यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ८ फागुन । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा २०४६ सालको ऐतिहासिक जनआन्दोलनको क्रममा वीरगति प्राप्त गरेका वीर सहिदहरूको सम्मानमा बिहीबार ३६ औँ सहिद दिवस सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले २०४६ सालको जनआन्दोलनमा पहिलो सहिद नेपाल मजदुर किसान पार्टीका युवा–विद्यार्थी हुनुभएको थियो† घाइते योद्धा र जेलनेल भोग्नेहरू पनि भक्तपुरका युवा विद्यार्थी नै हुनुहुन्थ्यो भन्नुभयो ।
उहाँले भन्नुभयो, “जनआन्दोलनको बलमा २००७ सालमा बहुदल स्थापना भएको थियो भने २०४६ सालमा बहुदलको पुनःस्थापना भयो । २००७ सालका तत्कालीन राजा, राणा र नेपाली काङ्ग्रेसको दिल्ली सम्झौताबाट बहुदल (प्रजातन्त्र) आएको थियो । २०४६ सालमा भारतको शासक दलका नेताहरू नेकाका नेता गणेशमान सिंहको क्षेत्रपाटीस्थित चाक्सीबारीको घर आँगनमा भएको भेलामा सम्बोधन गर्न आएका थिए ।”
तत्कालीन राजाको प्रतिगमनविरुद्ध २०५९÷६३ सम्ममा भएको जनआन्दोलनको बलबाट प्रतिनिधिसभा पुनःस्थापना भएको उल्लेख गर्दै उहाँले त्यसबेला माअोवादी केन्द्रका नेताहरू त्यो आन्दोलन आफ्नो कारण सफल भएको दाबी गर्छन् तर उहाँहरूलाई हतियार र तालिम भारतबाटै भएको सार्वजनिक भएको हो भन्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, “२००७ सालअघि नेपाल कम्युनिस्ट पार्टीका पुष्पलाल श्रेष्ठ र बीपी कोइरालाले भारतीय पुँजीको सेवा गरेको राणा शासनविरुद्ध आन्दोलन उठाउनुभएको थियो । तर, २००७ सालको परिवर्तनपछि नेपाली काङ्ग्रेसका बीपी, सुवर्णशमशेर, गणेशमान सिंह राणा प्रधानमन्त्री मोहन शमशेरलाई मानेर मन्त्री बन्न जान्नुभयो ।”
उहाँले भन्नुभयो, “२००७ सालपछि मातृकाप्रसाद कोइराला पनि प्रधानमन्त्री भए । त्यसबेला भारतसँग मिलेर नेपालको उत्तरी सिमानाको १२ स्थानमा भारतीय सुरक्षा चौकी राख्न सहमति गरियो । २०४६ सालको आन्दोलनपछि नेपालको हितविपरीत नेपालका नदीनाला भारतको साझा हुने गरी दिल्ली सम्झौता गरियो भने महाकाली, कर्णाली, अरुण, पश्चिमसेती, मुगु, कर्णालीलगायत नेपालका नदीनाला र जलस्रोत भारतलाई सुम्पियो । २०६३ सालपछि नेपालमा जन्म भएका विदेशीलाई समेत नेपाली नागरिकता दिने कानुन बनाइयो ।२०७२ सालमा संविधान घोषणादेखि यहाँसम्म पुग्दा जन्मको आधारमा नेपाली नागरिकता लिएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने कानुन बनाइयो ।”
उहाँले अगाडि भन्नुभयो, “सरकारमा गएका दलका नेताहरू २००७ सालको बहुदल (प्रजातन्त्र) पुनःस्थापनालाई ‘जनक्रान्तिले ल्याएको रूपान्तरण, उज्यालो ढोका उघ्रेको दिन आदि दाबी गर्दै छन् । कर्णाली प्रदेशका ९६ प्रतिशत जनता स्वस्थकर पानीबाट वञ्चित छन् भने २६ प्रतिशत जनताको घरमा बिजुली पुगेको छैन । करोडौँ युवालाई वैदेशिक रोजगारीमा पठाएर सरकारहरू दाल, चामल, तरकारी, फलफूलसमेत महँगोमा भारतबाट खरिद गर्दै छन् भने भारतीय एकाधिकार पुँजीको सेवा गर्दै छन् ।”
“सहिदको सपना र प्रजातन्त्रको अर्थ सरकारी उद्योग बेच्ने होइन, देशलाई २६ खर्ब बढी ऋण बोकाएर सरकारका नेताहरू आ–आफ्नो थातथलो छाडेर सङ्घ र प्रदेशको राजधानीमा बसाइँसराइ गर्ने होइन, काठमाडौँ उपत्यकालाई ध्वनि, धुवाँ, धुलो, रसायन प्रदूषणमा विश्वकै पहिलो स्थान बनाउने होइन ।” उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालन गर्न नदिने सहिदको सपना र प्रजातन्त्र होइन । ख्वप विश्वविद्यालयलाई विरोध गर्नेहरू सत्रौँ अठाराँै शताब्दीका मानिस हुन् । सहिदको सपना शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने, युवालाई देशभित्र रोजगारी दिने, देशलाई आत्मनिर्भर बनाउने हो । सहिदको सपना र प्रजातन्त्रको अर्थ देश र जनताको निःस्वार्थरूपमा सेवा गर्नु हो । विदेशीको भरमा होइन, नेपाली जनताको भरमा आन्दोलन उठाउनु हो ।”
नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले २०४६ सालपछि देशमा धेरै सरकार गठन भए तर ती सरकारले जनताको हितमा काम गरेनन्† सहिदको बलिदानबाट सरकारमा पुगेकाहरूले सहिदहरूकै अपमान गरिरहेका छन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “देशमा सङ्घीयता आए पनि स्थानीय तहलाई सङ्घ सरकारले आफ्नै एकाइजस्तो व्यवहार गर्नु सङ्घीयता र संविधानको भावनाविपरीत कार्य हो । स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनु र जनतालाई थप अधिकार प्रदान गर्दै जानु नै सङ्घीयता हो ।”
देशको आर्थिक अवस्था थप जटिल बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले सरकारको राजस्वले चालु खर्च धान्न नसक्ने अवस्था छ† देश विदेशी ऋणको पासोमा फस्दै छ† यसको जिम्मेवार शासक दलहरू नै हुन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “देशमा विद्रोह हुने डरले नेपाली युवाहरूलाई घरखेत बैङ्कमा राख्न लगाएर रोजगारीको नाउँमा विदेश धपाउँदै छ । युवाहरूलाई विदेश पठाउँदैमा देशमा क्रान्ति रोकिनेछैन ।”
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेले नेपाल मजदुर किसान पार्टीले कामदार वर्गको शासन सत्ता स्थापना गर्न समाजवादी गणतन्त्रको प्रचार अभियानमा निरन्तर लागिपरेको बताउँदै नेपाल कम्युनिस्ट आन्दोलनमा नेमकिपा प्रकाशस्तम्भको रूपमा काम गर्दै छ भन्नुभयो ।
सहिदको परिवारको तर्फबाट पुष्परत्न शाक्यका छोरा पुञ्जरत्न शाक्यले प्रजातान्त्रिक र गणतान्त्रिक भनिएका शासकहरूले वीर सहिदहरूको रगत बिर्सनु जनघात हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि, सहिद परिवार र घाइते योद्धाहरूले सहिदहरूको प्रतिमामा माल्र्यापण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
कार्यक्रममा नेक्रामसङ्घ भक्तपुर जिल्ला अध्यक्ष उपेन्द्र सुवाल, राजकुमार सुवालकी छोरी रचना सुवाल, घाइते योद्धाहरूको तर्फबाट राजेन्द्र दुमरु, नेक्राकिसङ्घ भक्तपुर जिल्ला समितिका सदस्यद्वय केशवप्रसाद तिमिल्सिना र सूर्यबहादुर फोजूले सहिद दिवसको महत्वबारे आ–आफ्नो विचार राख्नुभयो ।
Leave a Reply