भर्खरै :

माक्र्सवाद र माक्र्सवादी सौन्दर्यशास्त्र – ६

माक्र्सवाद र माक्र्सवादी सौन्दर्यशास्त्र – ६

आधुनिक विचारधारा र सामाजिक विज्ञानको रूपमा माक्र्सवादको महत्व एवं स्थानबारे पाश्चात्य बुद्धिजीवीहरूकै बिच तीव्र मतभेद रहिआएको छ । केही आलोचकहरूको दृष्टिमा माक्र्सवादका बौद्धिक श्रेयदानहरू आधुनिक सामाजिक विज्ञानहरूमा समाहित भइसकेको हुँदा अब त्यसको कुनै स्वतन्त्र अस्तित्व रहेको छैन र राजनीतिक रूपबाट पनि त्यो निरर्थक र मृत भइसकेको छ । अधिकांश अनुदारवादी राजनीतिक चिन्तकहरूको विचारमा माक्र्सवादले सुरुदेखि नै श्रमिकवर्गको पक्षमा आफ्नो सिद्धान्त आधारित रहेको हुनाले त्यो पूर्वाग्रहयुक्त छ र त्यसलाई वस्तुगत, युक्तिसङ्गत र वैज्ञानिक मान्न सकिन्न । तर, अर्काथरी पाश्चात्य विचारकहरूले, माक्र्सका ग्रन्थहरूको अध्ययन आधुनिक सामाजिक आन्दोलनहरूलाई बुझ्नको लागि अझै पनि उपयोगी भएकोले उनलाई असामयिक वा असान्दर्भिक भन्न नमिल्ने तर्क दिएका छन् । त्यसैगरी, अनेक क्षेत्रहरूमा आफ्नो व्याख्यात्मक शक्ति र समाजवादी समाज–व्यवस्थाको निम्ति युक्तिसङ्गत प्रतिमानहरूको प्रणाली उत्पन्न गर्ने वा स्वतः शोधप्रणालीको आफ्नो क्षमताले गर्दा माक्र्सवाद अन्य विचारधाराहरूको लागि सदैव एउटा चुनौतीको रूपमा रहिरहने भएको छ, अनि पुँजीवादी विश्वदृष्टि तथा समाज व्यवस्थाको विकल्पका रूपमा माक्र्सवादभन्दा अर्को कुनै सुसम्बद्ध र सर्वाङ्गीण दर्शन देखा नपरेकोले पनि यसको उपयोगिता अझै सकिएको छैन भन्ने धारणा अन्य लेखकहरूबाट व्यक्त गरिएको पाइन्छ । माक्र्सवादका एक जना पाश्चात्य समीक्षकले के कुरा स्वीकार गरेका छन् भने क्रान्तिकारी उत्साह–उमङ्ग र परिवर्तनको इच्छालाई ऐतिहासिक परिदृश्यसित गाँसिदिने तथा सामाजिक व्यवहारको वस्तुगत व्याख्या गरेर वैज्ञानिकताको दाबी गर्ने आफ्नो अद्वितीय क्षमताले गर्दा नै माक्र्सवाद एउटा विशिष्ट विश्वदृष्टि हुन पुगेको हो । त्यसैगरी, पाश्चात्य दर्शनको अढाइ हजार वर्ष पुरानो इतिहासमा, पहिलो पटक, भौतिकवाद र द्वन्द्ववादको आङ्गिक एकता स्थापित गर्न तथा दर्शनका मूल समस्या अर्थात् अस्तित्व र चिन्तनमाझको सम्बन्धको प्रश्नलाई समाजमा पनि प्रयोग गरेर त्यसको ठीक समाधान पहिल्याउनेतर्फको अभूतपूर्व मौलिक योगदानको लागि पनि माक्र्सवाद विशेषतः उल्लेखनीय मानिएको छ । आफ्नो डेढ सय वर्षको इतिहासमा माक्र्सवादले सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रहरूमा मात्र हैन, विश्वसंस्कृति र चिन्तनको क्षेत्रमा पनि गहिरो तथा अमिट प्रभाव पारिसकेको छ । त्यसैले, विचार–प्रणाली र अध्ययन–पद्धति दुवै रूपमा यो आधुनिक चिन्तनधाराको अभिन्न अङ्ग भएर रहने कुरा निर्विवाद देखिन्छ ।
माक्र्सवादको वर्तमान सङ्कटलाई त्यसका कट्टर अनुयायीहरूले, ऐतिहासिक दृष्टिबाट हेर्दै, त्यो विश्व–आन्दोलनको विकासको सङ्कट वा वर्गसङ्घर्षको जटिल प्रक्रियामा यदाकदा देखिने आरोह–अवरोहको स्वाभाविक अवस्था मात्र हो ठानेका छन् । उनीहरूको विचारमा माक्र्सवादका वैज्ञानिक पक्षहरू अझै पनि सत्य छन् र तिनको प्रयोगमा मात्र केही त्रुटि हुन गएको छ, अनि त्यो कुनै धर्मशास्त्र नभएर विज्ञान भएकोले त्यस्ता केही त्रुटिहरूलाई अस्वाभाविक भन्न सकिन्न । यस सङ्कटबाट माक्र्सवाद अझै समृद्ध, विकसित र सबल हुन जाने विश्वास पनि उनीहरूबाट व्यक्त गरिएको छ ।
माक्र्स र एङ्गेल्सको समय अर्थात् उन्नाइसौँ शताब्दीको उत्तराद्र्धभन्दा एक्काइसौँ शताब्दीको सँघारमा पुगेको आजको संसार सबै दृष्टिबाट निकै अगाडि बढिसकेको छ । त्यसैले माक्र्स र एङ्गेल्सका ग्रन्थहरूमा वर्तमान समस्याहरूको समाधान खोज्नु बौद्धिक दुराग्रह मात्र हुन जानेछ । तिनका तपसीलहरूमा नजाने हो भने माक्र्सवादको आलोचनात्मक पद्धति र न्यायपूर्ण सुसङ्गत समाजको स्थापनाका लागि सम्झौताहीन सङ्घर्ष चलाउने त्यसको क्रान्तिकारी भावना अझै पनि उत्तिकै आकर्षणको विषय रहिरहेकै छ । तर, वर्तमान अन्तर्राष्ट्रिय जगत्को मूल प्रवाहलाई श्लिष्ट र आत्मसात् गर्दै आजका वैज्ञानिक, प्राविधिक एवं सामाजिक चुनौतीहरूसामु राष्ट्रिय तथा विश्वका समस्याहरूको समाधान गर्न सक्ने युक्तिसङ्गत व्याख्या, कार्यक्रम र प्रस्तावहरू अघि सार्न सकेको खण्डमा मात्र अब त्यसको सार्थकता प्रमाणित हुन सक्दछ । हाल सोभियत सङ्घको अन्तपछि माक्र्सवादको संरक्षण गर्ने दायित्व चीनमाथि आइपरेको छ । यसै क्रममा त्यो माक्र्सवादको नीति निर्देशनअन्तर्गत, चिनियाँ विशिष्टताहरू भएको समाजवादको लागि भौतिक एवं मानसिक दुवै रूपबाट नयाँ समाजवादी सभ्यताको निर्माण गर्ने प्रयासमा लागिरहेको छ । संसारका अन्य माक्र्सवादी राज्य र दलहरू पनि आत्मपरीक्षण र पुनर्गठन गरिरहेका छन् ।
समाजवाद र पुँजीवाद वा माक्र्सवाद र अधिभौतिकवादमाझको सङ्घर्ष अझै टुङ्गिएको छैन । त्यो विभिन्न रूप तथा रङ्गहरू लिएर भविष्यमा पनि कहिले मन्द र कहिले तीव्रगतिका साथ यथावत् कायमै रहिरहने देखिन्छ । इतिहासको अनुभवअनुसार पनि समाजका संस्थागत परम्परा वा राज्य व्यवस्थाहरू जन्मन्छन् र मर्दछन् । तर, विचारधारा भने परिष्कृत र संशोधित हुँदै कुनै न कुनै रूपमा पछिसम्म विद्यमान रहिरहेको हुन्छ । हालै केही पाश्चात्य माक्र्सवादीहरूले भनेअनुसार सोभियत सङ्घमै माक्र्सवाद अप्रतिष्ठित र विवादास्पद हुन पुगेको कुरा सम्पूर्ण माक्र्सवाद वा समाजवादको विफलता नभएर त्यसका अनेक रूपहरूमध्यको एक अर्थात् राजकीय समाजवादको मात्र विफलता हो, अनि रूढिग्रस्त भइसकेको सोभियत व्यवस्थाको प्रभावबाट मुक्त भएर बरु भविष्यको माक्र्सवादी चिन्तन अझै सजीवतापूर्ण बन्न सक्ने सम्भावना पनि देखिन्छ ।
नेपालमा माक्र्सवादी पार्टीको विधिवत स्थापना एसियाका अन्य मुलुकहरू हेरी धेरै पछि मात्र भएको हो । भारतको कलकत्ता सहरमा १९४९ ईस्वी ताक नेपाल कम्युनिस्ट पार्टी खडा गरिएको थियो र त्यसअघि कार्ल माक्र्स तथा फ्रेडरिक एङ्गेल्सद्वारा रचित विश्वप्रसिद्ध कम्युनिस्ट पार्टीको घोषणापत्रको नेपाली अनुवाद पनि प्रकाशमा आएको थियो । तर, विचारधारात्मकरूपमा, सीमित क्षेत्रमै भए पनि त्यसको चर्चा १९१७ को रसियाली क्रान्तिदेखि नै हुन थालेको अनुमान गर्न सकिन्छ यस सन्दर्भमा १९१९ तिर तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरद्वारा साम्यवादी क्रान्ति र बोल्शेभिकहरूको विरोध गरिएको कुरा उल्लेखनीय रहेको छ । माक्र्सवादी विचार मुख्यतः भारतमा रहेका र अन्य देशहरूमा पनि पुगेका नेपाली बुद्धिजीवी तथा राजनीतिज्ञहरूमार्फत यस मुलुकमा आयो । केही विद्वान्हरूका अनुसार १९१४ ताक नेपालमा कार्यरत रक्तपात कमिटी भन्ने एउटा सङ्गठनको सम्बन्ध बोल्शेभिकहरूसित थियो र केही तत्कालीन गुप्त राजनीतिक दलको समूहगानमा पनि समाजवादी भावना व्यक्त भएको पाइन्छ । नेपाली माक्र्सवादीहरू १९३० को दशकदेखि नै भारतीय कम्युनिस्ट पार्टीको मातहतमा रहेर काम गरिरहेका थिए । त्यहाँको इन्डियन नेसनल काङ्ग्रेसभित्र रहेको समाजवादी आन्दोलनबाट पनि केही नेपालीहरू प्रभावित भए र पछि उनीहरू त्यहाँको समाजवादी पार्टीसित संलग्न हुन पुगे । त्यसै क्रममा १९४७ मा भएको विराटनगरको ज्यामी कामदार आन्दोलनमा कम्युनिस्ट ध्वजा र विचारलाई अघि सारियो । त्यसभन्दा निकै अघिदेखि नै स्वतस्फूर्तरूपमा राणाशासनविरुद्ध कृषक आन्दोलन, बौद्धिक समुदायको विरोध र गुप्त सङ्गठनहरूका आतड्ढवादी कार्यक्रमहरू देखा परिसकेका थिए । नेपाली साम्यवादीहरूले भारतको साम्यवादी दलका साथै सोभियत सङ्घको समाजवादी राज्य, चिनियाँ क्रान्ति तथा बर्मा, मलाया, भियतनाम, कोरिया, मङ्गोलिया, इन्डोनेशिया, फ्रान्स आदि मुलुकका कम्युनिस्ट आन्दोलनहरूबाट पनि प्रेरणा लिएका थिए । त्यसैगरी, नेपालमा माक्र्सवादी विचार रुसी, बङ्गाली र अङ्ग्रेजी साहित्यको अनुवादहरूमार्फत पनि पसेको थियो ।
नेपाली साहित्य र अन्य लोकभाषाका रचनाहरूमा साम्राज्यवाद तथा सामन्तवादको विरोध गर्ने लामो परम्परा पाइन्छ । तर, नेपालमा कम्युनिस्ट पार्टीको स्थापना र १९५० को दशकको पूर्वार्धतिर प्रगतिशील लेखक सङ्घको सङ्गठनपछि नै सांस्कृतिक क्षेत्रमा सचेत रूपबाट वैचारिक सङ्घर्षको थालनी भएको थियो । नेपालको साम्यवादी राजनीतिमा पुराना र अग्रज नेताहरूमा सर्वश्री पुष्पलाल र श्री मनमोहन अधिकारीको देन उल्लेखनीय मानिएको छ । त्यसैगरी, साहित्यको क्षेत्रतर्फ विभिन्न समयहरूमा, हृदयचन्द्रसिंह प्रधान, श्यामप्रसाद, गोविन्दप्रसाद लोहनी, भवानी घिमिरे, गोकुल जोशी, युद्धप्रसाद मिश्र, देवीप्रसाद किसान, खगेन्द्र सङ्ग्रौला, जनकप्रसाद हुमागाईँ, रमेश विकल, आनन्ददेव भट्ट, मोदनाथ प्रश्रित, पारिजात आदिका रचनाहरूले माक्र्सवादको प्रचार–प्रसारमा योगदान गरे । नेपालको प्रगतिवादी माक्र्सवादी साहित्य अझै पनि सैद्धान्तिक स्पष्टता र कलात्मक परिष्कारको अभाव, राष्ट्रियस्वरूप ग्रहण गर्नेतर्फको असमर्थता, मौलिक सिर्जनाभन्दा अनुकरणको प्रवृत्तिजस्ता दोषहरूबाट पूर्णतः मुक्त हुन सकेको छैन । यो कविता, उपन्यास, कथा, निबन्ध, ललितकला, पत्रकारिता आदि विधाहरूमा मात्र सीमित रहेको छ । तर, इतिहास, दर्शन, भाषाविज्ञान, अर्थशास्त्र, समाजशास्त्र, सौन्दर्यशास्त्र, नृवंशशास्त्रजस्ता ज्ञान–विज्ञानका अन्य शाखाहरूमा, केही छिटफुट अपवादहरू बाहेक त्यसको योगदान नगण्य नै रहेको देखिन्छ ।
सबै थरीका साम्राज्यवाद र सामन्तवादको विरोध गर्ने तथा माक्र्सवाद लेनिनवादको पथ प्रदर्शनमा नेपाललाई अर्धऔपनिवेशिक एवं अर्धसामन्ती अवस्थाबाट मुक्त पार्ने उद्देश्य लिएर खडा भएको नेपाल कम्युनिस्ट पार्टीले विभिन्न विवाद र विभाजनहरूबाट ग्रस्त रहे पनि, विगत चार दशकको आफ्नो इतिहासमा, राजनीति र साहित्यका साथै समाजका अन्य विभिन्न पक्षहरूलाई प्रभावित पार्दै आएको छ र यता त्यो मुलुकको राजनीतिक तथा वैचारिक क्षेत्रमा प्रमुख शक्तिको रूपमा पनि देखा पर्न थालेको छ ।
(नोट : नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित साहित्यकोश नामक ग्रन्थमा यस रचनालाई माक्र्सवाद भन्ने प्रविष्टिमा राखिएको छ । यहाँ हामीले स्वतन्त्र रचनाको रूपमा शीर्षक दिएर प्रकाशित गरेका छौँ । – सं.)

– गोविन्द भट्टका दार्शनिक रचनाहरू
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *