भर्खरै :

अमेरिकी फासीवादको उत्पत्ति

माइकल जोसेफ रोबर्टो
डोनाल्ड ट्रम्प संरा अमेरिकाको राष्ट्रपति बन्नु संरा अमेरिकी साम्राज्यवादी प्रभुत्वमाथिको दीर्घकालीन सङ्कटको चरम अवस्था र नवफासीवादतिर उसको संक्रमणको प्रतिविम्ब हो । राष्ट्रपति, उनी नजिकका सल्लाहकारहरू र मन्त्रीमण्डलका केही प्रमुख  सदस्यहरूले खुलमखुला जातीय सङ्कीर्णता, जातीय विद्वेष र साम्प्रदायिक विचारको प्रचार गरिरहेका छन् । जोन बेलामी फोस्टरले भनेजस्तै ‘दक्षिणपन्थी राजनीतिको लागि यी कुनै पनि कुरा नयाँ भने होइनन् ।’ तर आप्रवासीहरू, महिला अधिकार, तेस्रो लिङ्गी, वातावरण संरक्षणकर्मी र मजदुरहरूमाथि जुन मात्रा र व्यापकतामा आजभोलि हमला भइरहेका छन्, त्यसले उदार पूँजीवादी प्रजातन्त्रको मूलधारबाट संरा अमेरिकी साम्राज्यवादले गुणात्मक वैचारिक सम्बन्धविच्छेद गरिरहेको देखापर्छ । अब मात्र प्रश्न के हो भने ट्रम्प र उनका अतिजातीवादी उन्मादी वृत्त, वाल स्ट्रिटका मालिकहरू, सैनिक जर्नेलहरू र विभिन्न क्षेत्रका राजनीतिक ठगहरूले अमेरिकी शैलीको नाजीवाद (लेखकले यहाँ जर्मन शब्द  Gleichschaltung प्रयोग गरेका छन् । यो शब्दको अर्थ नाजीकरण भन्ने लाग्छ ।) ले अरु संरा अमेरिकाका सरकारी पदाधिकारी, न्यायाधीश, सेना र मिडियालाई ‘अमेरिकालाई फेरि महान बनाऔं’ भन्ने ट्रम्पको नारामा सहमतिमा ल्याउन सक्छन् वा सक्दैनन भन्ने हो ।
समकालीक पूँजीवादमा फासीवादको पुनत्थानबारे समिर अमिनको विश्लेषणसँगै फोस्टरले ट्रम्पको नवफासीवादलाई बृहत् रुपमा एतिहासिक सन्दर्भसँग तुलना गरेका छन् । उनले साम्राज्यवादी युद्धकालीन ‘परम्परागत’ जर्मन फासीवाद र हाम्रो समयको नवफासीवादको तुलना गरेका छन् । उनले यी दुईबीच धेरै समानान्तर रेखाहरू देखेका छन् । यी दुवै थरी फासीवाद विश्व पूँजीवादको इतिहासमा सङ्कटपूर्ण समयमा देखापरेका छन् ।  सन् १९३० को दशकमा जर्मनी महाआर्थिक सङ्कटले चाउरिएको आधुनिक औद्यागिक राष्ट्र–राज्य थियो । त्यसो त संरा अमेरिकासँग अझै पनि संसारकै सबभन्दा विध्वंसकारी शक्ति छ । तर घरभित्र लगातारको गतिरोध र घरबाहिर चीन तथा साम्राज्यवादी मोर्चाभित्रैका अरु शत्रुहरूको चुनौती सामना गरिरहेको संरा अमेरिका आज एउटा मरणासन्न पूँजीवादी साम्राज्यको रुपमा ओरालो झरिरहेको छ । त्यसकारण फोस्टरले समकालीक संरा अमेरिकी नवफासीवादका अरु चरित्रलाई एउटा ऐतिहासिक दुर्घटना मात्र नभई मन्द गतिमा विकास हुने संरचनागत सङ्कट भनी विश्लेषण गरेका छन् । त्यस्तो सङ्कट प्रष्टै रुपमा स्वंय शासक वर्गको सङ्कट बन्न सक्दछ ।
मेरो विचार विश्लेषणको लागि सबैभन्दा महत्वपूर्ण आधार भनेको फोस्टरले उद्र्धत गरेको, सन् १९५२ मा माक्र्सवादी अर्थशास्त्री पाउल बारान र मन्थ्ली रिभ्युका संस्थापक सम्पादक पाउल स्वीजीबीचको विचार आदानप्रदान हो । त्यो वैचारिक आदानप्रदानमा दुवै जना विद्वानहरू फासीवाद पूँजीवादको एकाधिकार–साम्राज्यवादी चरणको एउटा राजनीतिक रुप थियो भन्नेमा सहमत थिए । उनीहरूको यो निचोडले उदार प्रजातन्त्र र फासीवादबीच कुन बिन्दुबाट छुटिन्छ भनी सजिलै पहिल्याउन गाह«ो भने बनाइदिएको छ । बारान र स्वीजी पछि फोस्टरले ‘सम्पत्ति सम्बन्धलाई चुनौती दिने चरम सङ्कट’को अवस्थालाई नै प्रजातन्त्र र फासीवादबीच भिन्नता छुट्याउने बिन्दु भनी विश्लेषण गरेका छन् । यो पृष्ठभूमिले हिटलरको उदयको व्याख्या गर्दछ । आजको सन्दर्भमा तुलना गर्ने हो भने ट्रम्पको नवफासीवाद दीर्घकालीक सङ्कटको परिणाम हो जसले नवउदारवादसँग हाम्रो गुणात्मक सम्बन्धविच्छेदलाई सङ्केत गर्दछ ।
विश्वव्यापी वर्ग विश्लेषण
बारान, स्वीजी र फोस्टरको सहयोगमा अब हामी अमेरिकी फासीवादको उत्पत्तिदेखि आजसम्मको अवस्थाको वर्ग विश्लेषणमा केन्द्रित हुनेछौं । यो वर्ग विश्लेषणले फासीवाद एकाधिकार–वित्तीय पूँजीवादको युगमा एउटा विश्वव्यापी प्रक्रिया भएको नयाँ विचार दिनेछ । सामान्यतः यो अध्ययनले राष्ट्रिय अर्थतन्त्रको सामाजिक बनावटलाई जोड दिने गर्दछ । त्यो सामाजिक बनावटले उदार–पूँजीवादी प्रजातन्त्रलाई फासीवादसँग सम्बन्धविच्छेद गराउँछ । संरा अमेरिकामा आजको नवफासीवादी चुनौतीलाई सन् १९२० र १९३० का दशकमा त्यो देश विश्वकै पूँजीवादी प्रभुत्व बन्दै गर्दा छिचोलेको फासीवादी प्रक्रियाको ऐतिहासिक परिणामको रुपमा स्वीकार्नु पर्ने यो अध्ययनको जोड छ ।
यहाँ वाल्टर गोल्डफ्रान्कको बिर्सिसकिएको तर ज्यादै महत्वपूर्ण लेख चर्चायोग्य छ । सन् १९७८ मा गोल्डफ्रान्कले विश्व पूँजीवादी व्यवस्थामा आन्तर्य (core), अर्धपरिधि (Semi-periphery) र परिधि (periphery)मा फासीवादको तुलनात्मक विश्लेषण गरेका थिए । गोल्डफ्रान्कका अनुसार संसारको जुनसुकै ठाउँमा फासीवादको उदय त्यो राष्ट्रको पूँजीवादी विकासको चरणमा निर्भर हुने गर्दछ । एकाधिकार–वित्तीय पूँजी भएका साम्राज्यवादी देशहरूदेखि पूँजी नै नभएका, साम्राज्यवादी देशहरूबाट उत्पीडित राष्ट्रहरू अर्थात् परिधिमा रहेका उपनिवेश राष्ट्रहरू समेतमा फासीवादको उदय त्यहाँको पूँजीवादी विकासको चरणमा निर्भर हुने गर्दछ । अर्धपरिधिमा रहेका प्रतिस्पर्धी राष्ट्रहरूमा केही हदसम्म विकसित पूँजी निर्माण भएको छ । तर तिनीहरू पनि उत्पादन र लगानी–पूँजीका केन्द्र बनेका साम्राज्यवादी राष्ट्रहरूमा अधिनस्थ हुने गरेका छन् । गोल्फ्रान्कको विचारमा त्यो अवस्था विशिष्ट रुपमा फासीवादको विकासका लागि उपयुक्त हुने गर्दछ । यसै सन्दर्भमा उनले जर्मन पूँजी र अमेरिकी बैङ्कपत्तिहरूबीचको वित्तीय सम्बन्धले कसरी अमेरिकामा आइलागेको सङ्कटले जर्मनीलाई समेत ध्वस्त बनाएको थियो भन्ने कुराको व्याख्या गरेको छ । सन् १९२९ र १९३३ मा त्यही भएको थियो । वाल स्ट्रिटको सङक्टले संरा अमेरिकालाई आर्थिक महासङ्कटमा फसाएको थियो र पछि त्यो आर्थिक सङ्कटले जर्मनीमाथि नै हमला गरेको थियो । फलतः जर्मनीका पूँजीपति वर्ग सङ्कटको दलदलमा फसेको थियो । अनि सङ्कटग्रस्त जर्मनी पूँजीपति वर्ग हिटलर र राष्ट्रिय समाजवादको अङ्गालोमा बेरिन पुगेका थिए ।
जर्मनी र संरा अमेरिकाबीच तुलनात्मक अध्ययन गरौं । विश्व व्यवस्थाको युरोपेली आन्तर्यभित्रको एउटा औद्योगिक राष्ट्र र उपनिवेशवादी शक्ति जर्मनी प्रथम विश्व युद्धपश्चात संरा अमेरिकी वित्तीय पूँजीमा धेरै निर्भर बन्यो । संरा अमेरिकी पूँजीमा त्यत्ति निर्भर त त्यत्तिबेला बेलायत पनि थिएन । सन् १९१९ मा जर्मनीमाथि प्रथम विश्वयुद्धमा पराजीत बनेको दण्ड जरिवानास्वरुप थोपरेको भर्सिलिज सन्धी र सन् १९२३ मा जर्मनीमा फैलिएको विध्वंसकारी मुद्रास्फीतिको अवस्थामा ठूलो मात्राको अमेरिकी ऋण र लगानीले मात्र वेइमर गणराज्यलाई बचाएको थियो । त्यही अमेरिकी लगानी र ऋणले जर्मनीलाई आर्थिक सङ्कटबाट केही समय जोगाएको थियो र साथै छोटो उपचार पनि गरेको थियो । सन् १९२९ को आर्थिक सङ्कटभन्दा एक वर्षअघि अमेरिकी पूँजीपतिहरूले जर्मनीबाट आफ्नो लगानी फिर्ता लगे । छोटो समयमै नाफा दिने वाल स्ट्रिटका मालिकहरूले देखाएको लोभमा परेर अमेरिकी लगानीकर्ताहरूले जर्मनीबाट आफ्नो पूँजी फिर्ता लगेका थिए । त्यसको परिणाम भने जर्मनीले भोग्नुप¥यो । त्यहाँ एकाएक तीब्र बेरोजगारी बढ्यो । त्यत्तिबेला संसारकै सबभन्दा बढी ऋण दिने राष्ट्र अमेरिकासँग जर्मनीको आर्थिक निर्भरता त्यस्तो थियो ।  आधारभूत रुपमा जर्मनी फासीवाद जनताको आन्दोलन र पूँजी एवं श्रमलाई समान रुपमा विरोध गर्ने राजनीतिक दलमार्फत उदाएको थियो । सन् १९३१–३२ मा आर्थिक महासङ्कट चुलिंदै गयो । त्यत्तिबेलाका चुनावहरूमा नाजीहरूको प्रभाव विगतमा उनीहरूको आधार बनेको निम्नमध्यम वर्गीय प्रोटेस्टेन्ट समुदात्न्दा व्यापक बन्दै गयो । हिटलरको अतिराष्ट्रवादी विचारप्रति उनीहरूका जेजस्तोसुकै भिन्न मत भए पनि जर्मनीको शासक वर्गले आसन्न राजनीतिक विघटन र समाजवादी क्रान्तिको खतराबाट जोगिने एउटै मात्र आशाको केन्द्र भनेको हिटलर नै भएको निष्कर्ष निकाले । सन् १९३३ को जनवरीसम्ममा सर्वसाधारण जनतामा मात्र सीमित आर्थिक सङ्कट शासक वर्गसम्म फैलियो । त्यसपछि पूँजीपति वर्ग पाइला–पाइला गर्दै हिटलरको पक्षमा उभिन बाध्य भए ।
संरा अमेरिकामा फासीवादको चालक शक्ति स्वंय पूँजीपति वर्गबाटै आएका थिए । सन् १९२० को दशकमा भएको आर्थिक धमाकाको बेलामा आर्जन गरेको धन र शक्ति जोगाउने र फैलाउने नै संरा अमेरिकी पूँजीपति वर्गको मनसाय थियो । तर जर्मनीमा अवस्था फरक थियो । त्यहाँ फासीवादको चालक शक्ति संरा अमेरिकामा जस्तै पूँजीपति वर्गबाट आएको थिएन बरु भर्सिलिज सन्धिको अपमानबाट उठेको राष्ट्रवादी आक्रोशबाट प्रभावित भएर निम्नमध्यम वर्गीय आधारमा जर्मनीको फासीवाद विकास भएको थियो । जर्मनीमा आतङ्कवादी अतिराष्ट्रवादले हिटलर र उनको पार्टीलाई सत्तामा पु¥यायो ।  संरा अमेरिकामा भने राज्यको सहयोगमा पूँजीपति वर्गले साम्यवादको खतरा देखाउँदै श्रमिक आन्दोलनलाई दमन ग¥यो र कु क्लुक्स क्लानजस्ता ‘शतप्रतिशत अमेरिकावाद’ चिन्तनलाई प्रबद्र्धन गर्ने प्रतिक्रियावादी आतङ्कवादी समूहहरूसँग सहकार्य गर्न पुग्यो । तथापि सन् १९२२ देखि १९२९ सम्म अमेरिकी पूँजीपति वर्गले ‘अमेरिकी योजना’(American Plan) को रुपमा मीठो राष्ट्रवाद प्रचार गरे । ‘अमेरिकी योजना’ वास्तवमा मजदुरहरूविरुद्ध मजदुर संगठन गर्न नदिने चालबाजी थियो ।
सन् १९३० को दशकमा नै सबभन्दा विवेकी अमेरिकी पर्यवेक्षकहरूले फासीवादको उत्पत्ति ठूला व्यापार र वित्तीय पूँजीबाट भएको पत्ता लगाइसकेका थिए । यससम्बन्धमा तीन वटा पुस्तकहरू उल्लेखनीय छन् । ती तीनै वटा पुस्तकहरू या त माक्र्सवादीहरू स्वंयले लेखेका छन् अथवा माक्र्सवादी कोणबाट लेखिएका छन् । कार्मेन हेल्डरको ‘के हामी फासीवाद चाहन्छौं ?’ (१९३४), लेविस कोरेको ‘मध्यमवर्गमा सङ्कट’ (१९३५) र ए.बी. मागिल तथा हेनरी स्टेभेन्सको ‘फासीवादको खतरा’(१९३८) ती तीन वटा महत्वपूर्ण पुस्तकहरू हुन् । लामो समयदेखि उदार इतिहासकार र राजनीतिक टिप्पणीकारहरूले ती पुस्तकहरू लुकाएका छन् । तर वास्तवमा ती पुस्तकहरू आजको सन्दर्भमा अझ सान्दर्भिक छन् । ती तीन वटै पुस्तकको एउटै निष्कर्ष थियो, यदि संरा अमेरिकी पूँजीपति वर्गले बाँकी समाजको धन र शक्ति सबै यही गतिमा जम्मा गर्दै जाने हो भने संरा अमेरिका धेरै चाँडो फासीवादी बन्नेछ । त्यस हिसाबमा उनीहरूको दृष्टिकोण सन् १९३५ मा त्यत्तिबेलाको कम्युनिष्ट अन्तर्राष्ट्रियका महासचिव ज्यार्जी दिमित्रोभले अन्तर्राष्ट्रियको सातौं महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनमा व्यक्त विचारसँग मिलेको छ । उनले त्यो प्रतिवेदनमा फासीवादलाई ‘वित्तीय पूँजीको शासन’को रुपमा व्याख्या गरेका छन् । अनि यो परिभाषाले आज ट्रम्पले अघि सारेको नाजीकरण ( Gleichschaltung) को मनसायबारे गहिरो जानकारी दिनेछ ।
सन् १९३०–दशकको फासीवादः एक अध्ययन
माथि उल्लेखित तीन वटा फासीवादसम्बन्धि पुस्तकहरूमध्ये पनि सबभन्दा प्रभावशाली पुस्तक भनेको कार्मेन हेडरको ‘के हामी फासीवाद चाहन्छौं ?’ हो । संरा अमेरिकाको कोलुम्बियामा पढेका इतिहासकार हेडरले सन् १९२० को दशकमा इटालीको भ्रमण गरेकी थिइन् । मुसोलिनीको कर्पोरेटिस्ट राज्य (अर्थतन्त्रका विभिन्न पक्षलाई समेटेर राज्य चलाउने शासन पद्धति । त्यसअन्तर्गत कुनै पनि कारखाना त्यसका मालिक, मजदुर र राज्यको प्रतिनिधिको सामूहिक व्यवस्थापनमा चलाउने मान्यता छ । यसमा राज्यको प्रतिनिधिको बढी अधिकार हुने भएकाले यसले राज्यप्रति बफादारलाई मात्र पुरस्कृत गर्ने आलोचकहरूको भनाई छ । अल्फ्रेडो रोक्को यो सिद्धान्तका व्याख्याता हुन् । –अनु.) को अध्ययन गर्न उनी इटाली पुगेकी थिइन् । उनका अध्ययनका निष्कर्ष युरोपेली फासीवादबारे शुरु–शुरुमा गरिएको अध्ययनको दस्तावेज बन्यो । संरा अमेरिका फर्के पछि उनले आफ्नै देशको नवजात फासीवादी आन्दोलनबारे उस्तै गहिरो अध्ययन गरिन् । ‘के हामी फासीवाद चाहन्छौं ?’ पुस्तकमा उनले अमेरिकी फासीवादको विकासका लागि इटाली र जर्मनीमा जस्तै अलग पार्टीको आवश्यकता नहुने निष्कर्ष निकालिन् । संरा अमेरिकामा दुई पार्टीको बन्दोबस्त भएर पनि फासीवादी शासन लागु हुन सक्ने उनको धारणा छ । हेडरले दुई पार्टीको अमेरिकी बन्दोबस्तलाई ‘पूँजीपति वर्गको हितमा काम गर्ने तानाशाही प्रकारको सरकार’ भनी व्याख्या गरिन् ।
हेडर माक्र्सवादी थिइनन् । तर उनले माक्र्सवादी कोणबाट ‘नयाँ सम्झौताले पूँजीवादी बन्दोबस्तलाई अस्थायी रुपमै भए पनि जोगाएको’ निष्कर्ष निकालिन् । हेडरले सन् १९३३ को जुन महिनामा संरा अमेरिकी कङ्ग्रेसले स्थापना गरेको राष्ट्रिय पुनस्र्थापना प्रशासन (National Recovery Administration) माथि आफ्नो अध्ययन केन्द्रित गरेकी थिइन् । त्यो प्रशासनको जिम्मेवारी अमेरिकी उद्योगहरूको पुनस्र्थापना थियो । तात्कालीन अवस्थामा त्यो प्रशासनले केही समय अर्थतन्त्रमा स्थायित्व त ल्यायो तर आर्थिक योजनाको सन्दर्भमा त्यसले गरेका प्रयासले पूँजी र श्रमबीच अन्तर्विरोध मात्र चर्काएको थियो । उदाहरणको लागि त्यो प्रशासनलाई उत्पादनको कोटा तथा बस्तुको मूल्य नियन्त्रणको अधिकार प्रदान गरिएको थियो । तर आफूलाई दिइएको अधिकांश अधिकार त्यसले ठूलो व्यापारीहरूसमक्ष समर्पण ग¥यो र उनीहरूको स्वार्थअनुसार काम ग¥यो । त्यही बेला श्रमिकहरूलाई सुविधाको रुपमा कामदारहरूलाई सामूहिक सौदाबाजी र संगठनको अधिकार प्रदान गरियो । उत्पादन र उपभोगबीच समबिन्दू पुनस्र्थापना गर्ने लक्ष्य सहित पुनस्र्थापना प्रशासनले अर्थतन्त्रको उत्पादनशील क्षेत्रको नियन्त्रणमा गइसकेको एकाधिकार प्रणालीमा सुधारको लागि निकै थोरै काम मात्र ग¥यो । जनताको किन्न सक्ने क्षमता (क्रयशक्ति) मा व्यापक वृद्धि नभई आर्थिक पुनस्र्थापना गतिरोधको अवस्थामा रहने थियो र वर्गहरूबीच समस्या रहने थियो । पूँजीपति वर्गलाई सरकारको बढ्दो भूमिका चित्त बुझिरहेको थिएन । उनीहरू सरकारको नियन्त्रण नहुने लेसेज फेरे नीतिको पक्षमा थिए । त्यही बेला आर्थिक सङ्कटका कष्टकर वर्षहरू सामना गरेका लाखौं–लाख मजदुरहरू धिमा गतिमा भइरहेको असमान आर्थिक पुनस्र्थापनाबाट निराश थिए । उनीहरूले यथास्थितिको राजनीतिक विकल्प खोज्न थालिसकेका थिए ।
राष्ट्रिय पुनस्र्थापना प्रशासनले समृद्धि फर्काउने अवस्थामा पनि त्यो समृद्धि दिगो हुने थिएन किनभने पूँजीपतिहरूले सरकारको भूमिकाबिहीनता (लेसेज फेरे)को नीति खोजिहाल्थे । जसको अर्थ ‘विगतमा सङ्कट निम्त्याएको शक्तिले भविष्यमा पनि काम गरिरहनेछ ।’ जस्तै परिस्थितिमा पनि निकट भविष्यमा अझ अर्को ठूलो सङ्कट आउने हेडरको बुझाई हो । त्यो सङ्कटले पूँजी र श्रमबीचको अन्तर्विरोधलाई अझ पेचिलो बनाउने थियो । राष्ट्रिय पुनस्र्थापना प्रशासनले पूँजीको स्वार्थमा उद्योगहरूको पुनःसंगठन गर्न राज्यलाई प्रयोग गर्न सकिन्छ भन्ने कुरा देखाएको छ । तर त्यसको परिणाम अर्थतन्त्रमा राज्यको स्थायी हस्तक्षेपप्रति पूँजीपतिहरूको चाहना घटाइदिने गर्दछ । राष्ट्रपति रुजवेल्टले श्रमिकहरूलाई दिएको सामूहिक सौदाबाजी र स·ठन बनाउन पाउने अधिकार तात्कालीन अवस्थामा पूँजीको निम्ति खतरा बन्ने अवस्था थिएन । रुजवेल्टले श्रमिकहरूसँग उचित व्यवहार गर्न पूँजीपति वर्गलाई रिझाउने प्रयास गरे । तर पूँजीपति वर्गले श्रमिक वर्गलाई शोषणको शिकार बनाउन भने छोडेन । त्यस अवस्थामा हेडरले केही प्रमुख प्रश्नहरू उठाइन्ः ठूला पूँजीपति वर्गको विरोधबीच राष्ट्रिय पुनस्र्थापना प्रशासन टिक्न सके त्यसले कुन दिशा लिनेछ ? अर्कोतिर कदाचित त्यो प्रशासनले काम गर्न असफल भए र कुनै नयाँ बाटोतिर लागे त्यसको परिणाम के होला ?
हेडरले व्याख्या गरेजस्तै राष्ट्रिय पुनस्र्थापना प्रशासनको जीवनमरणको कुरा रोजगारी बढाउने र उपभोग वृद्धि गर्ने सार्वजनिक गतिविधिमा निर्भर हुने गर्दछ । तर त्यसको लागि धनीहरूसँग बढी कर लगाउनुपर्ने हुन्छ । फलतः पूँजीपति र श्रमिक वर्गबीच अन्तर्विरोध बढ्नेछ । मजदुरहरूको क्रयशक्ति बढाउने प्रयासले नयाँ औद्योगिक वृद्धिलाई कुण्ठित बनाउनेछ । त्यसो गर्नुको लक्ष्य बेरोजगारहरूले निम्त्याउन सक्ने अस्थीरतालाई प्रतिकार गर्नु हो र  त्यसको लागि मध्यमवर्गसँग थप कर उठाउनुपर्ने हुन्छ । संरा अमेरिकाका धेरै वटा राज्यमा वृद्धि गरिएको आयकरको ठाउँ नयाँ बिक्रीकरले लिइसकेको थियो । तर यो सम्पूर्ण बन्दोबस्त ‘नयाँ क्रयशक्तिको विकास गर्न भन्दा पनि धेरै मात्रामा जनताबीच पुनर्वितरण गर्ने कोषका रुपमा प्रयोग गरियो ।’(हेडर, के हामी फासीवाद चाहन्छौं ?–२२७) । सरकारमाथि पूँजीपति वर्ग हावी हुनाले मजदुरको ज्याला कम बनाउने पक्का थियो । सार्वजनिक लगानीले पनि मजदुरको जीवनमा मुद्रास्फीतिको रुपमा जटिलता थप्दैथियो । बाहिर जे जस्तो रुपमा देखिए पनि अन्तिममा निष्कर्ष एउटै आउने थियो– प्रष्टतः पूँजीको नियन्त्रणमा विद्यमान व्यवस्था ।’ जसको एउटै मात्र अवश्यम्भवी परिणाम हुनसक्थ्यो ः
‘दक्षिणपन्थी प्रतिगमनले प्रष्टतः फासीवादलाई बलियो बनाएको थियो किनभने त्यसले पूँजीवादको व्यक्तिवादको सट्टामा पूँजीवादी सामूहिकतालाई स्थापित गर्दैथियो । मजदुरहरूले यो बन्दोबस्तविरुद्ध विद्रोह गरेको अवस्थामा राज्यशक्ति हिंसात्मक रुपमा प्रयोग हुनसक्थ्यो । यो बन्दोबस्त मजदुरहरूको लागि दमनकारी नै हुने गर्दछ । फासीवादको अन्तर्य विद्यमान भएको अवस्थामा मध्यम वर्गको समर्थनमा सत्ता कब्जा गर्ने पक्ष भने छुटेको हुन्छ ।’
यो उद्धरणमा निकै महत्वपूर्ण कुरा छ । हेडरको बुझाईमा मध्यम वर्गले सधैं ठूला व्यापारीको सहयोगी भूमिका खेल्ने गरेको छ र अमेरिकी फासीवादलाई आर्थिक मद्दत गर्दै आएको छ । प्रष्ट शब्दमा उनले अमेरिकी मध्यम वर्गका सबै तप्काभित्र बढ्दो निराशा र त्यसविरुद्ध लड्ने भावनालाई अस्वीकार गरेकी छैनन् । स–साना व्यापारीका साथै सेवामूलक कामका तलबी मजदुरहरूको ठूलो पूँजीप्रति असन्तुष्टि र आक्रोशले प्रतिक्रियावादी राजनीतिलाई उत्साहित बनाइरहेको थियो । जसको अर्थ ‘तल्लो तहका जनताबाट फासीवाद ’ आउन खोजिरहेको देखाउँथ्यो । हेडरका अनुसार ‘सिल्भर सर्ट’, ‘खाकी सर्ट’ र ‘ह्वाइट क्रुसाडर’जस्ता अतिरञ्जनापूर्ण विचार बोकेका समूहदेखि जातिवादी र साम्प्रदायिक व्यवहार गर्ने ‘कु क्लक्स क्लान’ र ‘अमेरिकी लिजन’ जस्ता समूह पनि यस्तो प्रतिक्रियावादी राजनीति गर्ने समूहभित्र पर्दछन् । तर ती समूहहरूबीच पनि ‘कृषि मजदुर महासङ्घ’ को परिचय भने बेग्लै भएको हेडरको भनाइ छ । कृषि मजदुर महासङ्घले विरोधाभासपूर्ण निम्न पूँजीवादी राजनीति गर्दैआएको थियो । समाजवादको कडा विरोध गर्ने यो महासङ्घले पूँजीवादी व्यवस्था मरिसकेको घोषणा पनि गरेको थियो । एकाधिकार र वित्तीय पूँजीको विरोध गर्ने यो महासङ्घले निजी स्वामित्वको सिद्धान्तको वकालत पनि गर्ने गरेको थियो । हेडरको विश्लेषणमा महासङ्घका यस्ता विरोधाभासपूर्ण विचारले उसको राजनीतिक छविलाई कमजोर बनाएको थियो र ठूला व्यापारीलाई महासङ्घ र अरु उस्तै मध्यम वर्गीय आन्दोलनमा आफ्नो नियन्त्रण बनाउन सजिलो भएको थियो ।
मध्यम वर्गमा फैलिएको असन्तोषको आगोले इटाली र जर्मनीमा फासीवादलाई बलियो बनाएको कुरा संरा अमेरिकी पूँजीपति वर्गले बुझेको थियो । त्यही भएर उनीहरूले एउटा फरक बाटो अंगाल्ने निर्णय गरे र मध्यम वर्गको असन्तोषलाई आफ्नै हितमा मोडे । हेडरको विचारमा यो आफैमा एउटा समस्या भने थिएन ः
‘कुनै पनि आन्दोलनको विकास हुन आर्थिक आधार आवश्यक पर्छ र कदाचित यस्तो सहायता संरा अमेरिकाका औद्योगिक र बैंकिङ समूहहरूबाट यतिबेला प्राप्त भएको भए उनीहरूले परिस्थितिलाई आफ्नो अनुकूलतामा ल्याउने राम्रो मौका पाउने थिए । यस्ता आर्थिक सहायता पर्दा पछाडिबाट हुने कुरा सर्वविदित हो र जनताको समर्थन पाउन बैड्ढ मालिकहरूको विरोध पनि जारी राख्ने गरिन्छ । नयाँ पार्टी सत्तामा आउने बित्तिकै बैंकमालिकहरूको प्रभाव खत्तम हुने आश्वासन पनि दिने गरिन्छ । यस्ता घोषणाले अरु असन्तुष्ट समूहहरूलाई पनि आन्दोलनमा समाहित गर्न उत्साहित गर्दछ । यसो गर्दा आफूले भोग्दै गरेका समस्याको दोष कसैलाई लगाउन उनीहरूले एउटा कमजोर शत्रु भेटाउने थिए ।’
यी कारणहरूले गर्दा, अमेरिकामा विकास हुने फासीवादको लागि कुनै अर्को तेस्रो पार्टीको आवश्यकता पर्ने थिएन । बरु सामाजिक र राजनीतिक सङ्कटले रुपान्तरण गरेको दुई दलीय बन्दोबस्तभित्रैको राजनीतिक सत्तापरिवर्तनले फासीवाद उदाउन सक्दथ्यो । हेडरको भनाईमा डेमोक्रेटहरू सत्तामा हुँदा रिपब्लिकनहरूले आफ्नो पार्टीभित्र ‘एकसेएक पूँजीपति र उद्योगपतिहरू’ लाई हुले । रिपब्लिकनहरूलाई यसो गर्नुपर्नाको कारण थाहा थियो । ‘उनीहरूले असन्तुष्ट भावनाप्रति ध्यान दिन नसकेको र पार्टी प्रणालीभित्र त्यसलाई सुनुवाई गर्न नसकेको भन्दा उनीहरूको क्षमताको अपमान हुनेछ’, उनले भनिन्, ‘तर उनीहरू पार्टीको पुनर्संगठन गर्न भने सफल भए ।’ त्यस अर्थमा रिपब्लिकनहरूले डेमोक्रेटिकभित्रका प्रतिक्रियावादी कुलीनहरूलाई पनि आफ्नो पार्टीमा समाहित गरेका थिए । उनीहरूले आफ्नो पार्टीको पुनर्संगठन गरी रुजवेल्ट अनि नयाँ सम्झौता मोर्चा (New Deal Coalition)को विरोध गरेका थिए । रिपब्लिकन पार्टीको पुनर्संगठनमार्फत फासीवादले जग बलियो बनाएको थियो । तर त्यसले दुई दलीय बन्दोबस्तमा पनि कुनै दखल पुगेको थिएन ।
फेरि पनि राष्ट्रिय पुनस्र्थापना प्रशासनको प्रमुख भूमिकाको कुरा आउँछ । बैंकमालिक र ठूला व्यापारीहरूले नेतृत्व गरेको नयाँ ‘अनुदारवादी दक्षिणपन्थ’ ले नयाँ सम्झौताअनुसार श्रम व्यवस्थाको विरोध गरे । ‘त्यसले वर्तमान प्रशासनविरुद्ध फासीवादको भ्रुण तयार पार्ने अपेक्षा गरिएको छ ।’ हेडरले यसलाई ‘एउटा नयाँ केन्द्र समूह’ (a new Central Group) भनेकी छन् । त्यो समूहमा प्रगतिशील रिपब्लिकन र धेरै समाजवादीहरूसमेत थिए । हेडरले भनेको परिवर्तित सत्तामा तेस्रो धारअन्तर्गत ‘एउटा अतिवामपन्थी पार्टी’ पनि स्थापना भएको थियो जसमा मुलतः कम्युनिष्टहरू समाहित थिए । त्यतिबेलासम्म कम्युनिष्टहरूको पनि संरा अमेरिकामा राम्रो प्रभाव बनिसकेको थियो । फासीवादी शासनअन्तर्गत त्यो पार्टी भने ‘फासीवादी अधिनायकवादी विचारको आधारमा’ प्रतिबन्धित गरियो । साथ फासीवादीहरूले नयाँ केन्द्र समूहलाई पनि ध्वस्त बनाएका थिए, अथवा कम्तीमा पङ्गु बनाएका थिए ।  यो सत्ता परिवर्तनको मुल पात्रहरू प्रतिक्रियावादी उद्योगपति र बैड्ढपतिहरू थिए । आर्थिक प्रभावका लागि उनीहरूले चालेका कदमले उनीहरूलाई शासक वर्गको थप सुधारवादी चिन्तनविरुद्ध उभ्यायो । यस्तो राजनीतिक गतिरोधको अवस्थामा पूँजीपति वर्गभित्रको प्रतिक्रियावादी हाँगाले रिपब्लिकन पार्टीलाई आफ्नो हातमा लियो र रुजवेल्ट र नयाँ सम्झौताविरुद्ध राजनीतिक युद्ध छेड्यो ।
‘कंग्रेसलाई भित्रैबाट कब्जा गर्न सकिन्थ्यो किनभने शक्तिशाली बन्दै गएको फासीवादले रिपब्लिकन पार्टीका प्रतिनिधिहरूलाई आफ्नो प्रभावमा पारिसकेको थियो । त्यहाँको विपक्षी कित्ता कमजोर थियो । त्यसमाथि फासीवादी समूहले राष्ट्रिय आर्थिक परिषद् गठन गरेको थियो । त्यही परिषद्मार्फत उनीहरूले आफ्नै आर्थिक योजना अघि सारे । व्यावसायिक प्रतिनिधित्वलाई पनि हर सम्भव यही योजनाले समेटेको थियो । राष्ट्रिय जीवनका आर्थिक पक्षहरूको यही परिषद्ले निर्णय गर्ने बन्दोबस्त मिलाइएको थियो । कंग्रेसको भूमिकालाई धेरै मात्रामा कमजोर बनाइएको थियो ।’
हेडरको विचारमा पूँजीवादको सङ्कटलाई आफ्नै हिसाबमा सुल्झाउने रुजवेल्ट सरकारको प्रयासले शासक वर्गभित्रको द्वन्द्वलाई अझ चर्काइदियो । प्रतिक्रियावादी र सुधारवादीहरूबीचको विभाजनको मार बाँकी जनतामाथि पर्न गयो ।
 मध्यम वर्गको राजनीतिक सीमा
माक्र्सवादी अर्थशास्त्री लिविस कोरेले भनेका थिए– फासीवादलाई बल दिने कुनै पनि मध्यम वर्गको आन्दोलन अन्त्यमा ठूला व्यापारी र वित्तीय पूँजीले सिध्याइदिने गर्दछ । आफ्नो दोस्रो कृति ‘द क्राइसिस् अफ् द मिडल क्लास’ मा कोरेले नयाँ सम्झौताको ठूला पूँजी र एकाधिकार कम्पनीलाई प्राथमिकता दिने नीतिले अमेरिकी निम्न पूँजीवादी वर्गमा फैलिएको निराशा थप गहिरो बनाएको भनेर लेखेका छन् । मूल्यवृद्धि गर्न र आर्थिक वृद्धि बढाउन मनग्य स्रोत साधनमा सीमा तोकेर नयाँ सम्झौतावादी सुधारकहरूले पूँजी र नियन्त्रित उत्पादनलाई ध्वस्त बनाउन बाध्य बनाए । राष्ट्रिय पुनस्र्थापना प्रशासनसम्बद्ध कृषि सुधार प्रशासनले कृषि उत्पादनमा सीमा थोप¥यो । कृषिमा लगानीकर्ताको सङ्ख्या घटाउन, मूल्य बढाउन र किसान तथा ग्रामीण मजदुरको क्रयशक्ति पुनस्र्थापन गर्न कृषि उत्पादनमा सीमा लगाएको थियो । तर यो कदमले साना व्यापारीमाथि दुष्प्रभाव पा¥यो । मूल्य बढेसँगै नाफा खाने यो वर्ग नै यसबाट नराम्रो मारमा प¥यो । उत्पादन घटाउनुको अर्थ कार्यालयको तल्लो तहको कर्मचारी, प्रबन्धक, लेखापाल, कानुन व्यवसायी, शिक्षक, इन्जिनियर, सरकारी कर्मचारी र अरु तलब खाने ‘नयाँ’ मध्यम वर्ग पनि दीर्घ बेरोजगारीको खाल्डोमा फस्नु थियो । कोरेका अनुसार यो अवस्थाले मध्यम वर्गलाई नयाँ सोच र गतिविधितिर आर्कषित ग¥यो । ‘सम्पत्ति सम्बन्धभित्रै वर्ग सङ्कट समाधान हुन्छ भन्ने भ्रममा मध्यम वर्ग बसेका छन् भने त्यो वर्गले नयाँ समाजवादी बन्दोबस्तका लागि अझ सचेत र आक्रामक रुपमा सङ्घर्षमा होमिएका श्रमिक वर्गको विरोधमा आफ्ना सबै पुराना प्रजातान्त्रिक आदर्श तिलाञ्जली दिनेछ । यसो गरेर मध्यम वर्गले आफूलाई फासीवादको भरभराउँदो आगोमा होम्नेछ ।’
यो अवस्थाले मध्यम वर्गले कहिल्यै पनि आर्थिक रुपमा आफ्नो विपक्षी वर्गसँग मिलेर एउटा स्वतन्त्र राजनीतिक कार्यक्रम बनाउन सक्दैन भन्ने देखाएको थियो । समाजवादी खतराबाट जोगिन पूँजीवादको रक्षा गर्न प्रतिबद्ध मध्यम वर्गका सबै तप्काबीचको सहमति यहीं समाप्त भयो । स–साना व्यापारी र किसानहरू समेटिएको ‘पुरानो’ मध्यम वर्गले एकाधिकार शक्तिलाई नियन्त्रण गर्न चाहेको थियो भने ठूला उद्योग र वित्तीय संस्थाहरूमा मनग्य तलब कमाउने प्रबन्धक र सुपरभाइजरहरूको नयाँ वर्गको चाहना पुरानो मध्यम वर्गको भन्दा ठीक विपरीत थियो । कोरेका अनुसार यसले गर्दा यी दुवै समूहलाई प्रतिक्रियावादी प्रचारबाजीसामू झुक्न लगाइदियो । अनि लगातारको सङ्घर्षले विद्यमान अस्थिरतालाई मात्र बढाउने र क्रान्तिकारी लक्ष्य बोकेको समाजवादी तथा आमूल परिवर्तनकारी मजदुर स·ठनको विकास हुने डरले पुरानो मध्यम वर्गभित्रका स्वतन्त्र उद्योगीहरूले प्रतिक्रियावादी विचारसामू आत्मसमर्पण गरे । कोरे अगाडि लेख्छन् ः
‘आफ्नो सुरक्षाको सुनिश्चितता र मजदुर आन्दोलनमाथि गरिने दमन नयाँ आदर्श बनेको छ । पुरानो मध्यम वर्गले एकाधिकारविरुद्धको लडाईमा आत्मसमर्पण गरेको छ । उनीहरूले आफूलाई एकाधिकार पूँजीवादभित्रैको सङ्घर्षमा सीमित गरेको छ । एकाधिकार पूँजीवाद दमनकारी राज्यले थोपरेको जाति र कठोर वर्ग विभाजनमा आधारित नयाँ बन्दोबस्त हो । धेरै तलब कमाउने कर्मचारीहरूले पनि यो बन्दोबस्तलाई अनुमोदन गर्ने गर्दछन् । उनीहरू कर्पोरेट उद्योगको तहगत सम्बन्धमा अभ्यस्त भइसकेका हुन्छन् र राष्ट्रको सि·ो सामाजिक र राजनीतिक जीवनमा आफूमाथिको दमनप्रति नकारात्मक विचार राख्ने गर्दैनन् ।’
फलतः स्वतन्त्रता, व्यक्तिवाद र पूँजीवादी प्रजातान्त्रिक आदर्शका ध्वजाबाहक बनेका मध्यम वर्ग आखिरमा विपरीत ध्रुवतिर पल्टिए । अनि कोरे लेख्छन्,‘एकाधिकार पूँजीको सर्वभक्षी मुखले खानबाट जोगिएको त्यही सम्पत्ति जोगाउने चाहनामा मध्यमवर्गले आफ्नो आदर्श नै त्याग्ने गर्दछन् । उनीहरू पनि प्रतिक्रियावादी वर्गको कित्तामा उभिने गर्दछन् ।’ तर त्यही चाहनाले यो वर्गलाई पूँजीवादी अधिनायकवादको अंगालोमा पु¥यायो । अनि यो वर्गले मजदुर वर्गको आमूल परिवर्तनकारी मुद्दामा भने विश्वास गरेन ।
वामपन्थी श्रमिक मोर्चाको डरले पनि यो नयाँ मध्यम वर्ग प्रतिक्रियावादी कित्तामा उभिन पुगेका थिए । उदाहरणको लागि कोेरेका अनुसार कम्पनीका प्रबन्धक र सुपरभाइजरहरूले आफ्ना मालिकको आदेशअनुसार मजदुरहरूलाई ज्यादै तल्लो स्तरको व्यवहार गर्थे । त्यसकारण, सम्पूर्ण मध्यम वर्गको प्रतिक्रियावादी चेतनाले गर्दा ओरालोलाग्दो पूँजीवादमा आफ्नो स्थान खस्कने डर अझ बलियो भयो । जसको परिणाम, वर्ग द्वन्द्व अझ पेचिलो बनेको थियो र अस्थिरता अझ बढाइदिएको थियो । माथि एकाधिकार शक्ति र तल समाजवादी क्रान्तिको भूतले मध्यमवर्गलाई फासीवादतिर तानिरहेको थियो । युरोपमा पनि त्यस्तै भएको थियो । कोरेले लेखेका छन्,
‘मध्यम वर्गबाट फासीवादको भूत जाग्ने गर्दछ । कुनै समय तानाशाहविरुद्ध क्रान्तिकारी युद्ध छेडेको वर्गले नयाँ तानाशाही जन्माउन विचारधारा विकास गर्न र जनसमर्थन जुटाउन मद्दत गरिरहेको हुन्छ । उनीहरूको यो कामले स्वतन्त्रता, समानता र प्रजातन्त्रको अवधारणाका बाँकी बचेका अवशेष समेत ध्वस्त हुने पारेकोे हुन्छ । तर मध्यम वर्ग आफैले भने फासीवादबारे बुझ्न सकेका हँुदैनन् ।’ ‘मध्यम वर्गको प्रतिक्रियावादी सोच ठूला पूँजीपति वर्ग र विपत्तीय पूँजीका ठेकेदारको प्रतिक्रियावादी सोचसँग एकाकार हुँदा फासीवादको विकास हुन्छ । पूँजीवादी उत्पादन सम्बन्धको सानै भए पनि हिस्सा बनेको मध्यम वर्ग स्वाधीन वर्गको रुपमा व्यवहार गर्न असक्षम छ ः मध्यम वर्गले आफ्नो अस्तित्व र जातीय परिचयको लागि गरेको स्वतन्त्र सङ्घर्ष प्रभावशाली पूँजीवादको आवश्यकताको अभिव्यक्ति बन्यो ।’
हेडर र कोरे दुवैले अमेरिकी फासीवाद संरा अमेरिकी पूँजीवादको ठूल्ठूला सङ्कटको परिणाम भएको निष्कर्ष निकाले । अर्को कारण भने पूँजीवादबाट समाजवादतर्फको क्रान्तिकारी रुपान्तरण थियो । सन् १९३४ र १९३५ को भौतिक अवस्थाको गहन वर्ग विश्लेषणमा आधारित भएर कसरी तात्कालीन अवस्थामा आएको सङ्कटले डेमोक्रेटिक र रिपब्लिकन पार्टीहरूलाई हलाइदिएको थियो भन्ने विषयमा दुवै लेखकले व्याख्या गरेका छन् । डिमोक्रेटिकहरू दुई खेमामा विभाजित भएका थिए । उदार प्रगतिशील रुजवेल्ट खेमा र मध्यदक्षिणपन्थी पार्टी कुलीन खेमा । दोस्रो खेमा र रिपब्लकन पार्टीका समान विचार राख्नेहरू मिलेर सन् १९३४ मा अमेरिकी लिबर्टी लिग स्थापना गरेका थिए । अर्को साल राष्ट्रिय पुनस्र्थापना प्रशासनलाई गैरसंवैधानिक भनी सर्वोच्च अदालतले घोषणा गरेपश्चात् रुजवेल्टको ‘समाजवादी’ नयाँ सम्झौताका विपक्षीहरूले ठूलो विजय मनाए । त्यो निर्णयले अमेरिकी प्रतिक्रियावादलाई बलियो बनायो । तथापि श्रमिक र वामपन्थीहरूको उदाउँदो शक्तिले रुजवेल्टको पक्षमा अझ बलियो शक्तिशाली मोर्चा बनाउन मद्दत ग¥यो । त्यही शक्तिको भरोसाले रुजवेल्टलाई ‘दोस्रो’ नयाँ सम्झौता अघि सार्न हौस्याएको थियो । परिणामतः सन् १९३६ मा रुजवेल्टले अर्को चुनावमा भारी मतका साथ विजय हासिल गरे । अनि त्यो विजयले उनका विपक्षीहरूलाई कमजोर बनायो ।
सबैभन्दा महत्वपूर्ण कुरा, हेडर र कोरेले अमेरिकी फासीवादको चालक शक्तिको रुपमा पूँजीवादी शासक वर्गलाई औंल्याएका छन् । आर्थिक पुनस्र्थापनाको गति रोकिएपश्चात मध्यम वर्गको प्रतिक्रिया सन् १९३४ मा सबल भए पनि एकाधिकार पूूँजीको सबभन्दा शक्तिशाली प्रतिक्रियावादी तत्व मिल्न आएपश्चात मात्र फासीवादले आफ्नो पञ्जा बलियो बनाएको थियो । वास्तविक घटना र धारले उनीहरूको विश्लेषण सही प्रमाणित गरेको छ । रुजवेल्टको भारी विजय भनेको मध्यम वर्गको भित्रभित्रै उत्साहित बनेको प्रतिक्रियाको प्रमाण थियो । लुसियानाका सिनेटर हुय लोङ्गको ‘धन बाँडौं’ अभियानले साना व्यापारी, तलबी कर्मचारी, सङ्घर्षशील किसान र दक्षिणका पिछडिएका मजदुहरूको समर्थन प्राप्त गरेको थियो । तर उनको सन् १९३५ सेप्टेम्बरमा हत्या भयो । यहुदीविरोधी लोकप्रिय रेडियो प्रवचक चाल्र्स कोगलिनले लोङ्गको अभियानलाई निरन्तरता दिन प्रयास गरेका थिए तर सन् १९३६ मा युनियन पार्टीको चुनावी असफलतासँगै यो अभियान सधैंका लागि बन्द भयो ।
तर शक्तिशाली रुजवेल्ट मोर्चाले प्रक्रियावादी शासक वर्गलाई अझ दक्षिणपन्थतिर धकेल्यो । चुनावभन्दा एक वर्षअघि संरा अमेरिकी गृहमन्त्री हेराल्ड एल.इकेसले भने, ‘बहुलठ्ठीपूर्ण आन्दोलन… यसले हाम्रो अमेरिकी संस्थाहरूमा घृणित फासीवाद थोपर्न खोजेको छ’ र त्यसमा ‘प्राकृतिक स्रोत मात्र होइन बरु अमेरिकाभरिका पुरुष, महिला र बालबालिकामाथि समेत दमन गरेर निकै धनी र शक्तिशाली बनेको वर्गको सशक्त हालीमुहाली छ ।’ ती वर्गलाई रुजवेल्टले आफ्नो दोस्रो चुनावमा ‘आर्थिक राजशाही’ भनेका थिए । त्यो वर्ग रुजवेल्टको राष्ट्रपतिकाल असफल बनाउन उद्यत थियो । उनीहरूलाई नै औंल्याएर रुजवेल्टका सहयोगीहरूले अमेरिकी प्रजातन्त्रमाथि खतराको घण्टी बजिरहेको भनेका थिए । रुजवेल्ट मोर्चाले भारी मतका साथ चुनाव जित्यो तर सन् १९३७–३८ को जाडोयाममा उनीप्रतिको जनसमर्थन लगभग पराजित अवस्थामा थियो । आर्थिक महासङ्कटभित्रको भयानक मन्दीले रुजवेल्टलाई सन् १९३८ मा किन्सियली समाधानलाई उल्टाउन बाध्य बनाएको थियो । रुजवेल्ट स्वभावतः वित्तीय अनुदार विचारका थिए । दुई सातापश्चात रुजवेल्टले अमेरिकी कंग्रेसलाई ‘अमेरिकी उद्योगमा आर्थिक शक्ति केन्द्रित गर्ने र त्यो केन्द्रिकरणले प्रतिस्पर्धा कम गर्ने परिणामका लागि बृहत् अध्ययन’ गर्न नयाँ सरकारी निकायका लागि बजेट माग गरे । रुजवेल्टले कंगे्रससमक्ष आफ्नो अनुरोध राख्दा सुरुमा ‘नराम्रो घटना मडारिरहेको’ भनेका थिए । त्यसले अमेरिकाभित्रका दुईवटा सत्य उजागर गरेको थियो–पहिलो, प्रजातान्त्रिक राज्य स्वंत्न्दा निजी शक्तिको विकासलाई जनताले सहने अवस्थामा प्रजातन्त्रको स्वतन्त्रता सुरक्षित हुने गर्दैन । त्यसको सार भनेको फासीवाद नै हुने गर्दछ । सरकारको स्वामित्व कुनै व्यक्ति, निश्चित समूह वा कुनै अर्को नियन्त्रणकारी शक्तिमा हुन्छ भने त्यो नै फासीवादको अन्तर्य हो । दोस्रो, यदि व्यापार प्रणालीले रोजगारी सृजना गर्दैन र सर्वस्वीकार्य जीवनपद्धति धान्ने तरिकामा उपभोग्य बस्तु उत्पादन र वितरण नहुँदा पनि त्यही समस्या आइलाग्ने गर्दछ ।’
फासीवादको ‘किटाणु’
फासीवादको बढ्दो खतराबारे रुजवेल्टको चेतावनीले संरा अमेरिकाभित्र र बाहिर फासीवादको विरोधमा ‘संयुक्त मोर्चा’ को लागि उदाउँदो प्रजातान्त्रिक र प्रगतिशील आवाजलाई अझ मुखरित ग¥यो । त्यही पृष्ठभूमिमा सन् १९३८ मा ए.बी. मागिल र हेनरी स्टेभन्सले ‘द पेरिल अफ फासिज्म’ नामको पुस्तक लेखेका थिए । हेडर र कोरेभन्दा पर गएर मागिल र स्टेभन्सले अमेरिकी फासीवादको मूलअन्तर्बस्तुबारे व्याख्या गरेका थिए । अमेरिकी एकाधिकार पूँजीवाद नै फासीवादको किटाणु भएको उनीहरुको निष्कर्ष थियो । तर सन् १९२९ को आर्थिक सङ्कटको समयसम्म फासीवाद एउटा मूर्त खतराजनक राजनीतिक शक्तिको रुपमा विकास भइसकेकोे थिएन ।
संरा अमेरिकी कम्युनिष्ट पार्टीको आधिकारिक नीति पछ्याउँदै मागिल र स्टेभन्सले फासीवादलाई अरु कुरासँगै ‘पूँजीपति वर्गभित्रकै सबभन्दा हिंस्रक खेमाको खुला आतङ्कवादी तानाशाही’ भनी व्याख्या गरे । साथै रिपब्लिकन पार्टीले उनीहरुको आधुनिकृत ‘लेसेज–फेरे’ सिद्धान्तमार्फत् फासीवादी प्रक्रियाको मलिलो माटो तयार पारिदिएको थियो ।
‘कार्यकारी अधिकारीहरुको हातमा शक्तिको केन्द्रिकरण र सँगै व्यवस्थापिकाको शक्ति कटौती…हार्डिङ, कूलेज र हुबर प्रशासनको हातमा रहेका ठूलो व्यापारले यसो गर्न प्रोत्साहित गरे । उनीहरुले बढेको शक्ति आफ्नो एकाधिकारको हितमा प्रयोग गरे । राष्ट्रपति र प्रदेशप्रमुखले आयोग, कार्यकारी अधिकारीहरु र न्यायाधीशहरु नियुक्त गरे, जनताबाट निर्वाचित गरिएनन् । अनि यसरी नियुक्त गरेका अधिकारीहरुलाई अपूर्व अधिकारले सम्पन्न गरियो ।’

फासीवादले इटाली र जर्मनीका प्रजातान्त्रिक सरकारहरु ध्वस्त बनाइसकेका थिए । मागिल र स्टेभन्सले संरा अमेरिकामा पनि त्यस्तै नतिजा आउने धेरै सम्भावना देख्दै थिए । अनि उनीहरुको तर्कअनुसार त्यसविरुद्ध सफल सङ्घर्ष गर्न फासीवादका रुपबारे विशिष्ट बुझाईको खाँचो थियो । शुरुबाटै उनीहरुले अमेरिकी फासीवादको रुप इटाली र जर्मनीको जस्तो नहुने कुरामा जोड दिइरहेका थिए । त्यसमाथि केही लेखकहरुले भने जस्तै ‘फासीवादको न्युनतम पक्ष’ को पछि लागेर आफ्नो देशको सन्दर्भमा त्यसैको खोजी गर्नु गल्ती थियो । मागिल र स्टेभन्सले लेखेका थिए,‘हरेक देशको राष्ट्रिय विशेषता, विशिष्ट आर्थिक र सामाजिक अवस्था तथा ऐतिहासिक परम्पराले त्यहाँ हुने फासीवादी आन्दोलन र त्यहाँको फासीवादको रुप निर्भर हुने गर्दछ ।’ हो, फासीवाद सन् १९२० र ३० दशकको अन्तर्राष्ट्रिय अवस्थाको पारिभाषिक विशेषता थियो । युरोपमा दुई वटा फासीवादी शासनको उदयले साझा राजनीतिक प्रणाली र ढाँचालाई सङ्केत गरेजस्तो देखिन्थ्यो । तर अमेरिकीहरुले ‘पेन्साल्भानियाको गल्लीमा एक जना मान्छे घोडा चढेको वा सानो जुङ्गा भएको ठूल्ठूलो स्वरमा भाषण गर्ने शक्ति पिपासु’ कहिल्यै देखेनन् । संसारभर फासीवादको उदय हुनुको कारणबारे कुनै एउटा सुत्र खोज्नुभन्दा विभिन्न स्थानमा ‘विविधतापूर्ण र अधिकांशतः जेलिएको’ स्वीकार्नु महत्वपूर्ण थियो ।
मागिल र स्टेभन्सले हेडर वा कोरेभन्दा पहिले नै इतिहासमा फासीवाद उदयका सङ्केत भेटाइसकेका थिए । उन्नाइसौं शताब्दीको उत्तर्राद्ध, औद्योगिकरण, एकाधिकार र साम्राज्यवादी बिस्तारमा विश्व पूँजीवादमा गहिरिएको अन्तर्विरोध नै त्यसको उद्गमथलो थियो । विशेषगरी उनीहरुले अमेरिकी फासीवादको जराको रुपमा दुई चरणको विकासलाई लिएका थिए–क) सन् १८८० को दशकयता एकाधिकार र वित्तीय रुपमा पूँजीको बढ्दो केन्द्रिकरण र ख)राज्यसत्ताको समानान्तर बिस्तार, विशेषतः देशभित्रका ठूला व्यापारिक निकायको स्वार्थ पुरा गर्ने क्षमताको विकाससँगै देशबाहिर आफ्नो साम्राज्यको बिस्तार पनि । त्यही अवस्थाबाट फासीवादको बीऊ छरियो । अर्को शब्दमा अझ केन्द्रिकृत शासक वर्गको राजनीतिक शक्तिमा गुणात्मक फड्को मार्नु नै फासीवादको विकास हुनुको पूर्वअवस्था थियो । प्रथम विश्वयुद्धको समाप्तिसम्ममा संरा अमेरिका संसारकै पूँजीवादी नाइके बनिसकेको थियो । त्यहाँका शासक वर्गका स्वार्थ देशभित्रका अरु शासकीय निकायमाथि कार्यकारी निकायको क्षेत्राधिकार बिस्तारले पूरा गरेको थियो भने देशबाहिर अरु आक्रामक साम्राज्य बिस्तार भइरहेका थिए ।
मागिल र स्टेभन्सका अनुसार यी परिवर्तनले अमेरिकी फासीवादका विरोधाभासमा योगदान गरेको थियो । संरा अमेरिकामा जर्मनीमा जस्तो भावनात्मक राष्ट्रवाद थिएन जसले हिटलरलाई समाजको तल्लोस्तरबाट शक्तिमा पु¥यायो । बरु संरा अमेरिकामा फासीवाद माथिबाट विकास भइरहेको थियो, नदेखिने गरी । मागिल र स्टेभन्सले भनेको ‘छद्मभेष’ लाई देख्नेहरु कमैमात्र थिए । फासीवादीहरुले यो तरिका(छद्मभेष) मा आफूलाई पुरै अभ्यस्त बनाइसकेका थिए । उनीहरुको राजनीति र व्यापारिक मुद्दा अमेरिकी छद्मभेषमा लुकाइने गरेको थियो । धेरै अमेरिकीहरुले अझै पनि विश्वास गर्ने गरेको मुक्ति र स्वतन्त्रताको नारा र आदर्शमा उनीहरुले जनसमर्थन जितिरहेका थिए । अझ कतिबेला त उनीहरु आफ्नो राजनीतिलाई ‘फासीवादविरोधी’ समेत भनिदिन्थे । वास्तवमा मागिल र स्टेभन्सको विचारमा संरा अमेरिकी फासीवादको विरोधाभास भनेको उनीहरुले आफ्नो छवि ‘शतप्रतिशत अमेरिकावादी’ बनाएका थिए । यो भ्रमपूर्ण धुम्रपर्दालाई उदारपन्थीहरुले मालिस गरिदिएका थिए । वास्तवमा संरा अमेरिकाको सन्दर्भमा उदारपन्थीहरु फासीवादका ‘शक्ति’ थिए ।
मागिल र स्टेभन्सले यी सबै गलत बुझाईका लागि मुलधारका टिप्पणीकारहरुका सोझो बुझाईलाई दोषी ठह¥याएकाथिए । उनीहरुले खासमा फासीवादको ‘वर्गचरित्र’ बुझ्न सकेका थिएनन् । केहीले फासीवादलाई ‘सबै वर्ग, पार्टी र क्षेत्रका स्वार्थ’ माथि अधिनायकवादी सत्ता स्थापना गर्ने प्रारम्भिक प्रयासको रुपमा अथ्र्याए । अरु केहीले फासीवादलाई माथिबाट पूँजीवादी अत्याचार र तलबाट समाजवादी क्रान्तिको खतराविरुद्ध भएको ‘निम्न मध्यम वर्गहरुको क्रान्ति’ को रुपमा बुझे । नर्मन थोमसजस्ता समाजवादीहरुसमेत फासीवादलाई माथिबाट ‘धनीको शासन’ वा ‘अन्तर्राष्ट्रिय बैङ्क मालिक’ तथा तलबाट संगठित सर्वहाराबाट राजनीतिक स्वाधीनता कायम राख्न मध्यम वर्गबाट सृजना भएको मतका रुपमा विश्वास गर्थे । त्यसमाथि ‘नक्कली आमूल परिवर्तनकारी नारा’ मा बढी जोड दिंदा निम्न मध्यम वर्ग र कामदार वर्गकै केही हिस्सालाई फासीवादप्रति आकर्षित बनाएको थियो ।
यस्ता सबै व्याख्याको खण्डन गर्दै मागिल र स्टेभन्सले ‘न त कुनै प्रचारबाजी न कुनै राजनीतिक दलको पछि लागेका जनता नै फासीवादको वास्तविक वर्गचरित्र बुझ्ने पुग्दो कसी हुन सक्ने’ विचारमा जोड दिए किनभने अधिकांश पूँजीवादी पार्टीहरुका घोषित कार्यक्रम उनीहरुका वास्तविक लक्ष्यभन्दा बद्नियतपूर्वक फरक हुने गर्दछ ।’ उनीहरुमध्ये ‘सबैभन्दा प्रतिक्रियावादी’ले विभिन्न कारणले आफूभन्दा भिन्न स्वार्थ बोकेका वर्गको समेत समर्थन हासिल गर्न सफल हुने गर्दछन् ।’ माक्र्सवादी हुनुको हैसियतमा मागिल र स्टेभन्स सिधै मूलकारणमा गएका छन्ः ‘कसैको आस्थाको भरमा नभई उसको काममा आधारित भएर भन्नुपर्दा फासीवाद एक प्रकारको वित्तीय पूँजीको शासनको हो ।’
मागिल र स्टेभन्स प्रजातन्त्रबाट फासीवादमा संक्रमण ‘एकै फड्को’ मा नहुने बरु यो त ‘प्रजातान्त्रिक अधिकारलाई कमजोर बनाउने लामो प्रक्रिया हो’ भएको विचारका पक्षपाती थिए । विशेष गरी संरा अमेरिकाको सन्दर्भमा यो सत्य थियो किनभने त्यहाँ प्रजातन्त्रबाट फासीवादको संक्रमण ‘प्रारम्भिक’ चरणमा थियो । उनीहरुले भनेकै थिए, अमेरिकी फासीवादको ‘किटाणु’ सन् १९२३–२९ सम्म भएको आर्थिक सङ्कटमा मौलाएको थियो । त्यो अवधिमा उत्पादन निकै बढी भएको भए पनि मजदुरहरुले आफूले उत्पादन गरेको भन्दा ‘थोरै मात्रा’ मा ज्याला पाउने गरेका थिए । उनीहरु आफ्नो श्रमबाट उत्पादन भएका सामान समेत आफैले किन्न असमर्थ थिए । यस्तो दयनीय अवस्थामा पनि संरा अमेरिकाले राष्ट्रिय अर्थतन्त्रमा ‘एक तहको अस्थायी स्थायित्व’ हासिल गरेको थियो । यसले संरा अमेरिकी वित्तीय पूँजीमा निर्भर केही पूँजीवादी राष्ट्रहरु विशेषतः युरोपलाई केही स्थायित्व दिएको थियो । तर त्यो छोटो अवधिको लागि मात्र भयो । सन् १९२० को दशकमा पूँजीवादी आधारभूत अन्तर्विरोध ‘प्रष्टै सतहमा’ आयो । कम्तीमा प्रणालीले कसरी काम गरेको छ भन्ने जानेका मानिसहरुलाई त्यो प्रष्टै भयो । ‘नयाँ प्राविधिक आविस्कारहरुसँगै प्राविधिक क्रान्तिको केही क्षेत्रमा उत्पादन र उपभोगबीचको दुरी अपूर्व रुपमा बढ्यो । फलतः उत्पादन प्रणालीको ठूलो हिस्सा बेकाम भयो र लाखौं–लाख मजदुरहरु स्थायी रुपमै बेरोजगार भए ।’ जब सन् १९२९ को आर्थिक सङ्कट आयो, स्थायित्व र समृद्धिका सबै फिल्मी कुरा भताभुङ्ग भए ।
सिक्दै, लडदै
विस्मृतिमा फालिसकिएका हेडर, कोरे र मागिल र स्टेभन्सका कृतिहरु अमेरिकी फासीवादबारे हाम्रो बुझाईका लागि आज निकै महत्वपूर्ण छन् । ती कृतिहरुले हामीलाई इतिहासका बारेमा मात्र भनेनन् तर फासीवादविरुद्ध कसरी लड्ने भन्ने तरिका पनि सिकाएका छन् । उनीहरुले गरेको वर्गविश्लेषणले फासीवादको राष्ट्रिय विशिष्टता र सन् १९२० र १९३० को दशकका फासीवादका प्रारम्भिक रुपबारे बुझ्ने आधार प्रदान गरेका छन् । सबैभन्दा महत्वपूर्ण कुरा त, उनीहरुले एउटा अलग फासीवादी पार्टी निर्माणमा कुनै ठूलो आकारको मध्यम वर्गीय आन्दोलन नभएको कुरा व्याख्या गरिदिएका छन् । निसन्देह उनीहरुमध्ये कोही पनि लेखकले मध्यम वर्गीय प्रतिक्रियाको बढ्दो खतराको सम्भावनालाई कम ध्यान दिएका थिएनन् । सन् १९४० मा ह्वाइट हाउसमा लोकप्रिय नेता ह्यु लङ जित्ने उनीहरुले भविष्यवाणी समेत गरेका थिए । तथापि हेडर र कोरेले स्पष्ट रुपमा औंल्याएजस्तै पूँजीवादी शासक वर्गको प्रतिक्रियावादी खेमाले नै संरा अमेरिकी फासीवादको निर्धारण र आकार दिएका थिए । फासीवाद यदि सफल भएको भए तलबाट मध्यवर्गको समर्थन प्राप्त गर्नुका साथै पुनःनिर्देशित पनि हुने थियो । सन् १९३८ मा मागिल र स्टेभन्स हेडर वा कोरेभन्दा अघि बढेर एकाधिकार पूँजीमा फासीवादको ‘किटाणु’ पहिचान गरेका थिए । विशेषतः सन् १९२० दशकको वैभवशाली समयमा मजदुरहरुमाथि दमनको संयन्त्रलाई त्यसपछिका सङ्कटपूर्ण दशकमा पनि संस्थागत गरिएको थियो । आज हेर्दा उनीहरुका ती विश्लेषणमा केही कमजोरी र गल्ती देखिन सक्छ । तर ती लेखकहरु आफ्नो वरपर विकास भइरहेको फासीवादी प्रक्रियाको भौतिकवादी आधारमा अध्ययन गर्ने पहिला विश्लेषकहरु हुन् । अमेरिकी फासीवादको चालक शक्ति अन्ततः ठूला व्यापार र वित्तीय पूँजी नै भएकोमा सबै सहमत छन् ।
जसरी अन्तरयुद्धको अवधिमा अमेरिकी फासीवादको प्रारम्भिक उदय र विश्व पूँजीवादी एकाधिकारको रुपमा संरा अमेरिका विकास एकै समयमा समानान्तर रुपमा भएजस्तै त्यसको परिपक्व रुप आजको संरचनागत सङ्कट र उँधोगतिको समयमा देखिएको छ । मागिल र स्टेभन्सको शब्दमा ‘किटाणु’ आज पूर्ण रुपमा विकास भएको छ । मध्यवर्गीय असन्तोषको परिणामस्वरुप उदाएको ट्रम्पको नवफासीवादी राष्ट्रपतिकाल ओबामा शैलीको नवउदारवादबाट गुणात्मक सम्बन्धविच्छेद हो । त्यसकारण समिर अमिनले भनेका छन्, यो ‘समकालीक पूँजीवादमा फासीवादको प्रतिगमन’ हो ।
ट्रम्पलाई राष्ट्रपति कार्यालयमा कसले पु¥यायो र अब हामीले के अपेक्षा गर्ने भन्ने बुझ्न वर्गीय विश्लेषण ज्यादै महत्वपूर्ण कुरा हो । एउटा कुरा पक्का होः गोरा, रिपब्लिकन, सौखिनदार निम्न मध्यम वर्गका साथै मध्यपश्चिम र दक्षिणका निम्नमध्यम वर्गीय अरु रिपब्लिकन सांसदहरुकै आडमा ट्रम्पले राष्ट्रपति चुनाव जितेका हुन् । साथै अझै पनि रिपब्लिकनहरुले नेतृत्व गरेको काङ्ग्रेस (अमेरिकी संसद) सँग ट्रम्पले गरेको क्षणिक गठबन्धन उत्तिकै महत्वपूर्ण हो । कुनै दिन रिपब्लिकनहरुले ट्रम्पको अक्षमता वा अयोग्यताबारे कुरा उठाउन सक्छन् वा ट्रम्प सरकारको रुससँगको सम्बन्धबारे अहिले चालु विवादका कुरा उनीहरुले उछाल्न सक्छन् । तर काङ्ग्रेसभित्रका रिपब्लिकन नेताहरु ट्रम्पलाई विदेशमा संरा अमेरिकी सेना परिचालन गर्ने र देशभित्र जनकल्याणकारी सेवालाई ध्वस्त बनाउने योजना कार्यान्वयनको लागि अघिल्लो मोर्चामा बस्ने व्यक्तिको रुपमा उपयोग गर्न पछि पर्ने छैनन् ।
वास्तवमा अमेरिकी नाजीकरण धेरै कोणबाट उसका जर्मनी पुर्खाको तुलनामा भिन्न खालको हुनेछ । हिटलर आफू जर्मनीको चान्सलर बनेको सन् १९३३ को जनवरीदेखि उनलाई पूर्ण शासनको अधिकार दिइएको जुलाई १९३४ को बीचमा उनले थोपरेको निरपेक्ष र तलदेखि माथिको फासीवादी प्रक्रियाभन्दा अमेरिकाको प्रक्रिया नितान्त भिन्न हुनेछ । संरा अमेरिकामा ‘लाइनमा ल्याउने’ समानान्तर प्रक्रिया ट्रम्प सत्तामा आएको कुरासँग भन्दा रिपब्लिकन संस्थापनले सङ्घीय, प्रादेशिक र स्थानीय तहमा के हासिल गर्दछ भन्ने कुरामा निर्भर रहन्छ । ट्रम्पलाई मुलतः गोरा, मध्यमवर्ग, दक्षिण र मध्यपश्चिमका सौखिनदार समर्थकहरुले जिताएका हुन् । तर उनको वृहत् राजनीतिक आधार आज ती पच्चिस प्रान्तमा मात्र सीमित छैन जहाँ रिपब्लिकनको तलदेखि माथिसम्म राजनीतिक सत्ता हातमा छ । अरु डिमोक्रेटिक गर्भनर भएका सातभन्दा बढी प्रदेशमा पनि उनको प्रभाव बिस्तार भएको छ । त्यहाँ टी पार्टी शक्तिले ट्रम्पभन्दा अघि चुनाव जित्दै आएका थिए र आज उनीहरुले चुनावको बेला ट्रम्पलाई समर्थन गरेका थिए । सन् २०१० को मध्यावधि चुनावदेखि नै उनीहरुले गोरा मध्यमवर्गको असन्तोषलाई फल्नेफुल्ने अनुकूल बाटो बनाइसकेका थिए । जसको परिणाम ट्रम्पलाई ह्वाइट हाउसमा पु¥यायो ।
तर वास्तवमा जिम्मेवार को हो ? संरा अमेरिकामा भइरहेका निश्चित विकासका आधारमा अमेरिकी नाजीकरणले अधिनायकत्वको बाटोभन्दा सहकार्यको बाटो लिइरहेको देखापर्दछ । रिपब्किनमाथि नियन्त्रण गर्नेहरुले नै आज संरा अमेरिकाका सबै तहका सरकार सामूहिक रुपमा नियन्त्रणमा राखेको छ । वित्तीय पूँजीका धेरैजसो नेतृत्वदायी व्यक्तिहरु जस्तै हिलारी क्लिन्टनलाई सहयोग गर्ने पूँजीपतिहरु समेत आज नयाँ प्रकारको आर्थिक नियमहरुमाथि ट्रम्प सरकारको हमला र हस्तक्षेपबाट फाइदा लिन कम्मर कसेर लागिपरेका छन् । विश्व द्यितो बजारमा तैरिरहेको ‘ट्रम्प उभार’ले नयाँ सरकारले आर्थिक नियमहरुमाथि गरिरहेको हमला र हस्तक्षेपबारे प्रष्ट बनाइसकेको छ । सन् १९३० को दशकमा शासक वर्गमा आएको विभाजन प्रगतिशील रुजवेल्ट खेमा र फासीवादी एकाधिकारवादीहरुबीचको द्वन्द्वको परिणामका रुपमा देखापरेको थियो । तर समयान्तरमा उनीहरुले आफूबीचको यो विवाद समाधान गरेका थिए । हेडर, कोरे, मागिल र स्टेभन्सहरु आज जीवित भएका भए उनीहरुले आज जे भइरहेको छ, त्यो त्यत्तिबेला हुने थियो भन्ने थिए ।
समाप्त
प्रस्तुतिः नीरज
मन्थली रिभ्यु जून २०१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *