भर्खरै :

कम्युनिस्ट आचरणको महाधिवेशन !

कम्युनिस्ट आचरणको महाधिवेशन !

नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन फागुन १६ गते भक्तपुरको सल्लाघारीको खुला ठाउँमा सम्पन्न भयो । यो महाधिवेशनलाई पर्यवेक्षकहरूले कम्युनिस्ट आचरण भएको महाधिवेशनको रूपमा लिएको पाइन्छ । यो माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई आत्मसात गरेर जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादमा पुग्ने लक्ष्य राखेर जनताको निःस्वार्थ सेवा गर्दै अगाडि बढिरहेको पार्टीको महाधिवेशन हो । यसले हरेक सभा, बैठक, जुलुस, ¥याली, सम्मेलन र महाधिवेशनमार्फत सामाज्यवाद, उपनिवेशवाद र विस्तारवादको विरुद्ध आवाज उठाउँदै आएको छ । यसले प्यालेस्टिन, क्युवा, भेनेजुयलालगायतका देशहरूमा साम्राज्यवादी, उनिवेशवादी र विस्तारवादी देशहरूबाट भइरहेको निर्मम हस्तक्षेप, आक्रमण, हत्याको विरोध गरिरहेको जगजाहेर छ । यसले शत्रुको अगाडि झुक्नु हुँदैन भन्ने काम र व्यवहारले अरु दललाई पाठ सिकाउँदै आएको छ । यो दल पुँजीवादी सत्तामा गएको छैन । त्यहाँ पसेर देशमा आमूल परिवर्तन गर्न सकिँदैन । पुँजीवादी सत्ताको गुलियो चास्नीमा डुब्नु कम्युनिस्ट चरित्र, आचरण र सिद्धान्त होइन ।
नेपाली काङ्ग्रेस त घोषित पुँजीवादी पार्टी भइहाल्यो । उसको विगतको महाधिवेशन जनताले हेरेकै छन् । तर, नामले कम्युनिस्ट भनिएको एमाले, माओवादीजस्ता शासक दलको महाधिवेशन पनि विगतमा भाइकाङ्ग्रेसको जस्तो देखिएको जनताले हेरेका छन् । उनीहरू महाधिवेशनको नाममा आफू जसरी पनि पदमा आउनका लागि कुकुरझगडा, अनि पैसाको खोलो नै बगाउँछन् । उनीहरू कम्युनिस्ट भनिए पनि ठेकेदार, डोजर मालिक, भ्रष्टाचारी, भू–माफिया सुनकाण्डलगायत विभिन्न काण्डका मतियार, अपराधी भएको समस्या पत्रपत्रिकाले दिइरहेका छन् । तालेको चप्पल, जुत्ता लगाएर, फाटेको, धुलो मैलो लुगा लगाएर काठमाडौँ छिरेका शासक कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताको आचरणले उनीहरू कम्युनिस्ट होइनन् भन्ने कुरा थाहा हुन्छ । अनि काठमाडौँमा जसरी पनि घडेरी, बङ्गाला जोड्ने होडबाजीले यो पुस्टि हुन्छ । गाउँका गरिब जनतासँग कुनै मतलब छैन । राष्ट्रसेवक भनिएका ठुलो ओहदाका कर्मचारीहरू पनि उही ड्याङमा छन् । उनीहरूले पनि विदेशीको प्रभाव र दबाबमा परेर देशघाती काम गरिरहेका छन् भन्ने कुरा छापामा नआएको होइन । यदि उनीहरू गरिब जनताका दल, नेता भइदिएका भए, कम्युनिस्ट भइदिएका भए जगत भलो त आफू भलोमा लाग्नुपर्ने थिए । तर, व्यवहारले उनीहरू आफू भलो त जगत भलोमा लागे । जुन पुँजीवादी व्यवहार र आचरण हो ।
नेपाल मजदुर किसान पार्टीको सम्पन्न आठौँ महाधिवेशनको सभ्य, भव्य तयारी, उद्घाटन ¥याली र कार्यक्रमले कम्युनिस्ट आचरणको महाधिवेशन भएको देखाउँछ । पूर्वमा भक्तपुरको लान्चा फल्चा (पाटी) मूलढोकाबाट र पश्चिममा काठमाडौँको कोटेश्वरबाट सुरु भएको ¥याली अनुशासित थियो । त्यसमा विभिन्न क्षेत्र, जातजातिका सांस्कृतिक पहिरण, बाजागाजा, नाच, हथौडा अङ्कित रातो झन्डा, पार्टीको चुनाव चिह्न मादल बोकेर पार्टीको महाधिवेशन उदघाटन ¥यालीमा जनता सहभागी भएका थिए ।
महाधिवेशनको तयारीका लागि नेमकिपाका नेता, कार्यकर्ता, समर्थक, सहयोगी हातले जनतासँग घरदैलो भेटघाट गरे† बैठक र सभाहरू राखे । उनीहरूले कम्युनिस्ट विचार र समाजवादी व्यवस्थाको प्रचार गरे । पुँजीवादी व्यवस्थाको विकृति, खराब आचरणलाई उडाङ्ग्याएर जनतालाई सचेत पार्ने काम गरे । जनताले पनि खुला दिलले आर्थिक सहयोग गरे । विदेशीसँग होइन, शोषक, सामन्त, कालाव्यापारी, भ्रष्टाचारीसँग होइन, जनताले मायाले दिएको सहयोगले नेमकिपाले महाधिवेशन सम्पन्न गरेको छ ।
नेमकिपाले महाधिवेशन सफल पार्न तयारीस्वरूप बाहिर झिलीमिली प्रचारप्रसारलाई जोड दिएन । बजार, मन्दिर, चोक, बाटोको भित्तामा रङ्गाउने काम गरिएको छैन । महाधिवेशन भनेको नेमकिपाको जस्तो भइदिएहुन्थ्यो भनी जनता भन्दै छन् । यसले सभा, बैठक, घरदैलो कार्यक्रमलाई जोड दिएको पाइन्छ । कार्यकर्ता र सहयोगीहरू निःस्वार्थरूपमा खटेका छन् ।
महाधिवेशनमा भाग लिन आएका सबै सहभागीलाई खाजाको रूपमा भुजिया, चिउरा, दालमोठ मिसाइको करिब आधा मानाको पोको वितरण गरिएको छ । पश्चिम नेपालका जिल्लादेखि पूर्वी नेपालका जिल्लाबाट सहभागी नेता, कार्यकर्ता, समर्थकहरूलाई होटेल बुक गरिएको छैन । सहभागीलाई बस्ने र खाने व्यवस्था किसान सङ्घलगायतका जनवर्गीय सङ्गठनले गरेको छ । सहभागीको स्वास्थ्य सचेतनाको लागि डाक्टर, नर्स र स्वास्थ्य कार्यकर्ताहरूले इमानदारीपूर्वक सेवा गरेका छन् ।
महाधिवेशन उद्घाटन कार्यक्रमको मुख्य आकर्षण मञ्चमा राखेको विश्वका सर्वहारावर्गका महान् गुरुहरू माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन, माओत्से तुङको फोटो पनि हो । ¥यालीको अग्रस्थानमा पनि उहाँहरूकै फोटो छ । यसले नेताहरूलाई जनतालाई चिनाउनु मद्दत गरेको छ । विगतमा एमालेले पार्टी कार्यालयमा सजाएर राखिएको उहाँहरूको तस्बिर अमेरकी राजदूत आउने भएपछि हतपत निकालेर लुकाएको त्यतिबेलै भाइरल भएको थियो । आज उनीहरूले कम्युनिस्ट विचार, व्यवहार र आचरण त्यागिसकेका छन् । गरिब जनतालाई झुक्याउन नाम मात्रको साइनबोर्ड राखेर जपिरहेका छन् । पटक पटक सरकारको नेतृत्व सम्हाले पनि तिनीहरूले जनताको जीवनस्तरमा कुनै परिवर्तन आएन, जनता गरिबको गरिब नै छन् । निःशुल्क शिक्षा र स्वास्थ्य जनताले पाएका छैनन् । जनता बाँच्ने आधारभूत आवश्यकता शिक्षा र स्वास्थ्यलाई किनबेचको वस्तु बनाएका छन् । उनीहरू भने काठमाडौँमा बसेरै ऐस आरामका साथ सबै सुविधा उपभोग गरिरहेका छन् । नेमकिपाको महाधिवेशनले जनताको निःस्वार्थ सेवा गर्न सबै दललाई पाठ सिकाएको छ । महाधिवेशन भनेको नेमकिपाको जस्तो कम्युनिस्ट आचरण वा चरित्रको हुनुपर्छ भनेर जनताले भन्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *