भर्खरै :

सांस्कृतिक स्तर उठाउनु आवश्यक

सांस्कृतिक स्तर उठाउनु आवश्यक

भक्तपुर, ३० माघ । नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा मङ्गलबार डकर्मी भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले डकर्मी साथीहरूले आफ्नो पेसाका अतिरिक्त अध्ययनलाई जोड दिई सांस्कृतिक स्तर उठाउनु आवश्यक भएको बताउनुभयो ।
“पार्टी एवं जनवर्गीय सङ्गठनका हरेक कार्यक्रमहरू अनुशासित एवं सभ्य हुनुपर्छ । कार्यक्रमलाई औपचारिकतामा सीमित राख्नुहुन्न, पार्टीका हरेक कार्यक्रमहरू गुणात्मक र सकारात्मक प्रतिफल हासिल गर्ने उद्देश्यका हुनुपर्छ”, उहाँले भन्नुभयो ।
विदेशभन्दा स्वदेशमै बसेर काम गर्ने सोच बनाउनुपर्ने र पार्टीको उद्देश्यलाई पूरा गर्न सबै कार्यकर्ताहरूले आ–आफ्नोतर्फबाट इमानदारीपूर्वक सेवा गर्नुपर्नेमा केन्द्रीय सदस्य गोसाईले जोड दिनुभयो ।
नेमकिपाले नेपालको राजनीतिलाई दिशानिर्देश गरिरहेको चर्चा गर्दै उहाँले पार्टी अध्यक्ष नारायणमान बिजुक्छँे (रोहित) ले कामदार जनताको भविष्य उज्ज्वल पार्ने लक्ष्यसहित पार्टीको विकासमा ६० वर्षभन्दा बढी समयदेखि क्रियाशील रहेको र उहाँ नेपालको राजनीतिमा एक असल उदाहरण बन्न सक्नु पार्टीको लागि गौरवको विषय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “काङ्ग्रेस, एमाले र एमाओवादीको सङ्कीर्ण सोचकै कारण ख्वप विश्वविद्यालय विधेयक पारित भइरहेको छैन ।”
नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवालले नेमकिपा स्थापनाका आधारहरूबारे चर्चा गर्दै कम्युनिस्ट आन्दोलनलाई खोटो विचारबाट जोगाउन नै नेमकिपा स्थापना भएको हो भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष विष्णुराम दुमरूको सभापतित्वमा भएको उक्त कार्यक्रममा रमेश दुमरूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *