नेपालमा हिमतालको जोखिम हामी सिरानीमा बम राखेर सुतिरहेका छौँ
- भाद्र २७, २०८३
भक्तपुर, ९ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयको रजत जयन्ती, ख्वप कलेजको २३ औँ, शारदा क्याम्पस मा.वि.को १७ औँ र ख्वप कलेज अफ ल को दोस्रो वार्षिक उत्सव कार्यक्रम शुक्रबार उद्घाटन गर्नुभयो । वार्षिकोत्सवकै अवसरमा अध्यक्ष बिजुक्छेँले कलेजद्वारा प्रकाशित ‘ख्वप जर्नल’ पुस्तक सार्वजनिकीकरण गर्नुभयो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालय भक्तपुरको मात्र नभई देशकै आवश्यकता भएको बताउनुभयो ।
मानव सभ्यताको विकास नगर राज्यबाटै भएको बताउँदै उहाँले रोम र ग्रीस नगर राज्यमा स्थापित विश्वविद्यालयबाट मानव सभ्यतामा शिक्षाको धेरै ठुलो महत्व रहेको पुष्टि हुन्छ भन्नुभयो ।
ख्वप विश्वविद्यालय सञ्चालनले गरिब जनताका छोराछोरीहरूले सस्तोमा गुणस्तरीय मेडिकल शिक्षा प्राप्त गर्ने बताउँदै उहाँले ख्वप विश्वविद्यालय सम्बन्धन दिने विषयमा सरकारले पक्षपातपूर्ण व्यवहार गरिरहेको बताउनुभयो ।
“भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाले विद्यार्थीलाई देशभक्त र समाजप्रति उत्तरदायी हुन प्रेरित गर्नुपर्छ । सत्य र सही कुरामा अडान लिनु आजको आवश्यकता हो,” उहाँले भन्नुभयो ।
विद्यालय र कलेजले सांस्कृतिक गतिविधि र खेलकुदलाई शिक्षा र संस्कृतिको अभिन्न अङ्गको रूपमा विकास गर्दै आएको सकारात्मक विषय भएको उल्लेख गर्दै उहाँले अबको दस वर्षभित्र भक्तपुरका एकतिहाइ जनता सांस्कृतिकरूपमा धेरै अगाडि बढ्ने बताउनुभयो ।
खेलकुद देशको राजनीति, शारीरिक व्यायाम र देश जोगाउने माध्यम पनि भएको स्पष्ट पार्दै खेलकुदको निम्ति विद्यार्थीलाई उत्साहित गर्नु आवश्यक भएको उहाँले बताउनुभयो ।
शासकहरू गैरजिम्मेवार भएकोले देशले यो दुर्गति भोग्नुपरेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले ख्वप विश्वविद्यालय आवश्यक छैन, स्वीकृति दिनुहुन्न भन्ने शासक र बुद्धिजीवीहरू प्रजातन्त्रविरोधी हुन् भन्नुभयो ।
ख्वप मा.वि., ख्वप कलेज, ख्वप कलेज अफ ल सञ्चालक समितिका अध्यक्ष एवं भनपा प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरू देशकै नमुना शैक्षिक संस्थाहरूको रूपमा विकास भइरहेको बताउनुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी सहयोग (एमसीसी) लिनेहरूलाई ‘ठग’ को संज्ञा दिएको उल्लेख गर्दै उहाँले ट्रम्पको उक्त अभिव्यक्तिसँगै नेमकिपाले एमसीसी सम्झौता खारेज गर्न गरेको विरोधले आज सार्थकता पाएको बताउनुभयो ।
गुणस्तर सुनिश्चितता एवम् प्रत्यायन (क्यु.ए.ए.) कै कारण ख्वप कलेजले चाहेर पनि विद्यार्थीको चाहनाअनुसारका नयाँ नयाँ विषय थप गर्न नसकिएको बताउँदै उहाँले विद्यार्थीहरूले नेपालमा आफ्नो रुचिअनुसारको अध्ययन गर्न नपाउँदा र योग्यताअनुसारको रोजगारी सुनिश्चितता नहुँदा विद्यार्थीहरूले विदेशलाई आफ्नो गन्तव्य बनाइरहेका छन् भन्नुभयो ।
वाग्मती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले २५ वर्षको अवधिमा कलेजले हासिल गरेको सफलता उल्लेखनीय रहेको उल्लेख गर्दै कलेजमा अध्ययनरत सबै विद्यार्थीहरूको समान ढङ्गले व्यक्तित्व विकास गर्नेतर्फ शिक्षकहरूले जोड दिनुपर्ने बताउनुभयो ।
विद्यार्थीहरूको विश्वास र सद्भाव जित्नु आफैमा चुनौतीपूर्ण रहेको बताउँदै उहाँले विद्यार्थीलाई पाठ्यपुस्तकमात्र पढाउने भन्दा पनि उनीहरूमा भएका प्रतिभा र व्यक्तित्व विकासका सम्भावनालाई प्रस्फुटन गर्न सहयोग गर्ने दायित्व शिक्षकहरूको हो भन्नुभयो ।
सांसद गोसाईले सहिदको बलिदानबाट सरकारमा पुगेका शासकहरूले सहिदहरूकै अपमान र प्रजातन्त्रविरोधी कामहरू गरिरहेको उल्लेख गर्दै शासकहरूले मुलुकलाई स्थायित्व र विकासको बाटोमा अघि बढाउन नसक्नु विडम्बनापूर्ण भएको बताउनुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई एमसीसीको सहयोग नदिने र एमसीसी सहयोग लिनेहरूलाई ‘ठग’ को संज्ञा दिएसँगै नेपालका शासकहरू ‘ठग’ भएको पुष्टि हुन्छ भन्दै शासकहरूले ठगीधन्दा बन्द गरी देशलाई आत्मनिर्भरतातर्फ उन्मुख गर्नुपर्ने विचार उहाँले राख्नुभयो ।
कार्यक्रममा ख्वप मा.वि., ख्वप कलेज, ख्वप कलेज अफ ल सञ्चालक समितिका उपाध्यक्ष एवं भनपा उपप्रमुख रजनी जोशीले शिक्षालाई उत्पादन श्रमसँग मिलाई दक्ष जनशक्ति तयार गर्ने उद्देश्यसहित भक्तपुर नगरपालिकाले ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप कलेज, ख्वप कलेज अफ लसहित सातवटा शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको स्पष्ट पार्दै ख्वप विश्वविद्यालय स्थापनाको लागि नगरपालिकाले निरन्तर जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर नपाले शिक्षाको जग बलियो बनाउँदै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यले मूर्त रूप लिएको बताउँदै गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति तथा शैक्षिक ऋण कार्यक्रमले धेरै विद्यार्थीहरू लाभान्वित भएका छन् भन्नुभयो ।
समाज परिवर्तनको मूल आधार नै शिक्षा भएको बताउँदै उहाँले भक्तपुर नपाबाट सञ्चालित कलेजहरूले यहाँका विद्यार्थीहरूलाई इमानदारिता, अनुशासन र सामाजिक उत्तरदायित्व वहन गर्ने विषयबाट पनि प्रशिक्षित गर्दै आएको बताउनुभयो ।
विश्वविद्यालय अनुदान आयोगका उपनिर्देशक धनकृष्ण प्रजापतिले देशको उच्च शिक्षा विकासको लागि विभिन्न क्षेत्रबाट प्राप्त अनुदानको रकम समुचित तवरले वितरण गर्न र विश्वविद्यालयको शैक्षिक गुणस्तर निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोगको स्थापना भएको बताउँदै आयोगले विद्यार्थीहरूलाई छात्रवृत्ति तथा शोध सहयोग, शिक्षक तथा कर्मचारीहरूको सीप, दक्षता अभिवृद्धिका लागि तालिम प्रदान गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले सम्बन्धित विद्यालय र कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
वार्षिकोत्सवको अवसर पारेर ख्वप मावि र ख्वप कलेजमा दस वर्ष सेवा अवधि पूरा गर्ने शिक्षक तथा कर्मचारीहरूलाई कदर पत्र, २५ वर्ष सेवा पूरा गरेका शिक्षक कर्मचारीहरूलाई दीर्घ सेवा पदक र विद्यावारिधी गरेका शिक्षकहरूलाई सम्मान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा हाट बजार, खेलकुद प्रतियोगिता र सांस्कृतिक प्रतियोगिता पनि भएको थियो ।
Leave a Reply