकायलाई समग्र अर्थतन्त्रको लेखाजोखा तथा सुपरिवेक्षण गर्ने जिम्मेवार संस्थानमा लगातार रूपान्तरण गर्दै लग्ने लक्ष्य राखियो । यसका लागि स्वतन्त्र स्वयंसेवी सङ्घ–संस्थाको सकेसम्म अधिकतम विकास गर्नु अति महत्वपूर्ण देखिन आयो । जनताको चेतनालाई कम्युनिस्ट शैलीमा रूपान्तरण गर्न सामाजिक मत (वा जनमत) को महत्वलाई बलियो बनाउनमा ध्यान दिइयो । व्यापक जनसमूहबिच मौलाउँदो समाजवादी प्रजातन्त्रको आधारमा गरिने ‘समाजवादी नागरिक भावना’, ‘श्रमको पराक्रम’ र ‘लालसेनाको साहस’ को विकासमा ध्यान दिइयो । (जोड ग्रोभर फर)
१३. पाइजिकोभको भनाइमा जदानोभले सन् १९४७ को फेब्रुअरीमा केन्द्रीय समितिको बैठकमा योजना आयोगका कार्यबारे प्रतिवेदन पेस गर्नुभयो । उहाँले सन् १९४७ वा १९४८ को अन्त्यतिर १९ औँ पार्टी महाधिवेशन गर्नुपर्ने योजना सुनाउनुभयो । उहाँले वर्षको एकचोटि पार्टी सम्मेलन गर्नुपर्ने र कम्तीमा छ भागको एक भाग केन्द्रीय सदस्यले आफ्नो सदस्यता ‘अनिवार्य नवीकरण’ गर्नुपर्ने प्रस्ताव पनि राख्नुभयो । यसलाई लागु गरेको खण्डमा अर्थात् ‘नवीकरण’ ले धेरै केन्द्रीय सदस्यहरूको पद खोस्ने थियो । यसको अर्थ धेरै पार्टी अध्यक्ष तथा केन्द्रीय समितिका अन्य नेता आफ्नो पदमा द¥हो गरी जम्न पाउने थिएनन् । यसबाट पार्टीको नेतृत्वदायी निकायमा नयाँ पुस्तालाई ल्याउने ठाउँ बन्ने थियो र पार्टी नेताहरूलाई तल्लो तहका कार्यकर्ताले आलोचना गर्ने ढोका खुल्ने थियो । (पाइजिकोभ, पेज ९६)
१४. यो साहसी योजनामा लेनिनको आधारभूत कृति ‘राज्य र क्रान्ति’ मा परिकल्पना गरे जस्तो ‘राज्य ओइलाउने’ कतिपय धारणा प्रतिध्वनित हुन्छ । यस कृतिमा लेनिनले माक्र्स र एङ्गेल्सकै विचारलाई विकसित गर्नुभएको थियो । पार्टीको योजनामा राज्यका सम्पूर्ण अहम् निर्णयमा सोभियत जनता र तिनका सङ्घ–संस्थाको प्रत्यक्ष प्रजातान्त्रिक सहभागिता सुनिश्चित गर्ने तथा पार्टी सम्मेलनमार्फत प्रतिवर्ष केन्द्रीय समितिका कम्तीमा ६ भागको एक भाग (नेतृत्व हेरफेरको सम्भावनासहित) ‘नवीकरण’ गर्ने प्रस्ताव राखियो । यसरी राज्य र पार्टी दुवैतिर तल्लो तहबाटै प्रजातन्त्रको विकास गर्ने परिकल्पना गरियो ।
१५. तर, यो योजना साकार भएन । सोभियत राज्य र पार्टीलाई प्रजातान्त्रीकरण गर्ने अघिल्ला प्रस्तावहरूकै हविगत यसको पनि भयो । कसरी भयो ? यसबारे सबै कुरा हामीलाई थाहा छैन । सम्भवतः केन्द्रीय समितिको बैठकले यसलाई अस्वीकार गरेको हुनुपर्छ । पार्टीको १९ औँ सम्मेलन सन् १९५२ सम्म स्थगित गरियो । किन ? हामीलाई थाहा छैन । पार्टी कार्यक्रमको प्रकृति हेर्दा केन्द्रीय समिति (पार्टी अध्यक्षहरू) ले विरोध जनाएको वा भाँजो हालेको बुझिन्छ ।
(टिपोट ३ : पाइजिकोभले यस प्रजातान्त्रिक अवरोधको जस लेनिनग्रादका पार्टी नेताहरू (र त्यसमा पनि भोजनेसेन्स्की) लाई दिएका छन् । (पढौँ पाइजिकोभको लेख ‘एनए भोजनेसेन्स्की’ ।) यसको अर्थ जदानोभ पनि सोही घेरामा परे । जबकि जदानोभका संरक्षकतिर हेर्दा पाइजिकोभको अवधारणा मिल्दैन । भोजनेसेन्स्की र उनका सहकर्मी ‘लेनिनग्राडेली नेताहरू’ जस्ता सबैभन्दा पुँजीवादमुखी शक्तिलाई पाइजिकोभ सबैभन्दा ‘प्रजातान्त्रिक’ भन्छन् । सन् १९४७ भरि ‘लेनिनग्राडेली’ हरू निकै शक्तिशाली थिए । यस्तो अवस्थामा मस्यौदा किन पारित भएन ? यसले पनि पाइजिकोभको अवधारणालाई बल दिन्न । भोजनेसेन्स्की पुँजीवादमुखी र ‘उपभोग्य वस्तु’ का भोगीका रूपमा चर्चित थिए । पाइजिकोभको तर्कले भोजनेसेत्स्की र राजनीतिक प्रजातन्त्रबिच सम्बन्ध थियो भन्न सकिन्न; साबित गर्ने त परको कुरा भयो । पाइजिकोभकै तर्कका आधारमा स्तालिन राजनीतिक प्रजातन्त्रको पक्षमा हुनुहुन्थेन भन्न पनि मिल्दैन ।)

उन्नाइसौँ पार्टी महाधिवेशन
१६. स्तालिनको अगुवा टोलीले सन् १९५२ को १९ औँ पार्टी महाधिवेशन तथा लगत्तै बसेको केन्द्रीय समितिको बैठकमा गएर राज्यमाथिको प्रत्यक्ष नियन्त्रणबाट पार्टीलाई अलग्याउने अन्तिम प्रयास गरेको देखिन्छ । ख्रुश्चेभको कार्यकालबाट सुरु गरेर पार्टी नेतृत्वले यस महाधिवेशनको स्मृति नै नष्ट गर्न खोज्यो र त्यहाँ जे भएको थियो, त्यसलाई तत्काल नामेट पार्न खोज्यो । ब्रेज्नेभको पालामा १८ औँ महाधिवेशनसम्मका सम्पूर्ण लिखित उतार प्रकाशित भयो । तर, १९ औँ महाधिवेशनको लिखत आज पनि अप्रकाशित छ । त्यहाँ स्तालिनले एउटा छोटो मन्तव्य राख्नुभएको थियो । त्यो मात्र प्रकाशित छ । त्यसलगत्तै बसेको केन्द्रीय समितिको बैठकमा स्तालिनले ९० मिनेट लामो मन्तव्य राख्नुभएको थियो । त्यो मन्तव्य कहिल्यै छापिएन । सानातिना अंशमात्र छापिएका छन् । बैठकको लिखित उतार पनि अहिलेसम्म अप्रकाशित नै छ ।
(टिपोट ४ : जोरेस मेदभेदेभको भनाइमा स्तालिनको निजी अभिलेख उहाँको निधनलगत्तै नष्ट गरिएको थियो । (मेदभेदेभ, सेक्रेतन) त्यसो हो भने मुखिन (उबिस्त्व पेज ६१२) ले भने जस्तै उहाँका केही विचारलाई अत्यन्त घातक ठानिएको हुनुपर्छ । ती विचारमध्ये केही यी दुई बैठकमा अघि सारिएको थियो । यहाँ मेरो विश्लेषण मुखिनले अध्याय १३ मा उल्लेख गरेको र मेदभेदेभले पनि जाहेर गरेको विचारमा आधारित छ ।)
१७. स्तालिनले पार्टीको हैसियत तथा यसको सङ्गठनात्मक संरचना परिवर्तन गर्न आह्वान गर्नुभयो । केही परिवर्तन यस्ता थिए :
पार्टीको नाम ‘अखिल युनियन कम्युनिस्ट पार्टी (बोल्शेभिक)’ बाट फेरेर आधिकारिकरूपमा ‘सोभियत सङ्घको कम्युनिस्ट पार्टी’ राखियो । यसमा विश्वका अधिकांश कम्युनिस्ट पार्टीको नाम झल्कियो भने राज्यको नाम पनि गाँसियो ।
(टिपोट ५ : निश्चय नै सबैलाई समेट्ने हिसाबले यो नाम राखिएको थियो । सोभियत सङ्घका सबै गणराज्यका आ–आफ्नै पार्टी थिए । जस्तो, युक्रेनको कम्युनिस्ट पार्टी, जर्जियाको कम्युनिस्ट पार्टी आदि । यसले गर्दा कतिपय पार्टी नेताले सबैभन्दा ठुलो गणराज्य रूसको ‘आफ्नै’ पार्टी नहुनुलाई नोक्सानी ठान्थे । विश्वयुद्धपछि भएको ‘लेनिनग्राड काण्ड’ मा मुद्दा चलाइएका र सजाय दिइएका पार्टी नेताहरूविरुद्ध लगाइएको सबैभन्दा गम्भीर आरोप यो पनि थियो । उनीहरूले रूसी पार्टी गठन गर्ने र (सोभियत सङ्घको नभई) रूसी गणतन्त्रको राजधानी लेनिनग्राडमा सार्ने योजना बनाएका थिए । यसले स्वाभाविकरूपमा रूसलाई अझ शक्तिशाली बनाउने थियो र महारूसी अहङ्कारवादलाई मलजल गर्ने थियो । जब कि खाँचो अनेक सोभियत राष्ट्रियताहरूलाई एकै मालामा उन्ने थियो । पढौँ डेभिड ब्रान्डेनबर्जरको रचना, ‘स्तालिन, लेनिनग्राड काण्ड र युद्धपछिको रूसकेन्द्रित सिद्धान्तका सीमा’, रूसी समीक्षा अङ्क ६३ (सन् २००४), पेज २४१–२५५ ।)
केन्द्रीय समितिको पोटिलब्युरोलाई ‘अध्यक्ष मण्डल’ ले विस्थापित ग¥यो । यस नामले सोभियत सङ्घको अध्यक्ष मण्डलजस्तै अर्को प्रतिनिधित्वपूर्ण समितिलाई प्रतिबिम्बित गथ्र्यो । नाममा ‘राजनीति’ को छनक हटाइएको थियो । यसै पनि समग्र पार्टी राजनीतिक थियो, केवल नेतृत्वदायी निकाय थिएन ।
१८. निःसन्देह, त्यस नामले पार्टी र राज्य दुवैलाई नभई केवल पार्टीलाई चलाउने निकाय जनाउँथ्यो । पोलिटब्युरोमा अनेकथरी सदस्य हुन्थे । यसमा मन्त्रिपरिषद्का अध्यक्ष (कार्यपालिका प्रमुख वा राज्य प्रमुख), सोभियत सङ्घको अध्यक्ष मण्डलका अध्यक्ष (विधानपालिका प्रमुख), पार्टीका महासचिव (स्तालिन), थप एक–दुई पार्टी सचिव र सरकारका एक–दुई मन्त्री हुन्थे । पोलिटब्युरोका निर्णय सरकार र पार्टी दुवैलाई लागु हुन्थे ।
१९. तसर्थ, देशमा सबैभन्दा उच्चासनमा देखिने पोलिटब्युरोको दाँजोमा अध्यक्ष मण्डलको भूमिका धेरै तल राखियो । राज्य प्रमुख र सर्वोच्च सोभियतका प्रमुख अध्यक्ष मण्डलको पदेन सदस्य नहुनाले यस मण्डलले केवल कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने थियो ।
२०. अन्य हेरफेर पनि गरियो :
स्तालिनको महासचिवको पद हटाइयो । अब स्तालिन केवल १० जना पार्टी सचिवमध्ये एक रहनुभयो । दसै जना नयाँ अध्यक्ष मण्डलका सदस्य थिए । यसमा २५ जना सदस्य तथा ११ जना उम्मेदवार सदस्य थिए । यो अघिको ९–११ सदस्यीय पोलिटब्युरोभन्दा ठुलो थियो । ठुलो आकारको हुनाले यहाँ बढी छलफल हुने निश्चित थियो । पोलिटब्युरोबाट कार्यकारी निर्णय जहिल्यै तत्काल लिन सकिन्थ्यो । तर, अध्यक्ष मण्डल एक अन्तरिम निकाय रहने भयो ।
(टिपोट ६ : स्तालिनको निधनपछि ख्रुश्चेभको लागि ‘प्रथम सचिव’ को पद सिर्जना गरिएको थियो ।)
अध्यक्ष मण्डलका धेरैजसो सदस्य शीर्ष पार्टी नेता नभई सरकारी अधिकारी देखिन्छन् । ख्रुश्चेभ र मालेन्कोभले पछि आश्चर्य प्रकट गरेका थिए । स्तालिनले कहिल्यै नसुनेका व्यक्तिलाई पहिलो अध्यक्ष मण्डलका लागि सिफारिस कसरी गर्नुभयो किनभने उनीहरू चिरपरिचित पार्टी नेता (पार्टी अध्यक्ष) थिएनन् भनी प्रश्न उठाएका थिए । निश्चय नै स्तालिनले उनीहरूलाई राज्यमा तिनको ओहोदाका कारण सिफारिस गर्नुभएको थियो । पार्टी नेतृत्वको विपरीत गएर स्तालिनले उनीहरूलाई अघि सार्नुभएको थियो ।
(टिपोट ७ : मुखिन, उबिसत्व पेज ६१७)
२१. १९ औँ पार्टी महाधिवेशनमा स्तालिनले पार्टीको महासचिव पदबाट राजीनामा दिनुभयो । त्यसपछि बसेको केन्द्रीय समितिको बैठकमा उहाँले केन्द्रीय समितिबाट पनि राजीनामा दिने र केवल राज्य प्रमुख (मन्त्रिपरिषद् अध्यक्ष) मात्र रहने प्रस्ताव गर्नुभयो ।

मोलोतोभ

मालेन्कोभ

जडानोभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *