भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, १६ माघ । नेपालकै पहिलो मध्यकालीन राजदरबार मानिएको भक्तपुरको त्रिपुर दरबार पुनर्जीवित भएको छ । भक्तपुर नगरपालिका–५, सुकुलढोका क्षेत्रमा अवस्थित यस दरबारको पुनर्निर्माण हालै सम्पन्न भएको हो ।
इतिहासविद् प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठले त्रिपुर दरबार नेपाल संवत् २२०–२३० (हालको नेपाल संवत् ११४५) मा मल्ल राजा आनन्ददेवको पालामा बनेको नेपालकै पहिलो मध्यकालीन राजदरबार भएको बताउनुभयो ।
पुनर्निर्माण सम्पन्न भएको दरबारको मङ्गलबार एक विशेष कार्यक्रमबिच उद्घाटन गरिएको छ । प्राचीन स्मारक तथा दरबार हेरचाह कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मीले दरबारको मुख्य ढोकामा रिबन काटेर औपचारिक उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रा.डा. श्रेष्ठले सुकुलढोकामा भेटिएको लिच्छविकालीन शिलालेखमा उल्लेखित ‘श्री पश्चिमाधिकरण’ शब्दले यस स्थान तत्कालीन समयमा राजाको मुकाम रहेको पुष्टि गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो दरबारसँगै त्रिपुर पाठशाला पनि थियो, जहाँबाट कर्माचार्यहरू दीक्षित भई राजदरबारका पूजापाठमा खटिन्थे ।” श्रेष्ठले दरबारसम्बन्धी तथ्य र ऐतिहासिक प्रसङ्ग समेटिएको आफ्नै पुस्तक ‘त्रिपुर र थथुनियम् राजकुल’ को सन्दर्भसमेत उल्लेख गर्नुभयो ।
साढे दुईतले सानो आकारको दरबार सुकुलढोकाको मुख्य चोक नजिकै रहेको छ । दरबार दक्षिण मोहोडामा रहेको छ भने यसको अघिल्लो भागमा ऐतिहासिक ढुङ्गेधारा र भग्नावशेषको रूपमा रहेको सार्वजनिक पाटी छन् । ढुङ्गेधारामा हाल पानी प्रवाह छैन ।
कार्यक्रमका सभापति तथा स्थानीय प्रा.डा. सिद्धिवीर कर्माचार्यले दरबार २०७२ सालको भूकम्पपछि भग्नावशेषमा परिणत भएको जानकारी गराउँदै तीन वर्षको मेहनतपछि पुनर्जीवन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
दरबार नजिकै भक्तपुरको अष्टमातृकामध्येकी त्रिपुरसुन्दरी मन्दिर पनि छ । यस मन्दिरलाई तत्कालीन समयमा भक्तपुरको ईष्टदेवीका रूपमा पूजा गरिन्थ्यो ।
सुकुलढोकाको नामको उत्पत्तिबारे इतिहासविद्हरूले ‘सुगलढोका’ शब्दबाट अप्रभंस भएर ‘सुकुलढोका’ बनेको जानकारी दिएका छन् । यो ठाउँ लिच्छविकालीन राजप्रासाद त्रिपुर दरबारको मुख्य प्रवेशद्वार रहेको प्रमाण भेटिएको छ ।
पुनर्निर्माणपछि दरबार सर्वसाधारणका लागि खुला गरिएको छैन । तर, उद्घाटन कार्यक्रममा सहभागीहरूलाई अवलोकन भ्रमण गराइएको थियो ।
Leave a Reply