भर्खरै :

बदलिँदो जीवनशैलीसँगै नसर्ने रोगको जोखिम पनि बढ्दै गएको तर्फ सचेत हुनुपर्ने

बदलिँदो जीवनशैलीसँगै नसर्ने रोगको जोखिम पनि बढ्दै गएको तर्फ सचेत हुनुपर्ने

भक्तपुर, ३० माघ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालको आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित युवा लक्षित चारमहिने आधारभूत पाक शिक्षा र एड्भान्स सिलाइ तालिमको समापन तथा प्रमाणपत्र वितरण बुधबार एक कार्यक्रमबिच सम्पन्न भयो ।
कार्यक्रममा सांसद सुवालले सिलाइ व्यवसाय आफैमा एउटा महत्वपूर्ण पेसा भएको बताउँदै सबै पेसा व्यवसाय सम्मानजनक भएको बताउनुभयो । सन्तुलित भोजन पनि निरोगी हुने आधार भएको बताउँदै उहाँले पाक शिक्षा सन्तुलित भोजन गर्न सिकाउने सीप हो भन्नुभयो ।
बदलिँदो जीवनशैलीसँगै नसर्ने रोगको जोखिम पनि बढ्दै गएको तर्फ सचेत हुनुपर्ने बताउँदै सांसद सुवालले नयाँ पुस्तालाई राम्रो अध्ययन गर्न, सीप सिक्न, सामाजिक गतिविधिमा क्रियाशील हुन सिकाउनुपर्ने बताउनुभयो ।
उहाँले सानै उमेरदेखि बालबालिकाहरूलाई परम्परागत सीप प्रदान गर्न सके उनीहरूको भविष्य उज्ज्वल हुने बताउँदै युवाहरूलाई मद्यपान र धूमपानबाट टाढा राख्नुपर्ने बताउनुभयो ।
बदलिँदो समयसँगै पेसा व्यवसायहरू पनि परिष्कृत हुँदै गएको छ भन्दै उहाँले विद्यार्थीहरूलाई सानो उमेरदेखि चित्रकला, कलाकारितातर्फ लाग्न प्रेरित गर्नु अभिभावक तथा शिक्षकको दायित्व भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले युवा विद्यार्थीहरूलाई विश्वविद्यालयको प्रमाणपत्रसँगै हातमा कुनै एउटा सीप प्रदान गर्ने उद्देश्यले सीपमूलक तालिम सञ्चालनलाई निरन्तरता दिँदै आएको बताउँदै तालिमबाट प्राप्त ज्ञान र सीपले युवालाई आत्मनिर्भर बनाउन मद्दत पु¥याउने बताउनुभयो ।
आफूले प्राप्त गरेको ज्ञान र सीपमा दक्षता हासिल गरी व्यवसायतर्फ लाग्नुपर्ने बताउँदै उहाँले आफूसँग भएको सीपलाई परिष्कृत गर्न अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।
युवाहरूले समाज निर्माणमा पनि विशेष योगदान पु¥याउनेतर्फ ध्यान दिनुपर्ने बताउँदै उहाँले युवाहरूमा स्वयम्सेवाको भावना आवश्यक भएको र आजको प्रशिक्षार्थी भविष्यका कुशल प्रशिक्षक पनि हुने हुँदा राम्रोसँग ज्ञान हासिल गर्न प्रेरित गर्नुभयो ।
उपप्रमुख रजनी जोशीले युवाहरूलाई स्वदेशमै रोजगारी सुनिश्चितताको लागि सीपमूलक तालिमलाई भक्तपुर नपाले निरन्तरता दिँदै आएको उल्लेख गर्दै सम्पदा संरक्षण गरी नयाँ पुस्ताको सेवा गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले चुनावी घोषणापत्रअनुसार भक्तपुर नपाले काम गरिरहेको स्पष्ट पार्दै युवाहरूलाई हातमा सीप दिएर स्वरोजगार र आत्मनिर्भर बनाउन सीपमूलक तालिम सञ्चालनमा जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं महिला, बालबालिका तथा समाज कल्याण शाखाका संयोजक रोशनमैँया सुवालले ‘एक व्यक्ति एक सीप’ को उद्देश्यले भक्तपुर नपाले तालिम सञ्चालन गरेको उल्लेख गर्दै प्रशिक्षार्थीहरूले व्यवसायी, उद्यमीको रुपमा विकास हुने प्रयास गर्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने कार्यपालिका सदस्य छोरीमैँया सुजखू, महिला सदस्य सुमित्रा बोहजू, तालिमका प्रशिक्षक सुनिल सुवाल र एड्भान्स सिलाइका प्रशिक्षार्थी सरिना प्रजापतिले पनि बोल्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुवालले तालिमका प्रशिक्षक र प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *