अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
मेरो बाल्यकालको बारेमा सोच्दा मेरो मानसपटलमा आउने थुप्रै साथीहरूमध्ये मदन भन्ने एकजना साथीको खुब याद आउँछ । ऊ तास खेल्नकै लागि बाँचेको हो कि जस्तो लाग्थ्यो । तास खेल्ने भनेपछि पैसा नभए पनि हुरुक्कै हुने । सापट लिएर भए पनि तास खेल्न मरिहत्ते गर्थे । पैसा सापट लिँदा उनलाई ब्याजको मतलब हुँदैन, मात्र सापत पाउनुपर्छ । ऊ नराम्रो मान्छे थिएन, स्वभावले छली थिएन तर उसमा केही कमी थियो जसले उसलाई बिस्तारै भुसभित्र बलिरहेको आगोजस्तै भित्रभित्रै भस्म पारिरहेको थियो ।
हामी रमाइलोको लागि खेल खेल्थ्यौँ भने मदन आफ्नो भविष्यसँग खेल्थ्यो । केही रूपैयाँमा मैत्रीपूर्णरूपमा खेलको सुरु भएको तास खेल उनको लागि अँध्यारोमा गएर अन्त्य हुन्थ्यो । उसलाई कुनै सीमितताको भावना थिएन, गुमाउने डर थिएन । ऊसँग पैसा सकिन्थ्यो, उसले ऋण लिन्थ्यो । आजको भोलि नै दोब्बर दिन्छु भन्नमा ऊ पछि पर्दैन । त्यसैले, उनलाई पैसा सापत दिन साथीहरूको तँछाडमछाड हुन्थ्यो । उसले आफ्नो क्षमताभन्दा बढी ऋण लिन्थ्यो सधैँ उच्च ब्याजदरमा । सापट लिएर खेल्दा जित्यो भने त ऊ पैसा तिथ्र्यो तर हार्यो भने ऊ धेरै दिन घरबाट निस्किँदैनथ्यो । हामी साथीहरू ऊ घरबाट निस्किछ कि भनेर कुरेर बस्थ्यौँ ।
सुरुमा हामीलाई यो रमाइलो लाग्यो । हामी भन्थ्यौँ, “मदनलाई सापटी देऊ, जित्यो भने उसले फिर्ता गरिहाल्छ ।” तर, ऊ कहिलेकाहीँमात्र जित्थ्यो भने धरैजसो हाथ्र्याे । उसको खल्तीको प्वाल टाल्नै नसकिने गरी भ्वाङ परिसकेको थियो । उसले वाचा गरेजतिको पैसा कहिल्यै फिर्ता पनि गरेन र ऊ कहिल्यै पनि ऋणबाट मुक्त पनि रहेन । पहिले ऋणमा उदार रहेका ऋणदाताहरू आफ्नो सिकारको वरिपरि घुम्दै सिकारी बनेजस्तै उनको पर्खाइमा हुन्थे ।
पछि हुँदाहुँदा हरेक साँझ उनी साथीहरूलाई छल्न लामो बाटो हिँडेर घर पछाडिको बाटोबाट फर्कन्थे । तर, सानो ठाउँ भएकोले उसले जतिसुकै सावधानीपूर्वक हिँडे पनि कोही न कोहीले त उसलाई भेट्टाउने नै थियो । साथीहरूमध्ये जसले पहिला उसलाई भेटायो उनले कठालो समात्थे, उसको खल्ती खानतलासी गर्थे र ऊसँग जे थियो – सिक्का, नोट – सबै लग्थे । कहिलेकाहीँ उनीसँग केही पनि हुँदैनथ्यो, सबैको गाली खान्थे । ऊ शिर निहुराउँदै बहाना बनाउँथ्यो र भोलि आउने वाचा गथ्र्यो । तर, सबैलाई थाहा थियो कि भोलि अनिश्चित छ भनेर ।
अनि एक दिन ऊ गायब भयो ।
हामीले सुन्यौँ, ऊ आफ्ना ऋणदाताहरूबाट उम्कने आशामा सहरबाट भाग्यो, तर ऋण त्यस्तो चीज होइन जसबाट तपाईँ उम्कन सक्नुहुन्छ । यो एउटा छायाँ हो जसले तपाईँ जहाँ जानुहुन्छ, तपाईँलाई पछ्याउँछ, समयसँगै गाढा र भारी हुँदै जान्छ ।
फरक ठाउँ, उही गल्ती
वर्षौँपछि मैले उही हुबहु कथा प्रकट भएको देखेँ – मेरो टोलमा होइन, मेरो बाल्यकालको साथीसँग होइन, तर विश्वव्यापी राजनीतिको भव्य मञ्चमा । नाम फरक थियो, तर ढाँचा धेरै परिचित थियो ।
युक्रेनका नेता भोलोडिमिर जेलेन्स्की आफू युद्धमा होमिए । हतास जुवाडेजस्तै उसलाई युद्ध लडिरहनको लागि अझै धेरै पैसा चाहियो । ऋणदाताहरू – पश्चिमका शक्तिशाली राष्ट्रहरू – सुरुमा ऋण दिन इच्छुक थिए । उनीहरूले अरबौँ डलर दिए, ऐक्यबद्धताको वाचा गर्दै, सहयोगको वाचा गर्दै ।
तर, ऋण कहिल्यै पनि निःशुल्क हुँदैन ।
प्रत्येक डलर सापटी लिँदा युक्रेनको भविष्य टुक्रा–टुक्रा गरी बेचिँदै थियो । युद्ध जारी रह्यो र ऋणहरू हावामा हल्लिरहेका तासहरूको धरहराजस्तै बढ्दै गयो । ब्याजदर केबल वित्तीय थिएनन्, ती राजनीतिक, रणनीतिक र अन्ततः व्यक्तिगत थिए ।
त्यसपछि त्यो क्षण आयो जुन सबै जुवाडेहरू डराउँछन् । सावाँ ब्याज उठाउन असामी आइपुगेको छ । कुनै समयका सहयोगी डोनाल्ड ट्रम्प अब मदनको बाल्यकालको तास खेल्दाका साथीहरूजस्तै कुटील मुस्कानका साथ उभिएका थिए । “पाँच सय अर्ब डलर फिर्ता गर,” उसले माग गर्यो । आवाज चिसो थियो, स्वर स्पष्ट थियो । खेल सकियो, अब तिर्ने समय आयो ।
तर कसरी ? जेलेन्सकी छक्क पयो । मैले २०० अर्ब डलर लिएको तर ५०० कसरी पुग्यो । जेलेन्सकीले ऋणदाताको कुत्सित मनसाय बुझे ।
ब्याजको हिसाबै नगरी हार्ने जुवा खेल्न जुवाडेले जस्तै जेलेन्स्कीले पनि हार्ने युद्ध लड्न अन्धाधुन्ध आफ्नो क्षमताभन्दा बढी ऋण लिएको थियो । अनि जब ऋण तिर्न सकिँदैन, ऋणदाताले त्यसलाई माफ गर्दैन । बरु उनले अन्य माध्यमबाट ऋण उठाउने हतकण्डा अपनाउँछ । राजनीतिक अनुग्रह, जमिन, स्रोतसाधन, स्वतन्त्रता – सबै कुराको मूल्य हुन्छ र ऋणले ती सबै भुक्तानीको रूपमा माग्छ ।
हामीले सिक्नुपर्ने पाठहरू
यो कथा केबल मदन वा जेलेन्स्कीको बारेमा मात्र होइन । यो हामी सबैको बारेमा पनि हो । यो एउटा विश्वव्यापी सत्य हो जुन धेरै मानिसहरूले ढिलो सिक्छन् – ‘घाँटी हेरी हाड निल्ने’ । तिर्न सक्नेभन्दा बढी कहिल्यै ऋण नलिने । हामी यस्तो संसारमा बाँचिरहेका छौँ जहाँ ऋण लिन सजिलो छ तर त्यसबाट बच्न गाह्रो छ । मानिसहरूले किन्न नसक्ने कार, आफ्नो औकातभन्दा बाहिरका घर, अरूलाई प्रभावित पार्न आफू कैदी जीवनशैली बिताउनु परे पनि ऋण लिन्छन् ।
पाठ सरल छ तर प्रायः बेवास्ता गरिन्छ† ऋण पैसाको बारेमा मात्र होइन । ऋण नियन्त्रणसँग सम्बन्धित छ । जो कोही ऋणमा हुँदा स्वतन्त्र हुँदैन । ऋणको कारण मदनले आफ्नो बाल्यकाल, आफ्नो इज्जत गुमाए । ऋणकै कारण जेलेन्स्कीले आफ्नो देशको सार्वभौमसत्ता र यसको भविष्य गुमाएका छन् । मदन आफ्नैमात्र बेइज्जती गरेर गए तर जेलेन्स्कीले सम्पूर्ण युक्रेनीहरूको बेइज्जत गराए । त्यसैले एउटा व्यक्तिले गर्ने व्यवहार र एउटा नेताले गर्ने व्यवहारले देशको लागि ठुलो फरक पार्छ । यदि हामी नेपालीले पनि युक्रेनीहरूको गल्तीबाट सिकेनौँ भने, उही लामो बाटोमा खाली खल्तीका साथ हामी आफ्नो गन्तव्यतिर गइरहदा ऋणदाताहरू अँध्यारोमा धुकिरहेको पाउनेछौँ ।
Leave a Reply