भर्खरै :

दैलेखका विभिन्न स्थानमा कार्यकर्ता भेला

दैलेखका विभिन्न स्थानमा कार्यकर्ता भेला

दैलेख, २७ माघ । चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ५ को लेखडाँडामा नेपाल क्रान्तिकारी महिला सङ्घको आयोजनामा पार्टी कार्यकर्ता भेला भयो ।
उक्त भेलामा नेमकिपा चामुण्डा बिन्द्रासैनीका नगर समिति अध्यक्ष निरक शाहीले कम्युनिस्टहरूले सामाजिक कार्यअगाडि बढाउनुपर्ने चर्चा गर्दै व्यक्तिगत हितका लागि काम गर्नेहरू कम्युनिस्ट हुन सक्दैनन् भन्नुभयो । धेरैपटक सरकारमा गएर पनि शिशु स्याहार केन्द्र स्थापना गर्न नसक्नु, युवाहरूलाई स्वदेशमै रोजगारी दिन नसक्नु नेपाली जनताप्रतिको विश्वासघात हो भन्दै उहाँले संशोधनवादीहरू पुँजीवादी सत्ताका मालिक हुन्छन् भन्नुभयो ।
नेमकिपा दैलेखका सदस्य केशेन्द्र कार्कीले पार्टी स्थापनाका आधारहरूबारे चर्चा गर्दै नाममात्रका कम्युनिस्टहरूले कम्युनिस्टकै बदनाम गर्ने भएकाले देशमा परिवर्तन ल्याउन सचेत जनताको सङ्गठित पार्टी आवश्यक छ भन्नुभयो ।
नेमकिपाको ५१ औँ पार्टी स्थापना दिवस र पार्टीको आठौँ महाधिवेशनको अवसरमा सम्पन्न उक्त भेलामा नेक्राशिसङ्घका दीपक शाहीले योग्यताअनुसारको काम र कामअनुसारको ज्याला हुनुपर्ने उल्लेख गर्दै मावि शिक्षा अनिवार्य र निःशुल्क तथा उच्च शिक्षा निःशुल्क भएमा देशको विकास छिट्टै हुनसक्ने प्रस्ट पार्नुभयो ।
भेलामा नेक्रामसङ्घका कमला कार्की, वसन्ती विक, पार्वती, पुष्पा कार्की, रविना कार्कीले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो । विद्यार्थी दीपिका कार्की र नेत्रविक्रम कार्कीले पनि बोल्नुभएको कार्यक्रमको सभापतित्व नम्रता कार्कीले गर्नुभएको थियो ।
यसैगरी, नेमकिपा चामुण्डा बिन्द्रासैनी वडा नं. ७ को आयोजनामा माघ २५ गते पार्टी कार्यकर्ता भेला भयो ।
नेमकिपाको ५१ औँ पार्टी स्थापना दिवस तथा नेमकिपाको आठौँ महाधिवेशनको अवसरमा सम्पन्न उक्त भेलामा नेमकिपा दैलेखका सदस्य कृष्णप्रसाद ढकालले पार्टी स्थापनाका आधारहरूबारे प्रस्ट पार्दै नेमकिपा नेपालको कम्युनिस्ट आन्दोलनको प्रकाशस्तम्भ हो भन्नुभयो । सत्ता बाहिर रहँदा जनताका कुरा गर्ने र सत्तामा पुग्दा जनविरोधी काम गर्नेहरू जनताका शत्रु हुन् भन्दै उहाँले संशोधनवादीहरूले विश्वको कम्युनिस्ट आन्दोलनलाई बदनाम गरेको प्रस्ट पार्नुभयो ।
नेमकिपा दैलेखका सदस्य धनकुमारी शाहीले सम्पूर्ण महिलाहरू राजनैतिकरूपले सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा वडा नं. ७ को निर्वाचित सदस्य लवराज ढकालले पार्टी कार्यकर्ताको क्रियाशीलताले पार्टीलाई ऊर्जा मिल्ने उल्लेख गर्दै समाजवादी व्यवस्था स्थापनाका लागि जुट्नु आवश्यक छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवस र नेमकिपाको आठौँ महाधिवेशनको अवसरमा सम्पन्न उक्त कार्यक्रममा जननिर्वाचित सदस्य जयकला विक, वसन्ता खनाल, डिल्ली खनाल, सूर्य नेपाली, केशव शाही तथा नेक्राशिसङ्घका दीपक शाहीले पनि पार्टी स्थापनाबारे चर्चा गर्नुभएको थियो । कार्यक्रम शिवराज चौलागाईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
त्यस्तै, माघ २२ गतेका दिन नेमकिपा चामुण्डा बिन्द्रासैनी नपा वडा नं. १ को आयोजनामा पार्टी कार्यकर्ता भेला सम्पन्न भयो ।
नेमकिपाको ५१ औँ पार्टी स्थापना दिवस तथा आठौँ महाधिवेशन (फागुन १६ – १९) को सन्दर्भमा सम्पन्न उक्त भेलामा नेमकिपा दैलेखका सल्लाहकार सदस्य तथा नेक्राकिसङ्घका केन्द्रीय सदस्य निरक शाहीले अनुशासित कार्यकर्ता र क्रान्तिकारी पार्टीको नेतृत्वले मात्र समाजवाद स्थापना गर्न सक्ने प्रस्ट पार्नुभयो । सरकार बाहिर रहँदा परिवर्तनका कुरा गर्ने र सरकारमा पुग्दा जनविरोधी काम गर्नेहरू चिन्न नसक्दा नेपाली जनतालाई अझ दुःख हुनसक्ने उल्लेख गर्दै उहाँले पार्टी गतिविधि निरन्तर बढाउनुपर्ने बताउनुभयो ।
नेमकिपा दैलेखका सदस्य केसेन्द्रप्रकाश कार्कीले पार्टीको आठौँ महाधिवेशन सफल पार्न आग्रह गर्दै महँगी बढाउनेहरू जनताका दुश्मन हुन् भन्नुभयो । नेमकिपाले चुनावलाई जनताको चेतनास्तर नाप्ने ब्यारोमिटरका रूपमा लिएको उल्लेख गर्दै उहाँले चुनाव बहिष्कार गर्नेहरू चुनावबाटै समाजवाद आउने सपना देख्छन् भन्नुभयो ।
गोरख केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टी जिल्ला समिति सचिव सुरेन्द्र शाही, पार्टी जिल्ला सदस्य मनबहादुर विक, नेक्राशिसङ्घका दीपक शाही, उपेन्द्र बिष्ट, हिरालाल तारामी, नन्द बलामीले पनि आ–आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *