चे, फिडेलको संस्मरणमा – ६
- आश्विन २५, २०८२
हिन्दू धर्मका थुप्रै ग्रन्थ एवम् पुराणहरूमा मात्र होइन अचेल गुगल तथा युट्युवहरूमा पनि थुप्रै देवी देवताहरूको बारे धेरै नै वर्णन गरिएको पाइन्छ । तीमध्ये महत्वपूर्ण देवीका रूपमा देवी लक्ष्मीबारे अपार वर्णन गरिएको पाइन्छ । तिनीहरूकै आधारमा देवी लक्ष्मीबारे थोरै वर्णन गर्ने प्रयास गरेको छु ।
संस्कृति भाषामा लक्ष् र लक्ष शब्दले उद्देश्य र यसबारेको जानकारी भन्ने अर्थ दिन्छ । यी नै शब्दबाट ‘लक्ष्मी’ शब्दको निर्माण भयो । धन सम्पत्ति, सुख, वैभव, ऐश्वर्य, समृद्धि, कीर्ति, सन्तान, भाग्य आदि प्राप्त गर्ने प्रायः मानिसहरूको उद्देश्य हुन्छ । ती उद्देश्यहरूकै प्रतीकका रूपमा देवी लक्ष्मीलाई लिइन्छ । त्यसैले, ती उद्देश्य पाउनको लागि देवीलक्ष्मीको पूजा आराधना, भक्तिभाव आदि गर्छन् मानिसहरू । दसैँको नवरात्रिको बेला, तिहारको लक्ष्मी पूजाको दिन र शारदा पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाको दिन यी देवीको पूजा हुने गर्छन् ।
सप्तऋषिमध्ये एक कश्यप ऋषिकी पत्नी दितीका तर्फबाट असुर वा दानवहरू र अर्की पत्नी अदितीका तर्फबाट सुरहरू वा देवताहरू जन्मेकाले नाताको आधारमा देवता र दानवहरू दाजुभाइहरू नै थिए । सत्य युगमा यी देव दानवहरू मिलेर समुद्र मन्थन गर्दा समुद्रबाट विभिन्न वस्तु एवम् जीवहरू निस्केका थिए । तिनीहरूमध्ये एक सर्वसुन्दरी देवी लक्ष्मी पनि थिइन् । त्यसैले, समुद्र देवता वा बरुण (जल देवता) लाई देवी लक्ष्मीको पिताको रूपमा मानिन्छ । यी देवीको सुन्दरताबाट मोहित भई सारा देव दानवहरू केही बोल्न नसकी आश्चर्यचकित भई बसे । यस्तैमा देवी लक्ष्मी स्वयम्ले आफ्नो पतिका रूपमा हरि विष्णु नारायणलाई ग्रहण गरिन् । त्यसैले, त्रिदेवमध्ये एक देव नारायणकी पत्नी, अर्धाङ्गिनी लक्ष्मीनारायणका रूपमा यिनी पुजिन थाले ।
देवी लक्ष्मीलाई उनको भूमिका वा क्रियाकलापको आधारमा सयौँ नामले पुकारिन्छ । जस्तै श्री, भार्गवी, कमला, पद्मा, नारायणी, वैष्णवी, जगतमाता .. आदि । सीता, राधा, रुकमणी आदिलाई यिनकै अवतारहरू मानिन्छ । यिनको कार्य र स्वरूपको आधारमा कहिले अष्टलक्ष्मी भनी कहिले षोदश (सो¥हवटी) लक्ष्मी भनी वर्णन गरिएको पाइन्छ । कोजाग्रत पूर्णिमादेखि तिहारको लक्ष्मी पूजाको दिनसम्ममा प्रत्येक दिनको एक एक लक्ष्मीको विभिन्न प्रकारले पूजा गरी जम्मा सो¥ह जना लक्ष्मीको विशेषरूपले आराधना गरिन्छ । आठ प्रकारका अष्टलक्ष्मी धेरै प्रचलित छ । ती अष्टलक्ष्मीहरू निम्नअनुसारका छन् –
१. आदि लक्ष्मी :
यिनले लक्ष्य, उद्देश्य र सो उद्देश्य प्राप्ति वा सफल पार्न ज्ञान एवम् सहयोग गर्दछ ।
२. धन लक्ष्मी :
यिनले भौतिक सम्पत्ति प्रचुर मात्रा दिन्छ र भक्तलाई ऋणबाट मुक्ति दिलाउँछ ।
३. धान्य लक्ष्मी :
यिनलाई अन्नको देवीको रूपमा लिइन्छ र अन्न खेर फाल्नु हुँदैन भन्ने सङ्केत दिन्छ ।
४. गज लक्ष्मी :
यिनलाई राज्य शक्ति, प्रजनन, गतिशीलताका देवीको रूपमा लिइन्छ ।
५. सन्तान लक्ष्मी :
सुपुत्र सुपुत्री प्राप्तिका लागि यिनको आराधना गरिने भएकोले यिनलाई सन्तानको देवी मानिन्छ ।
६. विजय लक्ष्मी :
यिनलाई विजय प्राप्त गराउने देवीको रूपमा लिइन्छ ।
७. धैर्य लक्ष्मी :
यिनलाई साहस, शक्ति र धैर्य प्रदान गर्ने देवी भनिन्छ ।
८. विद्या लक्ष्मी :
बुद्धि, ज्ञान र सीपकी देवी भनी यिनलाई पूजा आराधना गरिन्छ ।
‘श्री’ शब्द, अष्टमङ्गलमध्ये एक श्रीवत्स, श्रीयन्त्र, कमलको फूललाई पनि देवी लक्ष्मीकै प्रतीक मानिन्छ । कागजमा पाइने लक्ष्मीका चित्रहरूमा र प्रस्तर एवम् धातुबाट बनेका देवी लक्ष्मीका मूर्तिहरूमा २, ४, ६ र ८ वटा हातहरू भएको पाइन्छ । यिनको हातले प्रायः धन, सम्पत्ति र पैसाले भरिएको घडा र कमलको फूल समातेको देखाइन्छ । तर, यिनले आफ्नो विभिन्न हातहरूले ढाल, तरबार, त्रिशुल, गदा, धनुषवाणजस्ता हतियारहरू बोकेका चित्र एवम् मूर्तिहरू पनि पाइन्छ । यी विभिन्न नाम र चित्रहरूले विभिन्न समयमा रहने उनका भूमिकाहरूको बारे सङ्केत गरिएको हुन्छ । सामान्यतः देवी लक्ष्मीको चित्र वा मूर्तिमा चार हात भएको पाइन्छ । धर्म, अर्थ, काम र मोक्ष यी चारवटा पुरुषार्थहरूको प्रतीकको रूपमा ती चारवटा हात रहेको विश्वास गरिन्छ । तिनको हातमा रहेको कमलको फूलले सदैव फोहरबिचमा रहेर हुर्केर पनि आफू शुद्ध सफा भई बस्नेतर्फ सङ्केत गर्दछ । दुष्टहरूको बिचमा रहेर पनि आफू शिष्ट हुन प्ररेणा दिन्छ कमलको फूलले । पुनर्जन्म, लचकता, शुद्धता, आध्यात्मिक पवित्रता, भाग्य, आत्मज्ञान, देवत्व आदिको प्रतीकका रूपमा कमलको फूललाई लिइन्छ । सिक्का, पैसा, असर्फी या धन आदिले भरिएको घडाको अर्थ त चित्र आफै बोल्छ भनेजस्तै हामी स्वतः बुझ्दछौँ । देवी लक्ष्मीसँगै उसको वाहनको रूपमा रहने लाटोकोसेरो जसले सूर्यको प्रकाश भएको बेला दिनमा देख्न सक्दैन । देवी लक्ष्मीले प्रदान गरेको धन सम्पत्ति सामथ्र्यलाई आँखा चिम्ली बहुत सोचविचार गरी विवेकपूर्ण ढङ्गले मात्र प्रयोग गर्नु भन्ने सङ्केत लाटोकोसेरोको चित्रले दिएको छ । धन सम्पत्तिले भरिएपछि मान्छे मात्तिएर अन्धोजस्तै हुन्छ भन्नेतर्फ पनि सङ्केत गर्छ । आफूले दिनमा नदेखे पनि चित्त बुझाएर बसेजस्तै प्रतिकूल अवस्थामा पनि चित्त बुझाएर बस्नु हरेस नखानु भन्ने सन्देश पनि यस चित्रले दिन खोजेको छ । ज्ञान प्राप्तिको लागि धैर्यताको खाँचो रहेको तथ्यतर्फ पनि यसले सङ्केत गर्दछ । देवी लक्ष्मीसँग रहने अर्काे उसको वाहन हात्ती हो । पशुहरूमा निकै बुद्धिमान र शक्तिशाली मानिन्छ हात्तीलाई । समुन्नति, समृद्धि, बल, जल, वर्षा, राजकीय सत्ता आदितर्फ हात्तीले सङ्केत गर्दछ । देवीको हातमा कहिलेकाहीँ कलश पनि रहेको दखाइन्छ चित्र एवम् मूर्तिहरूमा । हिन्दू, बौद्ध तथा जैन धर्म र संस्कृतिमा कलशको ठुलो महत्व छ । फलाम र स्टिलको बाहेक माटो, तामा, चाँदी, सुन आदि धातुहरूबाट बनेको घडा वा लोटामा जल, गङ्गाजल, पञ्चामृत, धान, चालमजस्ता अन्नहरू भरी राखेर शुद्ध र संस्कारगत ढङ्गले कलश स्थापना गरिन्छ । यसलाई अति नै शुभ, कल्याणकारी, सुख, सम्पत्ति, वैभव, ऐश्वर्य आदिको प्रतीक मानिन्छ । त्यसैले, कुनै पनि देव कार्य, पितृ कार्य तथा शुभ कार्यहरूमा कलश स्थापना गरिन्छ ।
यम पञ्चकको तेस्रो दिन अर्थात् कार्तिक कृष्णपक्ष औँसीको बेलुकी हिन्दू धर्मावलम्बीहरू देवी लक्ष्मीको विशेष तरिकाले भव्यताका साथ दीपहरू प्रज्ज्वलित गरी उज्यालो पारी पूजा आराधना गर्दछन् । त्यसैले, यसलाई दीपावली पनि भनिन्छ । उज्यालो, सफा, सुग्घर, सुगन्धित तथा राम्रो शुद्ध वस्तुहरूले भरिएको स्थान देवीलाई अति मनपर्छ भनी विश्वास गरिन्छ । इष्र्या, कलह, द्वेष, षड्यन्त्र र फोहर तथा टुटेफुटेका वस्तुहरू रहेको ठाउँमा देवी लक्ष्मीले कदापि बास गर्दैनन् भनी भन्ने गर्दछन् । माया, सहयोग, शान्ति, परिश्रम, एकता, प्रयासबाट नै धन, सम्पत्ति, ऐश्वर्य, सुख प्राप्त हुन्छ भन्ने वास्तविकतालाई यसले प्रस्ट्याउँछ । नेवार समुदायले यस दिन पूजा गर्ने देवी लक्ष्मीको चित्र वा मूर्ति अरुभन्दा केही भिन्न रहेको हामी पाउँदछौँ । किनभने, त्यस चित्रमा देवी लक्ष्मी र तिनीसँगै कुवेर, एउटा ख्याक र पूजा गर्ने एक भक्तालुको चित्र पनि हुन्छ । देवीको चार हात रहेको हुन्छ । देवीको एउटा देब्रे हात अभय मुद्रामा रहेको हुन्छ भने अर्काे देब्रे हातले सिन्हमू समाएको हुन्छ । एउटा दायाँ हात दान मुद्रामा रहेको हुन्छ भने देवीको अर्काे दाहिने हातले ज्वालान्हाय्कं समातेको हुन्छ । देवी आफ्नो देब्रे खुट्टाले एउटा कछुवामाथि टेकेको हुन्छ भने अर्काे दायाँ खुट्टा उपरखुट्टी लगाई बसेको हुन्छ । नेवार संस्कृतिमा सिन्हमू (सिन्दुर दानी) लार्ई लक्ष्मी अर्थात् धन, सम्पत्ति, सुख र शक्तिको प्रतीकको रूपमा लिइन्छ । त्यसको रक्षार्थ शक्ति पनि चाहिन्छ । त्यस्तै, ज्वालान्हाय्कं (देव एवम् पितृ कार्य गरिँदा जसरी सिन्हमू प्रयोग गरिन्छ त्यस्तै प्रयोग गर्ने परम्परागत, धार्मिक एवम् सांस्कृतिक ऐना जुन फलामबाहेकको धातुबाट बनेको हुन्छ) लाई आत्ममूल्याङ्कन र ज्ञानको प्रतीकको रूपमा लिइन्छ । किनभने, ऐनामा हामी आफ्नो प्रतिबिम्ब वा स्वरूप हेर्छाैँ र राम्रो नराम्रो जे छ त्यो देख्छौँ तथा कतै सच्याउन पर्ने भए सच्याउँछौँ । अर्थात्, सिन्हमू र ज्वालान्हाय्कंले हामीलाई सुख, सम्पत्ति, धन, वैभव, ऐश्वर्यबारे राम्रो जानकारी वा ज्ञान प्राप्त गरी त्यसलाई विवेकपूर्ण ढङ्गले सोच विचार गरी न्यायोचित ढङ्गबाट मात्र प्रयोग गर्नुपर्छ भन्ने सङ्केत यी दुई सांस्कृतिक वस्तुले दिएको छ । नेवार समुदायमा अन्धविश्वास भनौँ वा परम्परागत विचार भनौँ, एक प्रकारको भूत जसको शरीरमा कुनै हाड हुँदैन केबल मासुले मात्र बनेको हुन्छ र शरीरभरि लामा लामा भुत्लाहरूले भरिएको हुन्छ त्यस्तो जीवलाई वा भूतलाई ख्या भन्ने गरिन्छ । त्यसमा पनि सेतो भुत्ला भएको ख्यालाई राम्रो, हितैषी र सहयोगीको रूपमा र कालो भुत्ला भएको ख्याःलाई अशुभ र हानिकारकको रूपमा लिइन्छ । देवी लक्ष्मीको चित्रमा रहने ख्या सेतै हुने कल्पना गरिएको छ । तिनले देवीसँगै बसी धन द्रव्यको पोको बोकिरहेको हुन्छ । देवीहरूको मन्दिरहरूमा ख्याःहरूको मूर्ति वा चित्रहरू पनि कतै कतै पाइन्छ । सम्भवतः दास युगकालीन दासहरूको प्रतिनिधि पात्र हुनुपर्दछ यी ख्याःहरू जसले मालिकको धन सम्पत्ति जोड्न रगत पसिना बगाउँछ । त्यसो नगरी विद्रोह गर्ने दासहरूलाई कालो ख्याः दुष्टका रूपमा चित्रण गरियो । विष्णुको दोस्रो अवतार मानिने कछुवा भएकोले देवीलाई कछुवा मनपर्नु स्वाभाविक हो । समुद्र मन्थन गर्दा प्रयोग गरिएको मन्दराचल पर्वतको भार विष्णुको दोस्रो अवतार कछुवाले नै थामेका थिए । त्यस्तै, देवी लक्ष्मीको भार पनि कछुवाले थामेको देखाइएको छ । अर्काे कुरा कछुवालाई पवित्र, भाग्य, विवेक, दीर्घायु एवम् बलको प्रतीक मानिन्छ । नदीनाला, समुद्रमा पाइने फोहरमैला खानपिनले जल प्रदूषित हुनबाट जोगाउँछ । अर्थात्, देवी लक्ष्मीलाई मन नपर्ने गलत, फोहोर, भ्रष्टाचार गरेर धन सम्पत्ति कमाउन उचित होइन भन्ने सन्देश यो कछुवाले दिन खोजेको छ । यक्ष जातिको मानिने कुवेर जो स्वर्गमा देवताहरूको ढुकुटीको रक्षक भनौँ वा Storekeeper मानिन्छ, त्यसको चित्र पनि रहेको हुन्छ । कुवेरलाई नगद होइन कि अन्य सरसामान सम्पत्तिका प्रतीकको रूपमा लिइन्छ । त्यसले गर्दा पनि कुवेरको चित्र राखिएको छ । यसरी नेवार समुदायले मान्दै आएको देवी लक्ष्मी विशेष प्रकारको छ । वैष्णब धर्मावलम्बीहरूको लागि त देवी लक्ष्मी अति महत्वपूर्ण छ ।
देवी लक्ष्मीको पूजा गरिँदा प्रायः भक्तालुहरू सात्विक परिकारहरू जस्तो खीर, माल्पुवा, नरिवल, केरा, अमला, दही, दुबो, कमलको फूल, बेसार, धूप, दीप, बिमिरोलगायतका फलहरू चढाउने गर्दछन् । तर, नेवार समुदायमा भने कार्तिक कृष्ण पक्ष औँसी अर्थात् यमपञ्चकमा पर्ने लक्ष्मी पूजाको दिन देवीलाई महालक्ष्मीको रूप मानी सात्विक परिकारका साथ तामसी परिकारको रूपमा लिइने मासु, जाँड, रक्सी, अण्डा आदि भोजका परिकारहरू चढाई पूजा गरिने चलन छ ।
दूधको समुद्रमा शेषनागको शøयामा नारायण विष्णुको खुट्टातिर बसी उनको खुट्टा मिच्दै गरेको देवी लक्ष्मीको चित्र हामी प्रायः देख्छौँ । यसले समाजमा पुरुष प्रधानतातर्फ सङ्केत गरेजस्तो लाग्छ । तर, देवीको यस्तो चित्रले अर्काे अर्थतिर पनि सङ्केत गरेको बताइन्छ । महिलाको हातमा देवताहरूका गुरु बृहस्पतिले बास गरेको हुन्छ र पुरुषको खुट्टामा दैत्य गुरु शुक्राचार्य रहेको विश्वास गरिन्छ । पत्नीले आफ्नो पतिको खुट्टा मिच्दा देव र दानव दुवै मिलेको हुन्छ । जसको परिणामस्वरूप धन, वैभव, समृद्धि प्राप्तिको योग मिल्छ । देव र दानव त दाजुभाइहरू नै हुन् । दाजुभाइबिच एकता भयो भने सफलता प्राप्ति सजिलै हुन्छ । जुन व्यक्ति ज्ञानी, पुरुषार्थी, सक्षम र परिश्रमी छ उसले सजिलै धन, वैभव, सम्पत्ति जोड्न सक्छ । त्यस्ता व्यक्तिको बसमा लक्ष्मी त परेकै हुन्छ ।
तर, अचेल हामी भलादमी, नैतिकवान्, कर्तव्यनिष्ठ, व्यक्तिभन्दा दुष्ट, स्वार्थी, गुण्डाहरू, बेइमान, दुष्टहरू नै धनी मानी वैभवशाली शक्तिशाली भएको हामी पाउँदछौँ । इमानदार, नैतिकवान, असल चरित्र भएको व्यक्ति बाँच्नै गा¥हो हुँदै गएको छ । यस्तो अवस्थाबारे देवी पार्वतीले आफ्नो पति महादेवसित जिज्ञासा राख्दा महादेवले आफ्नी पत्नीलाई बताएअनुसार जङ्गलमा ठुलो आँधीबेरी आउँदा स–साना रुखहरू एक आपसमा ठोक्किएर ढल्दैनन् तर अजङ्गको ठुलो रुख ढल्छ । अर्थात्, दुष्ट, अहङ्कारी व्यक्तिहरू जतिसुकै धनी, समृद्धशाली भए पनि उनीहरूमा रहेको स्वार्थीपन, अहङ्कारी भावनाले भरिएको प्रवृत्तिले गर्दा त्यो ठुलो रुख ढलेजस्तै त्यस्ता व्यक्तिहरू ढल्ने छन् । इतिहासमा त्यस्ता तानाशाह, निरङ्कुश शासकहरू तासपट्टाजस्तै जनआन्दोलनको हुरीमा पनि ढलेका उदाहरणहरू हामी पाउँछौँ ।
सुगन्धित, सुग्घर, सफा, शान्त, मानवता, कर्तव्यपरायन, परिश्रम, उद्योग आदिले भरिएको वातावरण चाहने देवी लक्ष्मीले स्वर्गमा आफू स्थायीरूपमा बस्नको लागि देवराज इन्द्रसित चारवटा तत्वहरू मागेका थिए† जमिन, जल, अग्नि र सज्जन एवम् दक्ष, सीपवान, बौद्धिक व्यक्तित्वहरूसितको सामिप्यता । आयआर्जन समृद्धिका स्रोतहरू यिनै हुन् । गाँस, बास, कपासमात्र होइन, हाम्रो पहिचानसमेत यहीका भूभाग जमिनसित जोडिएको छ । खेतीपाती, जडीबुटी, वनजङ्गल खनिज सम्पदा सब जमिनबाट नै प्राप्त हुन्छ । सम्पूर्ण जीव जीवात्माका लागि वनस्पतिको जीवन्तताको जल आवश्यक छ । जलविद्युत् शक्ति हाम्रो जीवनको लागि अपरिहार्य आवश्यकता बनिसकेको छ । यही जल र सूर्यबाट अग्नि, ताप प्राप्त हुन्छ जुन जीव जीवात्मा एवम् वनस्पतिको लागि आवश्यक छ । अर्काे सज्जन, भलादमी, इमानदार, नैतिकवान एवम् दक्ष बौद्धिक व्यक्तिहरूलाई हामी दक्ष जनशक्ति एवम् बौद्धिक व्यक्तिहरू भन्ने गर्छाैँ । यिनीहरूको प्रयास, प्रयत्न र माथि उल्लेखित स्रोतहरूको उचित प्रयोगबाट हामी आयआर्जन, धनसम्पत्ति, सुख, वैभव आदि प्राप्त गर्न सक्दछौँ । समुद्र वा जलको देवता बरुणलाई देवी लक्ष्मीको पिता भनिन्छ । यी सब कुराले के प्रस्ट हुन्छ भने हाम्रा यी विभिन्न स्रोतहरू संरक्षण विकास एवम् उचित प्रयोगमा हामीसित देवी लक्ष्मी निवास गर्न रुचाउँछन् अर्थात् हामी समृद्ध हुन सक्दछौँ । तर, दुःखको कुरा हाम्रा जमिन अर्थात् सिमानाहरू अतिक्रमित छन्, नदीनालाहरू विदेशीको पोल्टामा पारेका छौँ । लाखौँ दक्ष जनशक्ति एवम् बौद्धिक व्यक्तित्वहरू बिदेसिएका छन् । देवी लक्ष्मीले चाहेको आफ्ना आधार र तत्वहरू नभएपछि हाम्रोमाझ देवी कसरी निवास गर्न सक्छ ? खरबौँ रूपैयाँको व्यापार घाटा, खरबौँ रूपैयाँको विदेशी ऋण बोकी हामी दरिद्र नभए अरु को होला ? जहाँ कङ्गाल त्यहाँ चण्डाल भनिन्छ । अर्थात्, यस्तो विपरीत अवस्थामा हामीबिच दुःख, कलह, दरिद्रता, फोहोर वा दुर्गन्धित, इष्र्या, द्वेष, दुर्भाग्य रहँदा देवी लक्ष्मी तिनीहरूलाई कदापि रुचाउँदैनन् । यस्तो अवस्थालाई कसले रुचाउँछ ? हाम्रा पुराणहरूमा यसको वर्णन पनि पाइन्छ । दुःखसँगै सुख, अन्धकारसँगै प्रकाश पनि पाइन्छ । देव दानवहरूले सत्य युगमा समुद्र मन्थन गर्दा उच्च श्रवा घोडा, ऐरावत हात्ती, आरोग्य एवम् आयुर्वेदका आदि आचार्य धन्वन्तरी, देवी लक्ष्मीजस्तै समुद्रबाट कालीकुरूप देखिने रक्सीले भरिएको घडा बोकी देवी अलवर्ती वा कुलक्ष्मी उत्पन्न भएकी थिइन् । दरिद्रता, दुर्भाग्य, दुःख, झैझगडा, कलह, दुश्मनी, इष्र्या, दुर्गन्ध, अन्धकार, अशान्ति, अनैतिकता आदिका देवीको रूपमा लिइन्छ । देवी अलक्ष्मीलाई जेष्ठा, निरर्ती, दरिद्रा आदि पनि भनिन्छ । काग र गधा यिनका वहान हुन् । ऋषि उद्दालक यिनका पति हुन् । ऋषिको शान्तिपूर्ण सात्विक एवम् यज्ञादी आदि शुभ कार्य गरिने आश्रम यिनका लागि अपाच्य थियो । यिनलाई त दुर्गन्धित, टुटेफुटेको सामानले भरिएको अशान्ति, अनैतिकता, दरिद्रता, इष्र्या, दुःख, कलह र पापले भरिएको वातावरण अति मनपथ्र्याे । अतः यिनी ऋषि आश्रममा बस्दैनथे । पालनकर्ता विष्णुले यिनलाई पिपलको बोटमा बस्न स्थान दिए । त्यसैले, पिपल बोटलाई हामीहरू छुँदैनौँ । तर, शनिश्चरबार एक दिन भने पिपलको बोटमा नारायणले बास गर्ने भएकोले त्यो दिन हामी पिपललाई पूजा गर्दछौँ । अधिक मात्रामा अक्सिजन दिने भएकोले पनि यिनको पूजा अर्थात् संरक्षण गर्दछौँ । अक्सिजनलाई हामी प्राणबायुक रूपमा लिन्छौँ । समुद्रमन्थन गर्दा देवी लक्ष्मीभन्दा अगाडि यी देवी अलक्ष्मी उत्पति भएकोले नाताको आधारमा यिनी देवी लक्ष्मीकी दिदी पर्थिन् । तर, दुई दिदीबहिनीको स्वरूप र स्वभाव ठीकविपरीत छ । खुर्सानीको पिरोपन र कागतीको अमिलोपन यिनलाई खुब मनपर्ने भएकोले घरको प्रवेशद्वार र पसलबाहिर खुर्सानी र कागतीलाई धागोले बेरेर झुन्ड्याएको हामी देख्छौँ । घरभित्र वा पसलभित्र देवी अलक्ष्मी नपरोस् बाहिर नै बसोस् र त्यहीबाट जाओस् भन्ने आशयले मानिसहरूले खुर्सानी र कागतीलाई बाहिर झुन्ड्याउने गरेको हो । यसको अर्थ घर र पसलमा सदैव देवी लक्ष्मीले रुचाउने सकारात्मक वातावरण कायम होस् भन्नु हो । तर, ती वस्तुहरू बाहिर झुन्ड्याइँदैमा पुग्ने होइन हाम्रो बोली, क्रियाकलाप र व्यवहार सकारात्मक सहयोगी मैत्रीपूर्ण साथै सहृदयी हुनुपर्दछ । त्यस्तो, अवस्था कायम होस् भनेर हामीलाई खुर्सानी र कागतीको याद दिलाइरहन्छ र त्यसैको लागि त्यो राखिएको हो । पापकर्म, कलह, अल्छीपन, ढिलो उठ्ने आदि रुचाउने मानिस देवी अलक्ष्मीका प्रिय पात्र हुन्छ । हावा, पानी, माटो, वातावरण, प्रदूषित भई दुर्गन्धित माहोल र त्यस्ता प्रवृत्ति भएका मानिसहरूका साथ बस्न देवी अलक्ष्मी खुब रुचाउँछिन् । यसको मतलब यस्ता नकारात्मक सोच एवम् प्रवृत्ति भएका मानिसहरू दुःखी, दरिद्र हुनेछन् भनी सन्देश देवी अलक्ष्मी लक्ष्मीको स्वभावले दिन खोजेको हो । आफ्नो जमिन, जल, जडीबुटी, खनिज सम्पदा दक्ष जनशक्ति एवम् बौद्धिक व्यक्तित्वहरू अर्थात् आयआर्जनका स्रोतहरू विदेशीको हितको लागि सुम्पेर आफ्नो व्यक्तिगत स्वार्थका लागि पर्नेहरूले गर्दा हामी देश र जनता देवी अलक्ष्मीको प्रिय स्थान त हुने नै भयो । त्यसो गर्ने व्यक्तिहरूले पछि गएर मीर जाफर र लेण्डुप दोर्जेको नियति भोग्नुपर्ने छ । यस्तो अवस्थामा हामी गरिब, दीन दुःखी कमजोर हुनुमा के आश्चर्य ? हामी र हाम्रो देशलाई सुखी, समृद्धि, सक्षम, वैभवशाली, धनी बनाउने हो भने देवी लक्ष्मीले चाहेको वातावरण अवस्था परिवेशलाई सुरक्षित र उचित ढङ्गबाट आयआर्जनका स्रोतहरूको प्रयोग गर्नुपर्दछ भन्ने शिक्षा हामीले देवी लक्ष्मी र देवी अलक्ष्मीको कथाबाट लिनुपर्दछ । देवी लक्ष्मीको चित्र वा मूर्तिमा मात्रै खुब पूजा आराधना भजन गर्दैमा हामी सम्पन्न र सुखी हुने होइन, असल कर्म र उद्योग परिश्रम गरेमात्रै हुने हो । यो नै सार कुरा हो ।
हाम्रो समाजमा पत्नी, बुहारीहरूलाई पनि लक्ष्मीको प्रतीक मानेर गृहलक्ष्मी भन्ने चलन छ । वैभव, ऐश्वर्य, भाग्य, सफलता, उन्नति समृद्धि, मेलमिलाप, सुख, दैविक आशीर्वाद घर गृहस्थी सबैको संयुक्त स्वरूपको रूप कुनै पनि घर परिवारमा पत्नी, बुहारीहरूलाई मान, सम्मान, स्नेह, माया गरिन्छ र गर्नु पनि पर्दछ । त्यसैले होला, नेवार समुदायमा घरको थकाली सासूले आफ्नो घर गृहस्थीको सारा जिम्मेवारी सुम्पेको भावमा ढुकुटीको साँचो नवबधु वा बुहारीलाई दिई गृह प्रवेश गराउँछ । सोचेअनुसार वा चाहेअनुसारको परिस्थिति सासू, बुहारी, छोराछोरी कसैको पनि कारणले सृजना भएन, सधैँ कलह, इष्र्या, षड्यन्त्र, गैरजिम्मेवारीपूर्ण अवस्थामात्रै रह्यो भने त्यो घरपरिवारमा देवी लक्ष्मीको होइन देवी अलक्ष्मीको बास हुनेछ । त्यसैले, देश चलाउने होस् वा परिवार चलाउने होस् सबैले यो कुरालाई ध्यान राख्नु अनिवार्य छ ।
Leave a Reply