भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
भक्तपुर, २८ माघ । प्रभात इङ्गलिस सेकेन्डरी स्कूलको ४३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा जिल्लास्तरीय चित्रकला प्रतियोगिता सोमबार सम्पन्न भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सङ्घीय सांसद प्रेम सुवालले निर्णायक स्वागत राईलाई प्रतियोगिता सामग्री हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा सांसद सुवालले नयाँ पुस्तालाई सानो उमेरदेखि नै शिक्षाको साथसाथै सङ्गीत, नृत्य, वाद्यवादन, चित्रकला, अभिनयकला सिकाउनु आवश्यक भएकोले विद्यालयले यसतर्फ आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरका सबै विद्यालयले शिक्षासँगै खेलकुद, सङ्गीत, चित्रकलालगायत सिकाउनु जरुरी छ । यो उदाहरणलाई नेपालभरि फैलाउनु जरुरी छ । त्यही उद्देश्यले यो चित्रकला प्रतियोगिता आयोजना गरिएको हो ।”
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले प्रभात शैक्षिक गुठीअन्तर्गत सञ्चालित गैरनाफामूलक विद्यालयले विद्यालयमा अध्ययनरत बालबालिकाहरूको चौतर्फी विकासका लागि चित्रकला, सङ्गीतलगायत विषयहरूको शिक्षण तथा तालिम सञ्चालन गर्दै गरेकोमा सराहना व्यक्त गर्दै चित्रकलाको माध्यमबाट विश्वमा भइरहेको अन्याय, अत्याचार, भ्रष्टाचार, साम्राज्यवादी हमलाजस्ता विषयहरूलाई विश्वासामु उजार गर्न सकिने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य गौतमप्रसाद लासिवाले भक्तपुर कला–संस्कृतिको निम्ति ख्यातीप्राप्त छ र चित्रकलाको माध्यमबाट इतिहास र दस्ताबेजको रूपमा काम गर्ने भएकोले चित्रकलाबारे पृथक महत्व रहेको बताउँदै प्रतियोगितामा सहभागी सबैलाई सफलताको कामना गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अर्का सदस्य लक्ष्मीभक्त लासिवाले मानिसको मनको भावना तस्बिरको रूपमा उतार्नु चित्रकला भएको र चित्रकला पनि विद्यार्थीको सिकाइको महत्वपूर्ण उपलब्धिको रूपमा लिनुपर्छ भन्नुभयो ।
विद्यालयका प्राचार्य वदनकेशरी प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहप्राचार्य स्वर्णिमा मूल र इन्चार्ज मीरा दुगुजुलगायतले बोल्नुभएको थियो ।
Leave a Reply