भर्खरै :

नगर राज्यमा विश्वविद्यालयको महत्वपूर्ण स्थान ख्वप विश्वविद्यालयको विरोधको कुनै तुक छैन

नगर राज्यमा विश्वविद्यालयको महत्वपूर्ण स्थान ख्वप विश्वविद्यालयको विरोधको कुनै तुक छैन

भक्तपुर, ८ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले हरेक स्कूलले इमानदार देशभक्त जनशक्ति उत्पादन गर्न सके देशको मुहार फेर्न धेरै समय नलाग्ने हुँदा पार्टीले शिक्षालाई जोड दिँदै आएको विचार व्यक्त गर्नुभएको छ । उहाँले उक्त विचार ख्वप्रिङ इङलिस एकेडेमी, लिबालीको रजत जयन्तीको अवसरमा व्यक्त गर्नुभएको हो । सो अवसरमा उहाँले ‘ख्वप्रिङ स्मारिका’ विमोचन गर्नुका साथै विद्यालयको नवनिर्मित भवनसमेत समुद्घाटन गर्नुभएको थियो । उहाँले मानव सभ्यतामा शिक्षाको महत्वपूर्ण स्थान रहेको इतिहास रोम र ग्रीस नगर राज्यमा स्थापित विश्वविद्यालयहरूबाट पुष्टि हुन्छ भन्नुभयो । नगर राज्यको अवधारणा र विश्वविद्यालयको महत्व नबुझेका तर आफूलाई ठुला पार्टीका भनी दाबी गर्नेहरूले ख्वप विश्वविद्यालयको विरोध गर्नुको कुनै तुक छैन भन्दै उहाँले भन्नुभयो, “देशभरका बाँदरहरू सिंहदरबार आएर शासन चलाइराखेकैले देशले आज दुरवस्थामा भोग्नुपरेको हो ।”
देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने जनशक्ति उत्पादन भए ती व्यक्तिहरू देशको जुनसुकै क्षेत्रमा गए पनि इमानपूर्वक काम हुने कुरा अहिले भक्तपुरका विभिन्न शैक्षिक संस्थाबाट उत्तीर्ण भएका विद्यार्थीहरूले पु¥याइरहेको सेवाले भक्तपुरकै इज्जत बढेको महसुस हुन्छ भन्दै उहाँले यस ख्वप्रिङ स्कूलमा ४० प्रतिशत स्थानीय र ६० प्रतिशत विभिन्न जिल्लाबाट आएर शिक्षा आर्जन गरिरहेको भन्ने थाहा पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो । जुनसुकै ठाउँबाट आएको भए पनि विनाभेदभाव गुणस्तरीय शिक्षा प्रदान गर्न सुझाव दिँदै उहाँले शिक्षामा सङ्कीर्ण भावना त्याग्नुपर्ने बताउनुभयो ।
नेवारहरूको बाहुल्यता भएको यस क्षेत्रमा कतिपय अवस्था नेपाली भाषामा कमजोर भए नेपाली भाषाविज्ञहरू ल्याएर भए पनि सिक्न सुझाव दिँदै उहाँले भाषिक सीप महत्वपूर्ण सीप भएको बताउनुभयो ।
पुस्तक प्रदर्शनीमा स्पार्ताकससम्बन्धी पुस्तकका लेखकको पनि पुस्तक पाउँदा आफूलाई खुसी लागेको चर्चा गर्दै उहाँले पुस्तकको महत्वमाथि प्रकाश पार्नुभयो ।
विद्यार्थीले नजाने पनि पास गर्ने नीति विद्यार्थीको लागि घातक हुने विचार राख्दै उहाँले नेपालको शिक्षा ध्वस्त पारेर नेपाली विद्यार्थीलाई विदेश पठाउनेहरू विदेशका दलालहरू हुन्; उनीहरूसँग हाम्रो सैद्धान्तिक सङ्घर्ष जारी छ भन्नुभयो । उहाँले भन्नुभयो, “व्यावहारिक रूपमा हामी हाम्रो तर्फबाट सक्दो राम्रो गर्ने प्रयास गरिरहन्छौँ ।”
सरकारी शिक्षा नीतिले नैतिक शिक्षालाई चासो नदिँदा उच्चपदस्थहरू भ्रष्ट भएको धारणा राख्दै उहाँले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा अमेरिकी सहयोगमा भ्रष्टाचार भएको भनी नेपालीहरूलाई ठग भनेकोमा ठगहरू आईएनजीओका पदाधिकारी बिचौलियाहरू हुन्; सर्वसाधारण नेपाली जनता होइनन् भन्नुभयो ।
विद्यार्थीले धेरै नम्बर पाउनु मात्रै गुणस्तरीय शिक्षाको मापदण्ड होइन बरु विद्यार्थीमा अन्तरनिहित प्रतिभा महत्वपूर्ण हुने हुँदा स्कूलले विद्यार्थीको प्रतिभा प्रस्फुटन हुने वातावरण बनाउनुपर्ने सुझाव दिँदै उहाँले विद्यार्थी फरासिला होऊन्, नागरिक भावनाले युक्त होऊन्; मित्रताको लागि आफू हार्न पनि जान्ने र गल्तीमा क्षमा याचना गर्नसक्ने बनून् भन्नुभयो ।
भक्तपुरका बहा, बही, विहारहरू प्राचीन कलेजहरू हुन् भने विद्यापीठ आफैमा विश्वविद्यालय हो, त्यस्तो नभए यहाँ भव्य मठमन्दिरहरू बन्ने नै थिएनन् भन्दै उहाँले यहाँका चित्रकला, पौवा पुनःजागरणको पनि खाँचो औँल्याउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत वसन्त भट्टराईले ख्वप्रिङ स्कूलको गौरवपूर्ण इतिहास सुन्न पाउँदा खुसी लागेको बताउँदै विद्यार्थीको सफलतामा नै विद्यालयको गौरव हो भन्नुभयो ।
कार्यक्रममा विद्यालयका सल्लाहकार एवं नेक्राशिसङ्घका अध्यक्ष ज्ञानसागर प्रजापतिले संसद्मा छलफल भइरहेको शिक्षा विधेयकमा नेक्राशिसङ्घले निजी र सामुदायिक भेद हटाउनुपर्ने सुझाव दिएको बताउँदै शिक्षक पनि राजनीतिक प्राणी भएकोले कुनै पनि बहानामा शिक्षकको राजनीतिक र मौलिक अधिकार खोसिन्छ भने त्यसको विरुद्ध शिक्षकहरू त्यसको विरुद्धमा लाग्ने चेतावनी दिनुभयो । भक्तपुर अहिले देशकै गुणस्तरीय शिक्षाको केन्द्र बन्दै गएकोमा नेमकिपाको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै उहाँले एसईई २०८० मा देशभर सरदर ४८ प्रतिशत हुँदा भक्तपुरका झन्डै ८४ प्रतिशत रहेको तथ्य प्रस्तुत गर्नुभयो ।
ख्वप अस्पतालका मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले शासकहरू शिक्षालाई भन्दा भ्यु टावरलाई प्राथमिकता दिनेहरू हुँदा प्रत्येक वर्ष ७ हजार नेपालीले आत्महत्या गर्नुपरेको उल्लेख गर्दै मानसिक स्वास्थ्य समस्या न्यूनीकरण गर्न समाजमा व्यापक छलफल हुनुपर्ने बताउनुभयो ।
संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) का अध्यक्ष प्रेमजन थापाश्रेष्ठले ख्वप्रिङको उत्कृष्ट प्रदर्शनीले इसानको गौरव बढेको चर्चा गर्दै ख्वप विश्वविद्यालयको विरोध गर्नेहरूले नेमकिपाले झै स्कूल कलेज मात्र चलाएर देखाउन चुनौती दिनुभयो । उहाँले भन्नुभयो, “ख्वप विश्वविद्यालयको विरोध विदेशीको कमिसन खाने दलालहरूले मात्र गर्छन् ।”
कार्यक्रममा प्रिन्सिपल विनोद प्रजापतिले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हाल ९१ जनशक्ति कार्यरत रहेको र ११०० विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो ।
विद्यालय कार्यकारिणी समितिका अध्यक्ष दीपेन्द्र प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्वविद्यार्थी समाजका श्रीजन लवजु, सहायक प्रिन्सिपल निरञ्जन प्रजापति, प्रबन्धक कृष्णसुन्दर प्रजापति र विद्यार्थी कृशिका भण्डारीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा १० वर्ष र २५ वर्ष निरन्तर सेवा गर्ने शिक्षक कर्मचारी एवं संस्थापकहरूलाई सम्मान गरिएको थियो । साथै ८० वर्षभन्दा माथिका ज्येष्ठ अभिभावकहरूलाई पनि प्रमुख अतिथि बिजुक्छेँले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो भने कक्षागत उत्कृष्ट विद्यार्थीहरूलाई शिक्षासेवी मोहनप्रसाद प्रजापतिले पुरस्कार एवं प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रमको दोस्रो चरणमा सांस्कृतिक कार्यक्रम भएको थियो ।
सो अवसरमा विद्यालयको सी ब्लकमा इसीडीका शैक्षिक सामग्री प्रदर्शन गरिएको थियो भने ब्लक बीको प्राङ्गणमा पुस्तक प्रदर्शनी र गणित विज्ञानका शैक्षिक प्रदर्शनी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *