भर्खरै :

सिकर्मी भेला सम्पन्न

सिकर्मी भेला सम्पन्न

भक्तपुर, १३ फागुन । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनको प्रचारार्थ तथा भक्तपुर सिकर्मी सङ्घको १४ औँ स्थापना दिवसको अवसरमा मङ्गलबार सिकर्मी भेला भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले महाधिवेशन पार्टीको सर्वाेच्च निकाय हुने, महाधिवेशनबाट नै ५ वर्षका लागि देश र जनताको हितमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियबारे पार्टीले के कस्ता नीति तथा कार्य तय गर्ने बताउनुभयो । उहाँले महाधिवेशनमा व्यापक छलफल गरी नीति तथा कार्य तय गर्ने उल्लेख गर्दै नेमकिपाबाहेक अन्य दलहरूको अधिवेशनलाई व्यापक जनताको हितभन्दा पैसा र पदको लोभमा कार्यकर्ता परिचालन गर्ने नीति तय गर्ने गरेको देखिएकोले देशमा अहिले यो अवस्था आएको बताउनुभयो ।
उहाँले नेपालका ठुला पार्टी भएका नेताहरूको अकर्मण्यताका कारणले गर्दा विश्व अन्तर्राष्ट्रिय सङ्घले नेपाललाई ग्रे लिस्टमा राखेको विचार व्यक्त गर्नुभयो । पुँजीवादले व्यापक जनताको हित नहुने र समाजवादमा मात्र बहुमत काम गरिखाने मजदुरवर्गको हित हुने भएकोले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराअनुरूप देश र जनताको हितमा काम गरिरहेको नेमकिपाको आठौँ महाधिवेशन भव्यरूपमा सफल पार्न नैतिक, भोतिक र आर्थिकरूपमा सहयोगको निम्ति आग्रह गर्नुभयो ।
भक्तपुर सिकर्मी सङ्घका अध्यक्ष विक्रम ढुकुछुको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवाल, सङ्घका उपाध्यक्ष रामसुन्दर सुवाल र सचिव पुण्यराम न्हुछेले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *